देश

सहिद परिवार भन्छन् - आशामै बित्यो ३८ वर्ष

- रमेशचन्द्र अधिकारी, छिन्ताङ (धनकुटा)

कार्तिक २५, २०७४-निर्वाचनको चर्चा चुलिएका बेला खोकु छिन्ताङ आँखिसल्लाबासी भने ३८ वर्षदेखि पिरोलिएको एउटै माग अघि सारिरहेका छन् । तत्कालीन शासन व्यवस्था परिवर्तनका लागि जुटेकामाथि ०३६ कात्तिक अन्तिम साता चरम दमन भएको थियो । त्यस क्रममा १६ जनाको त ज्यानै गयो । यो घटना छिन्ताङकाण्डका नामले चर्चित छ ।

छिन्ताङ हत्याकाण्डको स्मृतिमा यति बेला सहिद सप्ताहसमेत मनाइँदैछ । पञ्चायतको विरोधमा भूमिगत शैलीमा संगठन विस्तार गरेको भन्दै तत्कालीन राज्यसत्ताले चरम दमन गरेको थियो । ज्यान गुमाएकालाई भने हालसम्म राष्ट्रिय रूपमा सम्मान नदिइनुमा सहिद परिवारको गुनासो छ ।

अधिकांश हत्या साताभरमा गरिएको थियो । घटनालाई नजिकबाट नियाल्ने स्थानीय जीतबहादुर राईका अनुसार कात्तिक अन्तिम साताभर सिंगो गाउँ रगतले पोतियो । बारुदको धुवाँ र तत्कालीन सैनिक प्रहरीको गर्जनले सर्वसाधारण आतंकित थिए । घटनामा केही गृहणी, सुत्केरीदेखि गोठालो गएका सर्वसाधारणसमेत गोलीको निशाना बने ।

घटनाको पृष्ठभूमिका आधारमा बामपन्थी विचारधाराको नेतृत्व गर्नेहरू शासकका आँखी भएका थिए । तर त्यतिमै सीमित भएन, सर्वसाधारणलाई आतंकित पार्नकै लागि बलात्कारदेखि लुटपाटसम्मका घटना घटाइएको थियो । गर्भवती अवस्थामा बन्दुकको कुन्दाबाट यातनाको सिकार बनेकी श्रीमाया राई (हांखिमा साइँली) को पनि हत्या भएको थियो । यातना दिइएको केही दिनमै (२०३६ साल कात्तिक २९) मा अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भयो ।

स्थानीय रामकुमारी राईको पनि दयनीय कथा छ । उनलाई ०३६ कात्तिक २९ गते तत्कालीन सुरक्षाकर्मीद्वारा भएको शारीरिक हिंसापछि मृत्यु भएको थियो । अनि १४ वर्षीय केशरमान राईलाई कात्तिक २८ गते प्रहरीले गोलीको निशाना बनायो । उनी स्थानीय टप्पुदेवी निमाविमा ७ कक्षामा पढ्थे । सामान्य कृषक धनवीर दमाईलाई पनि कात्तिक २७ गते मारियो ।

सहिदको स्मृतिमा छिन्ताङमा सहिद पार्क र सालिक राखिएको छ । यो हत्याकाण्डको नाममा प्रत्येकजसो निर्वाचनमा भोट बैंकका रूपमा स्थानीयलाई दलहरूले प्रयोग गर्दै आएका छन् । सहिद परिवारका सदस्यले आफ्ना आफन्त तथा प्रियजन गुमाउँदाको पीडा बोधमा राज्यले सान्त्वना दिने काम नगरेको दुखेसो भने सधैं गर्दै आएका छन् ।

सहिद पुत्र योगेन्द्र राईले राष्ट्रको नाममा ज्यान गुमाएकाप्रति राज्य कहिल्यै गम्भीर नभएको गुनासो गरे । ‘विभिन्न बहानामा मारिएकाले राज्यको ढुकुटीबाट सहिदको नाममा आर्थिक र अन्य सहयोग पाएका छन्,’ उनले थपे, ‘हामीलाई भने उपेक्षाको हद नाघ्ने गरी व्यवहार गरिएको छ ।’ सहिद परिवार संरक्षण समिति अध्यक्ष तथा सहिद पुत्र बलराम राईले पनि सहिदको नाम बेचेर कमाउने धेरै भए पनि आफूहरूको अवस्थाप्रति चासो नदिएकामा आक्रोश पोखे । 

सहिद परिवारलाई जीवन निर्वाह, स्वास्थ्य, शिक्षा र रोजगारमा राज्यपक्षबाट उचित सहयोग गरी राष्ट्रिय सहिद घोषणा गर्न नसकेको विभिन्न प्रतिवेदन सार्वजनिक भइसकेका छन् । हाल छिन्ताङ सहिद परिवारका ३० मध्ये २३ परिवारको अवस्था दयनीय छ । सहिद परिवारले पटकपटक प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । सहिद घोषणा, राहतको व्यवस्था, पीडित परिवारलाई रोजगार, प्राविधिक तथा व्यावसायिक रोजगारी, परिचयपत्रलगायत उचित सम्बोधन गरिनुपर्ने उनीहरूको माग छ ।

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार