ब्लग

पश्चिमा राजनीतिमा युवा आगमन, नेपालमा भने पुरानैलाई स्थान

- नवीन पोखरेल, लन्डन

कार्तिक ५, २०७४-अष्ट्रियाको यसै साता सम्पन्न आमनिर्वाचनमा जितपछि ३१ वर्षीय युवा सेबास्टियन कुर्ज नेतृत्वमा आउने निश्चित छ । अष्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टीका प्रमुख सेबास्टियन गठबन्धन सरकारको नेतृत्व सम्हाल्ने विश्वकै सबैभन्दा कान्छो नेता हुने विषय अहिले चर्चाको शिखरमा छ ।

पूर्व विदेशमन्त्री रहेका कुर्जको पार्टीले वहुमत नल्याए पनि उनकै नेतृत्वमा गठबन्धन सरकार बनाउन बलियो आधार भएकाले उनी राष्ट्र प्रमुख (चान्सलर) बन्ने अखवारहरुले उल्लेख गरेका छन् ।

दक्षिणपन्थी धार र आप्रवासनप्रति कडा नीति अंगीकार गरेका उनले कन्जरभेटिभ पिपुल्स पार्टीको नेतृत्व गत मेमा सम्हालेपछि शिथिल भइसकेको पार्टीलाई पुनर्जीवन दिएका थिए । उनको आगमनले उग्रराष्ट्रवाद र दक्षिणपन्थी धार अझ हावी हुने विश्लेषकहरुको अनुमान छ र उनले युरोपेली संघ छाड्न जनमत संग्रह गर्ने सम्भावनाबारे पनि वहस भएको छ ।

यसै वर्ष आयरल्याण्डमा प्रधानमन्त्री भए ३८ वर्षीय लियो भरदकर । उनका बाबु भारतीय मुलका हुन् । उनले अर्को वर्ष ब्रेक्जिट सम्झौता र गर्भपतन सम्वन्धि जनमतसंग्रह गर्ने अपेक्षा छ । वहुमत क्याथोलिक धर्म रहेको आयरल्याण्डमा गर्भपतन सम्वन्धि चर्को मतभेद छ । संयुक्त अधिराज्य (यूके) र आयरल्याण्डको सीमा जोडिएको छ जसले गर्दा ब्रेक्जिट वार्तामा यसको कसरी व्यवस्थापन गर्ने भन्ने मतमतान्तर बढिरहेको छ । नवनियुक्त युवा प्रधानमन्त्री भरदकरलाई आयरल्याण्डको राष्ट्रिय हित अनुरुप सवल नेतृत्व प्रदान गर्न ठूलो चुनौति रहेको विश्लेषकहरु बताउंछन् । उनले के कसरी आफ्नो उत्तरदायित्व वहन गर्नेछन् त्यो त भविष्यले बताउने नै छ । 

यसै वर्षको मेमा फ्रान्समा ३९ वर्षीय इमानुयल म्याक्रोन राष्ट्रपति बने । ईयू पक्षधर उनले फ्रान्समा सरकारी कर्मचारी भारी कटौती गर्ने, कर्पोरेसन टयाक्स बढाउने र वित्तिय अनुशासन कायम राख्ने जस्ता नीति अंगीकार गरेका थिए । पूर्व अर्थमन्त्री रहेका म्याक्रोन स्पष्ट वक्ता भएकै कारण चाँडै लोकप्रिय भए र उनको उदयले फ्रान्सेली नागरिकमा धेरै आशा पनि जगाएको छ । 

यी पछिल्ला उदाहरणले युरोपको राजनीति युवाको काँधमा आएको पुष्टि गर्छ । आफ्नो खुबी विकास, नैतिक उत्तरदायित्व वोध, उपयुक्त राजनीतिक प्रणालीको विकास आदि गर्न सके राजनीतिक सफलतामा पाको उमेर आवश्यक छैन् भन्ने पनि यसले संकेत गरेको छ ।

बीबीसीले गत वर्ष बेलायतमा गरेको एक सर्वेक्षणमा ६२ प्रतिशतले पाका भन्दा युवाहरु राजनीतिमा सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे । युवाहरु देशको आशाको केन्द्र रहनुका साथै उनीहरुमा शक्ति, लगनशीलता, 

नयाँ सोच साथै नयाँ प्रविधि र विज्ञानको शिक्षाले राम्रो काम गर्ने गरेको सर्वेक्षणमा सहभागी अधिकांशको राय थियो । युवाहरुमा आलोचना सहन सक्ने क्षमता बढि हुनुका साथै समग्रमा उनीहरु बढि सकारात्मक र आशावादी हुने गरेको पनि उक्त सर्वेक्षणले देखाएको थियो । यसको अर्थ पाका राजनीतिज्ञहरु नराम्रो भन्ने बिल्कुलै होइन । तर युवाहरु समस्या समाधान गर्न चाँडै सक्ने, विषयगत दक्षता र मुद्दा चाँडै बुझ्ने, अरुको कुरा सुन्न सक्ने क्षमता राख्छन् भन्ने सार सर्वेक्षणको थियो । 

बेलायतको राजनीतिमा युवाको योगदान अतुलनीय छ । बेलायतको इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री भए विलियम पिट । २४ वर्षमा नै प्रधानमन्त्री भएका पिटलाई चर्चिलपछि सर्वाधिक सफल बेलायती प्रधानमन्त्री मानिन्छ । बेलायतको पहिलो प्रधानमन्त्री रोबर्ट वालपोल पनि ४४ वर्षको उमेरमा उक्त पदमा पुगेका थिए र उनलाई चौथो सबैभन्दा सफल प्रधानमन्त्रीको रुपमा चित्रित गरिन्छ ।     

बेलायतमा टोनी ब्लेयर, डेभिड क्यामरुन प्रधानमन्त्री हुंदा दुवै ४३ वर्षका थिए । लेबर पार्टीको आधुनिक इतिहासमा सबैभन्दा वहुमत ल्याएका ब्लेयरलाई बेलायती अर्थतन्त्र कायापलट गर्न सफल भएको क्रेडिट दिइन्छ । लगातार तीनवटा बेलायती आम चुनावमा वहुमत ल्याउन सफल ब्लेयर सन् २००३ को विवादास्पद इराक युद्धमा सामेल भएपछि भने आफ्नो छवी केही गुमाउन पुगे ।

अर्का प्रखर युवा वक्ता डेभिड क्यामरुन सन् २०१० मा प्रधानमन्त्री हुंदा सन् २००८ को विश्व आर्थिक मन्दीको संकटबाट गुज्रिरहेको बेलायतलाई सफल नेतृत्व दिन सफल भएका थिए । विश्व आर्थिक मन्दीको चपेटामा जेलिएको बेलायतलाई पार लगाउने जिम्मेवारी ३७ वर्षीय अर्थमन्त्री जोर्ज अस्बोर्नको कांधमा थियो । त्यो बेला बेलायतको तेश्रो ठूलो पार्टी लिबरल डेमोक्रयाटसंग मिलिजुली सरकार बनेको थियो र उपप्रधानमन्त्री भएका उक्त पार्टीका नेता निक क्लेग पनि ४३ वर्षकै थिए । सहमति अनुरुप नै मिलिजुली सरकारले पाँच वर्ष पुरा गरि अनुपम नमुना प्रस्तुत गर्न सफल भएको विश्वास गरिन्छ । 

सन् २०१५ को आमनिर्वाचनमा वहुमत प्राप्त गर्न सफल भएका क्यामरुनले गत वर्षको युरोपियन युनियनको जनमत संग्रहमा ईयू छोड्ने पक्षधरको जित भएपछि नैतिक रुपले राजिनामा दिएका थिए । उनको अभावमा 

आफ्नो पार्टी कन्जरभेटिभ आक्रान्त भएको ठान्ने पनि कयौं छन् । केही समय यता ब्रेक्जिट वार्तामा भइरहेको किचलो र समग्र बेलायतको आर्थिक अधोगतिले पनि क्यामरुनको अभाव खड्किएको बताउने कम छैनन् ।

पश्चिमा राजनीतिमा युवा नेतृत्व बढिरहंदा नेपाल भने पुरानै सोचमा रुमल्लिरहेको छ । पहिलो पुस्ता सत्ता मोहमा नराम्ररी लोभिएका राजनीतिक दृष्टान्तले बताइरहेका छन् । पछिल्लो उदाहरण आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट सिफारिस हेर्दा पनि वृद्धवृद्धा नेताहरु कै नाम अग्रपंक्तिमा देखियो । भ्रष्ट ठहरिएका टिकट बाँड्ने र डनहरु सिफारिसमा पर्ने प्रवृत्ति कम आलोचित भएन सामाजिक सञ्जालतिर । सत्ताको कुर्सी नछाड्ने आलोचना त अब नौलो लाग्दैन । 

युरोपमा युवाहरुको राजनीतिक जितले नेपाललगायत विश्वका अन्य धेरै मुलुकले राम्रो शिक्षा लिन सक्छन् । स्थिर राजनीति, विकास र आममानिसका आशा परिपूर्तिका लागि युवा पिंढी सवलरुपले काम गर्न सक्छ भन्ने सन्देश पश्चिमा राजनीतिक परिवर्तनले दिएको छ । विवादास्पद छवी तथा अपराधिक क्रियाकलापलाई पश्चिमा राजनीतिमा कुनै स्थान छैन । यहाँको राजनीतिक संस्कारको सिको एवं कर्तव्यवोध र नैतिकताको शिक्षाले देश परिवर्तन हुन सक्छ भने त्यो नेपालले किन ग्रहण नगर्ने ?

(पोखरेल दशक यता बेलायत बस्छन्) 

 

प्रकाशित: कार्तिक ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार