ब्लग

तिहारसँग सम्बन्धित कहिल्यै नबिर्सने तीन घटना

- नवीन रायमाझी, काठमाडौं

कार्तिक १, २०७४-यमपञ्चकको सुरुआतसँगै अनेक किसिमका शुभकामना सन्देशका साथै दोस्रो ठुलो चाड तिहार सुरु भएको थाहा हुन्छ। मलाई यो चाड निकै मन पर्छ । खानामा मासुजन्य पदार्थ नहुने, चारैतिर झिलिमिली बत्ति बलेको र आफ्नो प्रियजनसँग मात्र भेट गरे हुने साथै छोटो अवधिको हुने भएकोले पनि मलाई यो पर्व प्रिय लाग्छ । दीप प्रज्वलित गर्ने कारणले दिपावली भनेको हुनुपर्नेमा आजभोलि तिहारलाई दिपावली भनेर भारतीय करण भयो भन्ने जस्ता निरर्थक तर्क दिने महाबुज्रुकहरुको मानसिक अवस्थादेखि भने दया लाग्छ। नि:सन्देह नेपालमा भन्दा भारतमा तिहार बढो धुमधामले मनाउने गरिन्छ, अब यसलाई स्वीकार गर्ने वा नगर्ने उसको विचार हो । तिहार लागेपछि म मेरो जीवनमा भएका तीनवटा घटना जहिले पनि सम्झिन्छु र त्यो घटनाहरु सम्झिँदा अलिअलि रमाइलो र धेरै खेद लाग्छ ।

पहिलो घटना, देउसी खेल्न जाने सम्बन्धि छ । जीवनमा प्रथम र अन्तिम् पटक खेल्न गएको देउसी एक मानेमा मेरो लागि बिर्सिनसक्नु छ । नाच्न पर्दा आँगन टेढो देख्ने, बजाउनमा बिहान बेलुकीको भात मात्र बजाउन सक्ने र गीत गाउँदा रोएको जस्तो सुनिने मलगायतको समुह गोबर्धन पुजाको रात देउसी खेल्न भनेर निस्केकोमा सबै रक्सीले टिल्ल थिए, जसमा केवल म मात्र होस्मा थिएँ । देउसी खेल्ने नाममा जसको पायो त्यसको घरमा पस्ने र भनेको जति पैसा पाएन भने घर धनीलाई अश्लिल गाली गर्दै हाम्रो समुह अगाडी बढ्दै थियो । रातको करिव १ बजे ललितपुरको मान भवन क्षेत्रको एउटा घरमा जवर्जस्ती पसियो । मध्य रातमा सबै सुतिसकेको घरमा देउसी रे भन्दा कसैले सुनेनन् वा एक छिन कराएर आफै जान्छन भनेर त्यो घरका मान्छेहरुले नसुनेको जस्तो गरेको हो त्यो थाहा भएन । अब हामी पनि केहि पैसा नलिएर फर्किने मुडमा थिएनौं​,​ देउसी रे भन्दै बाहिरी भर्याङ्ग चढेर माथि कौसीमा पुगियो । धेरै बेर कराए पछि सिनेमाको नायिका जस्ता दुई युवतीले ढोका खोलेर के हेरेका थिए सायद ति सुन्दर युवतीहरुलाई प्रभावित पार्न अचानक​ ​सबै कौशीको बार समातेर जोड जोडले नाच्दै कराउँदा एक इट्टाको त्यो कौशीको​ ​बार भत्केर हामी सबै तल जमिनमा​ ​खस्न पुगियो । गर्ल्याम्म कौशीको बार भत्केको आवाज के आएको थियो, घरबाट अचानक तीन चार जना युवक लट्ठी लिएर हामीलाई कुट्न आए । त्यो घर नेपाली सेनाको कुनै अधिकृतको घर रहेछ र ति हामीलाई कुट्न आउने उनका सहयोगीहरु रहेछन् । सबैले नराम्रोसँग कुटाई खाए, म भने होसमा भएको कारणले भाग्न त सफल भएँ । तरपनि पिडौलामा दुई लट्ठी खाइयो, निकै पछिसम्म पनि त्यो दुखाइले छाडेन । धन्न ति मान्छे भलाद्मी रहेछन् र प्रहरीलाई खबर गरेनन् । नत्र भने हामी देउसी खेल्ने समुहको के दुर्गती हुन्थ्यो त्यो अहिले सम्झिंदा पनि जीउ सिरिङ्ग हुन्छ ।

दोस्रो घट्ना, केटाकेटी हुँदा पटका पड्काउन खुब रमाइलो लाग्थ्यो, अहिले भने मलाई यस्तो क्रियाकलाप मन पर्दैन । आफुसँग पैसा नहुने र घरबाट पनि पटका किन्न जस्तो निरर्थक काममा पैसा नदिने कारणले सबै भन्दा सस्तो रातो रङ्गको​ ​मलटा बारा भन्ने खुर्सानी जस्तो एक छेउमा आगो लगाउने बितिकै ढ्याङ्ग पड्किने पटका हुन्थ्यो । पाकेटमा आउने र माला जस्तो हुने त्यो पटका एक ठाउँमा आगो लगाए पछि एक पछि अर्को पड्किदै जान्छ । एक बर्षको तिहारमा भारतबाट एक नातेदारले मलाई त्यस्तो थुप्रै पटका ल्याइदिएका थिए । बढो मुश्किलले एक दुई वटा त्यस्तो पटका पाउने म पाँच सात पकेट पटका पाए पछि खुशीले रात भरि निन्द्रा नै लागेन ।​ ​सोचेको भन्दा धेरै एकैपटक पाउँदा मान्छेलाई मात लाग्छ भनेको जस्तै मलाई पनि त्यति धेरै पटका पाउँदा के गरूँ के गरूँ हुनु स्वभाविकै हो । पटका पड्काउने बारेमा एउटा भुस्याहा कुकुरको पुछारमा त्यो पटका बाध्ने र आगो लगाउने हामी साथीहरु बीच सल्लाह भयो । पटकाको माला कुकुरको पुछारमा बाँधेर आगो लगाउना साथ पटकाको आवाज सहन नसकेर त्यो कुकुर यसरी तर्सियो कि ठाउँ को ठाउँ नै बेहोस भएर मर्यो । त्यो बेलामा मलाई खुबै रमाइलो लागेको थियो, तर सम्झिंदा लाग्छ त्यो बोल्न नसक्ने निर्दोष जनावर प्रति हामीले कति ठुलो अपराध गरेका रहेछौं । अहिले पनि कुनै कुरामा असफल भएभने त्यही पापले गर्दा होकि जस्तो लाग्छ र त्यो कुकुरलाई मैले अहिलेसम्म बिर्सिन सकेको छैन ।

अन्तमा, लंगुर बुर्जा भन्ने जुवामा सबै पैसा हारेर टाट पल्टिदाको हो। बीस पैसाको एक माना ढिक्के नुन पाइने जमानामा घरबाट एक रुपियाँ लिएर पाँच माना नुन किन्न पसल गएको म बाटोमा लंगुर बुर्जा खेलिरहेको ठाउँमा पुगियो । लौ एक पटक भाग्य अजमाउ भनेर पच्चिस पैसा राखेको जितेर पचास पैसा भयो, एबम् प्रकारले जित्दै जाँदा मसँग पाँच रुपिया भयो । केहि समय पछि त्यही ठाउँमा हाम्रो घर नजिकको एउटा मान्छे आएर अलि अगाडी ठुलो खाल छ त्यहा खेल्न जाने लोभ देखायो। मलाई पनि एक छिन खेलेर एक रुपियाँको पाँच रुपियाँ भएकोमा अर्को केहि समय दिएर पाँचबाट दस रुपियाँ भए झन् रमाइलो हुन्छ भन्ने लोभले तान्यो। अब खेल्न गइयो त्यो ठुलो खालमा, खेल्दै जाँदा जित्ने त के घरबाट नुन किन्न दिएको पैसा समेत नरहने गरेर हारियो । अब नुन किनेर कसरी घर जाने, त्यो पैसा कता गयो भनेर सोध्यो भने के भन्ने यस्तै डरले सताएर के गरु जस्तो भएकोमा अचानक एउटा आइडिया फुर्यो, र म बाटो मै बसेर रुन थाले । सबै यसो हेर्छन् र आफ्नो बाटो लाग्छन के भयो भनेर पनि एक बचन सोध्दैनन् । करिब दस मिनेट जति रोएपछि एक दयालु व्यक्तिले के भयो बाबु भनेर सोध्यो, मैले घरबाट नुन किन्न आएको र बाटोमा त्यो पैसा हराएको कुरा भने । उसले मलाई नुन किन्दियो र म नुन लिएर घर त गएँ । तर घरमा किन यति ढिलो आएको भनेर आमाको हातबाट चड्कन भने खाइयो तर लंगुर बुर्जा खेलेर पैसा हारेको भन्ने थाहा पाएनन् ।

हामी सबैले यो रमाइलो चाडलाई आफ्नो गच्छे अनुसार रमाइलोसंगै मनाउने काम गरौं, हैसियत भन्दा ठुलो कुरा गर्दा सधै बेफाइदा नै हुन्छ । सम्पूर्ण पाठकहरुलाई तिहारको हार्दिक तथा मङ्गलमय शुभकामना ।

 

प्रकाशित: कार्तिक १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार