देश

तिहारको तयारी धुमधाम

  • प्रदेश २
- देवनारायण साह, मोरङ

कार्तिक १, २०७४-लोकआस्थाको पर्व तिहार र छठको तयारीमा स्थानीय जुटेका छन् । स्थानीयवासी धनतेरस, दीपावली, सुकराती, भाइटीका र छठ पर्व मनाउन सबैले आ–आफ्ना घर, आँगन, सडक, बाटो सरसफाइ, किनमेलमा जुटेका हुन् ।

वर्षभरि फोहोर देखिने सडकहरू दीपावलीका लागि स्थानीयले व्यक्तिगत तथा सामूहिक रूपमा सरसफाइ गर्ने परम्परा छ । माटाका घर भएकाले कमेरोले लिपपोत गर्नुका साथै घरका भित्तामा विभिन्न लोक चित्र कोरेका छन् । थारू समुदायका महिलाले आ–आफ्ना घरको भित्तामा लोकचित्र कोर्ने परम्परा छ । पक्की घर भएकाले रंगरोगन गरेर झिलिमिली पार्ने इलेक्ट्रिोनिक्स बत्ती जोड्न थालेका छन् । विराटनगर २ की उर्मिला रायले चाडपर्व मनाउन घरआँगन सरसफाइका साथै लिपपोत गरेपछि रंगरोगन भइसकेको बताइन् । उनले पर्व मनाउन पूजा सामग्री, पर्वका अवसरमा खान मीठो परिकार बनाउने सामग्री किनमेल गरिसकेका सुनाइन् । ‘छठ मनाउन नयाँ माटोको चुलो बनाएर सुक्न दिएको छु,’ उनले भनिन् ।

दीपावलीका दिन बिहान घरआँगन लिपपोत गरेर चोखो पार्ने साँझमा माटोको दियोमा बत्ती बालेर झिलिमिली पार्ने चलन छ । किसानले गाईगोरु बाँध्ने ठाउँमा दियो बालेपछि घरघरमा लक्ष्मीको पूजा हुन्छ । मधेसमा दियो बालेपछि बच्चादेखि वृद्धसम्मले सनपाटको सन्ठी र खर हालेर बनाएको हुक्काबात्ती र युवाहरूले बेरिएको कपडा तारले बाँधेर मट्टीतेलमा भिजाएको बेलीमा आगो लगाएर नचाउँदै हुक्कालोली खेल्छन् ।

दीपावलीको भोलिपल्ट गोवर्द्धन पूजा गरिन्छ । मधेस तथा मिथिलाञ्चलमा यसलाई सुकराती भनिन्छ । गोवर्द्धन पूजा गर्न गाईको गोठ सफा गरेर लिपपोत गरेपछि निराहार बसेका महिलाले नुहाएर चोखो भई गाईको गोबरको गोदहन बनाउने गरेको सप्तरीको बोदेबर्सान १ का मरहैनदेवी साहले बताइन् । उनका अनुसार गोदहनमा गोबरको महिला, पुरुष, सखारी, जाँतो बनाएपछि सखारीमा मरुवा र जाँतोमा गहुँ राखेर घिरौलाको फूलले सजाएर गोवर्द्धन पूजा गरिन्छ । अहिले किसानहरू मरुवा उब्जाउन छोडेपछि सखारीमा पनि गहुँ नै हाल्न थालेको उनले बताइन् । ‘गोवर्द्धनको पूजा सकेपछि बाँसको दौरामा दुबो धान, बेसार, पैसा, सुपारी, पान, सिलौटामा पानी हालेर पिंधेको अरुवा चामलको पिठार र सिन्दुर लिएर व्याएको गाईलाई सिँगारेर पूजा गर्ने परम्परा छ,’ उनले भनिन्, ‘पहिले चुमाउने बेलामा अर्थात् गोवर्द्धन पूजा गर्ने समयमा चमार जातिले ढोल बजाउनेमा अहिले छाडिएको छ ।

गोवर्द्धन पूजाका दिन किसानले गाईबस्तुलाई बाँसको पात, चामलको गुण्डा (भुँस) दिनभरि खुवाउने परम्परा छ । किसानलाई अहिले गोवर्द्धन पूजाका दिन गाई, भैंसी, गोरु, बाख्राबाख्रीलाई बाँध्न नयाँ डोरी बनाउने चटारो छ । उक्त पूजाका दिन सबै पशुधनलाई नयाँ डोरीमा बाँध्नुका साथै रंगरोगन गरेर रंगीचंगी पार्ने चलन कायमै छ । गोवर्द्धन पूजाको दिन चामलको पिठोमा गहतको दाल हालेर म:मजस्तै परिकार बनाएर बगिया तरकारीका साथ खाने मरहैनदेवीले सुनाइन् । 

गोवर्द्धन पूजाको भोलिपल्ट भाइटीका मनाउन दिदीबहिनीले मालाका लागि मखमली फूलको खोजीमा लागेका छन् भने दाइभाइले दिदीबहिनीलाई उपहार तथा कोसेली किन्न थालेका छन् । मधेसी समुदायमा भाइटीकालाई भरद्वितीया पर्व भनिन्छ । भरद्वितीयामा विवाहित दिदीबहिनीको ससुरामा माटोको कराहीमा दही, बाँसको दौरामा च्युरा, मिठाई, लुगा कोसेली लिएर जान्छन् । केही वर्षअघिसम्म खर्पनजस्तो बाँसको चिरपटमा दुवैपट्टि डोरीको सिकमा एकापट्टि दहीको भाडा र अर्कोपट्टि च्युरा, मिठाई, लुगा बोकेर हिँडदै दिदीबहिनीको घर टीका लगाउन जाने चलन रहे पनि पछि यातायातको विकाससँगै यो हराउँदै गएको छ । दिदीबहिनीले दाइभाइलाई टीका लगाइदिएपछि मीठो परिकार, माछामासु, दूधदही खान दिन्छन् ।

दीपावलीको छैटौं दिन मनाउने छठ पर्वको तयारीमा समेत व्रर्तालु जुटेका छन् । छठ पर्व मनाउने विभिन्न पोखरीलाई विशेष रूपमा सिँगार्ने काम गरिरहेको छ । पछिल्लो समय सुरक्षाकर्मीले पनि पोखरी सफाइ गरिदिएर छठ पर्वमा सहभागिता जनाउन थालेका छन् । तराई मधेसमा छठको छुट्टै महत्त्व छ । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेका सरोवर, पोखरी, नदी, तलाउमा स्थानीयको विशेष सक्रियतामा सरसफाइ तथा सजिसजावट भइरहेको छ ।

प्रकाशित: कार्तिक १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार