सूचना प्रविधि

अनलाइनमा गलत विज्ञापन गरे जरिवाना

- एजेन्सी, बेइजिङ

कार्तिक २०, २०७४-चीनमा इन्टरनेट सपिङ वेबसाइटहरूले आफ्ना उत्पादनहरूबारे गलत विज्ञापन प्रकाशित गरेमा जरिवाना तिर्नुपर्ने भएको छ । गलत विज्ञापन गरी सामान बेच्ने कम्पनीमाथि अंकुश लगाउन र उपभोक्ताहरूको यसबारे रहेको गुनासा समाधान गर्न चीनले उक्त निर्णय गरेको हो । यसका लागि चीनले नयाँ कानुन नै कार्यान्वयनमा ल्याएको छ । 

नकारात्मक अनलाइन समीक्षाहरूलाई हटाउने वा नक्कली सकारात्मक समीक्षाहरू पोस्ट गर्ने बिक्रेतामाथि नियन्त्रण गर्न चीनले कानुन कार्यान्वयनमा ल्याएको बीबीसीले जनाएको छ । अनलाइनले गल्ती गरेको ठहरेमा न्यूनतम ३० हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ । कानुन ल्याउनुको उद्देश्य ‘सिंगल डे (एकल दिवस)’ अघि चीनको इन्टरनेट सपिङ वेबसाइटहरू सफा गर्नुसमेत रहेको जनाइएको छ । उक्त दिवसमा सबैभन्दा व्यस्त अनलाइन सपिङ हुने गर्छ । 

अघिल्लो वर्ष यो दिवसमा २४ घण्टामै करिब १८ अर्ब डलरको कारोबार भएको थियो । अधिकांश ‘सिंगल डे’ मा बिक्रेताहरूले अलिबाबा अनलाइनबाट सामानहरू बिक्री गर्ने गर्छन् । 

चीनमा हरेक वर्षको ११ नोभेम्बरमा ‘सिंगल डे’ का रूपमा मनाउने परम्परा छ । यो दिवसलाई दुइटा एघार ‘डबल इलेभन’ नामले समेत चिनिन्छ । क्रेताले अनलाइनमा राखेको विज्ञापनअनुसार सामग्री प्राप्त नगरेको भन्दै प्रहरीमा धेरै उजुरी पर्दै आएका थिए । अघिल्लो अगस्टमा चीनले पहिलोपटक डिजिटल ‘साइबर–कोर्ट’ सार्वजनिक गरेको थियो । उक्त अदालतले अनलाइन सपिङबारे विवादलाई न्यूनीकरण गर्न र इन्टरनेटसँग सम्बन्धित अन्य समस्याको समाधान गर्ने चीनले जनाएको छ ।

प्रकाशित: कार्तिक २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार