सूचना प्रविधि

अनलाइनमार्फत लघुउद्यमीको लगत

- कान्तिपुर संवाददाता , हेटौंडा

कार्तिक २०, २०७४-उद्योग मन्त्रालयले देशभरका लघुउद्यमीको लगत अनलाइनमार्फत अद्यावधिक गर्ने भएको छ । दाताको सहयोगमा करिब १० वर्ष सञ्चालित लघुउद्यम विकास कार्यक्रम र ५ वर्ष सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमबाट उद्यमी बनेका देशभरका १ लाख ५० हजारभन्दा बढी उद्यमीको लगत अनलाइनमार्फत मन्त्रालयले अद्यावधिक गर्न लागेको मन्त्रालयकी सचिव यमकुमारी खतिवडाले बताइन् । १० वर्ष लघुउद्यम विकास कार्यक्रम पछिल्लो ५ वर्षदेखि गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका रूपमा सञ्चालित रहेको छ ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम पनि पछिल्लो व्यवस्थाअनुसार स्थानीय सरकारमा गाभिने पनि सचिव खतिवडाले जानकारी गराइन् । लघुउद्यमीको विस्तृत विवरण अद्यावधिक गर्ने तयारीस्वरूप उद्योग मन्त्रालय, उद्योग विभाग र गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमको देशभर रहेका ८ वटा क्षेत्रीय कार्यालयका सूचना तथा प्रविधि शाखाका अधिकारीलाई हेटौंडामा आइतबारदेखि तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

तालिमको उद्घाटन गर्दै उद्योग सचिव खतिवडाले देशभर विस्तार भएको लघुउद्यम विकास कार्यक्रमलाई परिवर्तित राज्य व्यवस्थाअनुसार स्थापित गर्न स्थानीय तहमा हस्तान्तरण गर्नुअघि लघुउद्यमीको विस्तृत विवरण अनलाइनमार्फत अद्यावधिक गरिने बताइन् ।

लघुउद्यम विकास कार्यक्रममार्फत सरकारले पछिल्लो डेढ दशकमा ३ देखि ६ महिनाको आवधिक सीपमूलक तालिम प्रदान गरी उद्यमशीलता विकासका लागि सहयोग गर्दै आएको छ । ठूला उद्योगलाई सरकारले औद्योगिक वातावरण मात्रै बनाए पर्याप्त हुने भए पनि लघुउद्यम विकासका लागि सरकारले नै लगानी गरेर प्रवद्र्धनात्मक, क्षमता तथा सीप विकास र प्रविधिको विकासमा सहयोग गर्नुपर्ने सचिव खतिवडाको भनाइ थियो । तालिमको उद्घाटन कार्यक्रममा लघुउद्यमी विकास कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डा. रामजीप्रसाद न्यौपानेले लघुउद्यमीको विस्तृत विवरण अद्यावधिक गरेपछि आगामी दिनमा उपयुक्त नीति निर्माणका लागि सहयोग पुग्ने बताए ।

लघुउद्यमीको विस्तृत विवरण अद्यावधिक गर्न सके भावी दिनमा संघ, प्रदेश र स्थानीय तह गरी तहगत रूपमा गर्नुपर्ने कामबारे पनि योजना बनाउन सहज हुने डा. न्यौपानेको विश्वास छ ।

लघुउद्यम विकास कार्यक्रमले मकवानपुर जिल्लामा आर्थिक वर्ष २०७३/७४ को अन्त्यसम्ममा १ हजार ७७ युवालाई लघुउद्यमी बनाएको घरेलु तथा साना उद्योग कार्यालयका अधिकारीले बताए । घरेलु तथा साना उद्योग कार्यालय अहिले हेटौंडा उपमहानगरपालिका मातहत उद्योग विकास शाखाका रूपमा सञ्चालनमा रहेको छ । 

मकवानपुर जिल्लामा ५ वर्षअघिबाट गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालनमा आएको हो ।

प्रकाशित: कार्तिक २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार