विचार/विश्‍लेषण

दलबदलु जनता

  • सिउँडी
- विमल निभा, काठमाडौं

कार्तिक २५, २०७४-‘ला ल सलाम दाइ ।’

‘जय नेपाल,’ मेरो अभिवादन अनौठो पाराले उत्तरित भयो ।

‘लाल सलाम,’ मैले जोड दिएर भनेंँ । 

‘जय नेपाल,’ उनले फेरि पनि उसरी नै भने ।

म दंग परेंँ । एक कट्टर वाम समर्थकको मुखबाट सम्पूर्ण कांग्रेसी टाइपको ‘जय नेपाल’ निर्धक्कसँग उच्चरित भइरहेको थियो । यो सरासरी अपत्यारिलो कुरो थियो, मेरो लागि । मैले अचम्म मानेरै भनँें, ‘जय नेपाल किन दाइ ?’

‘किन, मैले जय नेपाल भन्नहुन्न भाइ ?’ उनी मुस्कुराए ।

‘भन्न हुन्छ दाइ,’ म हडबडाएँ ।

‘अनि के भयो त ?’ उसको मुस्कान गाढा भयो ।

‘होइन, तपाईं वामपन्थी भोटर होइन र दाइ ?’

‘ठिक भन्नुभयो,’ उनले भने, ‘यसमा कुनै शंका छैन ।’

‘अनि लाल सलामको साटो जय नेपाल किन त दाइ ?’ मैले भनेंँ ।

‘हेर्नोस्, म पहिले एक वामपन्थी समर्थक जरुर थिएँ,’ उनी एक्कासि गम्भीर भए, ‘अहिले नेपाली कांग्रेस पार्टीको भइसकेको छु भाइ ।’

‘यसको कारण के होला दाइ ?’ मेरो उत्सुकता बढेको थियो ।

यसको जवाफमा उनी चुप लागे । केही भन्ने प्रयास गरेनन् । कुनै गहिरो सोचमा निमग्न थिए, सायद । (यस्तै लाग्यो) । अलिक बेरपछि मतिर पुलुक्क हेरे । र सुस्तरी भने, ‘अब म के भनुँ तपाईलाई ?’

‘के भन्नै नहुने कुरो हो र दाइ ?’

‘होइन, त्यस्तो त केही होइन,’ उनको अनुहारमा अलमलिएको भाव थियो, ‘मैले कांग्रेसी हुनैपर्‍यो भाइ ।’

‘हेर्नाेस्, आफ्नो साख्खै सालो नै नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार भएपछि म के गरुँ त भाइ ?’ मलाई चुपचाप टोलाइरहेको पाएर भने उनले, ‘मैले कांग्रेसी नभइकन सुखै पाइन ।’

‘तपाई श्रीमतीको दबाबबाट कांग्रेसी हुनुभएको हो दाइ ?’ 

मैले भनेंँ ।

‘अब तपाईं जेसुकै भन्नोस् मलाई,’ उनको ओठमा फेरि मुस्कान आयो, ‘हाल म एक कांग्रेसी नै हुँ भाइ ।’

मैले बल्ल बुझेंँ, यो खाँट्टी ससुरालीतिरको कुरो हो । अर्थात् श्रीमतीको मामिला भन्नोस् । अब अर्धांगिनीको साख्खै कान्छो भाइ नै नेपाली कांग्रेस पार्टीको तर्फबाट चुनावमा उठिसकेपछि अरू के पो 

गर्न सक्थे उनले ? वास्तवमा उनी आफ्नो बुँताले भ्याएसम्म जे 

गर्न सक्थे, अहिले सोही भूमिकामा चुस्त–दुरुस्त देखिएका थिए । याने अहिलेको उनको सारा गराई विलकुलै बेठिक थिएन । (म सोच्न थालँें) । केही बेरपछि भनेंँ मैले, ‘तपाई 

सालोले गर्दा कांग्रेसी भए पनि असलमा त एक वामपन्थी नै हुनुहुन्छ होला नि दाइ ?’

‘होइन–होइन, यसो नभन्नोस् भाइ,’ उनी दुवै आँखा बेस्सरी चलाएर पल्याक–पुलुक यताउता हेर्न थाले, ‘म पुरै कांग्रेसी भइसकेको छु ।’

‘साँच्चै हो त दाइ ?’

‘मैले तपाईंसँग झुठो किन बोल्ने भाइ ?’ उनको स्वर चर्काे भयो, ‘अब मैले पनि प्रधानमन्त्री देउवाको सपना साकार गर्नुपर्छ ।’

‘बीपीको सपना भन्नुभएको होला ।’ म मुस्कुराएँ, ‘सबै कांग्रेसीहरू यसै भन्ने गर्छन् ।’ 

‘होइन–होइन, मैले सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सपना नै भनेको हुँ भाइ ।’

यो संक्षिप्त भेटघाटको केही दिनपछि फेरि उनीसँग मेरो जम्काभेट भयो । (हिंँड्दा–हिंँड्दै) । उनी आफ्नो वामपन्थी अतीत त्यागेर पुरै कांग्रेसी भइसकेकाले मैले कराएर भनँें, ‘जय नेपाल दाइ ।’

‘लाल सलाम ।’ उनले मेरो अभिवादनको जवाफ दिए ।

‘जय नेपाल ।’ म त्यहीं रोकिएँ, ‘तपाईंले अहिलेसम्म आफ्नो पुरानो लाल सलामलाई बिर्सन सक्नुभएको छैन दाइ ?’

‘होइन, होइन,’ उनले लाल सलाममा जोड दिएर भने, ‘म साँच्चिकै लाल सलाम नै भनिरहेको छु भाइ ।’

‘के तपाईं अहिले नेपाली कांग्रेसको समर्थक होइन र दाइ ?’ मैले छक्क परेर सोधेंँ उनीसँग ।

‘कहाँ हुनु भाइ ?’ उनले गम्भीर मुद्रा धारण गरे, ‘मैले नेपाली कांग्रेसलाई छाडिसकेको छु नि †’

‘यस्तो किन गर्नुभएको दाइ ?’ म पुरै चमत्कृत अवस्थामा थिएँ ।

‘हेर्नोस्, लास्ट टाइममा मेरो सालोबाट खोसेर कांग्रेसले अर्कैलाई टिकट दियो । यो त ठूलै बेइमानी भयो । यस्तो गर्नुहुन्छ त भाइ ?’ उनी पर्याप्त क्रोधमा थिए, ‘त्यसैले मेरो सालो बागी भएर त्यहींबाट चुनावमा उठेको छ ।’

‘स्वतन्त्र उम्मेदवार भएर दाइ ?’

‘हो, स्वतन्त्र उम्मेदवार नै हो ।’

‘त्यसो भए, लाल सलाम किन त दाइ ?’ मेरो स्वाभाविक प्रश्न थियो ।

‘म एक पुरानो वामपन्थी समर्थक हुँ । सबै वामपन्थी नेताहरूलाई म राम्ररी चिन्छु । त्यसैले तिनीहरूलाई भनेर म मेरो सालोलाई सहयोग गराउन चाहन्छु । यही नेपाली कांग्रेससँग बदला लिने एकमात्र बाटो हो । यसरी नै मेरो सालो चुनावमा जित्न सक्छ,’ उनी सहसा गम्भीर भए, ‘त्यसैले म अहिले नेपाली कांग्रेसबाट वामपन्थी भएको छु भाइ ।’

‘तपाईंको सालोलाई जिताउन वामपन्थीहरूले सहयोग गर्लान् त दाइ ?’ मैले चाख मानेर सोधेंँ, ‘यो सम्भव छ र ?’

‘म कमरेड ओलीसँग नै सम्पर्क गर्ने कोसिस गरिरहेको छु भाइ ।’ उनले विस्तारै भने, ‘हेरुँ, के हुन्छ ?’

‘ल त, अग्रिम बधाई छ दाइ ।’

‘केको बधाई ?’

‘तपाईंको सालोले वामपन्थीहरूका सहयोगबाट राम्ररी चुनावमा जितोस् दाइ ।’ म मुस्कुराएँ ।

‘धन्यवाद ।’ उनको मुखमण्डलमा पनि खुसी छरियो ।

यो भेटघाटको झन्डै एक सप्ताहपछि उनी बजारमा देखापरे । नयाँ बुकस्टलनेर उदास मुद्रामा उभिएका थिए । उनी नजिक गएर भनेंँ मैले, ‘लाल सलाम दाइ ।’

मेरो ‘लाल सलाम’को कुनै उत्तर दिने तरखर गरेनन् उनले । त्यसै मौन रूपमा उभिइरहे । (घना उदासीसहित) । मैले हातसात मिलाएर भनेंँ, ‘के भयो दाइ ?’

‘मेरो सालोलाई यी वामपन्थीहरूले पनि सहयोग नगर्ने भएका छन् । आफ्नै उम्मेदवार छ रे † कोही पनि मसँग कुरा गर्नसमेत तयार भएनन् । सबै बेइमान हुन् । अब कसको विश्वास गर्ने ?’ उनको स्वरबाट उदासी फुतुफुतु झरिरहेको थियो, ‘त्यसैले एकपटक फेरि नेपाली 

कांग्रेस पार्टीमा जाने विचार गरिरहेको छु भाइ ।’

‘राम्रै विचार गर्नुभयो दाइ ।’ मैले उनको दाहिने हात बेस्सरी दबाएर भनँें, ‘जय नेपाल ।’

‘जय नेपाल,’ उनको ओठको कापबाट बिस्तारै निस्कियो ।

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार