स्वास्थ्य

बालबालिकाको मनो

- डा. धनरत्न शाक्य
हाम्रा बालबालिका र किशोर–किशोरीलाई सताएर हाम्रो भविष्य धमिल्याउने मानसिक रोगबारे सतर्क बनौं ।

कार्तिक ३, २०७४-नेपालमा १८ वर्ष र त्यसभन्दा कम उमेरका बालबालिका र किशोर–किशोरीले जनसंख्याको ठूलो हिस्सा अर्थात् करिब ४२ प्रतिशत ओगट्छन् । उनीहरूमा पनि रोगकै स्वरूपको मानसिक समस्या अरूमा भन्दा कम हुँदैन । करिब २० प्रतिशतमा कुनै न कुनै खालका मानसिक समस्या हुने गर्छ । कतिपय यस्ता समस्यामा उनीहरूको व्यवहारमा गडबडी, जस्तै– चकचक गर्ने, झगडा गर्ने, तोडफोड गर्ने, भनेको नमान्ने वा नमिल्ने र असामाजिक गतिविधि गर्ने हुँदा तिनका अभिभावक, परिवार, साथीभाइ, शिक्षक लगायतलाई मर्का परेको हुनसक्छ । उनीहरूमा आफैंलाई छट्पटी, पीडा, दु:ख अनुभव हुने अवस्था हुनसक्छ । अरू कतिपय अवस्थामा भने तिनको मानसिक, मनोवैज्ञानिक, सामाजिक, बौद्धिक विकासमा समस्या हुनसक्छ ।

भयावह बन्दै बाल मनोरोग 

एकातिर कतिपय यस्ता मनोगत समस्या यो उमेर समूहका बालबालिका र किशोर–किशोरीमा हुन्छन् भने कतिपयचाहिँ ५० देखि ७५ प्रतिशत वयस्कहरूलाई हुने रोग पनि यही उमेरमा सुरु हुने गर्छ । जीवनको सुरुवाती चरणमा शिक्षा, तालिम, सामाजिक व्यवहार, सदाचार, विवेक सिक्ने र विकास हुने बाल्यावस्था र किशोरी अवस्थामा हुन्छन्, यस अवस्थामा यस्ता रोगबाट ग्रस्त भएमा त्यसको असर शारीरिक रोग वा अस्वस्थताको भन्दा अझ गम्भीर र दूरगामी हुने गर्छ । यस्ता समस्याबाट ग्रसित बालबालिका र किशोर–किशोरी शारीरिक रोगबाट पनि बढी पीडित हुने गरेको पाइन्छ । शारीरिक रोगबाट ग्रसित बालबालिका र किशोर–किशोरी पनि मानसिक समस्याबाट पीडित हुने डर ज्यादा हुने गर्छ । 

बदलिँदो समाज, परिवार संरचना, समयको मूल्य–मान्यता, प्रचलन, अस्वस्थ प्रतिस्पर्धा, ठूला मानिसको उनीहरू माथिको पढाइ वा अरू कुराको अनुपयुक्त दबाब, देखासिकी, खुला, अनियन्त्रित सञ्चार पहुँच, हिंसा र तनाव आदि खतराजन्य तत्त्वहरू आजभोलि एकातिर बढ्दै गएको देखिन्छ भने अर्कोतिर अभिभावक र परिवारजनको साथ–सहयोग, समय, सामाजिक चालचलन आदिजस्ता बचाउका तत्त्वहरूमा गिरावट आएको महसुस गरिन्छ । 

बाल मनोरोगका जटिलता

हामीमध्ये धेरै अभिभावक, परिवार, साथीभाइ, शिक्षक, छरछिमेकलाई तिनलाई पनि यस्तो रोग लाग्न सक्छ, के कस्ता लक्षण वा अवस्थामा मनोरोग भएको बुझेर उपचारतिर लाग्नुपर्छ । 

समयमै समस्या वा रोग नचिन्दा धेरै अस्वस्थ अवस्थामै रहन्छन् । त्यसले गर्दा उनीहरूको पढाइ लगायत सामान्य दैनिकी, खेलकुद, सामाजिक अन्तरक्रिया आदिमा गिरावट आई विकलांगताको स्थितिसम्म आइपर्छ । यस्ता समस्याग्रस्त बालबालिका र किशोर–किशोरीमा शारीरिक अस्वस्थता पनि अधिक हुन्छ । तिनमा मृत्युको प्रमुख कारण आत्महत्या बढ्न सक्छ । यस्तो विषम परिस्थिति बदल्न बालबालिका, किशोर–किशोरी, तिनका अभिभावक, परिवार, साथीभाइ, शिक्षक, चिकित्सक, मनो–स्वास्थ्यकर्मी सबैले आआफ्नो तर्फबाट भूमिका निर्वाह गर्न जरुरी छ । हाम्रा निर्दिष्ट जिम्मेवारी र भूमिका छन् र सबैबाट तिनको निर्वाह भएमा र उपयुक्त तरिकाले व्यवस्थापन भएमा यी समस्याको पहिचान समयमै हुन सम्भव छ । उपचार र व्यवस्थापन गर्दा अधिकांश जटिलता कम हुन्छन् ।

बालबालिका, किशोर–किशोरी हाम्रा भविष्य हुन् । सुखद, प्रगतिगामी र स्वस्थ भविष्यको लागि बालमैत्री भावना, हृदय र पहुँचबारे सोचौं । बालबालिकाको मनो–स्वास्थ्य नभुलौं । बाल मनो–स्वास्थ्य प्रबद्र्धन गर्न अभिभावक, परिवार, साथीभाइ, शिक्षक, चिकित्सक, मनो–स्वास्थ्यकर्मी सबैले यसबारे सरोकार राखौं । यसबारे आवश्यक जानकारी राखौं । आवश्यक सीप र कला, जस्तै– रिस र तनाव व्यवस्थापन गर्न सिकौं । तिनका लागि माया, प्रेम, सद्भाव, अनुशासन, विवेक, समय, साथ र स्वस्थताको जीवनशैली र वातावरण दिने कोसिसमा जुटौं ।

कसैमा कुनै खालका व्यवहार, भावना वा विकास सम्बन्धी कुनै समस्या, लक्षण देखिएको अवस्थामा पनि इज्जतमा दाग लाग्ने, अरूबाट हेय हुने, हेपिने वा अरू धेरै खालका कारणले उपचार व्यवस्थापनतिर लाग्नबाट चुक्ने डर रहन्छ । यथार्थ तथ्य मनन गरेर उपयुक्त उपाय, उपचार र व्यवस्थापनमा लागौं । उदासीनताको डिप्रेसन, छटपटीको एन्जाइटी, पागलपनको साइकोसिस, सुस्त मनस्थिति, अटिजम, अधिक चकचकेपन जस्ता निर्दिष्ट मनोरोग मात्र होइन, हाम्रा बालबालिका र किशोर–किशोरी कतै अरूबाट हेपिएर, त्रसित भएर, यातना पाएर पीडित त भएका छैनन् ? सचेत रहौं । 

समयमै चालिएको उपयुक्त कदम र व्यवस्थापन प्रभावकारी र सुरक्षित हुने गर्छ । यी कार्यक्रम, सेवा, अभियान र कदममात्र अस्पताल वा स्वास्थ्य केन्द्रको चौघेरामा सीमित रहनुहुन्न । समाजका हरेक कुना, हरेक व्यक्ति, परिवार, विद्यालयका कोठा, जागरणका पाटीपौवा, चौतारा, चियापसल वा मन्दिर आदिको जमघट सबैतिर विभिन्न स्वरूपमा पुग्नुपर्छ । यो हाम्रालागि आवश्यक छ र सम्भव छ । भएका सेवाबारे जानकारी राखौं, तिनको अधिकतम र उपयुक्त ढंगले उपभोग गरौं । हाम्रा लागि आवश्यक तर नभएका सेवा, कार्यक्रमका लागि सम्बन्धित ठाउँमा आवाज पनि उठाऔं, पैरवी गरौं । हाम्रा बालबालिका र किशोर–किशोरीलाई सताएर हाम्रो भविष्य धमिल्याउने मानसिक रोगबारे सतर्क बनौं । 

 

प्रकाशित: कार्तिक ३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार