फोटोफिचर

बलम्बुमा महालक्ष्मी, गणेश, कुमारी र खड्ग जात्रा

- प्रशान्त माली, तस्बिर : इलिट जोशी, काठमाडौं
खाली खुट्टा रथ बोक्नु बलम्बुको महालक्ष्मी जात्राको विशेषता हो ।

कार्तिक १३, २०७४-बलम्बु गछेँका सन्देश श्रेष्ठले सोमबार दिनभर जुत्ता लगाएनन् । उनका साथीहरू लाछी टोलका सुशील नकर्मी, पिंगलका विवेक नकर्मीलगायत रथ बोक्ने ५० युवा पनि खाली खुट्टा थिए । खाली खुट्टा रथ बोक्नु बलम्बुको महालक्ष्मी जात्राको विषेशता हो । पहिला उपत्यकामा हुने जात्रा पर्वमा देवताको काममा जुत्ता र छालाको सामान प्रयोग गर्नबाट कडा बन्देज थियो । 

नियम पालना नगरेमा पूजा ‘जुठो’ भई पूर्ण नहुने मान्यता थियो । द्वारे गुठीका नाइके देवबहादुर श्रेष्ठ भन्छन्, ‘बलम्बुको जात्रामा पनि ५१ वर्षअघिसम्म यही नियम थियो, पाहुनाहरूलाई समेत जुत्ता फुकालेर मात्र ढोकाभित्र प्रवेश गराइन्थ्यो ।’ ‘पाहुनाहरूसँगै झैझगडा हुन थालेपछि २०२३ सालमा निर्णय नै गरी जात्रा अवलोकनमा आएकालाई छाला जुत्ता लगाउन मिल्ने गरियो,’ नाइके श्रेष्ठले भने, ‘रथ बोक्नेलाई भने अहिलेसम्म यो नियम लागू छ ।’ रथ बोक्दा जुत्ता फुकाल्ने प्रचलन बलम्बुमा मात्र बाँकी छ । ‘अहिले यो नै जात्राको विषेशता बनेको छ,’ उनले भने । 

यो जात्रा पाँच दिनसम्म मनाइन्छ । यसलाई न्हूँद ११३८ (नयाँ वर्ष) सुरु भएपछिको पहिलो जात्राको रूपमा लिइन्छ । स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, सातापछि थानकोटमा हुनेलाई सकिमर: र एक महिनापछि सतुंगलमा हुने जात्रालाई बखुमर: (सातगाउँले जात्रा) भनिन्छ । जात्रा दुवा गुठीले सञ्चालन गरिन्छ । आइतबार मू: (मुख्य) जात्रा र  सिन्ह: या जात्रा भनी सोमबार सिन्दूर जात्रा गरिएको छ । सिन्ह:या जात्रामा छोरीबेटी, आफन्त नातागोता पाहुना बोलाउने चलन छ । 

द्वोरे घरबाट ऐतिहासिक खड्ग पीठमा ल्याई गरिने जात्रा र ढकीमा राखी कुमारीको मूर्तिको नगर परिक्रममा गराइने जात्राको अर्को विशेषता हो । जात्रा मनाउन आइतबार कुमारी घर, महालक्ष्मी र गणेश मन्दिरबाट विधिवत् रूपमा पूजाआजा गरी देवता बाहिर ल्याए । जात्रामा महालक्ष्मी, गणेशलाई शिखर शैलीको छुट्टाछुट्टै रथमा राखेर सांस्कृतिक बाजागाजाको साथमा टोलटोलमा परिक्रमा गराइयो ।

जात्राको क्रममा थकाली गुठीका ७ जना गुठीयारले नाथ गुरुको मन्दिरमा गोप्य पूजा गरे । थकालीहरूले मन्दिरभित्र देवतालाई बीचमा राखेर विधिवत् पूजापछि पालै पालो पाता: लिने प्रचलन छ ।

 नेपाल भाषामा पाता लिने भनेको मानिसको खप्पड आकारको विषेश कचौरामा राखेर जाड पिउने बुझिन्छ । उपत्यकाका अन्य जात्रापर्वमा पाता लिँदा तामा पित्तलबाट बनाइएको कचौरामा लिइन्छ । बलम्बुमा जात्रामा भने ऐतिहासिक माटोको खप्पड आकारको कचौराबाट प्रसादग्रहण गरिन्छ । ‘गोप्य पूजा गर्न थकालीहरू नुहाइधुहाइ गरि फेता बाधी, जामा लगाई, नङ काटी अल राखी चोखो भई बत्त बस्ने परम्परा छ । 

उनले बलम्बुमा जात्रा सुरु हुने दिन पशुपतिनाथ मन्दिरको शिव लिंगलाई महास्नान गराई मुकुट पहिराउने बताए । ‘जात्राको पहिलो दिन राति पीठमा पञ्चबलिसहित गोप्य होमजप गरिन्छ,’ उनले भने, ‘पहिलो आगोमा सिद्धि भइसकेको राँगा तान्त्रिक विधिबाट जिउँदो बनाएर महालक्ष्मी मन्दिरमा ल्याई पुन: बलि दिने कथन छ ।’ उनले अहिले तान्त्रिकहरू हराउँदै गएकाले बलि दिइसकेका राँगाको टाउको र जीउ जोडेर चार जनाले बोलेर ल्याई महालक्ष्मी मन्दिर पुर्‍याउने गरेका बताए । 

उपत्यकामा हुने कुनै जात्रामा घ्याम्पोमा जाँड राखेर भैरव साधन गरिन्छ भने बलम्बुमा हुने जात्रामा ध्याम्पोमा मासु, हड्डी, झोल राखेमा ला:ती (मासको झोल) पठाई मर (देवता) साधना गरिन्छ । जुन ला:तीसहितको ध्याम्पोलाई महर्जन समुदायले पीठमा पुर्‍याई जात्रा गरिन्छ । सोमबार थकाली नकिं (महिला) ले क्वथले टोलस्थित कोतघरमा कुमारी देवतालाई भित्र्याए । जात्रामा श्रेष्ठ समुदायले धा:, महर्जनले धिमे, बाँसुरी र इन्द्र बाजा बजाएका थिए । एक आपसमा भुयु सिन्ह: दलेर शुभकामना आदानप्रदान गरे ।

प्रकाशित: कार्तिक १३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार