प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

‘व्यवसायी नेता’ बीच प्रतिस्पर्धा

- पर्वत पोर्तेल, काँकडभिट्ट

कार्तिक २५, २०७४-झापा १ को प्रदेशसभा सदस्यका लागि ‘व्यावसायिक नेता’ को छवि बनाएका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश १ ‘क’ मा एमालेका श्रीप्रसाद मैनाली र कांग्रेसका केशवराज पाण्डे तथा ‘ख’ मा एमालेका गोपालचन्द्र बुढाथोकी र कांग्रेसबाट अशोककुमार पोख्रेलबीच प्रतिस्पर्धा हुँदैछ । सबै व्यवसायी भएकाले उनीहरूबीचको प्रतिस्पर्धा रोचक बन्ने अनुमान गरिएको छ । 

एमालेका मैनाली र बुढाथोकी दुवै यातायात क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । कांग्रेसका पाण्डे उद्योग वाणिज्य संघसँग आवद्ध छन् भने पोख्रेल कानुन व्यवसायी हुन् ।

यातायात क्षेत्रमा मैनालीको लामो समयदेखि सक्रियता छ । एमाले सम्बद्ध मजदुर संगठनमा आवद्ध उनी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । मेची बस व्यवसायी संघमा करिब २० वर्षदेखि उनी अध्यक्ष हुन् । मैनालीले क्षेत्र नम्बर १ मा वाम गठबन्धनको अवस्था बलियो रहेको दाबी गर्दै भने, ‘मेरो जित सुनिश्चितजस्तै छ ।’

एमालेकै बुढाथोकी पनि लामो समयदेखि यातायात क्षेत्रमा क्रियाशील छन् । ०३५ सालमा विद्यार्थीकालबाटै कम्युनिस्ट राजनीतिमा लागेका बुढाथोकी यो क्षेत्रका लोकप्रिय नेता मानिन्छन् । वाम गठबन्धनअघि प्रतिनिधिसभा सदस्यका रूपमा उनको नाम चर्चामा थियो । तर, गठबन्धनले माओवादी नेता राम कार्कीलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । ‘प्रतिनिधिसभा उम्मेदवार बन्न नपाएकोमा मलाई दु:ख छैन,’ बुढाथोकीले भने । उनले प्रदेशसभा सदस्यका लागि पनि टिकट मागेनन् । उनी थप्छन्, ‘पार्टीले उठ्नुपर्छ भनेर मात्रै उठेको हुँ ।’ कांग्रेसका पाण्डेको राजनीति पनि विद्यार्थीकालबाटै सुरु भयो । ०४९ सालमा नेपाल विद्यार्थी संघ कन्काई क्याम्पसका सभापति रहेका उनले त्यसपछि पार्टी सदस्यता लिएका हुन् ।

दुई कार्यकाल महाधिवेशन प्रतिनिधि भइसकेका पाण्डे महासमिति सदस्यको यो तेस्रो कार्यकाल हो । पार्टी राजनीतिसँगै उनी ५० को दशकदेखि निजी क्षेत्रको राजनीतिमा पनि सक्रिय रूपमा लागे । ०५६ मा मेची उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष बनेका उनी त्यसपछि अध्यक्ष बने । उद्योग वाणिज्य महासंघको तीन कार्यकाल केन्द्रीय सदस्य भए । पाण्डेका अनुसार पूर्वी नाका देशको मुख्य व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना देखेका छन् । खासगरी भारत, बंगलादेश र भुटानसहित तेस्रो देशसँगको व्यापारका लागि यो नाका सम्भावना प्रशस्त रहेको उनले बताए । प्रदेशसभामा आफूले जिते आर्थिक समृद्धिका लागि काम गर्ने उनको भनाइ छ ।

झापा १ ‘ख’ बाट उम्मेदवार बनेका कांग्रेस नेता पोख्रेल निष्ठावान कानुन व्यवसायीका रूपमा चिनिन्छन् । ०३५ सालमा धुलाबारी माविमा पढ्दै गर्दा उनी राजनीतिमा लागेका हुन् । कांग्रेसका अगुवा नेता याम भण्डारीले उनलाई नेपाल विद्यार्थी संघमा आबद्ध गरेका थिए । 

स्कुलपछि क्याम्पसमा पनि उनले नेविसंघको राजनीति गरे । क्याम्पसपछि वकालती पेसामा संलग्न छन् । वकालत पेसा सुरु गरेपछि पनि यिनले कांग्रेस राजनीतिलाई छाडेनन् । कांग्रेसलाई आधार बनाएर नेपाल बार एसोसिएसनको केन्द्रीय उपाध्यक्षसमेत भए ।

उनी विगत ८ वर्षदेखि वकालती पेसामा सक्रिय छन् । तीन कार्यकाल महाधिवेशन सदस्य बने । पोख्रेलले आफ्नो व्यावसायिक अनुभवका कारण पार्टीले जिम्मेवारी दिएको बताए । नेपाली राजनीतिक संस्कारलाई परिवर्तनको खाँचो रहेको उनको बुझाइ छ ।

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार