फिचर

सुवेदीको समय यात्रा

  • श्रद्धाञ्जलि
- अभि सुवेदी
नेपालमा इतिहास भनेपछि राजा, सामन्त अनि पछि तिनको संस्कारबाट मुक्त हुन नसकेको राजनीतिको ‘न्यारेटिभ’ हो । तर सूर्यले सिर्जनाको इतिहास रोजे ।

कार्तिक ११, २०७४-सूर्य सुवेदीको जन्मवर्ष २००२ चैतपछि डिको राखेर दिवंगत भएको वर्ष २०७४ कात्तिक ५ लेख्नुपरेको मेरोनिम्ति अप्रत्यासित अधिभौतिक चेतना भयो । अन्तिम श्रद्धाञ्जली दिन आर्यघाटमा आएका नरनारी देख्ता उनले बनाएको सामाजिक सम्पर्क र पहिचानको कलेवर कति ठूलो रहेछ भन्ने मलाई लाग्यो । त्यसमा समाजमा सक्रिय भएर काम गर्ने सर्जकहरू, राजनीतिज्ञ, पत्रकार, समाजसेवक, कलाकार र यिनले जीवनको बाटोमा लाग्न मद्दत गरेका युवायुवतीको त्यो भिडमा म अन्तिम श्रद्धाञ्जली दिएर बाहिरको चोकमा विचारशून्य भएर निस्केंँ । सूर्यको जीवन र कामबारे सोध्ने युवाले मलाई घेरे ।

उनीबारे बढी कुरा जान्न खोज्ने जिज्ञासामा एउटा सूर्यले बनाएको कालक्रमको चित्र थियो । त्यसको रचना उनले कसरी गरे, अमूक कृति उनले कसरी लेखे जस्ता प्रश्नहरू थिए । जीवनको अन्तिम अवस्थासम्म मित्र र घटनाहरूबारे उनले चाख राखिरहे । मैले सूर्यलाई केही दिनदेखि भेट्न पाएको थिइन । भाइटीकाको अघिल्लो दिन उनले मलाई अस्पतालको शैयाबाट फोन गरे । म थाहा पाएर भेट्न गएंँ । उनकी श्रीमती प्रतिभा सधैंजस्तै त्यहांँ थिइन् । उनी नारी प्रतिभा केन्द्रकी संस्थापक र नारी ग्रन्थहरूकी लेखक हुन् । प्रतिभाको स्नेह र ध्यानले गर्दा पनि सूर्यले क्यान्सर रोगसंँग सहज रूपमा सामना गर्नसके । म गएपछि सूर्य बसे अनि हामीले कुरा गर्‍यौं । सूर्य मित्रहरूबारे अनि मिडियामा मूलविचारहरू कस्ता प्रवाहित हुंँदैछन् भन्ने जान्न चाहन्थे । मैले विस्तारै भनेँ । अनि उनलाई आराम गराएर बाहिर निस्केंँ । मेरो उनीसंँग त्यही अन्तिम भेट थियो ।

सूर्यसँंग मेरो सम्बन्ध अत्यन्त घनिष्ठ मित्रको जस्तो थियो । सूर्य मेरा भतिजा हुन् । हामी झन्डै समवयस्क हौं । हामी पूर्वी नेपाल लिम्बुवान तेह्रथुमको साबला गाउँमा जन्मेका थियौं । हामी हुर्केको थलोलाई पल्लो किरात भन्थे । काठमाडौंमा पढ्ने सूर्यका दाजु, उमेरले जेठा र साहित्य लेख्न सिकाउने मेरा भतिज स्व. पुण्य सुवेदी र अर्का कथाकार भतिज भक्तिप्रसाद सुवेदीहरूले काठमाडांैबाट पठाएका चिठीहरूमा पल्लो किरात, तेह्रथुम, साबला भनेर ठेगाना लेखिएको हुन्थ्यो । सूर्य र मलाई त्यो मोडल भयो । हामी खेती, स्कुल र अक्षरका सिँढीहरू चढ्दै त्यही लिम्बुवानबाट जीवनमा उक्लेका हौं । म्याङलुङ बजारमा धनकुटा गौंडाबाट दौडाहामा गएका बडाहाकिमको कोटको डिजाइन र तिनको अहम्पूर्ण बोली, तिनले झगडियाहरूलाई तर्साउन ल्याएको भित्र रिल नहालेको क्यामेराको क्लिक–क्लिक आवाजबाट निस्केको शक्तिको चित्र बनाउन सूर्य र म कल्पनामा डुब्थ्यौं । हामीले यसरी टिपेका विम्बहरू हामीसँंग अर्थ बद्लिएर सधैं बसे । सानैदेखि परिवारमा दाजुहरूका चाखअनुसार हामी राजनीतिमा पनि चाख राख्थ्यौं । 

सूर्य र मैले विश्वविद्यालयमा अंग्रेजीमै एमए पढ्यौं । मेरो स्वभाव अलिक अन्तर्मुखी र किञ्चित अराजक थियो भने सूर्य बहिर्मुखी र व्यवस्थित थिए । उनी राजनीतिमा सोझै भाग लिन्थे, तर बाहिर पनि सोझै निस्किन्थे । आफूलाई लागेका कुरा नेपालका प्रमुख दैनिक पत्रिकाहरूमा लेखहरू लेखेर सोझै भन्थे । सूर्यको विचारमा समाज भनेको एउटै अवस्थामा राखेर अध्ययन गरिनुपर्ने विषय होइन । ती समाजमा ससाना भौतिक परिवर्तन गरेर मानिसको जीवन बद्लिन सकिन्छ भन्ने कुरामा विश्वास राख्थे । पचासको दशकमा यही धारणा लिएर सूर्य आफ्नो जन्मभूमि तेह्रथुम जिल्लामा मानिसलाई मद्दत हुने किसिमका अनेक योजना लिएर गए । विदेशी दातृ संस्था र केही राजदूतावाससँंग सम्पर्क गरेर त्यो क्षेत्रमा केही काम गर्ने योजना बनाए । युगौंदेखि मानिसले खतरा मोली भेलमा पसेर तर्ने खोलामा तिनले पुल बनाए । पानी नभएर खेती गर्न नसकिने ठाउँंमा सूर्यले पिंगुवा र लुन्द्रुङ खोलाजस्ता अजश्र स्रोत भएका वेगवान जलधारबाट कुलोहरू बनाए ।

स्कुलहरूलाई अनुदान मिलाए । समाजसेवीहरू खोजेर तिनलाई अगाडि ल्याए । विचारहरूका खुला आदान–प्रदान हुने वातावरण मिलाए । वाचनालय भवनहरू बनाए । अहिले पनि हाम्रो साबला गाउँंमा एउटा गाईवस्तु खर्किने गरेको वाचनालय छँंदैछ । मानिसहरू चकित परे, उनले किन यति धेरै योजना गरे विकासका भनेर । अनि मानिसहरू उनको यहांँ केही राजनीतिक अभिष्ट छ कि भनेर प्रश्न र विरोध गर्न थाले । तर सूर्यले ती सबै काम आफ्नो जीवनदर्शन अन्तर्गत गरेका थिए । उनले कुनै राजनीति गर्नु थिएन । उनी बाहिर निस्के । अहिले विरोध गर्नेहरू तिनै कुलापैनी प्रयोग गरेर दुईछाक खाने भए । घोर वर्षायाममा मानिसहरू तिनै पुल तर्छन् । तिनै योजनामा काम गर्छन् । तर तिनका प्रणेतालाई ती मानिस कति सम्झिन्छन्, मलाई थाहा छैन । राजनीति, दलीय संस्कारबाट सिर्जनशील हुनुपर्ने हो, तर विडम्बना, नेपालमा सूर्य र उनीजस्तै धेरै मानिसको अनुभवदेखिकै कुरा लिएर आजसम्म हेर्दा सिर्जनशील र सेवी मानिससँंग द्वन्द्व गर्दै आएको छ, राजनीतिक संरचना । डा. गोविन्द केसी र दलीय राजनीतिक संरचनाको लामो द्वन्द्व त्यसको बलियो प्रतीकात्मक उदाहरण हो । 

माथिको अनुभवबाट किञ्चित् निराश भएका सूर्यले संरचनाको अर्को बाटो रोजे । उनले मलाई भनेका कुरा लेख्ने ठाउँं छैन । उनले भौगोलिक अथवा खोलानाला, बाटो र कुलोपैनीको ‘टेक्स्चर’भन्दा भिन्न बाटो खोजे । इतिहासभित्र पसे । तर सूर्यले छानेको सबै इतिहास शक्तिले बनिएको थिएन । नेपालमा इतिहास भनेपछि राजाहरू, सामन्त अनि पछि तिनको संस्कारबाट मुक्त हुन नसकेको राजनीतिको ‘न्यारेटिभ’ हो, तर सूर्यले सिर्जनाको इतिहास रोजे । आफूले २०२८/२९ सालमा रेडियो नेपालमा काम गरेको अनुभव, २०४६ सालमा आफूले चलाएको ‘गाण्डिव’ पत्रिकाले दिएका मानिस चिन्ने अवसर, तिनको समसामयिक विषयमा लेखेका विश्लेषणका पृष्ठभूमि, साहित्य सर्जकहरूका कृति र तिनका अनुभवलाई राखेर सूर्य ग्रन्थ तयार गर्ने योजनामा लागे । अनि २०७० सालमा ‘सिर्जना र दृष्टिकोण’ भन्ने ६१२ पृष्ठको किताब हिमालय बुक स्टलबाट प्रकाशित गरे । यसमा ५९ जना स्रष्टासँंगका अन्तर्वार्ता र दृष्टिकोण राखिएका छन् ।

उत्तम कुंँवरको ‘अनुभव र अनुभूति’ (२०२३, २०३९), देवेन्द्र भट्टराईको ‘स्रष्टा र समय’ (२०६२) र अलिक फरक किसिमको किशोर कुंँवरको ‘परिवेश नेपाली वाङ्मय विशेषाङ्क’ (२०४०) को परम्परामा छ, यो किताब । प्रत्येक लेखकका कृति पढेर सूर्यले राखेका प्रश्नका उत्तर सर्जकहरूले दिए अनि ५१० घन्टाभन्दा बढी समय टेप उतारमा लगाएर उनले किताबमा राखे, अनि आफ्ना दृष्टिकोण राखेर उनीहरूका सटिक परिचय लेखे । गोपीकृष्ण शर्माले भाषा सम्पादन गरेको यो धेरै महत्त्वपूर्ण ग्रन्थमा भएका केही लेखक र सम्पादक सूर्य आपैंm दिवंगत भइसकेका छन् । त्यसैले यो एउटा महत्त्वपूर्ण आर्काइभ भएको छ, जुन अर्को विस्तृत लेखको विषय हो ।

सूर्यले नेपाली इतिहास अनि मानिसलाई यथार्थजनिन दृष्टिले हेरे । सूर्य इतिहासमा फिक्सन तत्त्व देख्थे । ऊकालिक सीमान्त चेतनामा विश्वास गर्थे । उनले लेखेको उपन्यास ‘दिशाहीन यात्रा’ (२०६९) त्यसैको उदाहरण हो । यस उपन्यासमा उत्ताल तर नियमभित्र चलेको नेपाली उथल–पुथलको इतिहास हेर्न उनले कारक मानिने यथार्थ व्यक्तिहरूलाई सोझै उपन्यासका पात्र बनाएका छन् । सूर्यले इतिहास सामथ्र्य र विग्रहलाई निरपेक्ष भावले हेरे । त्यस्तै पद्धतिमा त्यो बेला इतिहास र यथार्थ घटनाक्रमका गोधूलीमा अरू लेखकहरूले पनि उपन्यास लेखे । उनको किताब ‘सूर्य सुवेदीका कथाहरू’ (२०६८) बारे वैरागी काइंँलाले भने, ‘यसले अप्रत्यक्ष रूपमा इतिहास कोट्याएको अनुभूति हुन्छ, अनि दयाराम श्रेष्ठले भने, ‘यसले ग्रामीण संस्कृति, मूल्य–मान्यता र मौलिकता समेटेको छ’ (कान्तिपुर, १३ असार २०६८) ।

सूर्य सुवेदीको यो छोटो परिचय शोक र स्मृतिरञ्जित श्रद्धाञ्जली हो । 

प्रकाशित: कार्तिक ११, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार