फिचर

मनास्लुको चुचुरो पुग्दा

  • आरोहण
- पूर्णिमा श्रेष्ठ, काठमाडौं

कार्तिक १८, २०७४-

म फोटो पत्रकारिता गर्दैनथें भने सायदै हिमाललाई पछ्याउँथे होला । क्यामेरामा नयाँ–नयाँ दृश्य कैद गर्न आतुर रहने स्वभावले नै मलाई हिमालसम्म पुर्‍याएको हो । 

फोटोका लागि प्राय: काठमाडौं उपत्यकामा बढी घुमिरहने म जब सगरमाथा आधार शिविर क्याम्प पुगें तब मलाई हिमालप्रतिको मोह बढ्यो । हिमालले मलाई मोहनी नै लगायो । सगरमाथा आधार शिविरबाट फर्केलगत्तै मनास्लु पदमार्गको भ्रमण गर्ने अवसर मिल्यो । त्यही पदयात्राले मलाई मनास्लु हिमालको आरोहण गर्ने ऊर्जा दिलायो । 

अनुभवबिना एकैपटक मनास्लु चढ्ने मेरो प्रयत्नलाई मान्छेहरूले पत्याएनन् पनि । अनुभव नै नभएकीले यत्रो जोखिम उठाएको भन्दै मूर्ख पनि ठाने ।

तर मैले हिम्मत हारिनँ । योजना बुनें मनास्लु चढ्ने । १० लाख रुपैयाँ लाग्थ्यो । तीन महिनासम्मको योजना र आर्थिक चाँजो मिलाएर सामान्य व्यवस्थापन गरी माउन्ट किलरको नामले विख्यात मनास्लु हिमालको आरोहणमा लागें । 

गोरखास्थित घरमा गई बुवा आमाको आशीर्वाद लिई आरुघाटबाट यात्रा सुरु गर्ने योजना थियो । तर बाटो अवरुद्ध भएकाले म घर नगई मनाङ खण्डबाट जाने तयारीका साथ काठमाडौंबाट निस्किएँ । 

धारापानीबाट हाम्रो पैदन यात्रा सुरु भयो । मनोरम बस्ती तिल्चे हुँदै दोस्रो दिनको बास मनाङको पर्यटकीय क्षेत्र गोवामा भयो । तेस्रो दिन साँझ भीमथाङमा पुगेर बसियो । चौथो दिन गोरखाको साम्दो, पाँचौं दिन सामागाउँ र छैटौं दिनमा मनास्लु आधार शिविर पुगियो । यात्राका क्रममा जब मानव बस्ती सकियो तब मेरो मनमा एकखाले खुल्दुली पैदा हुन थाल्यो । सँगै गएका सहयोगी, पथप्रदर्शक र साथीहरूले हौसला दिँदै गए । बाटोमा म पहिलोपटक मनास्लु आरोहणका लागि आएको भन्दा सबैले मलाई हाँसोमा पनि उडाए । तर म आत्मविश्वासका साथ अघि बढें । 

आधार शिविर पुग्दा फरक संसारमा पुगेको जस्तो भान भयो । जता हेरे पनि हिमाल । डाँडाभरि बनाइएका टेन्टले झनै रातलाई रमाइलो बनायो । टेन्टभित्र बसाइले मलाई हिमालसँग थप नजिक्यायो । स्वास्थ्यमा सामान्य समस्या भए पनि मैले आफूलाई सामान्य नै हुँ भन्ने बनाइरहें । 

आधार शिविरबाट मनास्लु आरोहणका लागि जाने बाटो निकै असजिलो रहेछ । पर्यटकहरू २–३ दिनसम्म त्यहाँबाट क्याम्प वान, टु, थ्री र फोरसम्म पुगे बाटो बनाउने अनि अभ्यास गर्ने गर्दा रहेछन् । विदेशी टोलीसँग समावेश भई गएकाले हामीले पनि त्यसै गर्‍यौं । आधार शिविरको ४ दिने बसाइ निकै रमाइलो लाग्यो । ४ हजार ६०० मिटरको उचाइको उक्त स्थानमा निकै जाडो थियो । एकातिर जाडो अर्कोतिर कसरी हिमाल चढ्ने भन्ने चिन्ता । फेरि सबैको नजरमा म कमजोर पनि सावित भइसकेको थिएँ । मेरो हिमाल आरोहणको यात्राबारे धेरैले पत्याएका थिएनन् । तर मेरो आत्मविश्वास भने अलिकति पनि डगमगाएको थिएन । 

हाम्रो टोलीका ५ महिलामध्ये २ जना नेपाली थियौं । टोलीमा पथप्रदर्शक र अन्य सहयोगी पनि थिए । उनीहरूको माया, सहयोग र साथले मलाई हिमाली क्षेत्रमा थप ऊर्जा मिल्यो । 

आधार शिविरबाट रातको १२ बजे मनास्लु आरोहणका लागि हाम्रो यात्रा तय भयो । राति टर्च बालेर डोरीको सहायताबाट अन्तत: मैले सेप्टेम्बर २६ बिहान ७:३० बजे ८ हजार एक ६३ मिटर अग्लो मनास्लु हिमालको चुचुरोमा पाइला टेक्न सफल भएँ । चुचुरोमा नेपालको राष्ट्रिय झन्डा र मेरो हजुरबुवाको फोटो देखाएँ । मलाई संसार जितेको भान भयो । गर्व लाग्यो । खुसीको सीमै रहेन । 

सर्वाेच्च शिखर सगरमाथा चढ्ने उद्देश्यका साथ सुरु भएको मेरो चुचुरो सपनामा एउटा सफलता मिल्यो । विश्वको ८ औं र नेपालको ७ औं अग्लो हिमाल मनास्लुको सफल आरोहण गरें । गोरखाकी चेलीका रूपमा गोरखामै अवस्थित मनास्लु चढ्दा गर्व महसुस भयो । 

 

प्रकाशित: कार्तिक १८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार