प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

उपल्लो मुस्ताङीको चाहना : कोरला नाकासम्म फराकिलो सडक

- विनोद त्रिपाठी, मुस्ताङ

कार्तिक २४, २०७४-कोरला भन्सार कार्यालय सधैंजसो सुनसान देखिन्छ । बर्षको दुइ पटक व्यापारिक मेलामा मात्र चहलपहल हुने यो कार्यालय कोरला जाने बाटोमै जोडिएको छ । कर्मचारी आउँदा र उनिहरुले काम गरेको देख्दा स्थानीयहरु हर्षित हुने गर्छन् । 

कोरला नाका जोड्ने सडक बन्न लागेको दुई वर्ष भइसक्यो । जोमसोमबाट कोरलासम्म आउने एकतर्फी कच्ची सडकले स्थानीयलाइ निकै दिक्दारी दिएको छ । अधकल्चो सडकले न हिँड्न मिल्छ, न सुविस्ताले मोटर आउन सक्छ । 

यहि सडक सम्झेर यहाँका मतदाताहरु स्थानीय निकायको चुनावदेखि अहिले हुन लागेको प्रतिनिधी र प्रदेशसभाको चुनावमा सडककै माग उठाउँछन् । जुन उम्मेदवार भोट माग्न आएपनि सबैको एउटै स्वर छ, ‘कोरला आउने सडक ढिला नगरी बनाइदेउ ।’

उम्मेदवारसंग के आसा गर्नुहुन्छ भन्ने प्रश्नमा सबैजसो मतदाता सडक बनाइदिए उपल्लो मुस्ताङ विश्वकै महत्वपूर्ण ठाउँ हुने सुनाउँछन् । सडक राम्रो नहुँदा भन्सार कार्यालयमा कर्मचारी नबसेको यिनीहरुको बुझाइ छ । कर्मचारीको आउजाउ मात्र होइन सधैं यहि बसेर काम गरिदिए हुन्थ्यो भन्ने स्थानीयको आसा छ । सडक नबनेकोले नाका खुलेन र भन्सार कार्यालय पनि चलेन भन्ने यहाँका बासिन्दालाइ लागेको छ । 

‘चिसो भएपनि हामी उम्मेदवारलाइ भोट दिन कुरिरहेका छौं,’ लोमान्थाङ गाउँपालिका–३ छोन्हुपका टासी नोर्वु गुरुङ भन्छन्, ‘उम्मेदवारले सडक बनाउन लाग्नुपर्‍यो ।’ सडक राम्रो भयो भने हाम्रो ब्यापार हुने र अन्य जिल्ला जान नपर्ने उनले सुनाए । 

यहिंका अर्का राजु गुरुङ सरकारले कोरला नाका खुलाउन र सडक बनाउन अब जित्ने उम्मेदवारलाई खटाउनुपर्ने बताए । अर्का आङ्गेल गुरुङ भन्छन्, ‘सडक राम्रो भयो भने व्यापार हुन्छ, खेती गरेर तल (जोमसोम, पोखरा) लगेर बेच्न पाइन्छ ।’ अहिलेका उम्मेदवारले सडक बनाइदिए हाम्रो लागि ठुलो त्यहि हुने उनको भनाइ छ । 

छोन्हुप महिला समुहकी अध्यक्ष ढिकी गुरुङ इमान्दारिकपुर्वक जस्ले सडक बनाउने कसम खान्छ उसैलाइ भोट दिने सुनाइन् । ‘हामीलाई चाहिएको सडक हो, सडक बन्यो भने हाम्रो गाउँ स्वर्ग हुनेछ । जस्ले चुनाव जितेपनि सडक बनाउनुपर्‍यो,’ उनले भनिन् ।

 

जोमसोमदेखि कोरलासम्मको १ सय १० किमी सडक खन्न २ अर्ब ५० करोड बिनियोजन भइसकेको दुइ वर्ष भइसक्यो । विनियोजित बजेट अन्तर्गत ०७३ सालमा ३९ करोड निकासा भइसकेको छ । कालीगण्डकी करिडोर सडकमा कोरलादेखि गैंडाकोटसम्मका मुस्ताङ, म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा र नबलपरासी जिल्ला पर्छन् । 

यो सडकले नवलपरासीको तराई क्षेत्रबाट सोझै चीनको कोरला सिमानासम्म जोड्ने उद्धेस्यले बनाउन थालिएको हो । निर्माणमा ढिलाइ भएको स्थानीयको गुनासो छ । उत्तर–दक्षिणको यो सडक गैंडाकोट–मालढुंगा २ सय ३५, मालढुंगा–बेनी १४, वेनी–जोमसोम ७६ र जोमसोम–कोरला १ सय १० किमी रहेको छ । ४ सय ३५ किमी लामो यो सडक सिरानमा यहि छोन्हुप गाउँ पर्छ । अहिले यहाँका सबै मतदाताले यहि सडकको स्तरोन्नति खोजिरहेका छन् । 

 

प्रकाशित: कार्तिक २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार