स्वास्थ्य

किन बढ्छ जाडोमा ब्लडप्रेसर ?

- डा. ललित कुमार मिश्र, काठमाडौं

कार्तिक ४, २०७४-हिउँदको मौसमलाई स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ। तर जाडोमा धेरैजसो मानिसहरुको ब्लडप्रेसर अचानक बढन जानन्छ । यस अवस्थामा टाउकोदुख्नु, नाकबाट रगतआउनु, आँखाले धमिलो देख्नु, छाती कस्सिएको अनुभव हुनु , छातीदुख्नु, स्वाँसको गति तीब्र हुनु आदि समस्याहरु हुनसक्छ । धैरेजसोलाई त थाहा नै हुँदैन कि मेरो ब्लडप्रेसर बढेको छ, सामान्य छैन, कारण उनीहरुमा ब्लडप्रेसरको लक्षण नै देखापर्दैन । 

उनीहरुलाई त्यसबेला मात्र थाहाहुन्छ, जब उसलाई हार्टअटेक / स्ट्रोकले आफ्नो चपेटामा लिइसक्छ, या फेरी नियमित मेडिकल चेकअप गराउँदा । यसका लक्षणहरु देखा न पर्ने भएकोले नै होला, यसरोगलाई साइलेन्ट किलर पनि भनिन्छ। हाई ब्लडप्रेसरको कारणले ब्रेनहेमरेज, स्ट्रोक, किडनीमा असर पर्ने, रेटिना हेमरेज (आखाँ) बाट रगतआउने समस्या हुनसक्छ। गाउँघर भन्दा महानगरहरुमा ब्लडप्रेसरका रोगीहरु बढी छन्।

 नेपाल स्वास्थ्य अनुसन्धान परिषद- २०१३ को रिपोर्टअनुसार २५ प्रतिशत नेपालीमा उच्चरक्तचापको समस्या रहेको देखाएको थियो। उच्चरक्तचापको समस्या देखिएका मध्ये ३१ प्रतिशत पुरुष र २०.६ प्रतिशत माहिलाहरु छन्। 

यस्तै शहीद गंगालाल हृदयकेन्द्रको एक अध्ययनको अनुसार पनि १८ वर्ष माथिका वयष्कमा उच्चरक्तचाप २०% प्रतिशतले पाइएको छ। विश्वको कुरा गर्ने हो भने करिव १ अर्ब ५० करोड मानिसहरु उच्चरक्तचापबाट पीडित छन् । 

हाम्रो शरीरले आफ्नो भित्री तापक्रमलाई ३७ / ४० डिग्री सेन्टिग्रेडमा राख्न सक्षम हुन्छ । बाहृय वातावरणमा जुनसुकै तापक्रम भएपनि हामी आफ्नो आन्तरिक तापक्रम केही समयसम्म धान्न सक्छौं । यस्तो प्रक्रियालाई तापक्रम सन्तुलन विधि भनिन्छ। जस्तैः- जाडो भएमा हाम्रो छाला चिसो हुन्छ किन कि त्यहाँ सतहमा भएका रगतका नशाहरु साँघुरिन्छन् र रगतको प्रवाह कम हुन्छ। हामी काम्न थाल्छौं । मुटुको गतिमा गडबडी हुनथाल्छ, मुटु सुस्त हुन्छ र बन्दपनि हुनसक्छ।

किन बढ्छ जाडोमा ब्लडप्रेसर?

जाडो(चिसो)ले शरीरलाई स्वभाविक तापमान र न्यानो बनाई राख्नको निम्त रक्तको सञ्चारमा रुकावट पैदा गर्दछ। जसले गर्दा मुटुले रक्तनलीहरुमा रक्त सञ्चालनको लागि सामान्य भन्दाबढी मेहनत गर्नुपर्नेहुन्छ । यसकारण ब्लडप्रेसर बढ्न जान्छ। जसको ब्लडप्रेसर सामान्य रहन्छ । त्यसमध्ये केहीको ब्लडप्रेसर थोर-बहुत बढेकै हुन्छ, भने जसको ब्लडप्रेसर नियमित रुपले औषधिको सेवनबाट कन्ट्रोलमा छ, उनीहरुको औषधिको मात्रा बढाउनुपर्ने अवस्था हुन्छ । 

तेश्रो जसको ब्लडप्रेसर पहिलेदेखि नै हाई रहन्छ । उनीहरुको ब्लडप्रेसर बढेर खतरनाक स्थितिमा पुग्न सक्छ। उच्चरक्तचाप भएमा धमनीहरुमा रगतको दबाब बढन जान्छ । जाडोमा त्यसैपनि-ब्लडप्रेसर गर्मी महिनाको तुलनामा ५ मिलि बढ्नजान्छ।

ब्लडप्रेसर के हो?

हाम्रो शरीरमा ब्लडप्रेसरको ग्राफ(चित्र) यस कुराबाट निर्धारित हुन्छ कि हाम्रो मुटुले कति मात्रामा रगत पम्प गर्दछ । जब रगत धमनीहरुबाट प्रवाहित हुन्छ, त्यसबेला मुटुले कति प्रतिरोधको सामना गर्नु पर्दोरहेछ । मुटुले जतिबढी रगतलाई पम्प गर्छ नशा र धमनीहरु साँघुरिएको हुन्छ र ब्लडप्रेसर त्यति नै बढी हुन्छ। ब्लडप्रेसर बढी हुनु या कम हुनु भनेको दुवै अवस्था व्यक्तिको लागि नुकसान देह हुन्छ। ब्लडप्रेसर-स्फाईग्नोमोनोमिटर नामक यन्त्रद्वारा नाप्ने गरिन्छ । ब्लडप्रेसर नाप्ने बेलामा- दुइवटा नम्बर नोट गरिन्छ। माथिको नम्बरले (सिस्टोलिक) प्रेसरलाई जनाउँछ- जुनबेला मुटुखुम्चिन्छ र शरीरमा रगतपम्प गर्दछ।

एक स्वस्थ्यव्याक्तिको सिस्टोलिक अर्थात माथिको रक्तचापसामान्यतया १०० देखि १४० एमजीएचजी हुन्छ। 

तलको नम्बर-अर्थात तलकोचाप (डायस्टोलिक) प्रेसर त्यस अवस्थाको प्रेसरलाई दर्शाउँछ। जब मुटु फैलिन्छ र आरामको अवस्थामा हुन्छ र रगतले भरिएको हुन्छ। यो सामान्यरुपले ६० देखि ९० एमएमएचजी हुन्छ। स्वस्थ व्यक्तिको ब्लडप्रेसर लगभग १२०/८० हुनुपर्छ। यदि रिडिगंमा १४०९० या यसभन्दा  माथि देखाउँछ भने- चिकित्सकले औषधि दिनु भन्दा बिरामीलाइ जीवनशैली परिर्वतनगर्ने सल्लाह दिएर प्रेसरलाई सामान्य अवस्थामा ल्याउने सुझाव दिन्छ । हतपत प्रेसरकोऔषधि दिइहाल्दैन । 

यदि साता-पन्ध्र दिनको परिवर्तित जीवनशैलीबाट पनि रक्तचाप कन्ट्रोलमा आएन भने अनिमात्र प्रेसरको औषधि दिइन्छ। ब्लडप्रेसरको उपचार सुरुगर्नु भन्दा अगाडि सम्बन्धित मुटुरोग विशेषज्ञ (कार्डियोलोजिष्ट) द्वारा अलग-अलग समयमा ब्लडप्रेसर नापेर रिडिंग गरे पश्चात अन्य आवश्यक परीक्षण गर्नुपर्छ । जस्तै- बिरामिको छातीको एक्स-रे, ई.सि.जि, इ-को (इलेक्ट्रोकार्डियोग्राम) तथा विभिन्न प्रकारका ब्लडटेस्ट आदि गराउनुपर्छ । अनि त्यसपछि मात्र चिकित्सकद्वारा उचित औषधिको निर्णयगरी औषधि प्रिस्क्राइव गरिन्छ।

ब्लडप्रेसर विभिन्न कारणले गर्दा प्रभावितहुन्छ

जसमा- व्यक्तिकोउमेर, जिन, मोटोपन, खानेपिउने बानी र व्याक्तिको जीवनशैली प्रमुख हुन् । यसबाहेक ३० वर्ष उमेर पार गरिसकेका पुरुष र मेनोपोज (महिनावारी) सुक्ने अवस्थामा पुगिसकेका महिलाहरुमा उच्चरक्तचाप हुने खतरा बढी रहन्छ । मौसममा हुने परिवर्तनले पनि व्यक्तिको ब्लडप्रेसरलाई प्रभावित गर्दछ।

जाडोमा प्रेसर बढ्ने कारणहरु

(१)जाडोमा शरीरको तापमान कम हुनाले रक्तनली खुम्चिएर साँघुरिन्छ । साँघुरिएको नशा धमनीहरुमा रक्तसञ्चारको लागि मुटुले बढी बल गर्नुपर्ने हुन्छ। जसले गर्दा ब्लडप्रेसर बढन जान्छ। 

(२) जाडोयाम मा पसिना न आउनाले पनि प्रेसर बढ्दछ। 

(३) घरमै बसिरहने शारीरिक गतिविधि कम गर्नाले पनि प्रेसर बढ्न जान्छ । 

(४) जाडो मा अवसाद(डिप्रेसन)को चपेटमा आउने मानिसहरु-अल्कोहलको सेवन बढी गर्ने हुनाले पनि उनीहरुमा पनि प्रेसर बढ्ने आशंका रहन्छ । 

(५) गलत खानपानको आदतले पनि बढ्छ र उच्चरक्तचापको कारण बन्दछ।

ब्लडप्रेसरलाई कन्ट्रोल कसरी गर्ने ?

नुन, अमिलो, चिया , कफि, चटपटे, खानेकुरा कमै मात्रामा लिने, पुरानो अचार तथा डिब्बा बन्द खाद्यपदार्थ खानबाट बच्ने । 

यी खाद्यपदार्थमा भरपुर मात्रामा नुन हुन्छ। पोटासियम र मेग्नेसियम युक्त भएको खाद्यपदार्थ भरपुरमात्रामा लिने। सधैं सन्तुलितआहार लिने, खानामा चोकर स्मेतको गहूँको पिठोको रोटी, टुसा उम्रेको अन्न, लौका, गोलभेडाको जुस, अमला आदि आफ्नो खानामा समाबेश गर्ने ।

पहिरनः 

शरीरलाइ न्यानो राख्न ऊनीको गरमकपडा लागाउने। टाउकोलाई चिसोबाट जोगाउन ऊनीको टोपी लगाउने, हातमा पन्जा खुट्टामा मोजा लगाउने, भित्र थर्मोकोट लागाउने, घरभित्रै भएपनि हिँड्डुल गरिराख्ने । घाम ताप्ने । शरीरिक व्यायम गर्नाले पनि शरीरमा गर्मी आउँछ।

घरेलु उपचारः 

प्रतिदिन लसुनको ३-४ केस्रा छोडाएर चपाउने अनि मनतातो पानीले निल्ने। यसले रगतमा कोलस्ट्रोलको मात्रालाई कम गर्दछ।

*तुलसीको पात महसँग खाने ।

* एकचम्चा अमलाको जुस र एक चम्चा मह मिसाएर सधैं बिहान खाने ।

* तिन भाग गाजरको जुसमा एक भाग पालुगों को रस मिलाएर सधैं बिहानबेलुकी सेवन गर्ने ।

* योगासन- कपालभाति, अनुलोमबिलोम तथा सूर्यनमस्कार आदिले पनि प्रेसरलाई सामान्य अवस्थामा राख्न मद्दत गर्दछ ।

ब्लडप्रेसर को जाँच गराउनेः 

जाडोमा ब्लडप्रेसर बढने बढी सम्भावना रहन्छ। यस मौसममा मुटुरोगबाट पीडित बिरामी या उच्चरक्तचापबाट पीडित व्यक्तिले नियमितरुपले आफ्नो ब्लडप्रेसर जाँच गराउनु पर्ने हुन्छ। 

चिसोमा मुटुको समस्या बढ्छ र हार्टअटेक हुने सम्भावना बढी रहन्छ। यदि तपाईं मुटुको रोगी हुनुहुन्छ भने आफ्नो खानपान र रहनसहनको विशेष ख्याल राख्नुस्। नियमितरुपले  व्ययाम गर्नुहोस्। नियमितरुपले प्रेसरको औषधि सेवन गर्ने । यदि कुनैप्रकारको असजिलोपन महसुस भएमा आफ्नो चिकित्सकसँग भेटनुस् । अथवा  नजिकैको अस्पताल/नर्सिङहोम वा स्वास्थ्यसंस्थामा जानुहोस्।

प्रकाशित: कार्तिक ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार