प्रवास

श्रीमतीको ज्यान लिन खोज्ने भूपू गोर्खालाई १४ वर्षको जेल सजाय

- नवीन पोखरेल, लन्डन

कार्तिक २, २०७४-ब्रिटिस अदालतले आफ्नै श्रीमतीको ज्यान मार्ने उद्योग गरेकोमा एकजना भूतपूर्व गोर्खा सैनिकलाई १४ वर्षको जेल सजाय सुनाएको छ । 

हाल ब्रिटेनको स्वीन्डनमा बसोबास गर्ने ४२ वर्षीय विकास गुरुङले गत २९ डिसेम्बरमा १८ इन्च लामो खुकुरी प्रहार गरी ३७ वर्षीया श्रीमती कामना गुरुङलाई मरणासन्न बनाएका थिए । झन्डै २ महिना अस्पतालमा उपचार गराएपछि कामना घर फर्केकी छिन् । 

२३ वर्ष गोर्खा रेजिमेन्टमा सेवा गरेर अवकाश लिएका विकासको अन्य महिलासँग सम्पर्क रहेको थाहा पाएपछि नर्स कामनाले पनि इन्टरनेटमार्फत केटा साथी बनाएकी थिइन् । उनले २० वर्ष यताको सम्बन्धविच्छेदका लागि श्रीमान्‌सँग कुरा गर्छु भनेकै दिन उनीमाथि श्रीमान्‌ले हमला गरेका थिए । कामनाले आफूले नछोडोस् भनेर श्रीमान्‌ले उनीप्रति हिंसात्मक व्यवहार गरेको बताएकी छन् ।

ब्रिटेनबाट प्रकाशित हुने डेली मेल समाचार पत्रका अनुसार आफूलाई कुटपिट गरेपछि कामनाले आपतकालीन सेवा ९९९ मा फोन गरेकी थिइन् । उनले फोनमा कुरा गरिरहेका बेला विकासले उनीमाथि जथाभावी खुकुरी प्रहार गर्न सुरु गरेका थिए र फोनमा रेकर्ड गरिएको उनको चित्कार अदालतमा सुनाइएको थियो । तत्कालै उनको घर पुगेका प्रहरीले कामनालाई रगतको आहालमा भेटेका थिए । त्यसपछि स्वास्थ्यकर्मी आएर उनलाई अस्पताल लगेका थिए । कामनाको शरीरभर घाउ लागेको थियो भने प्रहार रोक्न खोज्दा उनको हात छियाछिया भएको थियो । 

विकासले आवेशमा आएर ज्यानै लिने उद्देश्यले श्रीमतीमाथि खुकुरी प्रहार गरेको स्वीकारेको समाचारमा उल्लेख छ । ब्रिटेनले बसोबास गर्न अनुमति दिएपछि ४० हजारभन्दा बढी भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवार ब्रिटेनका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका छन् । तर, केही वर्षयता घरेलु हिंसाका घटना बढिरहेको भनी ब्रिटिस अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित: कार्तिक २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार