अर्थ / वाणिज्य

आर्थिक पत्रकार बने ब्राजिलकै धनी

  • धनीका कुरा
- कान्तिपुर संवाददाता , काठमाडौं
लिम्यानको सफलताको सूत्र सुशासनमा आधारित व्यावसायिक संस्कृति हो । कर्मचारीले प्राप्त गर्ने बोनसमार्फत कम्पनीकै सेयरमा हिस्सेदार बन्न सकिने उनको नितान्त मौलिक शैलीले उत्पादन, उत्पादकत्व, कारोबार, नाफामा अनपेक्षित उपलब्धि हासिल भएको हो ।

कार्तिक २५, २०७४-यसै साता धनी र शक्तिशालीहरूले कर छलेको तथा धन लुकाएको खुलासा गरेको प्याराडाइज पेपर्सको सूचीमा रहेका सम्भवत: सबैभन्दा धनी जोर्जे पाउलो लिम्यान हुन् । फोब्र्सको सूचीमा उनी संसारकै २६ औं नम्बर र ब्राजिलको सबभन्दा धनी व्यक्ति हुन् ।

यहाँ प्याराडाइज पेपर्सको सूचीमा लिम्यान कसरी परे भन्ने होइन उनले विश्व अर्थतन्त्रकै उदीयमान शक्ति ब्राजिलको सबैभन्दा धनी बन्ने बाटो कसरी तय गरे भन्ने चर्चा गर्न खोजिएको छ । ब्राजिलमै पनि तुलनात्मक रूपमा कम चिनिने र मिडियाबाट टाढै रहन रुचाउने लिम्यानको व्यावसायिक फड्को भने आकर्षक छ । झन्डै ३५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक लिम्यानले वित्तीय क्षेत्रबाट आफ्नो व्यावसायिक साम्राज्य निर्माण गर्न सुरु गरेका हुन् । बडवाइजर, बर्गर किङ, हेन्जजस्ता विश्वप्रसिद्ध ब्रान्डसँग पनि लिम्यानको लगानी जोडिन आइपुग्छ । कतिपय कम्पनीमा लगानीका कारण उनको सम्बन्ध वारेन बफेटसँग पनि जोडिएको छ । 

उनले हावर्ड युनिभर्सिटीबाट १९५८ मा अर्थशास्त्रको डिग्री हासिल गरेका थिए । त्यसताका औंलामा गन्न सकिने ब्राजिली मात्र डिग्रीका लागि अमेरिका धाउँथे । उनले पटकपटक हावर्डकै पढाइले आफूलाई व्यवसायमा जोखिम मोल्न सक्ने बनाएको बताउँदै आएका छन् ।

पढाइ र व्यवसायका साथसाथै खेलकुदमा पनि लिम्यान अब्बल रहेको कमैलाई थाहा छ । टेबिल टेनिसमा उनले डेभिस कप तथा विम्बलडनमा समेत भाग लिएका थिए । टेनिस खेल्दा उनले ब्राजिल र स्विटजरल्यान्डको प्रतिनिधित्व गरेका थिए । स्विस पिताका सन्तान भएकाले उनले दोहोरो नागरिकता पाएका छन् । सर्फिङ उनको दोस्रो रुचिको खेल हो । धेरै प्रसंगमा उनले सर्फिङ र व्यावसायिक वातावरणको उतारचढावलाई तुलना गर्दै यसमा खरो उत्रने रणनीति निर्माणमा सघाउने बताएका छन् । टेनिसमा शिखर चुमेको केही समयपछि नै उनले ब्राजिलको सबैभन्दा पुरानो अखबार जोर्नाल डो ब्रासिलमा आर्थिक पत्रकार ‘रिपोर्टर’ का रूपमा काम गरेका थिए । आर्थिक पत्रकारिताकै क्रममा उनले क्रेडिट स्विसमा बैंकिङ तालिम पनि लिए । यसैबाट उनको दीर्घकालीन महत्त्वको व्यावसायिक रेखा कोरिएको थियो ।

सन् १९७१ मा लिम्यानले बान्को गारान्टिया स्थापना गरे । यो बैंक आम ब्राजिलीमाझ लोकप्रिय बन्यो र प्रतिस्पर्धी अमेरिकी बैंकहरूलाई घर फर्किन बाध्य बनायो । अमेरिकी बैंकहरूकै शैलीमा सञ्चालन गरेर गारान्टियाले उनीहरूलाई व्यावसायिक प्रतिस्पर्धामा पराजित गरेका थिए । 

गारान्टियामा हात परेको व्यावसायिक सफलता, पुँजी र रणनीतिलाई लिम्यान र उनका साझेदारहरूले अरू व्यवसायमा पनि लगाए । यसले ब्राजिलको व्यावसायिक नक्सा नै बदलिदियो । ‘जसरी औद्योगिक क्रान्तिले युरोपको आर्थिक परिदृश्य परिवर्तन भयो त्यसरी नै लिम्यान र उनका साझेदारहरूले ब्राजिलमा उद्यमशील क्रान्ति गरे,’ आईई कर्पोेरेट लर्निङका प्रमुख भेन्डिक सिल्भेरिया भन्छन्, ‘ब्राजिलको व्यावसायिक समयरेखालाई लिम्यान अघि र पछि भनेर छुटयाउन सकिन्छ ।’ यद्यपि हाल गारान्टिया टाट पल्टिइसकेको भए पनि लिम्यान व्यवसायको शिखरमै छन् । गारान्टियाको टाट पल्टाई पनि लिम्यानलाई ठूलो व्यावसायिक पाठ बन्यो । लिम्यानको सफलताको सूत्र सुशासनमा आधारित व्यावसायिक संस्कृति हो । उनले व्यवसाय सुरु गर्दा ब्राजिलको व्यावसायिक जगतमा गुण शासनको सर्वथा अभाव थियो । नातावाद, कृपावाद, सरकारी अनुदान, राज्य संरक्षणमै व्यापार व्यवसाय अडिएको थियो । कर्मचारीले प्राप्त गर्ने बोनसमार्फत कम्पनीकै सेयरमा हिस्सेदार बन्न सकिने उनको नितान्त मौलिक शैलीले उत्पादन, उत्पादकत्व, कारोबार, नाफामा अनपेक्षित उपलब्धि हासिल भएको हो । 

‘लिम्यानले वास्तवमै शक्तिशाली व्यवस्थापकीय शैली ब्राजिलमा भित्र्याएका हुन्,’ सिल्भेरिया भन्छन्, ‘कर्मचारीको प्रतिभा र क्षमतालाई कदर गर्नुपर्छ भनेर ब्राजिललाई सिकाउने उनै हुन् । उनको रोजाइमा गरिब तर क्षमतावान् र प्रतिभावान् हुन्थे ।’ कार्लोस अल्बर्टो सिसुपिरा उनले रोजेको यस्ता गरिब तर प्रतिभावान् व्यक्ति हुन्, जो अहिले ब्राजिलमा लिम्यानपछि दोस्रो धनी व्यक्ति हुन् । उनको सम्पत्ति १३ अर्ब अमेरिकी डलर बराबर छ । आफ्नै मौलिक व्यावसायिक शैलीसँगै उनले विश्वभर सफल व्यवसायको नक्कल पनि गरेका थिए । 

अमेरिकामा चलेको वालमार्टकै सिको गरेर उनले ब्राजिलभर लाजोस अमेरिकानास नामको रिटेल चेन स्थापना गरे । गोल्डमान सास, क्रेडिट स्विसलगायतका ठूला कम्पनीमा कर्मचारीलाई उनले तालिम लिन पठाउने व्यवस्था मिलाएका थिए । 

हाल जिलेट कम्पनीको सञ्चालक समितिमा वारेन बफेट र लिम्यान सदस्य छन् । दुवै एकअर्काका ठूला प्रशंसक हुन् । स्विटजरल्यान्ड, जर्मनी, भारत, चीन र अमेरिकीलाई उनले व्यावसायिक साझेदार बनाएका छन् । उनको निजी होल्डिङ कम्पनीमा रोजर फेडेररजस्ता धनी टेनिस खेलाडी साझेदार बन्न आइपुगेका छन् । व्यापारी, नेता, कलाकार, खेलाडी उनको संगत गर्न रुचाउँछन् । व्यावसायिक जगतमा उनको तरंग जारी छ । 

(एजेन्सीको सहयोगमा)

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार