फिचर

मालदिभ्स डायरी

  • यात्रा
- अतुल मिश्र, काठमाडौं

कार्तिक १९, २०७४-पत्याउन गाह्रो होला तर तपाईं मालदिभ्सको जुनसुकै रिसोर्ट, होटेल, द्वीपमा जानुस्, त्यहाँ नेपाली भेट्नुहुन्छ । संस्कृतमा ‘मालादीपा’ अर्थात् द्वीपहरूको माला भनिने यो मुलुक घुम्न जाने नेपालीको संख्या नगन्य भए पनि यहाँ काम गर्न पुग्नेहरू १० देखि १५ हजार छन् । 

हिन्द महासागरको मध्यमा करिब १२ सय स–साना टापुहरूको ४ लाख जनसंख्या भएको सुन्दर देश हो मालदिभ्स । त्यति थोरै जनसंख्या भएको मुलुकमा नेपालीहरूको यो संख्याको उपस्थिति कत्तिको महत्त्वपूर्ण छ भनिरहनुपर्दैन । 

मालदिभ्स जनसंख्या र क्षेत्रका आधारमा एसियाकै सबैभन्दा सानो देश हो । करोडौं वर्षसम्म मुगा जमेर बनेको यो द्वीप हलुका नीलो रंगको देखिन्छ र सेतो बालुवा भएको यसको किनारा समुद्रमा घोलिएको जस्तो लाग्छ । 

समुद्री सुन्दरताको प्रतीक नै रहेको यो मुलुकमा सामान्य नेपाली कामदारले महिनामा सरदर ४० हजारदेखि सवा लाख रुपैयाँसम्म कमाउँछन् । यो मुलुकले कामदारलाई यतिको रकम दिनुको पछाडि उसको आर्थिक स्थिति मजबुद भएकैले हो । 

सन् १९८० ताका मालदिभ्स विश्वको गरिब राष्ट्रमध्ये एक रहेको औंल्याउँदै विश्व स्वास्थ्य संगठन, दक्षिणपूर्व एसिया क्षेत्रका निर्देशक डा.पूनम खेत्रपाल निरन्तरको दिगो विकासपछि यो मुलुक उच्च मध्यम आय भएको राष्ट्र बनेको बताउँछिन् । ‘खाडीजस्तो स्थिति छैन, यहाँ हाम्रा महिला दिदीबहिनी सुरक्षित छन्,’ हामी रहेको बसेको होटलमा कार्यरत रञ्जिता ओझाले भनिन् । उनी कार्यरत मालेस्थित होटेलमा ६ जना नेपाली चेली कार्यरत छन् । उनका अनुसार यहाँ नेपाली कामदारको रूपमा महिला बढी छन् । 

होटल, पर्यटन नै मालदिभ्सको मुख्य आयस्रोत हो । समुद्री सुन्दरताको आनन्द उठाउन यहाँ आउने पर्यटकको संख्या बढ्दो छ । यही कारणले नेपालीहरू पनि कामको खोजीमा माले पुग्ने क्रम बढ्दो छ । 

पुरुषहरू मुख्य रूपमा सुरक्षा गार्ड, ड्राइभर, होटल कर्मचारीका रूपमा यहाँ आउँछन् । पछिल्लो दिनमा केही मात्रामा डाक्टरलगायतका उच्च जनशक्ति छन् । महिलाहरू घरेलु कामदार, केयरगिभर, होटल, रिसेप्सन, वेट्रेस आदिको रूपमा कार्यरत छन् । एक दशकदेखि मालेमा कार्यरत सन्तोष मगरले नेपालीहरू बढी होटलमा र सुरक्षागार्डका रूपमा कार्यरत रहेको बताए । 

नेपाली दूतावास नभएकोले सानो कामका लागि पनि श्रीलंका जानुपर्ने बाध्यता छ । जबकि, श्रीलंकाको दाजोमा यहाँ धेरै बढी नेपाली कार्यरत छन् । मालदिभ्समै दूतावास भइदिए धेरै राहत हुने नेपालीहरूको भनाइ छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाताका यहाँ दूतावास खोल्ने वाचा गरेको मगर अझै सम्झन्छन् । 

यहाँका नेपाली कामदार आफ्नो मालिकलाई नाम लिएर बोलाउँछन् । यहाँ महिलालाई हेपिँदैन । अस्पतालमा घरेलु हिंसाको समस्या आउँदैन । छोराछोरीलाई सम्पत्तिमा बराबर अधिकार भएकाले पनि यहाँ महिला हिंसा आदि नहुने मालेस्थित एडीके हस्पिटलमा कार्यरत डा.ईश्वर शर्मा बताउँछन् । डा.शर्माको अस्पतालमै १० जना नेपाली कार्यरत छन् । 

सडक किनारा नि:शुल्क जिम 

राजधानी मालेलगायतका अन्य द्वीपहरूको सडकछेउमा खुला जिम, फुटसल, बालबालिकाले खेल्ने विभिन्न सामग्रीसहितका स्थानहरू छन् । यति सानो ठाउँमा समेत शारीरिक अभ्यासका लागि उपयुक्त हुने साधन, सुविधा यहाँको सरकारले आफ्ना जनतालाई नि:शुल्क उपलब्ध गराएको छ । चार/पाँच किलोमिटरसम्म पनि स्थानीय बासिन्दा पैदलै ओहोरदोहोर गर्छन् । 

स्वास्थ्यमन्त्री अब्दुल्ला नाजिम इब्राहिमले विश्व स्वास्थ्य संगठन, दक्षिणपूर्व एसियाको क्षेत्रीय सम्मेलनमा यहाँ मधुमेह, मुटुरोग, डिप्रेसनलगायतका नसर्ने रोग बढी रहेको बताएका थिए । हाल यहाँका सबै नागरिकको स्वास्थ्य बिमा गरिएको छ । बर्सेनि सरकारले ८१० अमेरिकी डलर एक व्यक्तिको स्वास्थ्यका लागि खर्च गर्छ । अझ कामदारहरूको पनि बिमा छ । हाम्रो मुलुक हाल करिब साढे चार प्रतिशत मात्र स्वास्थ्यमा खर्च गरिरहेको छ । जबकि यो सानो देशले कुल वजेटको २६ प्रतिसत स्वास्थ्य क्षेत्रमा खर्च गरिरहेको छ । 

देशअनुसारको दूरी !

एयरपोर्टवाट स्पिड बोटमा माले पुग्नेबित्तिकै त्यहाँ हामीलाई कुर्ने होटलको गाडीलाई मैले कति टाढा छ भनेर सोधें । उनले ‘अलि टाढा नै छ’ भनेर जवाफ फर्काएका थिए । करिब १५ देखि २० किलोमिटर प्रतिघण्टाको गतिमा गुडेको कार चार मिनेट नपुग्दै होटलअगाडि रोकिँदा म झसंग भएँ । सायद देशको आकारबमोजिम दूरीको मापन गरेका होलान् उनले । 

यहाँका नागरिकमा शारीरिक सक्रियता कम रहेकाले नसर्ने रोग बढी देखिएको छ । यस्तै स्थानीय खानपानसमेत खासै स्वास्थ्यकर छैन । पानी, सागसब्जी आदि कम खान्छन् । फास्ट फुड, कार्बोनेटेड/इनर्जी ड्रिंक, चिनी आदि बढी खान्छन् । कब्जियत यहाँको राष्ट्रिय रोग रहेको डा.शर्माले बताए । सरकारले जनताको स्वास्थ्य सक्रियता बढाएर नकारात्मक जीवनशैलीले निम्तिने सम्भावित रोगबाट जोगाउन खेलकुदलाई बढी महत्त्व दिएको छ । यहाँको स्कुलमा पौडी कक्षा अनिवार्य छ । 

‘नो अल्कोहल’

राजधानी मालेमा मदिरा पाइँदैन र सेवन गर्न पनि दिइँदैन । यसलाई कानुनी रूपले अपराध मानिन्छ । यहाँ भएका विदेशीलाई मदिरा सेवन गर्नुपरे बोटमा बसेर टाढाका द्वीपहरूमा भएका रिसोर्ट जानुपर्छ । त्यहाँ रमझम गरेपछि पुन: मदिरा सेवन गरेको बिलसहित माले फर्कनुपर्छ । प्रहरीले वैध स्थानमा मदिरा सेवन गरे–नगरेकोवारे सोधपुछ गर्न सक्छन् । यस्तो कडाइले गर्दा नै होला मालेमा बस्ने नेपालीहरू भन्छन्, ‘रिसोर्टको बारमा मदिरा सेवन गरेपछि त्यहाँ त अलि झमझम लाग्छ तर बोटबाट माले फर्कंदा त छोएजस्तो पनि हुँदैन ।’

अझ केही होटलमा काम गर्ने कामदारहरूका लागि सातामा आफूले किनेर मदिरा सेवनमा खर्च गर्ने अधिकतम सीमासमेत निर्धारण गरिएको हुन्छ । नेपाली कामदारलाई त्यहाँको मदिरा नीतिले फाइदा पुगेको छ । ‘कडाइ वा जे भन्नुस् यसले हामीलाई नियन्त्रणमा राखेको छ,’ एक कामदारले भने, ‘यसैले होला हामी नेपालमा जग्गा जोडेर घर बनाउन सकेका छौं ।’

atulmishra7@gmail.com

प्रकाशित: कार्तिक १९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार