प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

सुर्खेत–२ : प्रतिष्पर्धी फेरिएपछि उत्साही

- प्रकाश अधिकारी, सुर्खेत

कार्तिक २४, २०७४-कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानी र एमाले पोलिट्ब्युरो सदस्य यामलाल कंडेल विद्यार्थीकालदेखि नै राजनीतिक प्रतिष्पर्धी थिए । उच्च शिक्षा अध्ययन गर्न वीरेन्द्रनगरबाट काठमाडौं गएका यी दुई युवाबीच ०४१ सालमा शंकरदेव क्याम्पसको स्ववियू निर्वाचनमै प्रतिष्पर्धाको सुरुवात भयो । थानी र कंडेलबीचको प्रतिष्पर्धा स्ववियूमा सीमित रहेन । ०५१ सालयताका सबै संसदीय/संविधानसभा निर्वाचन आमने–सामने भइरहे । आलोपालो गरी जित्दै आएका उनीहरुबीचको रोचक चुनावी भीडन्त सुर्खेतीका लागि चासो बनिरहन्थ्यो । 

नयाँ संविधान जारी भएपछि पहिलोपल्ट हुन लागेको प्रदेश र संघ (प्रतिनिधिसभा) निर्वाचनले अन्तत: उनीहरुबीचको प्रतिष्पर्धा टुटेको छ । सुर्खेत–२ बाट थानीले प्रतिनिधिसभा रोजेका छन् भने कंडेलले प्रदेश सभा । कंडेलको प्रदेश रोजाइँले थानीमा उत्साह थपेको छ । ‘यामलालजी बलियो प्रतिष्पर्धी हो । अहिलेसम्मका सबै चुनावमा उहाँसंगै लडियो’ उनले भने, ‘यसपटक अलि सहज भएको महसुस गरेको छु ।’ उनले आफू सांसद/मन्त्री हुँदा गरेको विकास निर्माणको प्रभावका कारण जीत सहज भएको दाबी गरे । 

एमाले–माओवादी तालमेलले कांग्रेसलाई एकताबद्ध हुन मद्दत पुगेको उनको भनाई छ । ‘विगतमा पार्टीभित्रकै अन्तर्घातका कारण चुनाव हार्नुपरेको थियो । मनोनयन दर्ता गरेदेखि नै आफ्नै पार्टीकालाई सम्हाल्न भ्याइनभ्याई हुन्थ्यो । यसपटक आन्तरिक समस्या देखिएन । त्यसैले ढुक्कसंग प्रचारमा जुटेको छु’ थानीले भने, ‘कम्तीमा आफ्नै पार्टीभित्र समस्या नहुने हो भने उच्च मनोबलका साथ मतदातासमक्ष पुग्न सकिँदोरहेछ ।’

संसदको राज्य व्यवस्था समितिका सभापति र सहकारी तथा गरिवी निवारण मन्त्रालयको अनुभव संगालिसकेका निवर्तमान सांसद थानी यसपटक एमाले पूर्व जिल्ला अध्यक्ष नवराज रावतसंग प्रतिष्पर्धा गर्दैछन् । रावत हाल प्रदेश कमिटी सदस्य हुन् । सुर्खेत–३ बाट ०५१ को मध्यावधी, ०६४ र ०७० को संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार थिए । रावत लडेकामध्ये दुई निर्वाचनमा कांग्रेस उम्मेदवारसंग पराजित हुन पुगे । रावत एमालेभित्र पटक–पटक अवसर पाउने ‘भाग्यमानी नेता’ मा पर्दछन् । 

जिविस उपसभापति, दुई कार्यकाल पार्टी प्रमुख, चार वटा संसदीय निर्वाचनको टिकट पाइसकेका छन् । यसपटक उनी वाम गठबन्धनकै बलमा निर्वाचन जित्ने दाउमा छन् । ‘केही प्राविधिक कारणले विगतमा हार्नुपर्‍यो । एमालेको संगठन त्यति कमजोर पनि होइन्’ रावतले भने, ‘यसपल्ट माओवादीको भोट पनि थपिने भएकाले हार्छु जस्तो लाग्दैन् ।’ पछिल्लो संविधानसभा निर्वाचनमा उनी कांग्रेसका तप्तबहादुर विष्टसंग पराजित भएका थिए । 

उनका पुराना प्रतिष्पर्धी एवं वर्तमान सरकारका सञ्चार राज्यमन्त्री विष्टले हाल प्रदेशसभा रोजेका छन् । उनीसंग प्रतिष्पर्धा नहुँदा रावतलाई पनि केही राहत मिलेको छ । वीरेन्द्रनगरबाट आफूले राम्रो भोट पाउने र, पश्चिम आफ्नो पुरानै क्षेत्र भएकाले यसपटक पराजयको रेर्कड तोड्ने दाबी गर्छन् । पश्चिम सुर्खेतमा अछाम, कालिकोट र दैलेखबाट बसाइँ सरेर आएका मतदाताहरुको संख्या अधिक छ । आफ्नो पर्ख्यौली घर अछाम भएकाले विगतमा जस्तो मत विभाजन नहुने तर्क गर्छन् । अघिल्ला दुई निर्वाचनका प्रतिष्पर्धी विष्टको पुर्ख्यौली घर पनि अछाम नै हो । जसले गर्दा मत बाँडिन पुगेको उनको बुझाई छ । थानीले विष्टको जस्तो अछामीहरुको भोट लिन नसक्ने रावतको दाबी छ ।  ‘सधैं हार्ने कुरा हुँदैन् । यसपटक झन् हार्ने कुनै आधार देख्दिनँ’ उनले भने, ‘गठबन्धनबाट घात हुने सम्भावना पनि छैन् ।’ 

एक लाख २ हजार ९ सय ४० मतदाता रहेको सुर्खेत–२ अन्तर्गत वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका तथा वराहताल र चौकुने गाउँपालिका पर्दछन् । बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा चौकुनेबाहेक बाँकी तीन वटै तहमा प्रमुख पद कांग्रेसले जितेको थियो । 

प्रकाशित: कार्तिक २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार