फिचर

देश चिनाउनेहरू

  • व्यक्ति
- जमुना वर्षा शर्मा, काठमाडौं
‘कुनै समय पर्यटक घुमाउने काम पुरुषको मात्रै हुन्थ्यो । आज हामी महिला पनि साहसिक पदयात्रामा पथप्रदर्शक बनेर विभिन्न देशका पर्यटकलाई नेपाल घुमाइरहेका छौँ हामीले प्रदान गरेका सेवाले पर्यटक खुसी भएर पुन: नेपाल घुम्न आइरहेका छन्।’

कार्तिक ११, २०७४-पथप्रदर्शकहरूले पर्यटकलाई बाटो देखाउने र ठाउँ चिनाउने मात्रै गर्दैनन्, देशको प्रचार पनि गर्छन् । आफ्नो संस्कृतिबारे परिचय गराउँछन् । अतिथि देवो भव: को नेपाली संस्कारको अनुभूति दिलाउँछन् । यसरी पर्यटन प्रवद्र्धन गर्न भूमिका खेल्ने पथप्रदर्शकको सूचीमा महिलाको संख्या पनि बर्सेनि थपिँदै छ । तिनैमध्येका केही प्रतिनिधि पात्र हुन्, शान्ति राई, इन्द्रकला राई, दानु गुरुङ, मनु गुरुङ र भगवती पुन । यीमध्ये कसैले पनि सोखका रूपमा यो क्षेत्र रोजेका होइनन्, जीविका चलाउने माध्यम खोज्ने क्रममा यस पेसाका चुनौती अँगालेका हुन् । अत्यन्त सामान्य परिवारमा हुर्किएका उनीहरूको संघर्षको कथा : 

फेवातालको किनारमा बसेर कहिलेकाहीँ जीवनका पानाहरू पल्टाउँछु, सपना हो कि विपना भन्ने लाग्छ । बाल्यकालमा खुट्टामा चप्पल लगाउन पनि ठूलो संघष गरेकी थिएँ । कापीको पानाको चप्पल बनाई आधा घण्टासम्म खुट्टामा लगाएर रमाएको ती क्षणहरू कसरी बिसर्नु ? 

त्यही चप्पल लगाउने चाहनाबाट सुरु भएको हो मेरो संघर्षको यात्रा ।’

सगरमाथाको जिल्ला सोलुखुम्बुको काँकुमा जन्मिएकी शान्तिलाई अहिले आफ्नो पथप्रदर्शणको काम सगरमाथाजस्तै अग्लो लाग्छ । बुवा छवेमान राई र आमा असारमाया राईकी ३ छोरा ७ छोरी गरी १० सन्तान थिए । 

तीमध्ये ८ औं सन्तान हुन् उनी । खेती किसानी गर्ने परिवारमा खान उति दु:ख थिएन तर लाउन र शिक्षा–दीक्षाका लागि सास्ती नै थियो । ‘स्कुल गए पनि कापी–कलम थिएन पाटी बोकेर जानुपर्थ्यो । बाले नाम्चे बजारबाट खरी किनेर डोरीले बाँधेर पाटीमा झुन्डाइदिनुभएको थियो । मकैको खोया पोलेर अंगार बनाएर लिप्नुपर्ने त्यसै पाटीमा मैले अक्षर चिनें । पछि बाले मुस्किलले एउटा कापी र कलम किनेर ल्याइदिनुभयो,’ उनले बालापन सम्झिइन् ।

स्कुलमा शान्तिकी भदिनी पर्ने चप्पल लगाएर आउँथिन् । शान्तिलगायतका अन्य साथीहरू कापीको पाना च्यातेर त्यसको चप्पल बनाएर लगाउँथे । एक दिन उनले आमालाई असाध्यै चप्पल लगाउन मन लागेको सुनाइन् । आमाले सल्लेरीको हाटबजारमा कोदो बेचेर चप्पल किन्न भनिन् । 

११ वर्षकी उनी १ पाथी कोदो बोकेर फुपूसँग सल्लेरीको नयाँबजारतिर लागिन् । रातमा बास बस्नुपर्थ्यो त्यो पनि ओडार र जंगलतिर, घरैबाट बनाएर लगेका मकै, खट्टे, पिँडालु, शखरखण्ड खाएर । भोलिपल्ट बिहान १० /११ बजेतिर मात्रै हाट बजार पुगिन्थ्यो । २० रुपैयाँ पाथी कोदो बेचेर १८ रुपैयाँमा हात्तीछाप चप्पल किनेर लगाएको पल शान्तिको जीवनको पहिलो आनन्दको क्षण बन्यो । 

शान्तिले २०५६ सालमा एसएससी दिइन् तर विज्ञान विषय लाग्यो । पुन: दिँदा पनि अनुर्तिण भएपछि फेरि कक्षा १० को टेस्ट दिएर एसएलसीमा सहभागी भइन् । फेरि पनि अंग्रेजी विषय लाग्यो । हतास भइनन्, पूरक परीक्षामा पास भइन् । खुसीको एउटा पल थपियो । चाहना थियो उच्च शिक्षाको । तर अभाव र सास्तीको भुमरीबाट शान्तिको परिवार बाहिर निस्कन सकेको थिएन । घरको आर्थिक अवस्था देख्दा शान्तिको मनमा निकै पीडा हुन्थ्यो । परिवारमा १ दाजु र १ दिदी अपांग थिए । आमाको दु:खलाई कसरी कम गर्ने होला भन्ने चिन्ताले उनलाई सताउँथ्यो । एक दिदीको मृत्यु भइसकेको थियो ।

 जीवनमा धेरै बेचैन र अभावले शान्तिलाई घेरिरहे तर पनि उनले धैर्य गुमाइनन् । एक दिन काठमाडौंमा गाउँकै नरबहादुर राईसँग भेट भयो । पोखराको थ्री सिस्टर्समा उनले ट्रेकिङ गाइडको काम गर्थे । उनले ट्रेकिङ गाइडका बारेमा केही जानकारी दिए । शान्ति केही उत्साही भइन् । सोल्टिनीका साथ उनी पहिलोपल्ट २०५९ सालमा पोखरा आइन् । त्यति नै बेला आफ्नै गाउँका निरमा र सीतालाई पनि त्यहाँको तालिम दिने संस्थामा देख्दा झन् बढी उत्साही भइन् । सबै कुरा राम्ररी बुझ्ने मौका पाइन् तर तालिमको समय सकिसकेको थियो । उनी पुन: काठमाडौं फर्किइन् । 

अर्को वर्ष तालिम सुरु भएको खबर पाएपछि उनी पोखरा आइन् । तालिममा सहभागी भइन् । लगनशील शान्तिले १ महिने ट्रेकिङ गाइडको कोर्स पूरा गरिन् । २०६० र ६१ सालमा गरी ४ चोटि तालिम लिइन् । २०६२ मा नेपाल सरकार पर्यटन मन्त्रालयबाट ट्रेकिङ गाइडको लाइसेन्स लिन सफल भइन् । २०६२ मा पीएन क्याम्पसमा आईएमा भर्ना भएकी उनले स्नातकसम्म पढेकी छन् । 

शान्ति २०६० मा पहिलोपल्ट जोमसोम ट्रेकिङ गइन् भरिया बनेर । ११ दिनको ट्रेकले उनलाई आत्मविश्वास थप्दै लग्यो । जाने नजाने पनि अंग्रेजी बोल्दै गइन् । यही आत्मविश्वासको प्रतिफल अहिले उनी विभिन्न देशका पर्यटकहरूलाई ट्रेकिङ गाइड गर्छिन् । दिनको तीन सय रुपैयाँ पारिश्रमिकबाट काम थालेकी उनी अहिले दैनिक १ हजार ८ सय रुपैयाँ पारिश्रमिक लिन्छिन् । ‘देशका १५ जिल्ला घुमेकी छु । विश्वका मान्छेलाई घुमाउन सक्ने भएकी छु । बुबा आमाको एक सहारा बनेकी छु,’ उनी सुनाउँछिन्, ‘मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि यही हो । यी विविध अनुभवले मलाई सफल मात्र बनाएको छैन जिन्दगीका हरेक आरोह र अवरोहलाई पार गर्न सक्ने क्षमता पनि प्रदान गरेको छ ।’

शान्तिले अहिले देशसँगै विदेशका विभिन्न देशहरूमा गएर तालिम लिने अवसरसमेत प्राप्त गरेकी छन् । २०६३ मा उनले काठमाडौंमा रक क्लाइम्बिङको तालिम लिएकी छन् । २०६५ मा अन्नपूर्ण बेसक्याम्प ‘आइस क्लाइम्बिङ ट्रेनिङ’ लिइन् । उनले २०६७ मा इटाली र पोल्यान्ड पुगेर तीन साताको रक क्लाइम्बिङ तालिम लिएकी छन् । २०६८ मा अन्नपूर्ण चौथो आरोहरणसमेत गरिन् । 

एकपछि अर्को अवसर र प्राप्त सफलताले शान्ति यतिबेला प्रफुल्लित छिन् । डेनमार्कको कोपनहेगन सम्मेलन र अमेरिकाको क्यालिफोर्नियामा आफ्नो अनुभव सुनाउने अवसर पनि पाएकी छन् उनले । यी अनुभवले उनलाई सफल मात्र बनाएको छैन जिन्दगीका हरेक आरोह र अवरोहलाई पार गर्न सक्ने क्षमता पनि प्रदान गरेको छ ।

***

सोलुखुम्बुको काँकु–३ मा बुवा फुर्वा छिरी र आमा कविरमाया राईकी सातौं छोरीमध्ये छैटौं सन्तान इन्द्रकला राईको जीवनका प्रारम्भिक दिन अक्सर आँसु बगाएरै बिते । बिहान बेलुकाको छाक टार्दै जीवन व्यतीत गरिरहेको परिवारमा बाबुको मृत्युले दु:खको भुमरी ल्यायो । आमामाथि ७ छोरीको जिम्मेवारी थपियो । छोरा नपाएकोमा समाजको हेय दृष्टि, दमन र अन्याय पनि प्रत्यक्ष थपिँदै गयो । 

छोरा नभएको भन्दै बुवाको मृत्युपछि काकाले जग्गामा किचलो निकाल्न थाले । अन्तत: जग्गा विवाद अदालतमै पुग्यो । एक दिनको घटना सम्झँदै इन्द्रकलाले भनिन्, ‘आमा सबेरै सल्लेरी बजारमा मुद्दाको तारिख लिन जानुभयो । २ वर्षकी बहिनीलाई मेरो साथमा छोडेर ।’ 

उनले थपिन्, ‘म त्यस्तै ५ वर्षकी थिएँ होला । बहिनी भोकाएर रुन थाली । दिनभर कोही आएनन् । बहिनी भोकले रोएको रोएै । म आत्तिएँ । फकाउन सकिनँ । म पनि बहिनीसँग रुन थालें, रुँदारुँदा थाकेर दुवै जना पिँढीमा निदाएछौं । साँझ ६ बजेतिर आमा आएर हामीलाई उठाएर खाना खुवाउनुभयो । यो क्षण मेरो जिन्दगीभरि पीडादायी क्षण हो । किन कोही आएनन् ? किन कसैले हाम्रोबारे चासो राखेनन् ? न त मैले कसैलाई सोधें, न त आजसम्म उत्तर पाउन सकेकी छु ।’ 

पीडादायी कथाका पानाहरू पल्टाउँदै गर्दा इन्द्रकलाका आँखाहरू भरिए । आवाज रोकियो । केहीबेरको मौनता तोडेर उनले भनिन्, ‘जीवनमा सबै प्रश्नको उत्तर हुँदो रहेनछ, अनुत्तरित प्रश्नबाटै मैले दिन बिताउन थालँे ।’ घरदेखि १ घण्टा पैदलयात्रामा काँकु निमावि थियो । 

त्यहीँबाट उनले कक्षारम्भ गरिन् । पढ्ने कसरीभन्दा पनि पढाइ खर्च जुटाउने कसरी भन्ने चिन्ताले सताउँथ्यो । कापी–कलमको समस्यालाई कहिलेकाहीं साथीहरूलाई चित्र बनाइदिँदा पनि टर्ने गर्थ्यो । ‘म चित्र बनाउँथे साथीभाइ त्यसको बदलामा कापी–कलम दिन्थे,’ उनले सुनाइन्, ‘यसै गरी २०६३ सालमा एसएलसी पास भएँ । सँगसँगै सल्लेरी बहुमुखीमा प्लस टु पढाइलाई साथै लगेँ ।’ 

संघर्षपूर्ण दिनले पछ्याइरहेकै थिए । आफ्नै जीवनको पाठशालाले इन्द्रकलालाई धेरै कुरा सिकाएको थियो । सँगसँगै विद्रोही पनि बनाएको थियो । 

सशस्त्र प्रहरीमा भर्ना खुल्दा उनले रुचि देखाइन् तर उचाइले धोका दियो । छनोटमा परिनन् । निराश भए पनि हरेस खाइनन् । सन् २०६६ मा आफ्नै दिदी निर्मला राईसँग ट्रेकिङ गाइडको तालिमका लागि पोखरा पुगिन् । दिदीले पहिले नै ट्रेकिङ गाइड गर्थिन् । उनी पनि तालिममा सहभागी भइन् । १ महिने तालिमपछि निर्भीक र निडर हुन सिकिन् । त्यसयता भरिया हुँदै ट्ेरकिङ गाइडको रूपमा कार्यरत हुन थालिन् । 

महिलाका लागि महिला गाइड र पुरुषका लागि पुरुष गाइड नै हुन्छन् । ट्रेकिङ गाइडका धेरै नियम छन् । त्यसभित्र रहेर पर्यटकको घुमाइलाई अर्थपूर्ण र रमाइलो बनाउन अहिले आफू लागिरहेको उनी बताउँछिन् । ‘पर्यटकको नेपालप्रतिको चाहनालाई बढाउन अभ्यासरत हुन्छौं । हेर्दा हामीले व्यक्तिगत र संस्थागत रूपमा काम गरेजस्तो देखिए पनि समग्र राष्ट्रको पर्यटन प्रवद्र्धनमा हाम्रो पनि प्रत्यक्ष भूमिका छ । 

हामीले प्रदान गरेका सेवाले पर्यटक खुसी भएर पुन: नेपाल घुम्न आइरहेका छन्,’ उनले भनिन्, ‘नेपालको पर्यटन व्यवसायका लागि राम्रो पक्ष हो । कुनै समय पर्यटक घुमाउने काम पुरुषको मात्रै हुन्थ्यो । महिलाका लागि कल्पना पनि गर्न सकिँदैनथ्यो । आज साहसिक पदयात्रामा पथप्रदर्शक बनेर विभिन्न देशका पर्यटकलाई नेपाल घुमाइरहेका छौँ ।’ 

यो पेसाले मानसिक रूपमा पनि राहत मिलेको उनको अनुभव छ । ‘प्रकृतिको अनुपम सुन्दरतालाई स्पर्श गर्दै आफ्नै देशका पाखा पखेरा र चुचुरोको फेदहरूमा पुग्नुको मज्जा बेग्लै छ । भिन्न देशका नागरिकको भाषा संस्कृतिसँगको सम्मिश्रण पनि लोभलाग्दो पक्ष हो ।’

एकपटक सगरमाथा आरोहण गर्ने उनको धोको छ । ‘यात्रामा धेरै काँडा पन्छाएर हिँडियो कति काँडा कुल्चिएर रक्ताम्य पाइला बनाएर पनि हिँडियो । यात्रा जारी छ । अबको यो यात्रालाई सगरमाथाको चुचुरोमा पुगेर सोलुकी छोरीको आत्मविश्वासको झन्डा फहराउनु छ ।’ रक क्लाइम्बिङको प्रशिक्षक भएको नाताले पनि उनमा यो आत्मविश्वास जागेको हो । 

***

‘छोरी भएकै कारण शिक्षादीक्षादेखि विभिन्न खाले विभेदको सामना गरिरहे तर सारा दृश्य टुलुटुलु हेर्नुबाहेक प्रतिकार गर्ने क्षमता थिएन । उमेर सानै थियो, सहनुको विकल्प पनि थिएन । तर आज जहाँ जसरी उभिएकी छु, एउटा नमुना पात्र बनेर उभिएकी छु । आज घर जाँदा पनि लाहुेर आयो भन्छन् ।’ ट्रेकिङ गाइड दानु गुरुङको आत्मविश्वासको अभिव्यक्ति हो यो । 

तनहुँको थप्रेक– ६, काप्रेकमा २०४४ सालमा जन्मिएकी दानु बुवा शुकबहादुर गुरुङ र आमा धनमाया गुरुङकी ३ सन्तानमध्ये माइली हुन् । छोरा चाहिन्छ भन्ने परिवारमा हुर्किइन् सानु । भाइ जन्मिएपछि उनी र दिदिलाई परिवारभित्र अलि विभेद भएको जस्ता लाग्यो । ‘छोरा नभएकै कारण परिवार उजाड थियो, जन्मेपछि हरियाली छायो,’ उनी ठान्थिन् । उनी दुल्लेगौडास्थित पञ्चमुनि उच्च माविमा 

पढ्थिन्, भाइ टाई लगाएर बोर्डिङ जान्थे । समाजले सजिलै पचाएको विभेद थियो यो ।

दानुले २०६२ सालमा एसएलसी उतीर्ण गरिन् । भानुभक्त क्याम्पसमा प्लस टु पढ्न थालिन् । आमालाई पाठेघरको समस्या थियो । दिदीलाई बाथ रोग । उनले घरधन्दामा पनि सघाउनुपर्थ्यो । अर्कोतिर पढाइ खर्च जुटाउन आधारभूत सिलाइ कटाइको तालिम लिइन् । घरमै मेसिन राखेर सिलाउन थालिन् । छरछिमेकका कपडा सिलाउँदै पढाइलाई पनि निरन्तरता दिंदै प्लस टु उतीर्ण गरिन् ।

२०६५ सालमा उनी पोखरा आएर उनले महिला पर्यटकका लागि ट्ेरकिङ गाइडको तालिम लिइन् । तालिमलगत्तै उनी कोरियाली जोडीको भरिया बनेर लान्द्रुक, घान्द्रुकको ३ दिने यात्रा गरिन् । चन्द्रा राई गाइड थिइन् । वाटरप्रुफ जुत्ता लगाएर पर्यटकको झोला बोकेर हिंड्दा काँडेको उकालोमा उनलाई गाह्रो भयो । ‘बाटोमा स–साना बाबुनानीले मान्छेभन्दा ठूलो झोला बोकेको भन्दै जिस्काएका थिए,’ उनी सम्झिन्छिन् । 

अहिले उनी गाइड नै बनेर पर्यटकहरूलाई देश डुलाउँछिन् । स्नातकसम्म अध्ययन गरेकी दानुले प्लोराफाउना, रक क्याइम्बिङ, प्राथमिक उपचारकलगायत विभिन्न तालिम लिएकी छन् । दार्जिलिङ, सिक्किमलगायत देशका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेकी छन् । अमेरिकाको क्यालिफोर्नियामा पुगेर ट्रेकिङ गाइडका आफ्नो अनुभव सुनाउने अवसरसमेत उनलाई मिलेको छ । 

फरक–फरक देशका पर्यटकसँग उनीहरूको रुचि, स्वभाव, रहन–सहन र संस्कृति ध्यानमा राखेर व्यवहार गर्नु अवसरसँगै चुनौती पनि भएको उनको बुझाइ छ । ‘हाम्रो क्षमता भनेको यिनै परिस्थितिको सामना गरेर उनीहरूलाई सकुशल र खुसी पारेर यात्रा गराउनु हो,’ उनी भन्छिन् । 

विश्वका पर्यटकलाई देशका विभिन्न क्षेत्रमा घुुमाइरहँदा उनलाई गर्व लाग्छ । ‘म मेरै देशमा काम गरिरहेकी छु । विश्वलाई नेपालका भूभागहरू चिनाउँदै हिँड्न पाएकी छु ।’ खाडीमा नेपाली चेलीहरूको दर्दनाक अवस्थाका समाचार सुन्दा दिक्क मान्ने उनी आफ्नै देशभित्र सम्भावना देख्छिन् । 

दानुका अनुसार सिजनमा अलि बढी चाप हुन्छ । ‘मासिक १० हजारदेखि ५० हजारसम्मको कमाइ हुन्छ,’ उनले सुनाइन्, ‘यसमा टिप्स पनि थपिन्छ । देशभित्रका पाखापखेरामा पर्यटक डुलाएर यतिको कमाइ भएपछि किन खाडी मुलुकमा जानुपर्‍यो ?’ 

दानुको सफलताले अहिले उनका बाबु पनि खुसी छन् । घरतिर जाँदा ‘लाहुरे’ आयो भन्दै छिमेकी झुम्मिन्छन् । धेरै महिनामा घर जाने हुँदा गाउँलेले उनलाई ‘लाहुरे’ भनेका हुन् । 

***

‘आजको यो सफलता हिजोको असफल जिन्दगीको देन हो । हरेक पाइलामा ठेस लाग्यो । पढ्ने लेख्ने रहरहरू ओइलाए । १४ वर्षमै बिहे भयो । वैवाहिक जीवनका रंगीन सपनाहरू सजाउन नपाउँदै बादल लाग्यो । अनिश्चित भविष्यको गोरेटोमा हिँड्दाहिँड्दा आजको यो मोडमा छु । हिजो बगाएका आँसुहरूले मनलाई हलुका बनाइदियो र नयाँ जिन्दगीको बाटो देखाइदियो । आजको जिन्दगी मेरो खुसी र सुखी जिन्दगी हो ।’ यो कथा मनाङकी मनु गुरुङको हो । 

२०४४ साल भदौ २१ गते जन्मिएकी मनु पहलमान गुरुङ र आमा मनकुमारीकी दुई छोरी र एक छोरामध्येकी जेठी हुन् । स्थानीय विद्यालयका नेपाली शिक्षक उनका बुबा मनु पाँच वर्षको छँदा बिते । परिवार शोकमा डुब्यो । बुवाको मृत्युले उनको पढाइलाई पनि असर गर्‍यो । ६ कक्षा पुगेपछि गाउँमै अरूको घरमा बिहान–बेलुका काम गर्दै पढ्न थालिन् । ६ र ७ सात कक्षा यसरी नै पढिन् तर त्यसपछिको अध्ययन रोकियो । 

१४ वर्ष पूरा हँुदै थिइन् फुपू पर्नेको छोरासँग उनको बिहे भयो । १६ वर्ष पुग्नै लाग्दा छोरी जन्माइन् । प्रहरीका जागिरे उनका श्रीमान् वर्षमा एक दुईपल्ट मात्रै घर आउँथे । जागिरे जीवनमा विभिन्न ठाउँ पुग्ने उनले वर्षदिनमै अर्को बिहे गरेछन् । जब मनुले त्यो कुरा थाहा पाइन्, पारिवारिक खटपट सुरु भयो । कलिलो उमेरमा उनले देखेका रंगीन सपना त्यसै हराए । जिन्दगीदेखि निराश भइन् । पटक–पटक मृत्युसँग जुध्न मन लाग्थ्यो तर काखकी छोरीको अनुहारले गलत बाटो अपनाउन सकिनन् । छोरी २ वर्ष भएपछि बाबुले नै लगे । झन् पीडा थपियो । आफ्नै शरीरको अंग छुटाएजस्तो भयो । दिनरात रोएर दिन बिताउन थालिन् । छोरीको माया र ममताले उनलाई झन् कमजोर बनाउँदै लग्यो । एकातिर सम्बन्धका विविध पक्षहरूबाट उनमा बेचैन उत्पन्न हुन थाल्यो भने अर्कोतिर बाँच्ने आधारको खोजी पनि सँगै हुन थाल्यो । 

मनाङमा थुप्रै पर्यटक आउने–जाने गर्थे । दिनदिन पर्यटकका गतिविधिलाई मनुले पनि नियालिरहन्थिन् । पर्यटकसँग नेपाली गाइडहरू देख्दा उनलाई पनि त्यसरी नै गाइड बन्न मन लाग्थ्यो । बाटामा आउने जाने धेरैलाई आफ्नो चाहना पनि सुनाउँथिन् । एक दिन गोरखा बारपाकका वीरबहादुर घले र एक्यापका रामकाजी लामाको सहयोगमा पोखरा झरिन् र ट्रेकिङ गाइडको तालिम लिन सुरु गरिन् । 

मनुलाई सुरुका दिनमा तालिम निकै कष्टकर लाग्यो । तर मिहिनेत गरेर सिक्ने कुरामा पछि परिनन् । १ महिना ट्रेकिङ गाइड्सम्बन्धी तालिमले उनको जीवनमा ऊर्जा भरिदियो । अनि उनको यात्रा पनि अरुको जस्तै उसै गरि सुरु भयो, पर्यटकको भरिया बनेर । 

अहिले उनी गाइड बन्न सफल भएकी छन् । एउटा पहिचानका साथ बाटोमा हिँड्दा उनलाई निकै गर्व लाग्छ । दशक यता ट्रेकिङ गाइड बनेर पर्यटकलाई घुमाइरहेकी छन् । यसबीचमा उनले नेपालका १० चुचुरोको आरोहरण गरेकी छन् । इटाली र पोल्यान्ड पुगेर आइस क्याइम्बिङको एडभान्स कोर्स र रक क्याइम्बिङको तालिम पनि लिइसकेकी छन् । ‘फोर विक्स फोर पिक्स’ अभियानको सफल आरोही पनि हुन् उनी । अन्नपूर्ण चौथो समेत आरोहरण गरेकी छन् उनले । ७ हजार ५ सय २५ मिटर अग्लो हिमाल आरोहरणसँगै उनको आत्मविश्वास पनि अग्लिँदै गएको छ ।

यात्रामा आइपर्ने विविध समस्या र चुनौतीलाई सहजै टार्न सक्ने भएकी छन् उनी । विभिन्न तालिमले दिलाएको आत्मविश्वासले उनलाई अघि बढाएको छ । समयसँगै उनकी छोरी पनि अहिले आमा खोज्दै आइपुगेकी छन् । एउटा खुसी पुन: फर्किएको छ । सँगसँगै छोरीको थप जिम्मेवारीसमेत थपिएको छ । हिजो हरेक पल आँखामा आँसु बोकेर टोलाइरहने मनु आज आत्मविश्वासको मुस्कानले सबैलाई स्वागत गर्ने भएकी छन् । 

***

नवलपरासी सुनवल–४ का रनबहादुर पुन र तीलकुमारीकी छोरी भगवती पुन तराइको यस्तो गाउँले परिवेशमा हुर्किइन् जहाँ महिलाले पुरुषसँग बोल्नुलाई पनि खराब आचरणका रुपमा लिइन्थ्यो । तर भगवती अहिले ट्ेरकिङ गाइड बनेर विदेशी पर्यटकलाई नेपालका विभिन्न ठाउँहरूमा घुमाउने भएकी छन् । 

सामान्य किसान परिवारकी भगवतीले बाल्यकाल घर धन्दा, गाईवस्तु, खेतीपातीमै बढी बिताइन् । स्थानीय महाकवि देवकोटा उच्च माविबाट १२ कक्षा उतीर्ण गरेपछि उनी उनी उच्च शिक्षा हासिल गर्न चाहन्थिन्, आफ्नै खुट्टामा उभिएर । त्यसका लागि उनले सीपमूलक तालिम लिने सोच बनाइन् । अनि सलाइ कटाइको तालिम लिइन् । कम्प्युटरको आधारभूत तालिम पनि सिकिन् । तर पनि आय आर्जनको पाटो भनेजस्तो भएन । 

एक दिन गाउँकै दिदि माया पुनसँग भेटिन् जो ट्रेकिङ गाइडको काम गर्थिन् । उनमा पनि गाइड बन्ने चाहना बढ्यो तर कहिल्यै घर नछाडेकी उनलाई पर्यटकसँग घुम्नु र विभिन्न ठाउँको बारेमा अंग्रेजीमा बोल्नुपर्ने कुराले भने तर्सायो । माया पुनले ‘तालिम लिएपछि जानिन्छ, सुरुमा सबैलाई गाह्रो हुन्छ, गर्दै गएपछि सामान्य हो’ भनेर विश्वस्त बनाइन् । 

मायाको ढाडसले भगवतीको आत्मबल बढ्यो । पोखरा आएर ट्रेकिङ गाइडसम्बन्धी तालिम लिइन् ।

एउटै परिवेश, एकै समुदायमा हुर्किरहेकी उनलाई सहरको परिवेशमा अंग्रेजी कक्षाका तालिमले सुरुका केही दिन उनलाई असहज लाग्यो । तर उद्देश्यउन्मुख पाइलाहरूमा अविचलित रूपमा अगाडि बढाइरहिन् । 

२०६४ असोजमा पहिलोचोटि उनी भरियाका रुपमा घोरेपानी हुँदै घान्द्रुक पुगिन् । त्यतिबेला गाइड कमला विक थिइन् । तराईमा हुर्केकी उनलाई पहाडका उकालो चढ्न गाह्रो हुन्छ भन्नेहरू पनि थिए । तर उनलाई त्यस्तो अनुभूति भएन । समथर बाटोमा साइकलमा कुदाएका उनका पाइला दरिला थिए । उल्लेरीको उकालो पनि सहजै पार गरिन् । 

उनी अन्नपूर्ण बेसक्याम्प, जोमसोम, मनाङ, मुस्ताङ, अन्नपूर्ण सर्किट, अन्नपूर्ण सेन्चुरीलगायत ठाउँमा विभिन्न देशका पर्यटक घुमाउँदै आफू पनि रमाउँदै आएकी छन् । यससँगै स्नातकसम्मको अध्ययन गरेकी छन् । जिन्दगी नै यात्रा हो भन्न रुचाउने भगवतीले आफ्नो जिन्दगीलाई यात्रामय बनाएकी छन् । तराईका फाँटदेखि हिमालका फेदसम्मको यात्राले प्रकृतिका विविध रूप र रंगमा खेल्न पाएकी छन् ।

प्रकाशित: कार्तिक ११, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार