साहित्य/विविध

आचार्य र वललाई प्रतिभा

- कान्तिपुर संवाददाता , लन्डन

कार्तिक २१, २०७४-नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानले शनिबार वरिष्ठ स्रष्टा वेणु आचार्यलाई प्रतिभा सम्मान र युवा स्रष्टा फूलमान वललाई प्रतिभा पुरस्कार दिने घोषणा गरेको हो । सम्मानमा बीस हजार रुपैयाँसहित ताम्रपत्र र पुरस्कारमा एक लाख रुपैयाँसहित ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ । बेलायतको हाई वेकममा प्रतिष्ठानकी नवनिर्वाचित अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले पुरस्कारसम्बन्धी निर्णय लिएको हो । 

नेपाली काव्य साहित्यमा विशिष्ट योगदान पुर्‍याएबापत् आचार्यलाई प्रतिभा सम्मान दिन लागिएको प्रतिष्ठानका महासचिव एवं साहित्यकार मिजास तेम्बेले जनाए । तेह्रथुमको भोटेछापमा जन्मिएका ७६ वर्षीय आचार्यले विसं २०१८ तिरै कविता लेख्न थालेका हुन् । उनका ‘असमान यी धर्तीका तस्बिरहरू’ र ‘एक चोक्टा इतिहास’ गरी दुई कविता कृति र एक मुक्तक संग्रह प्रकाशित छन् । उनले ‘छाया’, ‘प्रेरणा’, ‘जनजागृति’, ‘कोशीका कोसेली’ जस्ता साहित्यिक संकलन एवं पत्रिकाको सम्पादनसमेत गरेका छन् । कुनै समय धरानका पुराना साहित्यकार बम देवान, कृष्ण पाख्रिनहरूसँग मिलेर उनले ‘समाज परिवर्तनका लागि साहित्यिक अभियान’ चलाएका थिए । 

त्यस्तै कविता, कथा, नाटक तथा फिल्मका माध्यमबाट नेपाली समाज रूपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याएबापत् वललाई प्रतिभा पुरस्कार दिन लागेको प्रतिष्ठानले जनाएको छ । काभ्रेको तेमालमा जन्मेका कान्तिपुरकर्मी वलले ‘काजोल खातुन’ कथासंग्रह, ‘महाभारतकी मैच्याङ’ कवितासंग्रह र ‘म्हेन्दोमाया’ नाटक लेखेका छन् भने ‘सेलफोन’ छोटो फिल्म र ‘नीरफूल’ फिचर फिल्म निर्देशन गरेका छन् ।

बैठकले प्रतिष्ठान स्थापनाको एक दशक पुगेको विशेष अवसरमा भाषा, साहित्य तथा सांगीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत् संगीत साधना प्रतिष्ठान (इटहरी, सुनसरी), सुदूरपश्चिमाञ्चल साहित्य समाज (धनगढी, कैलाली) र स्व. पारसमणि प्रधान सालिक संरक्षण समिति (सिलिगुडी, भारत) लाई विशेष सम्मान गर्ने निर्णय गरेको महासचिव तेम्बेले बताए ।

शनिबारै सम्पन्न प्रतिष्ठानको तेस्रो सम्मेलनले दीपा लिम्बू राईको अध्यक्षतामा गणेश राई र टंक वनेम उपाध्यक्ष, मिजास तेम्बे महासचिव, नरेश नाति सचिव, अञ्जु अञ्जली सहसचिव, देवेन्द्र खेरेस कोषाध्यक्ष र चोक गुरुङ सहकोषाध्यक्ष रहेको नयाँ कार्यसमिति पनि चयन गरेको छ । सम्मान तथा पुरस्कार जनवरीको अन्तिम साता राजधानी काठमाडौंमा दिइने प्रतिष्ठानका कोषाध्यक्ष देवेन्द्र खेरेसले बताए । 

 

प्रकाशित: कार्तिक २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार