फिचर

इतिहास : जनक्रान्तिका नौ दिन

- रामचन्द्र पोखरेल, काठमाडौं
धेरैबेर वेटिङ रुममा एक्लै बिताएपछि बल्ल मातृका बाबुलाई भित्रबाट बोलावट भयो । तर मातृकालाई देख्नेबित्तिकै आक्रोश भरिएको शब्दमा नेहरूजीले प्रश्न गरे, ‘के चाला हो यो ? वीरगन्जलाई कब्जा गरें भन्दैमा भारतलाई पनि नियन्त्रणमा लियौं भन्ने ठान्यौ !’

कार्तिक २५, २०७४-मुक्तिसेनाको सफल ‘एक्सन’ पश्चात् वीरगन्ज कब्जा हुनासाथ नेपाली कांग्रेसको क्रान्तिकारी ‘जनसरकार’ (प्रोभिजनल गभर्नमेन्ट) स्थापनाको खबर देशभित्र मात्र नभई शेष विश्वमा समेत पुग्यो । २००७ सालमा भएको उक्त क्रान्तिको सम्झना :

सन् १९५० नोभेम्बर १० र ११ को मध्यरात ‘शून्य समय’ मा मुक्तिसेनाले वीरगन्जमा आक्रमण गर्‍यो । थिरबम मल्लको कमान्डमा परिचालन भएको मुक्तिसेनाको प्रमुख दलले राति चार बजेसम्म बडाहाकिमलाई कैद गरी गारत र गोश्वारामा कब्जामा लियो । बिहान उज्यालो हुँदा सूर्योदयसम्म वीरगन्जका नागरिकहरूमा देखिएको उत्साह र उत्तेजनाले अराजकता नआओस् भनेर क्रान्तिकारी र आम नागरिकलाई आश्वस्त पार्न सम्बोधन गरिरहेका बखत राणा फौजको एक अधिकृतले थिरबम मल्ललाई रिभल्बरले गोली हानी भाग्यो । पेट र कञ्चटमा गोली लागी उनी ढले । उपचारका लागि तत्कालै रक्सौलस्थित डंकन हस्पिटलमा लैजाँदा त्यहीं उनको मृत्यु भयो । जनक्रान्तिको श्रीगणेश भएको दिन उनी नै त्यस क्रान्तिका प्रथम सहिद भए । यहीं दिन कात्तिक २६ गते ‘क्रान्ति दिवस’ भनेर स्मरण गरिन्छ । 

त्यो मध्यरात मल्लको कमान्डमा अगाडि बढेको मुक्तिसेना दुई दलमा विभक्त थियो । पहिलो दल थिरबम मल्लकै नेतृत्वमा बडाहाकिम निवास र गारतलाई निसाना बनाएर अगाडि बढ्यो । दोस्रो दलले मेजर पूर्ण सिंहको नेतृत्वमा ब्यारेकउपर आक्रमण गर्‍यो । तर दिनभरि घमासान युद्ध चलिरह्यो र त्यसै दिन बेलुका सात बजे मात्र ब्यारेक र जेलले आत्मसमर्पण गरे । त्यस घमासान दोहोरो गोली हानाहानमा मुक्तिसेना तेजबहादुर क्षेत्री पनि गोली लागी सदाका लागि ढले । कोही जवान घाइते भए । तर यही युद्धपछि वीरगन्ज पूर्ण नियन्त्रणमा आयो । त्यो दिन तिहार भाइटीका थियो । 

पूर्वतयारीबमोजिम तेजबहादुर अमात्यको निर्देशनमा नोभेम्बर १ मै मुक्तिसेनाका १ सय जवान रक्सौलमा निश्चित ठाउँहरूमा जम्मा हुन थालेका थिए । विभिन्न समूह बनाई रेलमार्गद्वारा आउँदा उनीहरू भारत सरकारको नजरबाट बच्न स्टेसन आउनुपूर्व जन्जिर खिचेर रेल रोकी बीचमै ओर्लेर आउँथे । ती समूहमा मेघराज उपाध्याय, माधवलाल श्रेष्ठ, भुपेन्द्र नेपाली, बद्री भण्डारीसमेतका जोसिला युवा थिए । तीमध्ये टीकादत्त पोखरेल (गोरखा) गोली लागी ढलेका थिरबम मल्ललाई तत्कालै रक्सौल डंकन अस्पतालमा लैजाने स्वयंसेवकमध्येका थिए । वीरगन्ज कब्जा भई पूर्ण नियन्त्रणमा आएपछि ‘जनसरकार’ स्थापना गरियो जसमा तेजबहादुर अमात्य ‘मिलिटरी गभर्नर’ र गोपालप्रसाद भट्टराईलाई ‘पोलिटिकल कमिसार’ को जिम्मेवारी दिइयो र दैनिक प्रशासन चलाइयो । 

वीरगन्जउपर मुक्तिसेनाको हमलाको तयारीका लागि खटिएका अन्य कुशल एवं साहसिक कमान्डरहरूमा जीबी याकथुम्बा, श्यामकुमार तामाङ, दिलबहादुर लामा, मानबहादुर राई, बुद्धसिंह गुरुङ, दिलमान थापामगर, डीबी राई आदि थिए । स्वयं थिरबम मल्ल भारतको दार्जिलिङ र देहरादूनमा सैन्य अधिकृत (आईएमएस) तालिम प्राप्त कुशल कमान्डर थिए । मेजर पूर्णसिंह खवास, नेताजी सुवासचन्द्र बोसको आजाद हिन्द फौजमा काम गरिसकेका अफिसर कमान्डर थिए । वीरगन्जपछि यिनीहरू देशका विभिन्न मोर्चामा कमान्ड सम्हालेर जिम्मेवारी पूरा गरे । तीमध्ये जीबी याकथुम्बा त्यसपछि विराटनगर मोर्चाको कमान्ड सम्हाल्न पुगेका थिए । विराटनगरमा ‘पोलिटिकल कमिसार’ गिरिजाप्रसाद कोइराला र ‘मिलिटरी कमिसार’ केशव कोइराला थिए । कृष्णप्रसाद भट्टराई (किसुनजी) उदयपुर फ्रन्टमा थिए । यसैगरी पश्चिम कमान्डमा गोपालशमशेर र भैरहवा मोर्चामा डा. केआई सिंह थिए । 

वीरगन्ज मोर्चाका लागि तैनाथ मुक्तिसेनाले थिरबम मल्लको नेतृत्वमा आक्रमणका लागि त्यस मध्यरातमा प्रवेश गर्दा सर्वप्रथम एउटा चौकी कब्जा गरी अगाडि बढेको थियो । चौकीमा कार्यरत एक सुब्बा, एक कप्तान र एक सन्तरीलाई बन्दी बनाएर मुक्तिसेना अगाडि बढेको थियो । यो काम १५ मिनेटमा पूरा गरेको थियो । वीरगन्जको मध्यरातमा गल्लीहरू सुनसान थिए । केबल घरहरू मित्रबाट आएका तिहारको जुवाको मार्रा... मार्रा... का स्वरहरू सुनिनेबाहेक कोही कतै देखिन्थेन । गारतमा निदाइरहेका १७ सैनिकको हतियार खोस्दै निद्राले उँगेर पहरा दिइरहेको बडाहाकिम बंगलाको ढोके सन्तरीसमेतलाई नियन्त्रणमा लिई बडाहाकिम सोमशमशेरलाई कैद गर्नसमेत सफल भएका थिए, थिरबम ।

थिरबमको हत्यापछि स्थिति नरमाइलो बने पनि पूर्ण सिंहको नेतृत्वको दलले भीषण युद्ध लडेर साँझ सात बजे पूरै ब्यारेक कब्जा गर्न सफल भयो जहाँ आठ जना घाइते भएका थिए । त्यस दिन दिउँसो दोहोरो गोली हानाहान चलिरहेकै बखत नेपाली कांग्रेसको झन्डा फहराएको हजाइजाहज वीरगन्जको आकाशमा मडराएको थियो । यसले मुक्तिसेनाको मनोबल धेरै बढ्यो । त्यो जहाज कार्यक्रमअनुसार सिमरामा ल्यान्ड गर्ने थियो तर उत्रन चाहिने संकेतको कुनै प्रबन्ध नदेखी वीरगन्ज बजार नजिकको ब्यारेक टुँडिखेलमाथि उड्न थाल्यो । पटक–पटक धेरै होचो गरी घरहरूमाथि उडान गर्दा ब्यारेकमाथि जहाजले बम खसाल्ने भयो भन्ने हल्लाले राणा फौज आत्तिएर साँझ आत्मसमर्पण गर्ने मनस्थितिमा पुगेको कुरा मातृकाप्रसाद कोइरालाले आफ्नो अनुभवमा लेखेका छन् । उहाँ त्यसै प्लेनमा थिए । वीरगन्ज पूर्णतया मुक्तिसेनाको नियन्त्रणमा आएपछि मल्ललाई हेर्न डंकन अस्पतालमा पुगेका बीपी र जनरल सुवर्णशमशेर निरीक्षणका लागि साँझ वीरगन्ज मोर्चामा पुगेको खबरले मुक्तिसेनाहरू अत्यन्त उत्साही भएका थिए । 

नेपाली कांग्रेसका सबै प्रमुख नेताहरूलाई देशका विभिन्न मोर्चामा जिम्मेवारी दिई खटाइएको थियो । पूर्वतयारीअनुसार वीरगन्जमा ‘एक्सन’ गर्ने समय अलि–पछिलाई राखिएको थियो । तर त्यसैबीच राजा त्रिभुवनले नारायणहिटी दरबार सपरिवार छोडी लैनचौरस्थित भारतीय दूतावासमा शरण लिएपछि स्थिति धेरै फरक भयो । नोभेम्बर ८ मा मोहनशमशेरले तीन वर्षका ज्ञानेन्द्रलाई राजा घोषित गरे । त्यसपछि क्रान्तिकारी हेडक्वार्टरको ‘सुप्रिम कमान्ड काउन्सिल’ लाई नोभेम्बर ११ मा राजा त्रिभुवन विमानद्वारा भारततर्फ जाने गोप्य सूचना प्राप्त भयो । जसअनुसार राजा दिल्लीतर्फ उड्नुपूर्व नै अपर्झट वीरगन्ज आक्रमण गर्ने योजना बन्यो । नोभेम्बर १० तारिख (कात्तिक २५ गते) दिउँसो राजधानीमा र बेलुकी वीरगन्जमा राणा शाहीको अन्त्य नजिक आइसकेको र नेपाली कांग्रेसको नेतृत्वमा देशव्यापी क्रान्ति प्रारम्भ भएको घोषणा गरिएका पर्चाहरू हवाइजहाजद्वारा व्यापक रूपमा छरिए । यसले देशव्यापी सनसनी पैदा गर्‍यो । कात्तिकको न्यानो घाममा तिहारको जुवा खेलिरहेका राणाहरू एकाएक अचम्मित भए । तर आमजनता अत्यन्त उत्साहित भएका थिए । 

मुक्तिसेनाको सफल ‘एक्सन’पश्चात् वीरगन्ज कब्जा हुनासाथ भारत र चीनबीच राजनीतिक अवस्थितिमा रहेको नेपालमा नेपाली कांग्रेसको क्रान्तिकारी ‘जनसरकार’ (प्रोभिजनल गभर्नमेन्ट) स्थापनासमेतको खबर देशभित्र मात्र नभई शेष विश्वमा समेत पुग्यो । भारतका सबैजसो सञ्चार माध्यम एवं पत्रपत्रिकामा छापियो । भारतस्थित अमेरिका, बेलायत एवं युरोपियन सञ्चार माध्यमहरूले समेत यसलाई महत्त्वका साथ स्थान दिए, र विदेशी पत्रकारहरू पारि रक्सौल र वीरगन्जमा ओइरिन थाले जुन क्रान्तिकारीहरूका लागि यो महान् उपलब्धि थियो । 

राणा सरकारका निजामती, जंगी, माल–अमिनीलगायत सबै अड्डाहरू क्रान्तिकारीहरूको नियन्त्रणमा आएपछि राणाहरूले विदेशी बैंकमा लैजान देशका विभिन्न जिल्लाहरूबाट संकलन गरिएको ठूलो धनराशिको ढुकुटीसमेत हात पर्‍यो । जसमा ३५ लाख भारतीय नोट र केही हजार नेपाली रुपैयाँ थियो । नोभेम्बर ११ कै साँझसम्म थिरबम मल्लको शव राखिएको डंकन हस्पिटल पसे, वीरगन्ज मोर्चाको निरीक्षणमा आएका ‘सुप्रिम कमान्ड काउन्सिल’ का तीनै जना बीपी, मातृका र सुवर्ण । त्यत्रो ठूलो धनराशि रकम क्रान्तिको सञ्चालनमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने छलफल चल्यो । तर अन्त्यमा अन्तर्राष्ट्रिय जगत्को दृष्टिमा समेत जनक्रान्तिको निष्कलंक छवि बनाउन सो धनराशि यताउता नगरी राजा त्रिभुवनको जिम्मा राख्नु उपयुक्त हुने ठहर गरी सोहीअनुसार काउन्सिलले निर्णय लियो । यसैअनुसार सो धनराशि रकमसहित तीनै जना पटना पुगे । र त्यस रात जनरल सुवर्णको निवासमा सो रकम सुरक्षित राखियो । अन्त्यमा, तेस्रो दिन नोभेम्बर १३, १९५० मा डिसी–३ डकोटा विमानद्वारा तीनै जना नेता अपराह्न ४:३० बजे पटनाबाट दिल्लीतर्फ उडे । साथमा महावीरशमशेर र बीपीकी बहिनी विजया कोइरालासमेत गएकी थिइन् । महावीरशमशेरकै ‘हिमालयन एभिएसन’ कम्पनीका जहाजहरूले क्रान्तिका लागि बर्माबाट हतियार ल्याउन र काठमाडौं–वीरगन्जमा हवाइजहाजद्वारा क्रान्ति घोषणाका पर्चाहरू छर्न सहयोग गरेका थिए । 

दिल्ली सफदरगन्ज एयरपोर्टमा त्यो हवाइजहाज उत्रँदा राति आठ बजेको थियो । विमानभित्रबाट रातिको झिलिमिलीमा सशस्त्र सैनिक उपस्थिति देख्दा उनीहरूले वीरगन्ज जनसरकार प्रमुखलाई गार्ड अफ अनर दिन र सुरक्षाका लागि तैनाथ गरिएको जस्तो ठानेका रहेछन् । तर हवाइजहाज रोकिएपछि जब गेट खोलियो भारतीय गुप्तचरका डीआईजी भित्र पसे र अत्यन्त मर्यादाहीन शैलीमा ‘यस विमानमा चोरिएको धनराशि लुकाएर ल्याइएको सूचना हामीलाई प्राप्त भएकाले विमानको खानतलासी हुँदै छ’ कोही पनि यताउता नगर्नू भनी आदेश गरेपछि सबै छक्क परे । ‘कस्तो चोरीको सम्पत्ति भन्नुभएको तपाईंले’ भनी गरिएको प्रतिप्रश्नमा उसले भन्यो, ‘वीरगन्जमा रहेको नेपाल सरकारको ढुकुटी ।’ तपाईंलाई कति रुपियाँ चोरिएको सूचना भयो भनी पुन: प्रश्न गर्दा ‘थ्री मिलियन (तीस लाख)’ उसले भनेछ । 

त्यो चोरीको सूचना गलत हो ‘हामीसँग भएको पैंतीस लाख तेत्तीस हजार भारतीय रुपैयाँ (नोट) र तेह्र हजार नेपाली रुपैयाँ हो । चोरहरूले मात्र ठीकसँग हिसाब राख्न सक्दैनन् । त्यसो हुनाले राणाहरूले गलत सूचना दिएका हुन् । हामीले त्यो रकमको वास्तविक हकदार राजा त्रिभुवन (जो अहिले दिल्लीमा छन्) लाई जिम्मा दिन ल्याएका हौं भनेपछि अन्त्यमा मातृका बाबुले भनेछन्, ‘जनक्रान्तिको सभापतिको हैसियतले (ट्रक) को साँचो मसँग छ ।’ 

नेपाली नेताहरूको तर्क र उत्तर सुनेपछि डीआईजीले अब एक–एक गरी तल झर्न सक्छौ भन्यो । नोभेम्बर महिनाको अलिक चिसो, थकाइ, भोक, तिर्खा लागेकाले होटलमा आराम गर्ने आशामा उनीहरू विमानबाट तल झरे । तर उनीहरू सबैलाई कस्टम काउन्टरमा रोकेर राखियो । एउटा बेन्चीमा लामो समय त्यस हालतमा कुरेर बसिरहनुपर्दा मिनेट–मिनेट घण्टामा परिणत हुन थाल्यो । स्वागतार्थ आएका सूर्यप्रसाद उपाध्यायसमेतका साथीहरूलाई उनीहरूसँग भेट्न दिइएन । त्यस लामो पर्खाइमा मातृका र सुवर्णले चुरोट तान्न थाले । चुरोट तान्दै गर्दा मातृका बाबुलाई एउटा कुर्सीमा बसेको मान्छे कहाँ लगियो जसले भन्यो, ‘तिमीले मेरो अपमान गर्‍यौ (मेरो अगाडि चुरोट खाएर) ।’ त्यसो भन्ने मान्छे त मेजिस्ट्ेरट पो रहेछ । उसैको त्यो इजलासमा राति नै बैंकका कर्मचारीहरू बोलाई दुवै पक्षको हस्ताक्षरसहित सिलबन्दी गरी उनीहरूलाई जिम्मा लगाएपछि मात्र राति तीन बजे नेताहरू सबैलाई छोडिएछ । पछि पो थाहा भएछ त्यतिन्जेलसम्म उनीहरू हिरासतमा पो रहेछन् !

क्रान्तिका नायकहरू होटल पुग्दा जब घाम झुल्क्यो त्यहाँ विभिन्न मुलुकका विभिन्न रंगका विदेशी सञ्चार माध्यमसमेतका संवाददाताहरू उनीहरू बसेको ठाउँमा घेरिए । तीमध्ये केही क्यामेरासहित आएका थिए । उनीहरूलाई दिल्ली सफदरगन्ज एयरपोर्टको रातिको घटनाबारे सूचना भैसकेको थियो । त्यसै विषयमा अत्यन्त अप्ठेरो पार्दै दिल्ली आउनुको उद्देश्यबारे सोध्न थाले । रातिको घटनालाई पन्छाउँदै तीन जनाले शालीतानपूर्वक भने— दिल्ली आउनुका प्रमुख दुई उद्देश्यमध्ये पहिलो उद्देश्य, राजा त्रिभुवनसँग भेट गरी क्रान्तिको स्थिति अवगत गराउनु र शुभकामना लिनुका साथै सम्भव भए खुला प्रेस वक्तव्यद्वारा जनक्रान्तिका लागि शुभकामनासहित समर्थन माग्ने । दोस्रो, भारतीय नेताहरू भेटी जनक्रान्तिलाई समर्थन र सहयोग माग्ने । मातृकाप्रसाद कोइराला आफ्नो पुस्तक ‘ए रोल इन रेभोल्युसन’ मा भन्दछन्— तर क्रान्तिका लागि गरिएको दुवै आशा निराशामा पुग्यो जब त्रिभुवनलाई भेट्ने अनुमतिसम्म पनि भारत सरकारले दिएन । त्यति मात्र नभई नेहरूजीले समेत नेताहरूसँग भेट गर्न अस्वीकार गरे । त्यस निराशाका बीच केही दिन दिल्लीमा रहेर धेरै प्रयत्नपश्चात् पनि मातृकालाई मात्र एक्लै भेट दिने भन्ने कुरा आयो । अनि सूर्यप्रसाद उपाध्यायका साथ लागेर प्रधानमन्त्री निवास त्रिमूर्ति भवन पुग्दा सूर्यप्रसादलाई मात्र भित्रबाट बोलावट भएको दूतको खबर सुनेपछि त्यहाँ अर्को आश्चर्य भयो । धेरैबेर वेटिङ रुममा एक्लै बिताएपछि बल्ल भित्रबाट बोलावट भयो । तर मातृका बाबुलाई देख्नेबित्तिकै आक्रोश भरिएको शब्दमा नेहरूजीले प्रश्न गरे, ‘के चाला हो यो ? वीरगन्जलाई कब्जा गरें भन्दैमा भारतलाई पनि नियन्त्रणमा लियौं भन्ने ठान्यौ ! ’’

मातृका बाबुलाई पहिला त त्यो आक्रोशको अर्थ लागेन । तर वास्तविकता के रहेछ भने क्रान्तिकारीहरूले बन्दी बनाइएका राणाका बडाहाकिम सोमशमशेरलाई वीरगंज पारि भारतको सरकारी डाँक बंगलामा केही समय लगेर बन्द गरिएको घटनालाई लिएर रहेछ । अन्तर्राष्ट्रिय मर्यादाबाहिर परेको त्यो गम्भीर विषय रहेछ । दोस्रो, वीरगन्ज ढुकुटीको त्यो रकम भारतभित्र ल्याएकोमा भारत सरकारको टाउको दुखाइ रहेछ । किनभने तत्कालीन भारतले अन्तर्राष्ट्रिय क्षेत्रमा ‘सक्रिय तटस्थताको नीति’ अख्तियार गरेको थियो । किन्तु भारत सरकारले दण्ड विधानको आँखा बचाई क्रान्तिकारीहरूबाट भए र गरिएका काम कारबाही भने भारत सरकारबाट नदेखेजस्तै गरेको थियो । यस्तो सुविधा प्राप्त हुनमा सीमा क्षेत्रका मित्रहरू भारतीय नेताहरूको नेपालको जनक्रान्तिप्रति नैतिक समर्थन नै थियो । 

क्रान्तिकारीहरूले कुल ‘नौ दिन’ सम्म वीरगन्ज नियन्त्रण लिई ‘जनसरकार’ गठनसमेत गरी त्यहाँको नाजुक परिस्थितिलाई साम्य पार्दै सफलतापूर्वक शान्ति सुव्यवस्था कायम गरे । त्यसबीच केही सामाजिक सुधारका कार्यहरूसमेत गरेर ‘प्रजातन्त्र’ (डेमोक्रेसी) को उज्यालो र नेपाली जनक्रान्तिको सफल सन्देशको प्रभावी लहर पैदा गर्न र जनक्रान्तिको पहिचान दिन सफल भएको कुरा स्वर्णाक्षरले लेखिनेछ । यसका साथै वीरगन्ज कब्जा भएको नोभेम्बर ११ (कात्तिक २६ गते) को त्यो दिन आज पनि ‘क्रान्ति दिवस’ का रूपमा स्मरणीय छ ।

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार