भिडियो

बाँदरमुढे घटनाका दोषीले कारबाही भोग्नुपर्छ : दाहाल

- विमल खतिवडा, चितवन

कार्तिक १८, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटनामा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगले दोषी ठहर गरे जोकोही पनि कारबाहीको भागीदार हुने बताएका छन् । 

दिवाकर–तीर्थकुमारी भूसाल स्मृति खुला भलिबल प्रतियोगिताको शनिबार माडीमा उद्घाटनको क्रममा दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको समयको सबैभन्दा ठूलो गल्ती भएको बताउँदै दाषीले कारबाही भोग्नुपर्ने बताएका हुन् । उनले ऐन संशोधन प्रक्रियाका कारण दुई आयोगको काम रोकिएको उल्लेख गर्दै उनले अब छिट्टै काम अगाडि बढाइने बताए । उनले घटनाका दोषीलाई कारबाही गर्न त्यतिबेलै आफूले निर्देशन गरेर कारबाही गरिएको बताए । बाँदरमुढे घटनाबाट माओवादी निकै आलोचित बनेको थियो । 

माडीसहितको क्षेत्र समेटिएको चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्तापछि माडी पुगेका अध्यक्ष दाहालले अब बन्ने सरकारले बाँदरमुढे पीडितलाई सम्बोधन गर्ने आश्वासन दिए । घटनापछि दोस्रो पटक उनी माडी पुगेका हुन् । यसअघि २०६९ साल फागुन १७ गते माडी महोत्सव उद्घाटन गर्न उनी त्यहाँ पुगेका थिए । त्यतिबेला पीडितका लागि ६० लाख रुपैयाँको एकमुष्ट राहत घोषणा गरेका थिए । दाहालले उक्त रकम जिल्लामा निकासा भए पनि सरकार परिवर्तनका कारण पीडितसमक्ष पुग्न नसकेको जनाउँदै अब बन्ने सरकारले पीडितलाई यथोचित सम्बोधन गर्ने बताए । 

विसं २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा सर्वसाधारण र नेपाली सेना चढेको बसमा माओवादीले एम्बुस विस्फोट गराउँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए ।घटनाका घाइते अहिले पनि कतिपय उपचाररत छन् भने कतिपय अपाङ्ग अवस्थामा छन् । 

माडीवासी निकुञ्जका कारण बढी समस्यामा रहेको भन्दै उहाँले निकुञ्ज हुँदै आवतजावतका लागि सुरुङ मार्ग वा आकाशे पुलमार्फत सडक निर्माण गरी समस्याको समाधान गरिने बताए । आगामी पाँच वर्षभित्र अब बन्ने सरकारले समस्याको समाधान गर्ने उनको भनाइ छ ।

प्रकाशित: कार्तिक १८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार