फिचर

'दण्डहीनताको विरोधमा अवार्ड बहिष्कार गरें'

  • काठमाडौंमा सुरु भयो फिल्म साउथ एसिया
- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक १७, २०७४-भारतका तपन बोस यस्ता फिल्ममेकर हुन् जो संस्थापन (इस्टाब्लिसमेन्ट) विरुद्ध लगातार लडिरहेका छन् । राज्यले दिन चाहेका दुइटा फिल्म अवार्ड त उनले अस्वीकारै गरिदिए । आफूले किन यस्तो गरेँ भन्नेबारे बोसले बिहीबार नेपाली दर्शकलाई बताए । उनी अहिले ‘फिल्म साउथ एसिया’ को एघारौं संस्करणमा भाग लिन नेपाल आएका छन् । 

‘अत्याचारविरुद्ध आवाज उठाउने नागरिकलाई सरकारले सुरक्षा दिएको छैन,’ बोसले भने, ‘उसले त बरु त्रास र अनुदारतालाई प्रश्रय दिइरहेको छ । सन् १९८० मा ब्यान्ड गरिएका मेरा फिल्मलाई जुरीहरूको पहलले अवार्ड मिल्यो । अहिले त जुरीले पहलले गर्न सक्ने अवस्थासमेत छैन ।’ रुलिङ पार्टीका कार्यकर्ताले खुलेआम वितण्डा मच्चाइरहँदा पनि सरकार मूकदर्शक बन्नुलाई उनले विडम्बना माने । 

दण्डहिनता मौलाउन दिएको विरोधस्वरूप अवार्ड रिजेक्ट गरेको उनले बताए । आफू मोदी सरकारको कदमप्रति असन्तुष्ट रहेको पनि बोसको भनाइ थियो । ‘उहाँ सधैं करोडका कुरा गर्नुहुन्छ,’ पत्रकारसमेत रहेका उनले ठटयौलो शैलीमा भने, ‘कहाँबाट ल्याउनुहुन्छ त्यत्रो पैसा !’

दक्षिण एसियाली डकुमेन्ट्री फेस्टिभलको पहिलो दिनमै बोसको फिल्म ‘द एक्सपेन्डेबल पिपल’ प्रदर्शन गरिएको थियो । यसमा उनले भारतका आदिवासीहरूमाथि राज्यले देखाएको खस्रो व्यवहार प्रस्तुत गरेका छन् । ‘सन् १९८१ देखि यो फिल्म खिच्न सुरु गरेको थिएँ,’ ५८ मिनेट लामो डकुमेन्ट्रीबारे उनले भने, ‘पुराना फुटेज धेरै छन् । पोहोर मात्र काम सकेको थिएँ ।’

आदिवासी को हुन्, के हुन्, विकासका नाममा तीमाथि कस्तो व्यवहार गरिएको छ भन्नेबारे डकुमेन्ट्रीमार्फत उत्तर दिन खोजेको बोसको भनाइ थियो । सन् २००६ मा लागू गरिएको ‘फरेस्ट राइट’ को गलत अर्थ लगाएर ‘विकासवादी’ हरूले जंगल छेउछाउ बस्ने आदिवासीलाई नै जंगल प्रयोग गर्न नदिएको घटनामाथि उनको फिल्म केन्द्रित छन् । आदिवासीमाथि भुटान, बर्मालगायत दक्षिण एसियाली मुलुकमा पनि राम्रो व्यवहार नभइरहेको बोसको बुझाइ छ । ‘व्यावसायिक प्रयोजनका लागि आदिवासीहरू आफ्नो ठाउँबाट लखेटिएका छन्,’ उनले भने, ‘तिनलाई सुरक्षा र स्वतन्त्रता दिनुको सट्टा सरकार बहकिएको छ ।’

बोसले नन–फिक्सन विधामा थुप्रै फिल्म बनाएका छन् । सन् १९८१ को ‘एन इन्डियन स्टोरी’ र १९८६ को ‘भोपाल : बियोन्ड जेनोसाइड’ का लागि उनलाई राष्ट्रिय फिल्म अवार्ड दिइएको थियो जुन उनले अस्वीकार गरिदिए । ती डकुमेन्ट्रीमा उनले भागलपुर प्रहरीले ट्रायलमा रहेका कैदीहरूका आँखा फुटाएको घटना र झन्डै २५ सयको ज्यान गएको ‘भोपाल ग्यास ट्राजिडी’ को यथार्थ समेटेका छन् । उनका ‘फ्रम बिहाइन्ड द ब्यारिकेड’, ‘झारखण्ड’, ‘द भल्नरेबल रोडयुजर’ जस्ता डकुमेन्ट्री पनि कहलिएका छन् । 

फिचर फिल्ममा चाहिँ किन हात नहालेको भन्ने प्रश्नमा उनी बोले, ‘फिचर फिल्म र डकुमेन्ट्रीमा खासै भिन्नता देख्दिनँ । डकुमेन्ट्री अलि बढी च्यालेन्जिङ छ जस्तो लाग्छ । फिल्म कथावाचनको शैली हो । यसलाई महँगो आर्ट फर्म मान्छु ।’ फिल्म समीक्षक समाज नेपाल (फिक्सन) सँगको अन्तरक्रियामा उनले प्रायोजित र स्वतन्त्र फिल्म निर्माणबारे पनि आफ्नो धारणा राखेका थिए । ‘इन्डिपेन्डेन्ट फिल्म–मेकिङमा निर्देशकले बिनारोकटोक आफ्नो कौशल देखाउन पाउँछ,’ उनले भने, ‘विषयले भन्ने कुरा तिनले जस्ताको तस्तै देखाउँछन् ।’

फेस्टिभलको पहिलो दिन बिहीबार ‘थर्टी टु सोल्स’ र ‘स्प्लिट इन्ड्स’ प्रदर्शन गरिए । साई नव खाम निर्देशित अघिल्लो डकुमेन्ट्रीमा एक वृद्धामार्फत म्यान्मारको ग्रामीण जनजीवन देखाइएको छ । पोर्चुगलको लिस्बन सहरमा नेपालीले चलाएको सैलुनभित्रको गतिविधि ‘स्प्लिट इन्ड्स’ मा समाविष्ट छ । ‘थेसिस–फिल्म बनाउनु थियो मैले,’ निर्देशक राजन कठायतले भने, ‘त्यो सैलुन नेपालीहरूको जक्सन रहेछ । त्यहाँको गतिविधिमार्फत विदेशमा नेपालीले बेहोर्ने कठिनाइ देखाउन खोजेको हुँ ।’

फेस्टिभलमा ‘वेलकम भ्यालेन्टाइन २०१७’, ‘टाइम भ्याम्पायर्स’, ‘ड्रिम्स अन हिल्स’, ‘प्वाइन्ट एन्ड सुट’, ‘द म्यान हु डाफ्र्ड द माउन्टेन्स’, ‘फ्लेम्स अफ फ्रिडम : द इच्छापुर डिक्लारेसन’ र ‘फायरफ्लाइज इन द अबिस’ पनि प्रदर्शित भए ।

शुक्रबारको सोमा ‘डान्सिङ विद डली’, ‘आक्स द सेक्सपर्ट’, ‘वर्मा स्टोरीबुक’ लगायत डकुमेन्ट्री देखाइनेछन् । फेस्टिभल आइतबारसम्म चल्नेछ ।

प्रकाशित: कार्तिक १७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार