फिचर

यी हुन् इलामका मुख्य सात पर्यटकीय गन्तव्य

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक १७, २०७४-इलामे सहर चियाबारी राम्रो... गीत त्यसै चर्चित भएको होइन, यो सुदूरपूर्वी जिल्ला वास्तवमै मनै लोभ्याउने स्थानहरूले भरिएको छ । तर इलामको पहिचान चियाबारी मात्रै होइन र बादलभित्र क्षणभरमै लुकिरहने डाँडाहरू मात्र पनि होइन । यहाँको भौगोलिक बनोट, चिया, नगदे बालीले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन, तालतलैया र सिमसार क्षेत्रलगायतले पनि आगन्तुकलाई आनन्दित तुल्याउने गर्छ । नेपालमै पहिलो इलामको चिया बगान, काठैकाठको संरचना भएको इलाम बजार, नारायणथान, माईथान, सिंहबाहिनी सेतीदेवीले पनि पर्यटक भुलाउन थालेको यस क्षेत्रमा सहरको व्यस्तताबाटै सुटुक्कै निस्केर ग्रामीण जीवनशैली र संस्कृति अनुभव गर्न सकिन्छ । इलामका मुख्य सात पर्यटकीय गन्तव्यबारे विप्लव भट्टराई लेख्छन् :

सन्दकपुर

उत्तरी सीमावर्ती सन्दकपुर क्षेत्र पूर्वाञ्चलकै प्रमुख गन्तव्यमध्येको पर्यटकीय स्थल हो । सदरमुकामबाट सन्दकपुरको दूरी करिब ५० किलोमिटर छ । यहाँ नेपालतिर व्यवस्थित होटल छन् भने भारततर्फ सरकारी आवास गृह । ३ हजार ६ सय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट सगरमाथा, कञ्चनजंघालगायत नेपाल, भारत र भुटानका थुप्रै हिमाललाई आँखामा कैद गर्न सकिन्छ । सूर्योदय दृश्यावलोकनका लागि पनि सन्दकपुर अब्बल स्थान हो । यो क्षेत्र धार्मिक र जैविक विविधताले पनि महत्त्वपूर्ण छ । 

कन्काई माईको उद्गम स्थल सन्दकपुर क्षेत्रमा असोजदेखि जेठसम्म पर्यटकको लर्को हुन्छ । 

युरोप, अमेरिकादेखि भारतका विभिन्न सहरबाट यहाँ घुम्न आउने गर्छन् । यहाँ चैत–वैशाखमा डाँडै ढाक्ने गरी ढकमक्क फुलेको गुराँसले मन लोभ्याउँछ । सदरमुकाम इलामबाट माईपोखरी माईमझुवा हुँदै गोरुवालेबाट सन्दकपुर पुग्न सकिन्छ । माबुबाट कालपोखरी हुँदै पनि सन्दकपुर पुगिन्छ । 

माईपोखरी

इलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरको रामसार क्षेत्रमा सूचीकृत छ माईपोखरी । यसमा रैथाने गलैंचे, झ्याउ, रूख भ्यागुतो, ठकठके जस्ता दुर्लभ जन्तु र वनस्पति पाइन्छन् भने ३ सय बढी चराका प्रजाति पाइने विज्ञहरू बताउँछन् । २ हजार १ सय २१ मिटरको उचाइमा रहेको माईपोखरीमा दुई हेक्टर जलाशयसहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिएको छ । माईपोखरीमा होटलहरू पनि छन् । मेची राजमार्गको बिब्ल्याँटेबाट ९ किलोमिटर दूरीमा रहेको यहाँ पूजापाठसहित घुमघामका लागि आउनेहरूको भीड देखिन्छ । तिहारपछिको ठूली एकादशीमा मेला पनि लाग्छ ।

अन्तु

पूर्वी अन्तु र समालबुङका बासिन्दाले पटक–पटक महोत्सव आयोजना गरेर अन्तुलाई पर्यटकीय गन्तव्यका रूप दिइसकेको छ । सूर्योदय हेर्न मुलुककै उत्कृष्ट स्थान मानिएको अन्तुमा भौतिक पूर्वाधार विकासदेखि पर्यटकको बसोबासलाई स्थानीय खट्ने गर्छन् । लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, हराभरा चियाबारी, अतिथि सत्कार अन्तुको लोभलाग्दो पाटो हो । ७ हजार ६ सय ३७ फिट उचाइमा रहेको अन्तु पुग्न फिक्कलबाट १३ किलोमिटर सडक पार गर्नुपर्छ । यहाँ असोजको पहिलो सातादेखि पर्यटक बढ्छन् । सडकको अवस्था सुधार र अन्तुपोखरीमा डुंगा निरन्तर चल्ने हुँदा १२ महिना नै पर्यटकको उपस्थिति हुने गर्छ ।

कन्याम

चियाको पर्याय बनेको कन्याम वनभोज स्थलले चर्चित छ । असोजदेखि वैशाखसम्म वनभोज आउनको सयौं गाडी यहाँ देखिन्छ । मेची राजमार्गले चिरेको कन्याम चिया बगान फिक्कलभन्दा १० किलोमिटर नजिक पर्छ । कन्याम, नजिकैको हाँसपोखरी, कुटीडाँडा, पाथीभरा मन्दिर, करफोक, फिक्कललगायत क्षेत्रमा तराईमा असाध्य गर्मी हुने भएकाले चिसोको आनन्द लिन पर्यटक आउने गरेका छन् । 

ढापपोखरी

समुदाय स्तरको प्रयासबाट पर्यटकीय गन्तव्य बनेको हो ढापपोखरी । सन्दकपुर गाउँपालिका ५ जमुनाका बासिन्दाले सिमसार क्षेत्रलाई पोखरीको रूप दिँदै डुंगा सञ्चालनमा ल्याएका छन् । १ हजार ७ सय मिटरको उचाइमा रहेको यो पोखरीमा डुंगा सञ्चालन थालिएपछि आन्तरिक पर्यटकको ताँती लागेको छ । ५० रोपनी क्षेत्रफलमा फैलिएको पोखरीमा माछापालन गर्दै फिसिङ गर्ने सुविधा दिने स्थानीयको योजना छ । सन्दकपुर रेडपान्डा पाइने स्थान हाँगेथाम, चोयाटार, दोबाटे, टोड्के झरना, माईपोखरी, जौबारीलगायत यात्राको केन्द्रका रूपमा यसलाई हेरिएको छ ।

सिद्धिथुम्का

पश्चिमी सिद्धिथुम्कावासी पनि पर्यटन विकासमा लागेका छन् । सदरमुकाम इलाम बजारबाट २० किलोमिटर पश्चिममा अवस्थित सिद्धिथुम्का डाँडा सूर्योदय र सूर्यास्त तथा हिमशृंखला तराईका फाँटलगायतको दृश्यावलोकन गर्न अब्बल छ । ऐतिहासिक खान्द्रुङ गुफा, पञ्चमी बजार, अजम्बरी डाँडा पनि पर्यटकीय महत्त्वका छन् ।

माङसेबुङ

किराँत धर्मस्थलका रूपमा परिचित माङसेबुङ धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास हुँदै गएको छ । धार्मिक भावना बोकेर यो क्षेत्रमा पुग्नेहरूको कमी हुँदैन । धर्मगुरु आत्मनन्द लिङदेनको बासस्थान रहेको यो क्षेत्रमा गुरुको जन्मोत्सवको अवसरमा महोत्सव नै सञ्चालन हुने गरेको छ । झापाको दमकबाट करिब २० किलोमिटर उत्तरमा रहेको यो क्षेत्र पुग्न सडकको दूरवस्थाले भने निकै कठिन हुन्छ ।

गजुरमुखी

पश्चिमी गजुरमुखी धाम धार्मिक आस्थाका कारण महत्त्वपूर्ण मानिन्छ । सदरमुकामबाट ५० किलोमिटर दूरीमा यो स्थान रहेको छ । मेची राजमार्गको नेपालटारबाट मंगलबारे हुँदै गजुरमुखी पुग्न सकिन्छ । मंगलबारेसम्म कालोपत्रे र त्यसउताको सडक ग्राभेल गरिएकाले त्यहाँ पुग्न सहज छ ।

 तस्बिरहरू :  विप्लव भट्टराई 

प्रकाशित: कार्तिक १७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार