फिचर

धान थन्काउन खाडीबाट आए युवा

- पूर्ण बीके, पोखरा
‘खाडी मुलुकमा जस्तो परिश्रम गर्ने हो भने यहीँ कमाउन सकिन्छ । तर, पैसा कमाउने मोहले युवा विदेश भासिने गर्दा श्रमिक पाउनै गाह्रो छ ।’

कार्तिक २०, २०७४-हर्कबहादुर रसाइलीको मलेसियामा महिनाको पारिश्रमिक ४ सय ८१ रिंगेट अर्थात् ११ हजार ७ सय ८२ रुपैयाँ थियो । पोखरा २९ पटनेरीका ३१ वर्षीय यी युवक थप समय काम गरेर महिनाको त्यस्तै २०/२२ हजार कमाइ गर्थे । खर्च काटेर १५ हजार जोगिन्थ्यो । 

धान थन्काउने मजदुरी गर्न दुई महिनाअघि घर फिरेका उनी अहिले बिहान–बेलुका मासुभात र खाजा खाएर दैनिक हजार रुपैयाँ बचत गर्दै आएका छन् । खाडीमा न्यून पारिश्रमिक पाउँदै आएका हर्कबहादुरजस्ता पटनेरीका दर्जन युवा धान थन्काउने मजदुरी गर्न घर फिरेका छन् । उनीहरूलाई अहिले धान थन्काउने चटारो छ । ‘कात्तिक महिनामा त धान थन्काउने चटारोले पैसा पनि राम्रै कमाइन्छ,’ हर्कबहादुरले भने, ‘घरमै यसरी पैसा कमाउने हो भने विदेश जानु नै पर्ने रहेनछ ।’

छिमेकका युवाले खाडी गएर कमाएको देखेर आफू पनि बिदेसिएको उनले बताए । तर, सामान्य साक्षर मात्रै रहेकाले मलेसियामा पनि न्यून ज्यालामा मजदुरी गर्नुपरेको उनको भनाइ छ । स्थानीय समिर विक, दुर्गाबहादुर विक, गोपी सुनार, विनोद विक, ज्ञानु थापा र ललित परियारलगायतका युवा खाडीको विभिन्न मुलुकबाट घर फर्किएर धान थन्काउन खटिएका हुन् । ८/१० जना मानिसहरू भएर बिहानै धान झार्न जाने, मध्याह्न पराल र धान थन्काउने गर्दा समय गएको पत्तै नपाइने कतारबाट तीन महिनाअघि फर्किएका २९ वर्षीय तिलक परियारले बताए । 

‘धान थन्काउने खेताला जाँदा खाएको समेत हिसाब गर्दा महिनाको ४५/५० हजार रुपैयाँ कमाइ हुने रहेछ,’ उनले भने, ‘विदेश गए पैसा सजिलै कमाउन सकिन्छ भन्ने सोचेको थिएँ । त्यस्तो होइन रहेछ । गर्न सके यताको कमाइ पनि राम्रै हुने रहेछ ।’ कमाइ न्यून भएकाले पनि उक्त कम्पनीमा नजाने र राम्रो पारिश्रमिक पाए अर्को कम्पनीमा जाने योजना बनाएको उनको भनाइ छ । कतारमा आफूले मासिक २० हजार रुपैयाँ बचत गर्ने बताए ।

आफूहरू साक्षार मात्रै रहेकाले पनि खाडीमा धेरै तलब नपाइने भएकाले धान पराल थन्काउने काम आफूहरूको आकर्षणमा परेको २९ वर्षीय विनोदले बताए । ‘कतारमा खासै राम्रो काम परेन । १२/१५ घण्टा खटिँदासमेत महिनाको २५ हजार रुपैयाँ बचत हुन्थेन,’ उनले भने, ‘अहिले यहाँ घरपरिवारसँग बसेर महिनाको ३० हजार बचाउन सकिएको छ ।’

धान पराल थन्काउने समय कात्तिक महिनामा मात्रै आफूहरूले उक्त रकम कमाउने र अन्य समयमा त्यसै बस्नुपर्दा खाडी जानुपर्ने बाध्यता रहेको उनीहरूले बताए । ‘बाह्रैमहिना यस्तो काम पाए खाडीमा किन गइन्थ्यो होला र ?’ ३३ वर्षीय ज्ञानुले भने, ‘धान खेती थन्काएपछि त कामै छैन । त्यसैले खाडी जानुपर्ने बाध्यता हो ।’

धान खेती थन्काउने समय पारेर छोरा घरमा आएको हर्कबहादुरका बुबा ५२ वर्षीय कुलमानले बताए । खाडीमा राम्रो कमाइ नभएका गाउँका अधिकांश युवा धान थन्काउने समयमा घर फिर्ने र मजदुरी गरी पैसा कमाउने गरेको उनले बताए । ‘श्रम गर्नेहरूले नै श्रमको मूल्य बुझ्दा रहेछन्,’ उनले भने, ‘खाडीबाट फिरेका युवाले गर्दा खेती थन्काउन सजिलो भएको छ ।’ 

आफूले लगाएको ५ रोपनी क्षेत्रफलको धान र पराल थन्काउन आफूले पाँचजना पुरुष र तीनजना महिला खेताला हालेको खेतधनी बुद्धिलाल थापाले बताए । धान पराल थन्काउन खाडी गएका गाउँका युवा आएपछि निकै राहत मिलेको उनले सुनाए । ‘पैसा तिर्छु भन्दा पनि भनेजस्तो खेताला पाइँदैन,’ उनले भने, ‘खाडीबाट फर्किएका युवाले गर्दा पोहोर र अहिले निकै राहत मिलेको छ ।’

कास्कीमा कुल २ लाख १७ हजार हेक्टर क्षेत्रफलमध्ये जनशक्ति अभावमा ४८ हजार ६ सय ३३ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । खेती गर्ने मजदुर नपाइँदा २० हजार ३ सय ३४ हेक्टर क्षेत्रफल बाँझो रहेको वरिष्ठ कृषि विकास अधिकृत लोकेन्द्र बोहराले बताए । 

‘खाडी मुलुकमा जस्तो परिश्रम गर्ने हो भने यहीँ कमाउन सकिन्छ,’ उनले भने, ‘तर, पैसा कमाउने मोहले युवा विदेश भासिने गर्दा श्रमिक पाउनै गाह्रो छ । त्यसको मार कृषि उत्पादनमा परेका छ ।’

प्रकाशित: कार्तिक २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार