समाचार

काठमाडौंको म्हेपीमा बिहानै गोली चल्यो, युवती रक्षाको लागि गोली प्रहार !

- हरिहरसिंह राठौर, जनकराज सापकोटा, काठमाडौं

कार्तिक ५, २०७४-राजधानीको म्हेपीमा आइतबार बिहान गोली चलेको छ । आज बिहान करिव साढे तीन, पौने चारबजेको बीचमा रानीबारी बस्ने कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। 

बिहान स्कुटीमा हिँडिरहेका २८ वर्षीय गुरुङलाई कारमा आएको समूहले गोली हानेको थियो ।

गोली गुरुङको घुँडा मुनि लागेकोले उनी खतरामुक्त रहेको प्रहीले जनाएको छ । काडमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकका अनुसार गोली लागेका गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । उनले भने, 'घटनाको प्रकृति हेर्दा ग्याङ वार जस्तो देखिएको छ। हामीले थप अनुसन्धान गरिरहेका छौं ।'

प्रहरीले गोली प्रहार गरेको अभियोगमा ५ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । उनीहरुलाई लैनचौरको कस्टडीमा राखिएको छ ।

यसकारण चल्यो गोली 

ठमेलको सिएनआइ क्लब राति अबेरसम्म खुल्लै थियो । क्लबमा रमाइलो गरिसकेपछि एउटा गाडीमा दुइजना युवती र एक युवक निस्किए । क्लबबाट निस्केपछि तीनवटा स्कुटीमा ६ जना युवाले गाडी पच्छ्याउन सुरु गरे । 

गाडी अघि बढ्दै थियो । लैनचौर चोकमा आएपछि स्कुटीमा आएका युवाले गाडी रोक्ने प्रयास गरे । गाडी म्हेपी जाँदै थियो । गाडी भित्र रहेकामध्येकी एकजना सबिना क्षत्रीले गाडी चालकलाई 'केटा'हरुले आफूलाई पच्छ्याएको बताइन् । त्यसपछि गाडी चालकले सिसा खोलेर फायर (सुट) गरे । रातको समय फायर गर्दा रानीबारीमा २८ वर्षीय कल्याण गुरुङलाई लाग्न पुग्यो । 

प्रहरीका अनुसार गोलीले घुँडानेरको छाला छेडेर गोली निस्किएको छ । 

प्रहरीले गोली प्रहार गर्ने गाडी चालक पहिचान भइसकेको अब पक्रन मात्रै बाँकी रहेको जनाएको छ । प्रहरीले सबिना क्षत्री सहित अरु चारजना युवालाई पक्राउ गरेको छ।

प्रकाशित: कार्तिक ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार