रोचक

किन मनाइन्छ दिवाली ?

- दिनेश यादव, काठमाडौं
नेपालको मुख्य चाड दसंैजस्तै भारतमा तिहार अर्थात् दिवाली हो । धनतेरसका दिनलाई भारतीय बजारमा विशेष महत्वका साथ हेरिन्छ । धनतेरस मनाउने चलन नेपालमा पनि भारतबाटै आएको हो । दिवालीमा हुने किनमेल, उपहार आदानप्रदानले त्यहाको अर्थतन्त्रलाई सकारात्मक प्रभाव त पारेको छ नै, यसको सांस्कृतिक पक्ष पनि बलियो छ ।

कार्तिक ४, २०७४-भगवान् रामले लंकाका राजा रावणको बध गरेपछि अयोध्या फर्केको, भगवान् श्रीकृष्णले नरकासुरलाई बध गरेको, क्षीरसागरमा समुद्र मन्थनका क्रममा माता लक्ष्मीको जन्म भएको, पाण्डवले अज्ञातबास र वनबास समाप्त गर्दै हस्तिनापुर फर्केको र श्रीकृष्णले पहिलोपटक गाई चराएको दिनका रूपमा दिवाली मनाउने चलन त्यहाँ छ । 

त्यस्तै, ऐतिहासिक तथ्यहरूमा सम्राट अशोकको विजय अभियान, विक्रमादित्यको राज्याभिषेक गरेको दिवसका रूपमा तिहार बनाउने प्रचलन बसेको उल्लेख छ । त्यहाँ विभिन्न धार्मिक मान्यतासँग समेत दिवाली जोडिएको छ । शिख धर्मावलम्बीले ‘बन्दी छोड दिवस’ का रूपमा, बौद्ध धर्मावलम्बीहरूले गौतमबुद्ध १७ वर्षपछि आफ्ना अनुयायीहरूका साथ गृहनगर कपिलवस्तु फर्केको र जैन धर्मावलम्बीहरूले भगवान् महावीरको निर्वाण दिवसका रूपमा यो पर्व मनाउने गरेका छन् । 

आ–आफ्नै मान्यता, परम्परा र संस्कृतिअनुसार भारतमा दिवाली मनाइने गरिए पनि यो पर्वको साझा गुणहरू भनेको किनमेल, सरसफाइ, रंगरोगन, घरको सजावट, जुवा खेल्नुसँगै उपहार तथा मिठाईहरूको आदानप्रदान नै हो । हिन्दु सभ्यतामा सांस्कृतिक एकता भएका कारण दिवालीको पर्व मनाउने तरिका लगभग उस्तै भएको हो । तर, उत्तर–भारत वा दक्षिण भारतमा दिवाली मनाउने तरिकामा केही फरक छ । 

दक्षिण भारतमा द्रविड संस्कृतिको बलियो प्रभाव रहेकाले त्यहाँ अन्तर देखिएको हो । त्यहाँ दिवालीको अघिल्लो दिन नरक चतुर्दशीको विशेष महत्त्व दिइने गरिएको पाइन्छ । यो दिन मनाइने उत्सव दक्षिण भारतको दिवाली पर्वकै सबैभन्दा प्रमुख दिवस हो । श्रद्धालुहरूले यसका लागि एक दिन विशेष खालको पारम्परिक स्नानको तयारी गर्छन् । थरी–थरीका परिकार बनाइन्छ । त्यहाँ पारम्पारिक तरिकाले गरिने स्नानलाई एक प्रकारको ‘तेल स्नान’ को रूपमा चिनिन्छ । बिहानै सबैले आफ्नो घरआँगन धोईपखाली रंगोली पनि बनाउँछन । यो दिन नयाँ कपडा लगाउने र मिठाई खाने परम्परा पुरानै हो । दक्षिण भारत दिवालीसँग जोडिएको सबैभन्दा अनौठो परम्परा ‘थलाई दिवाली’ पनि हो । यो परम्पराअनुसार नवविवाहिता जोडीलाई दिवाली मनाउने केटीको घर जानुपर्छ, जहाँ तिनीहरूलाई भव्य स्वागत गर्ने चलन छ । त्यसपछि नवविवाहित जोडी घरका ठूलाबडाको आशीर्वाद थाप्छन् । सगुनका रूपमा एउटा पटाका पडकाएपछि दर्शनका लागि मन्दिर जान्छन् ।

दुवै परिवारबाट जोडीलाई विभिन्न प्रकारको उपहार दिने चलन पनि छ । दिवाली पर्व कात्तिक अमावस्यामा विशेष रूपमा मनाइन्छ । भारतमा ५ दिन मनाइने यो पर्वलाई धनतेरस, नरक चतुर्दशी, अमावस्या, कात्तिक शुल्क प्रतिपदा, भाइदुज नाम दिइएको छ । यो पर्व हिन्दु क्यालेन्डरअनुसार निर्धारित हुने गर्छ । पहिलो दिन धनतेरस/धनत्रयोदशीका रूपमा बनाउँछन् । धनतेरसमा धनको अर्थ सम्पत्ति र तेहसको अर्थ १३ औं दिन हो । यो शुभदिनमा सुन, चाँदी, भाँडाकुँडा लगायतका सामग्री खरिद गरि घर ल्याइन्छ । यो दिनमा भगवान् धनवन्तरीको जयन्तीको रूपमा पनि मनाइन्छ , जसको उत्पत्ति समुद्र मन्थनको क्रममा भएको थियो ।

दोस्रो दिन नरक चतुर्दशीका रूपमा मनाइन्छ । जब भगवान् श्रीकृष्णले नरकासुरको बध गरी असत्यमाथि सत्यको विजयको रूपमा यो पर्व मनाइन्छ । यो दिन मानिस सूर्योदयभन्दा पहिले उठेर स्नान गरी नयाँ कपडा लगाउँछन् र आफ्नो घरमा तथा छेउछाउमा दियो बाल्छन् । श्रीकृष्णको पूजा गरेपछि पटाका पडकाउने चलन छ । 

तेस्रो दिनलाई त्यहाँ अमावसका रूपमा मनाइन्छ । यो मुख्य दिनमा श्रद्धालुहरूले नयाँ कपडा लगाएर लक्ष्मी, सरस्वती र गणेशको पूजा गर्ने चलन छ । उनीहरूले देवीदेवताको आराधना गर्दै माता लक्ष्मीलाई सधैं घरमा रहनका लागि बिन्तीभाव बिसाउँछन् । यो महान् पूजापछि घर तथा सडकहरूमा दियो बाल्ने र पटाका पड्काइने गरिन्छ । दीपावलीको यो दिन नै त्यहाँ पनि महत्त्वपूर्ण मानिन्छ । 

चौथो दिन (गोवद्र्धन पूजा/शुक्ल प्रतिपदा) मा भगवान् श्रीकृष्णद्वारा इन्द्रको घमण्ड तोड्दै लगातार वर्षा र बाढीबाट धेरै मानिस र पशुहरूको जीवनरक्षा गर्नका लागि गोवद्र्धन पर्वतलाई आफ्नो आंैलामा उठाइएको थियो । त्यसैले यो दिन मानिस आफ्नो गाई र गोरुलाई सजाउने गर्छन् । गोबरबाट पर्वत बनाएर पूजा गर्ने चलन छ । पटाका पनि पड्काइन्छ । श्रद्धालुहरू यो दिनमा आफ्ना सम्बन्धित मानिससँग भेटघाट गर्न जान्छन् । पाँचौं दिन (भाइदुज) भाइ र बहिनीको हो ।

यो दिन यमदेवता आफ्नो बहिनी यमीसँग भेट्न गए र त्यहाँ आफ्नी बहिनीद्वारा उनको आरती गर्दै स्वागत गरिएको प्रतीकका रूपमा मनाइन्छ । यो दिनमा बहिनीले आफ्ना भाइहरूको आरती गर्छन् र भाइले बहिनीलाई उपहार प्रदान गर्छन् ।उत्तर भारतको मध्यप्रदेश, झारखण्ड, असम, मेघालय, मणिपुर, त्रिपुरा लगायतका राज्यमा आदिवासीहरूको संख्या बढी छ । त्यसैले आदिवासी बहुल क्षेत्रमा दीपदान त गरिन्छ तर आदिवासी महिलापुरुष दुवै मिलेर मन्दिरमा नृत्य गर्ने चलन छ । धनतेरसको दिन यमका लागि दीप जलाइन्छ, घरको मुख्य द्वारमा दियो राखिन्छ । कामना गरिन्छ कि यो दीपले अकाल मृत्युको प्रवेशलाई रोकोस् । यस्तो आशिष प्रदान होस् जसले स्वास्थ्य, शक्ति र शान्ति मिलोस् । 

राजस्थानमा तिहारका अवसरमा शस्त्रहरूको पूजा गर्ने परम्परा छ । घरघरमा शस्त्रको पूजा हुन्छ । अधिकांश स्थानमा शस्त्र कौशलको प्रदर्शन गरिन्छ । राजस्थानको केही भागमा बिरालोलाई लक्ष्मीको स्वरूपको रूपमा मानेर पूजा गरिन्छ । मिठाईहरू चढाउने चलन पनि छ । पूजापछि सबैभन्दा पहिले मिठाईको प्रसाद बिरालोलाई खुवाउने चलन छ । यो दिन बिरालोले हानि गरे पनि धपाउने वा खेदाउने चलन छैन । हिमाचलमा मुख्य दीपावलीको एक महिनापछि बूढी दीपावली बनाउने चलन छ । भनिन्छ, भगवान् श्रीराम लंकामा विजय प्राप्तपछि अयोध्या फर्केको खबर पूरै देशमा भएपछि कात्तिक अमावस्यमा पूरै देशमा दीपावली मनाइयो तर हिमाचलबासीले यो खबर एक महिनापछि थाहा पाएकाले त्यहाँ एक महिनापछि तिहार बनाउने चलन रहेको छ । 

महाराष्ट्रमा भने लक्ष्मी र गणेशको पूजा गरेर दीपावली मनाइन्छ । यहाँको यम पूजा पनि प्रसिद्ध छ । यमराजको पूजा गरी दीपदान दिने चलन पनि छ । केही स्थानहरूमा दैत्यका राजा बलिको पनि पूजा गरिन्छ । पश्चिम बंगालका अधिकांश घरमा महाकालीको पूजा गरिन्छ । यो पर्वका अवसरमा बंगालका किशोरीहरूले राति दीप बालेर नदीमा प्रवाहित गर्छन् । मान्यता छ कि जसको दीप तैरिँदै बल्छ, ती युवतीको त्यो वर्ष सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ । 

मध्यप्रदेशमा दीपावली पूजाअघि महिलाले आआफ्नो घर सजाउने र आफू पनि सजिने गर्छिन् । त्यहाँ पनि बलिको पूजा गरिन्छ । यसैगरी गुजरातमा लक्ष्मी पूजासँगै शक्ति पूजा गरिन्छ । दीपावलीको दिन गुजरातमा नुन खरिद गर्नु र बेच्नुलाई शुभ मानिन्छ । त्यहाँका महिलाले काँचो माटोको गाग्रो, आटा र चामलले घर सजाउने परम्परा छ । उत्तरप्रदेशमा वैदिक परम्पराबाट यो पर्व मनाइन्छ । दीपावलीको दिन त्यहाँका मन्दिरलाई विशेष रूपमा सजाइन्छ । त्यहाँ पनि शस्त्रको पूजा गर्ने चलन छ । लक्ष्मी गणेशसँगै श्रीहनुमान, श्रीराम, र श्रीकृष्णको पनि पूजा गरिन्छ । उत्तराञ्चलमा महिलाले घरमा रंगोली बनाउँछन् । कर्नाटकमा भने लक्ष्मीपूजासँगै धरतीको पूजा पनि गरिन्छ । धरती पूजा उनीहरूले नयाँ अनाज भित्रिने खुसीमा गर्ने गर्छन् । दीपावलीको दिन त्यहाँ शरीरमा उबटन लगाएर नुहाउने चलन छ । यस क्रममा नरकासुर बधको कथा सुनाउने र सुन्ने गरिन्छ । गोवामा नरक चतुदर्शीमै दीपावली सुरु हुन्छ । घरलाई आँपको पात र दियोले सजाइन्छ । 

(एजेन्सीको सहयोगमा)

प्रकाशित: कार्तिक ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार