स्वास्थ्य

हात धुनु र पुछपाछ गर्नु

- अतुल मिश्र, काठमाडौं
आवश्यकताभन्दा बढी यस्ता काम गर्नु रोगको लक्षण

कार्तिक २५, २०७४-मधेसमा कार्यरत रहँदा उनको पारिवारिक अवस्था तै सामान्य थियो, तर राजधानी सरुवा भएपछि त्यो चैन हराएको छ । एउटा घरमा दुई महिनाभन्दा बढी टिक्न सकेका छैनन् । 

अत्यन्त सभ्य, शिक्षित, सरल यी सरकारी कर्मचारीलाई घरबेटीले सरेको दुई सातामै नयाँ डेरा खोज्न भन्न थालिहाल्छन् । उनको समस्या भनेकै पत्नीले गर्ने अत्यधिक सरसफाइ हो । उनी धारामा पानी नसकिउन्जेल नुहाइराख्छिन्, सफा लुगा र भाँडाकुँडा पनि धोइराख्छिन् । भुइँ, झयालढोका आदि सफा भए पनि पुछिराख्नु उनको बानी हो । 

ती महिला एक दिनमै थुप्रै पटक साबुनपानीले हात धुने गर्छिन्, जसका कारण औँलाका कापमा घाउसमेत भएको छ । यही घाउ देखाउन उनलाई छाला रोग विशेषज्ञकहाँ लगियो । केही दिनको उपचार गर्दा पनि निको नभएपछि त्यहींबाट उनलाई मनोचिकित्सककहाँ रेफर गरियो । 

ती महिलालाई गाउँघरमा ‘पानी बहुला’ समेत भन्ने गरिन्छ । यो मानसिक रोग अब्सेसिभ कम्पल्सिभ डिजअर्डर (ओसीडी) अन्तर्गत पर्छ । यो चिन्ता सम्बन्धी एउटा विकार (एन्जाइटी डिजअर्डर) हो । 

अमेरिकन एकेडमी अफ फयामिली फिजिसियन (एएएफपी) का अनुसार, १८–५४ वर्ष उमेर समूहका ३० लाख अमेरिकीलाई कुनै समयमा ओसीडी भएको केही नयाँ अध्ययनले देखाएका छन् । यो उक्त उमेर समूहको जनसंख्याको २.३ प्रतिशत हो ।

यो समस्याले पुरुष र महिलालाई उत्तिकै प्रभावित गर्छ । ओसीडीअन्तर्गत बिरामीहरू सरसफाइलाई लिएर चिन्तित भइरहन्छन् । उनीहरूलाई हातमा कीटाणु/फोहोर लागेको भन्ने सुर्ता भइरहन्छ, एक छिनअघि मात्रै हात धोएको भए पनि । 

ओसीडीबाट पीडितहरू थुप्रै प्रकारका चिन्ता र कष्टको अनुभव गर्छन् । यो चिन्ताबाट मुक्ति पाउनका लागि उनीहरू केही गतिविधि बारम्बार गर्छन् । यसलाई बाध्यता अर्थात् कम्पल्सन भनिन्छ । 

उनीहरू यस्तो गर्न बाध्य हुन्छन् र यो बाध्यताले अस्थायी रूपमा मानसिक शान्ति दिन्छ । 

‘ओसीडी एउटा छुट्टै रोग हो, जसमा हाम्रो दिमागमा कुनै एउटा सोचाइ आउँछ र त्यो सोचाइको तात्पर्य समाप्त भए पनि त्यो सोचाइ मस्तिष्कमा टाँसिएर बस्छ,’ वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा. विद्यादेव शर्मा भन्छन् । 

यसैअन्तर्गत बिरामीलाई आफ्नो हात फोहोर भएको सोचाइ आउँछ । यसपछि उनीहरू एकचोटि राम्ररी हात धुन्छन् । यसो गर्दा पनि अझै फोहोरै छ भन्ने सोचाइ आउँछ र बारम्बार हात धोइरहन्छन् । 

‘बिरामीलाई थाहा छ, आफ्नो हात सफा छ भनेर । तर मनमस्तिष्कमा चाहिँ हात फोहोरै छ भन्ने सोचाइ टाँसिएर बसेकोले बारम्बार हात धुन बाध्य हुन्छन्,’ डा. शर्मा भन्छन्, ‘हात धुने, सरसफाइसँग सम्बन्धित विचारले गर्दा उनीहरू बारम्बार फोहोर हटाउने उपाय गरिरहन्छन् ।’

यस्ता केही बिरामी त आफू मात्र नभएर आफ्नो परिवारका अन्य सदस्यलाई समेत बाहिरबाट घर फर्कंदा सबै लुगा फुकालेर धोएपछि नयाँ लुगा नलगाई घरमा प्रवेश गर्न पनि दिँदैनन् । यही समस्याबाट पीडित एक व्यक्ति त पत्नीसँग शारीरिक सम्बन्ध राख्नुअघि र पछि नुहाउनेसम्म गर्छन् । जाडो होस् कि गर्मी, उनलाई मतलब हुन्न । 

‘हेर्नोस्, मेरी श्रमिती एक पटक मिचीमिची साबुनपानीले हात धुन्छिन्, यसपछि पानी बन्द गर्न धारा समाउँदा हात फेरि फोहोर भयो भन्ने ठान्छिन् र फेरि धुन थाल्छिन्, यो क्रम जारी नै रहन्छ,’ उपचार प्रक्रियामा रहेकी एक महिलाका श्रीमान्ले भने ।

डा. शर्माका अनुसार यस्तो समस्या भएकाहरूबारे हाम्रो मुलुकमा खासै कुनै अनुसन्धान नभएकाले यकिन तथ्यांक उपलब्ध छैन । तर विदेशका अध्ययन र उपचारका लागि आउने बिरामीका आधारमा यो समस्या हाम्रो मुलुकमा पुरुष र महिलालाई बराबर नै छ । 

यो रोग दुर्लभ स्थितिमा २० वर्षमुनिकामा देखिए पनि सामान्यत: यो दुई दशक नाघेकाहरूलाई नै बढी हुने गर्छ । यस्ता समस्या भएकाहरूले आफूले हात धोइरहनु हुन्न, बिनाकारण अत्यधिक सरसफाइ गर्नु हुन्न भन्ने थाहा भए पनि यो बानी त्याग्न सक्दैनन् । अरूले हात धुन नदिए एकदम आत्तिन्छन्, छटपटाउँछन् । यतिसम्म कि, कहिलेकाहीँ बेहोसीको अवस्थासम्म पुग्छन् ।

‘यस्ता रोगीलाई सरसफाइबारे अरूले रोक्न खोज्दा मुटु हान्ने, हातखुट्टा काम्ने, डराउने, आत्तिने, चिटचिट पसिना आउने हुँदै गएर कहिलेकाहीँ बेहोस हुनसमेत बेर लाग्दैन,’ डा. शर्मा भन्छन् । 

कारण 

यो रोग हुनुको खास कारण हालसम्म स्पष्ट छैन । र, यो वंशानुगत हैन भनेर पनि भन्न सकिने स्थिति छैन । परिवारमा यो समस्या कसैलाई भए अरूलाई पनि हुने सम्भावना बढी हुन्छ । 

केही अनुसन्धानमा मस्तिष्कमा सिरोटोनिन नामक रसायनको असन्तुलनले समेत यो समस्यालगायत ओसीडी हुने सम्भावना औंल्याइएको छ । कहिलेकाहीँ बालबालिकालाई चाहिनेभन्दा अघि नै बलजफती दिसापिसाब गर्न सिकाउँदा पनि भविष्यमा यो समस्या देखिन सक्ने सम्भावना हुन्छ । डा. शर्माका अनुसार बालबालिकाहरूलाई चाहिने उमेरभन्दा अगाडि नै ‘टाइलेट प्राक्टिस’ गराउनु हुन्न । 

उपचार 

यो समस्याका लागि औषधि र मनोवैज्ञानिक उपचार प्रविधिसमेत छ । दुवै उपचार प्रविधि मुलुकमा उपलब्ध छ । 

प्राय: औषधिसँगै मनोवैज्ञानिक प्रक्रिया गरी बिरामीको उपचार गरिन्छ । समस्या निको हुन महिनौं लाग्न सक्छ । यो उपचारअन्तर्गत अलिअलि नियन्त्रण गर्न नै दुई–तीन महिना लाग्ने भएकाले यसमा बिरामीका आफन्तको धैर्य आवश्यक हुने डा. शर्मा औंल्याउँछन् । 

बिरामीलाई साधारण काउन्सेलिङ अर्थात् ‘तिम्रो हात सफा नै छ’ भनेर सम्झाईबुझाई गर्दैमा यो रोग रोक्न सकिँदैन । ‘मेरो हात सफा छ भनेर बिरामीलाई पनि थाहा हुन्छ नै,’ डा. शर्मा भन्छन्, ‘तर तिनको दिमागमा फोहोरको कुरा टाँसिएर बसेकोले नै तिनले आफूलाई रोक्न नसकेका हुन् ।’

यस्ता रोगीको उपचार नगरे यो समस्याले शारीरिकभन्दा पनि सामाजिक जटिलता ल्याउँछ । बिरामीलाई सेकेन्डरी इन्फेक्सनले गर्दा अन्य रोग लाग्ने सम्भावनासमेत हुन्छ । 

atulmishra7@gmail.com

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार