भिडियो

फोहोर टिपेर आम्दानी

- शिल्पा कर्ण, सिसडोल (नुवाकोट)

कार्तिक १७, २०७४-बिहान ४ बज्न नपाउँदै उठी सूर्यमान बलामी बोरा बोकेर सिसडोलको ल्यान्डफिल साइट पुग्छन् । फोहोरको डंगुर परैबाट गन्हाउँछ तर त्यही डंगुरले उनका दुई छोराछोरीसहित ४ जनाको परिवारको खर्च धानेको छ ।

काठमाडौंबाट जाने फोहोरबाट कबाडीमा बिक्ने सामान टिपेर फेरि त्यो सामान पुन:प्रयोगका लागि सिसडोलबाट ल्याइन्छ । त्यसरी फोहोरबाट फेरि प्रयोग गर्न सकिने सामान टिप्ने लगभग एक सय जना सधैं त्यहाँ देखिन्छन् । ‘यहाँबाट चप्पल र प्लास्टिकका सामान बोरामा टिप्छु,’ कुल्पु कागतीगाउँका बलामीले भने, ‘एउटा ठूलो बोराको ४/५ सय जति पर्छ । टिपेको सामान ट्रकले लिएर जान्छ ।’ उनकी श्रीमतीसमेत यही काम गर्छिन् । 

यसरी नै फोहोरबाट सामान टिपेरै जिन्दगी धानेकी छन् कुल्पुकी ठूलीमायाले पनि । बुधबार दिउँसो ल्यान्डफिल साइट पुग्दा उनी पानीका ठूला बोतल, स्याम्पुका बोतल र अन्य प्लास्टिकले बनेका सामान बोरामा कोच्दै थिइन् । खुट्टामा बुट, टाउकोमा मजेत्रो बाँधेकी उनी बिहानै ७ बजे घरको काम सकेर ल्यान्डफिल साइट पुगिसक्छिन् । दुई छोरा र एक छोरीसहित ५ जनाको उनको परिवारले पनि दुई वर्ष भयो यसरी फोहोरबाट काम लाग्ने नसड्ने प्रकृतिका सामान टिपेर गुजारा चलाएको । उनले भनिन्, ‘फोहोर फालेको दिन टिप्न पाइयो भने दुई बोराको तीन सय पाइन्छ । भेटिएन भने पाइन्न ।’ उनका श्रीमान् वीरबहादुर पनि यही काम गर्छन् । 

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका केही स्थान, राजधानी नजिकका बनेपा, धुलिखेल, नगरकोट जस्ता ठाउँमा उत्पादन हुने फोहोर समेत सिसडोलमा फाल्ने गरिएको छ । काठमाडौं महानगरपालिका वातावरण प्रशासन महाशाखा प्रमुख युवराज खनालले उक्त स्थानमा दिनहुँ ८ सय टन फोहोर फालिने गरेको बताए । यसरी फालिएको फोहोरबाट पुराना कपडा धोएर विभिन्न प्रयोजनका लागि बेच्ने गरिएको बलामीले बताए । कसैले सिसा, कसैले प्लास्टिकका सामान त कसैले जुत्ताको सोल र कपडा टिप्ने गर्छन् । फोहोर बोकेका ट्रक गइरहेका हुन्छन् भने पुन: प्रयोग गर्न सकिने सामान बोकेर फर्किरहेका ट्रक पनि देख्न सकिन्छ । 

सिसडोल वरपर घर हुनेभन्दा बाहेक त्यहाँ टाढाबाट फोहोर टिप्ने पनि छन् । उनीहरू नजिकै त्रिपाल टाँगेर बस्छन् । उनीहरूको खाना पकाउने, बस्ने ठाउँ नै त्यहीँ हो । न दुर्गन्धको परवाह छ न त रोग लाग्ने चिन्ता नै । स–साना बालबालिकासँगै फोहोरको डंगुरमा बस्ने परिवार पनि छन् । यस्तै आफ्ना दुई वर्षीय नातिसँग भेटिएका एक वृद्धले परिवारका सबै सदस्यले यही काम गर्ने गरेको बताए । उनका छोरा–बुहारी पनि यसै काममा संलग्न भएकाले बच्चा पनि दिनभरि फोहोरमै रुमल्लिहरन्छ । यस्ता दर्जनभन्दा बढी १६ वर्षमुनिका बालबालिका त्यहाँ हुन्छन् । उनीहरूले अभिभावकलाई काममा सघाउने र त्यहीँ बस्ने गरेको बताए । फोहोरमैला कुहिँदा स्वास्थ्यका लागि खतरनाक ग्यास पनि उत्सर्जन भइरहेका हुन्छन् । तर पनि बालबालिका र फोहोर टिप्ने मानिसहरू यहीँ बसोबास गर्छन् । 

प्रकाशित: कार्तिक १७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार