ब्लग

कठिन पर्व छठ

- जितेन्द्र साह, काठमाडौं

कार्तिक ८, २०७४-महापर्व छठकालागि तीन महिना अगावैदेखि व्यावसायीले बाँस वा पितलको नांग्लो एवं ढाकीको भण्डारण सुरु गर्छन् । अगाध आस्थाकासाथ चार दिनसम्म मनाइने यो पर्वको सेरोफेरोमा थेग्नै नसकिने गरी यी सामग्रीको माग बढ्ने हुनाले व्यवसायीहरुले पूर्व तयारी गर्नुपर्छ ।    

कतिपय ब्रतालुले हाटबजारबाट नकिनी हस्तकला शिल्पीलाई बैना दिइ बनाउन लगाउँछन् । एक महिना पहिलादेखि नयाँ बाँसको चोया खुर्कँदै नांग्लो एवं ढाकी बनाउने कार्यमा डुम, पासवान र सन्थाललगायतका मिहिनेती आदिवासी एवं दलित समुदाय व्यस्त हुन्छन् ।   

ब्रतालु एवं परिवारजनले धेरै दिन पहिलादेखि चराचुरुंगीलाई समेत जुठो पार्न नदिने गरी गहुँ र चामललाई चोख्याएर सुकाउँछन् । छठको दिन गहुँ र चामलको पिठोबाट क्रमश: बहुचर्चित प्रसाद ठेकुवा, भुसुवा एवं पुरी बनाउँछन् । यो पर्वमा मौसमी फलफुल, तरकारी एवं गेडागुडी चढाइने हुनाले यतिखेर खेतबारीको निकै हेरचाह गरिन्छ । वन्यजन्तुले बोटमा फलिरहेको फललाई झुठो नपारुन भनेर विशेष ध्यान दिइन्छ ।

  

खेतबारी नभएकाले वरिपरि लाग्ने छठ बजारबाट ताजा फलफुल एवं तरकारी किन्छन् । पूर्णतया शाकाहारी विधिअनुरुप मनाइने छठमा घरकी मुख्य ब्रतालु महिला एवं परिवारजनले महिना अगाडीदेखि माछामासु खान छाड्छन् । 

यो पर्वमा प्रयोग हुने भाँडाकुडा र प्रसाद तयार पार्नलाई छुट्टयाइएको आगन वा बरन्डालाई सफा पानीले पखालेर शुद्ध पारिन्छ । मधेसको ग्रामीण भेकमा पकवान बनाउने प्रयोजनकैलागि माटाको बेग्लै चुल्हो तयार पारिन्छ । व्यावहारिक कारणले अलिक सम्भव नहुने हुनाले सहरबजारतिरकाले भने ग्याँसकै चुल्होमाथि गंगा जल छर्केर पवित्र पारी सामग्री बनाउँछन् ।  

मुख्यत: घरका ज्येष्ठ वा स्वस्थ महिलाको अगुवाइमा गरिने छठको तयारीसँगै विधि पनि निकै गाह्रो हुन्छ । हुन त पुरुष पनि यो पर्वमा उपवास बस्छन् तर महिलाको तुलनामा यो संख्या नगण्य हुन्छ । श्रीमान, सन्तान एवं परिवारकै सु:खकैलागि गरिने यो नारी प्रधान पर्वमा पुरुषहरु सहयोगी वा आसेपासे भूमिकामा सिमित हुन्छन् । 

मधेसमा डाला पुजाको नामले समेत बुझिने यो पर्वको पहिलो दिन ब्रतालुले लौका, दाल र भातजस्ता शाकाहारी भोजन ग्रहण गरेपछि पूर्णतय उपवास बस्छन् । यसलाई स्थानीय भाषामा ‘नहा खा’ वा ‘नहाए खाए’ भनिन्छ । उनीहरु यसका लागि झिसमिसे बिहानीमा उठेर सबैभन्दा पहिले कोठादेखि आँगनसम्म सफा पार्छन् । 

 

दिनभर पूर्ण उपवास बसि दोस्रो दिन साँझ उपासक एवं परिवारजनले खिरपुरी पकाउँछन् । रातिपख एक कोठालाई लिपपोत गर्छन् । भूइमा केराको पात फिजाएर त्यसमाथि ति पकवान र केरालगायतका गुलियो प्रसाद राखी मौनरुपले छठ माताको आराधना गर्छन् । स्थानीय भाषामा यसलाई ‘खरना’ भनिन्छ । छठमा सूर्य र उनको देवी रुप उषाको छठी मैयाँको रुपमा पुजा हुन्छ । षष्ठी तिथिमा मुख्य पुजा गरिने हुनाले छठ, छैठ, छइठ र छठी भनेर पनि भनिएको हो  ।

पुजापछि सबैभन्दा पहिले ब्रतालुले प्रसाद खान्छन् । उनले अरु केही खाँदैनन् । उपस्थित परिवारजन र छरछिमेकीलाई समेत यो प्रसाद बाँडिन्छ । बिहानीको व्यग्र प्रतिक्षामा मुख्य उपासक महिलासहित सबै जना चाँडो सुत्छन् । तेस्रो दिन बिहानै उठ्छन् । यो चार दिवसीय पर्वको यो मुख्य दिन हो । पुजाको सामग्री पकाइने र राखिने कोठादेखि आँगनसम्मलाई लिपपोत गरी वा धोइ पखाली गरिन्छ ।

 

सपरिवार र सहयोगी मिलेर गहुँ एवं चामलको पिठोबाट क्रमश: छठको चर्चित प्रसाद ठेकुवा, भुसुवा र पुरी पकाउँछन् । ल्वांग, सुकुमेल, किसमिस, काजु, नरिवल, दालचिनी र छोकरालगायतका सामग्री मिसाएर शुद्ध घिउ वा तेलमा पकाइने यी पकवानको मगमग वासना सर्वत्र फैलिन्छ । पुरा वातावरण छठमय हुन्छ । 

प्रसाद बनाइसकेपछि घाट भनिने जलाशय किनारतिर जाने तयारी जोडतोडकासाथ सुरु हुन्छ । मुख्य उपासक र परिवारजन नयाँ लुगा लगाउँछन् । घरको आँगनलाई पुन: एक पटक जल छर्केर चोख्याउँछन् । श्रीमान एवं सन्तानको संख्याअनुरुप पहिलादेखि तयार राखेको कोनिया भनिने बाँस वा पित्तलको नांग्लो र ढाकीलाई आँगनमा फिजाउँछन् । ती कोनियालाई ठेकुवा, भुसुवा, पुरी, गेडागुडी, फलफुल एवं तरकारीले सजाउँछन् । दीप र धुप बालेर सबैभन्दा पहिले घरमै पुजा गर्छन् । 

यसपछि ती नांग्लोलाई ढाकीभित्र राखेर सफा कपडाले बाँध्छन् । ढाकीको एक छोरमा बलिरहेको दियो राखिन्छ । कोही एक जनाले ढाकीलाई शिरमा बोक्छन् । ब्रताइन भनिने ब्रतालुको नेतृत्वमा सबै जना लोक गीत गाउँदै आफूलाई सहज हुने जलाशय किनार (घाट) तिर लाग्छन् । 

केही दिन अगावै तयार पारेको घाटमा पुगि सबै पुजन सामग्री फिजाउँछन् । धुपदीप बालेर अनुष्ठान सुरु गर्छन् । परिवारको तर्फबाट उपवास बसेका ब्रतालु अस्ताइरहेको सूर्यपट्टि फर्कि जलाशय किनारमा खडा हुन्छिन् । परिवारजनले नांग्लो भित्र र बाहिर रहेका हरेक पुजन सामग्रीलाई उनको हातमा राख्दै दुध/जलको अर्घय दिन्छन् । 

सूर्य अस्तसँगै यो महत्वपूर्ण दिनको समापन हुन्छ । नजिकै घर भएका पुजन सामग्री बाँधी घरकोठा फर्कन्छन् । टाढाटाढाबाट आएका घाटमै आश्रय लिन्छन् । स्थानीय छठ पुजा व्यवस्थापन समितिले टेन्ट गाडेर बस्ने प्रबन्ध मिलाएका हुन्छन् । रात काट्न सजिलो होस् भनेर विविध साँस्कृतिक गतिविधिको समेत आयोजन हुन्छ ।

चौथो एवं अन्तिम दिन बिहान परिवारजन पुन: घाटमा भेला हुन्छन् । साँझको विधि झैं बाँस वा पितलको भाँडाकुडामा सजाएर राखिएको पुजन सामग्रीसहित जलाशय किनारमा हात उठाएर सूर्यको आराधना गरेपछि मात्र यो पर्व सकिन्छ । साँझ एवं बिहानको यो पुजालाई क्रमश: सझिया घाट वा सझिया अर्घय र भोरका घाट वा भोरका अर्घय भनिन्छ । 

यो क्रममा छठका मधुर लोक गीत गाउनुकासाथै छठ महिमाको कथा वाचन पनि गरिन्छ । पुजारी नचाहिने यस पर्वमा यी गीत भनेको छठको मन्त्र जस्तै हो । हरेक दिनको विधिपिच्छै गाइने यी फरकफरक गीतमा छठको महिमा, ब्रतालुको आकांक्षा, महिलाको पीडा र सँघर्षको वर्णन हुन्छ ।   

लगातार चौथो दिनसम्म ब्रतालुको उपवास जारी रहने हुनाले यसलाई कठिन व्रत मानिन्छ । बिहानको अर्घयपछि ब्रतालुले प्रसाद खाइ उपवास तोड्छन् । घाटमा आफ्नो वरिपरि भेला भएकालाई पनि प्रसाद वितरण गर्छन् । 

सबै जाति, उमेर, धर्म, लिंग, दल, वर्ग र सम्प्रदायका सहभागी हुने यो समावेशी पर्वमा घरका ज्येष्ठ र स्वस्थ महिलाले पुजाको नेतृत्व गर्छिन् । नसक्ने भएपछि वरियता क्रममा परिवारका अन्य योग्य महिला सदस्यले पुजाको जिम्मेबारी लिन्छन् । पुस्तौंसम्म यसरी नै यो लोक पर्वको हस्तान्तरण भइराख्छ । 

घरमा कुनै अप्रिय घटना भएमा वा कसैको मृत्यु भएमा यो पर्व गरिन्न । तर अन्य कुनै पनि प्रकृति विपदाले यो पर्व रोकिन्न किनकी अर्को वर्ष गर्दा दोब्बर पुजन सामग्रीसहित पुजा सुरु गर्नुपर्छ । यसमा दोब्बर खर्च र श्रम लाग्छ ।  

यो सम्पन्नदेखि विपन्नसम्मले मनाउँने बहुजातीय एवं बहुसाँस्कृतिक अनुष्ठान हो । दलित एवं आदिवासी समुदायद्वारा निर्मित बाँसको ढाकी र नांग्लोमा पुजा गरिने हुनाले यसलाई समानताको पर्व पनि मानिन्छ । यो पर्वमा सहभागिताले पनि ठूलो महत्व राख्छ । 

रोचक के छ भने यो पर्वमा घरदेखि घाटसम्म युवा पुस्ताको सक्रिय सहभागिता हुन्छ । घाट सिंगार्ने, पुजन सामग्री बोक्ने र धार्मिक विधिमा सहयोग गर्नेमा उनीहरु सबैभन्दा अगाडी हुन्छन् । एक्लैले यो पर्व गर्नु सम्भव हुन्न ।

घरमा ठेकुवा एवं भुसुवालगायतका प्रसाद तयार गर्नुदेखि घाटमा अर्घय दिने बेलासम्म छरछिमेक समेत सहयोग गर्न आइपुग्छन् । आर्थिक रुपले अक्षमले भिख मागेरै पनि खुशी एवं गर्वकासाथ यो पर्व मनाउँछन् । सम्पन्नले समेत भाकल पुरा भएमा भिक्षा मागेर पुजा गर्ने अठोट लिन्छन् र पुरा भएमा गर्छन् । आफैले गर्न नसक्नेले चिनेका ब्रतालुलाई सामग्री किनेर दिइ पुजामा सहभागी हुन्छन् । घरदेखि जलाशय किनारसम्म प्राचिन वस्तीकोजस्तै रमझम हुने यस पर्वमा सहभागी हुँदा र प्रसाद मागेर खाँदा पुजा गरेजतिकै धर्म हुने विश्वास गरिन्छ । 

jitendrasah19@gmail.com

                             

 

प्रकाशित: कार्तिक ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार