साहित्य/विविध

अनुभूति : शिरको सिन्दूर झरेपछि...

- राधिका अधिकारी, काठमाडौं
एकपटक भरिएर उजाडिएको सिउँदो बोकेर हिँडेको ६ वर्ष गुज्रन लाग्यो ।पीडाका हिसाबले यो ६ वर्षमा मैले ६० वर्षको जीवन गुजारेँ होला ।

कार्तिक २५, २०७४-४५ वर्ष पुगिसकेको एउटा सरकारी अधिकृत मलाई माग्न आफन्तकहाँ पुगेछन् । त्यो बेला म भर्खर २४ वर्ष लाग्दै थिएँ । र, मेरो सिउँदोको सिन्दूर पुछिएको ६ महिना जति मात्र भएको थियो । त्यही मेरो पुछिएको सिउँदोको आडमा दुई छोराका पिता उनी आफूभन्दा २ दशक कान्छी मसँग सम्बन्ध गाँस्न चाहन्थे । 

एक त, मेरो मनमा लागेको घाउ आलै थियो । अर्को, मेरो उमेरले आफूभन्दा दोब्बर उमेरसँग सहयात्रा गर्न सक्छ भन्ने नै लागेन । तर, परिवारको दबाब भनिसाध्य थिएन, ‘भविष्य सुरक्षित हुन्छ, सरकारी जागिरे, त्यही मान्छेसँग विवाह गर ।’ यस्तै यस्तै । मैले भने भविष्यको सुरक्षाकै लागि भनेर फेरि आफ्नो जिन्दगी, मन र वर्तमानसँग सौदाबाजी गर्न चाहिनँ । 

मेरो उमेर, मन र बाध्यतालाई यो समाजले कसरी बुझ्यो थाहा भएन । ती सरकारी अधिकृतले भने बाराम्बार खबर पठाइरहे, ‘भाग्यले ठगेकी एउटी अवलालाई साथदिउँm भन्ने लागेर मात्रै हो, नत्र म भनेर मर्ने कुमारी केटी कति छन् कति !’ 

उनले केवल मेरो जीवनको उडेको रंग देखे । मेरो पुछिएको सिउँदोलाई नमेटिने दाग ठाने (समाज पनि यस्तै ठान्छ) । तर उनले आफ्नै ढल्केको उमेर र हुर्केका छोराहरू देखेनन्, जुन मेरा अस्वीकृतिका कारणहरू थिए । 

यही अस्वीकृतिका कारण धेरै पछिसम्म मैले बारम्बार ‘बुद्धिमा बिर्को लागेकी’ को उपमा गुथिरहें ।

ती अधिकृत त मेरो जिन्दगीले एउटा मोड लिएपछि जोडिन आइपुगेका एक पात्र मात्र हुन् । 

***

एक दिन एउटा साथीसँग टुँडिखेलमा बसेर उसको प्रेम वियोगको कथा सुनें । उनले घरमा श्रीमती हुँदाहुँदै अर्की युवतीसँग प्रेम गरेका रहेछन् । पछि श्रीमती भएको थाहा पाएपछि ती प्रेमिकाले छाडिछन् । उता श्रीमतीसँग पनि सम्बन्धविच्छेदको मुद्दा चलेछ । यो कुरा उनले रुँदै सुनाएका थिए । नाटक लेखन र गजलमा आफूलाई अब्बल ठान्ने उनले यो पनि सुनाएका थिए कि, उनको एक अन्तर्राष्ट्रिय महिलासँग पनि प्रेम र सहबास थियो । उनका एक छोरा र छोरी थिए । उमेर मैले कहिल्यै सोधिनँ । हेर्दा ३० वर्षभन्दा माथिका जस्ता देखिन्थे । 

श्रीमतीसँग मुद्दा चल्दाचल्दै उनले मलाई प्रेम प्रस्ताव राखे । धेरै दिनसम्म म हिँड्ने बाटोमा पछ्याए । तर मेरो उनीप्रति कुनै ‘फिलिङ्स’ थिएन । एकातिर प्रेम वियोग अर्कोतिर अदालतको पेसी, उसको मन थप अशान्त नहोस् भन्ने लागेर मात्र मैले उनलाई भनें— पहिला कानुनी झमेला सक्नु अनि बसेर कुरा गरौंला । 

परार तिहारताका अदालतले उनका श्रीमान्–श्रीमती छुट्टिने फैसला सुनायो, यो खबर उनले मलाई त्यसै दिन सुनाएका थिए । 

मैले अस्वीकार गर्दागर्दै उनले लगातार २ वर्ष पछ्याए, यो उनी आफैं पनि सुनाउँथे । तर, मैले भित्रैबाट उनको प्रस्ताव स्विकार्न नसक्ने भनिदिएँ । अचम्म ! मेरो त्यही अस्वीकृति नै फरि पनि मेरो ‘भाग्यमा लागेको दाग’ देखिने अर्को कारण बन्यो । ‘मलाई कसैकी स्वास्नी भैसकेकी केटी चाहिएको छैन’ भनेर उनले उल्टो वचन लगाए । 

मलाई जान्न मन थियो, उनले कुनै दिन रुँदै आफैंले सुनाएका कथा कता बिर्सिए ? अदालतमा उभिएर पारपाचुके पत्रमा गरेको हस्ताक्षरले उसको जीवनलाई खोटो बनायो कि बनाएन ? तर उनीसँग यो सवाल–जवाफ गरिरहन मन लागेन । 

खाटा बस्न खोज्दै गरेको मेरो घाउ त्यो वचनवाणले फेरि बल्झियो । धेरै दिनसम्म दैलो थुनेर, समाजसँग लुकेर, डाँको छाडेर रोएँ । तर पनि त्यो आँसुले मेरो शिरबाट सिन्दूर झर्दा समाजले देखेको ‘दाग’ बगाउन सकेन । 

***

समाज, संस्कार र पराइले मात्रै होइन आफन्तले पनि बेला–बेलामा मेरो खाटो बसेको घाउ कोट्याएर रक्ताम्य बनाइरहे ।

एक महिनाअघि पनि दिदी पर्ने आफन्तले अन्दाजी ५५ वर्षका ‘एक होनहार युवक’ सँग सम्बन्ध गाँस्न भनेर खबर पठाइन् । सरकारी अस्पतालका जागिरे, काठमाडौंमा आफ्नै घर भएका र एउटा निजी क्लिनिकका सञ्चालक उनकी श्रीमती बितेको एक वर्ष पूरा भएको रहेछ । क्याम्पस पढ्ने २ छोराका पिता उनलाई जीवनको उत्तराद्र्धमा सेवा गर्ने श्रीमती चाहिएको रहेछ । 

एक्लै संघर्ष गरेर थोरै भए पनि आफ्नै परिचयमा बाँच्न संघर्षरत म ती दिदीको प्रस्तावले अवाक बनें । उनले मैसँग प्रश्न गरिन्, अब त उमेर पनि जान लाग्यो, जीवनसाथी चाहिन्छ, के छ विचार ? ‘काठमाडौंमा घर छ, सरकारी जागिरे, आफ्नै क्लिनिक छ, केही कुराको दु:ख हुँदैन,’ उनले बिहे गर्न जोड दिइन् । तर, मैले उनलाई जीवनका सुखदु:ख धनसँगभन्दा बेसी मनसँग गाँसिएर आउँछ भनेर बुझाउन सकिनँ । ‘अब घरका लागि हैन, गरे आफ्नै र जीवनका लागि विवाह गर्छु नत्र गर्दिनँ’ भन्न मन थियो । तर सकिनँ । केवल चुपचाप उठेर हिँडिदिएँ ।

उदेक लाग्छ— भर्खर रंगीन सपना देख्ने समयमा श्यामश्वेत बनेको जीवन र त्यही कारण आफूमाथि अनेकथरीका प्रश्न बर्सिरहँदा पनि जिन्दगीसँग हार नखाएर बाँच्ने हिम्मत गर्ने एउटी छोरीका कुमारी सपनाप्रति यो समाजले आफ्नो उत्तरदायित्व छ भनेर आजसम्म बुझ्नै सकेन । 

एकपटक भरिएर उजाडिएको सिउँदो बोकेर हिँडेको ६ वर्ष गुज्रन लाग्यो । यी वर्षहरूमा मैले थाहाँ पाएँ, आफन्त, समाज र संस्कारका नाममा पाएका यातना सानो छातीले कुल्चेर हिँड्न सम्भव रहेनछ । भरिएर एउटी छोरीको सिन्दूर पुछिनु भनेको हाम्रो समाजमा ऊ जिन्दगीभरिका लागि बोक्सी हुनु हो, खोटी हुनु हो । त्यो खोट बोकेर यो समाज र यहाँको संस्कारको सामना गर्नु कति कहालीलाग्दो छ ? यौवनमै नाडीका चुरा फुटालेर हिँड्न विवश कैयौं छोरीहरूका छातीमा कस्तो खिल बनेर बसेको होला ? कल्पना गर्दा पनि धर्ती च्यातिएर आफैं भासिन्छु कि जस्तो लाग्छ । 

हुन त, सन्तानका लागि बाबु–आमा हरेक क्षण चिन्तित हुन्छन् । तर, जवानीमै सिन्दूर पुछेर बसेकी छोरी आमा–बाबुका लागि पीडा मात्र होइन, बोझ पनि हुँदा रहेछन् । म पनि त्यस्तै भएँ । पीडाका हिसाबले यो ६ वर्षमा मैले ६० वर्षको जीवन गुजारेँ होला । ६० थरीका मान्छेका प्रस्ताव अनि विवाह गर्न छोरी राजी भैदिए हुन्थ्यो भन्ने नजानिँदो ढंगको बाबा–आमाका आशयका बीचबाट आफूलाई बचाउने हिम्मत जुटाउनु चानचुने कुरा थिएन । यसो भनिरहँदा, मेरो उजाडिएको सिउँदोले मेरी आमाको आँखामा छल्किने आँसु र रुन नसकेर आफैंभित्र मडारिने बाबाको मनको आँधीलाई कम भन्न खोजेकी पक्कै होइन । मलाई थाहा छ, मेरा बाबाआमा यही समाजका सदस्य हुन् । यहीँका संस्कारमा हुर्किएका हुन् । समाज र संस्कारको दबाबमा छन् उनीहरू ।

यस बीचको यात्रामा ठोक्किन कुमार केटा नआएका पनि होइनन् । प्राय: मुस्कुराइरहने मेरो आदतसँग गाँसिएर केही साथी र अलि परका युवाहरू पनि बारम्बार नजिकिन खोजे । तर, ओठको हाँसोसँग लठ्ठिएर आउनेहरू आँखाबाट बग्ने आँसुसँगै टाढिएर गए । उनीहरूसँग मेरो कहिल्यै केही गुनासो रहेन । 

म आफैंलाई पनि कुनै कुमार केटाको तस्बिरले कैयौं रंगीन सपना नदेखाएको होइन । झरे पनि शिरको सिन्दूर, नझर्ने रहेछ जीवनका रहर, मनको रंग र उमेरका संवेगहरू । त्यसैले बारम्बार यी आँखाले रंगीन सपना देख्न छाडेनन् । 

तर, पर्खाल लगाएपछि जीवनमा धेरै कुरा त्यही पर्खालबाहिर पर्दा रहेछन् । संस्कारको ठूलो पर्खाल लागेको मेरो जीवनमा मेरा सुकिला सपनाहरू पर्खालबाहिरै परिरहे । भावनात्मक माया र सद्भावको परिधिभन्दा माथि उठेर रंगीन सपना देख्ने अधिकार पनि सिन्दूरसँगै खोसियो मेरो जीवनबाट । विवाह एक संस्कार र संस्था हो । तर, विवाहपश्चात् पुरुष वा महिलाको मृत्यु भएमा अथवा पारपाचुके भएमा पुरुषको जस्तै सजिलैसँग महिलाको पुन: विवाह किन हुँदैन ? अथवा, एक्लै बाँच्छु भन्दा पनि किन जटिल बनिदिन्छ यो समाज ? यो प्रश्नले बारम्बार चिमोटिरहन्छ । 

केही छोरीहरूले पतिको मृत्यु वा पारपाचुकेपश्चात् पुनर्विवाह गरेका थुप्रै उदाहरण त छन् । तथापि २५–२६ वर्षकै उमेरमा, मातृत्व नपोखिएको काख लिएर त मैले समाजका यावत् जटिलतासँग गाँसिनुपरेको छ भने म कल्पना गर्न सक्छु— अलि उमेर ढल्किएपछि र आमा बनेपछि एकल महिला बनेकाहरूले कति अड्चनहरूसँग जुध्नुपर्छ होला !

sabdha.sahitya@gmail.com

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार