देश

थाहामा हुर्कंदै पेरूका अल्पका

- प्रताप विष्ट, थाहा (मकवानपुर)

आश्विन ३१, २०७४-‘अल्पका’ हेर्न र त्यसको ऊन किन्न अब कंगो र पेरू पुग्नु पर्दैन । त्यहाँको चिसो मौसममा पालिने यो घरपालुवा जन्तु मकवानपुरकै उत्तरी क्षेत्रको जंगलमा पनि पाल्न थालिएको छ । 

मासु र ऊनका लागि पालिन्छ, अल्पका । यसले वर्षमा २ केजीसम्म ऊन दिन्छ । पस्मिना बनाउन प्रयोग हुने भएकाले व्यावसायिक रूपमै पाल्न थालिएको हो । यसको ऊन काठमाडौंको बजारमा प्रतिकेजी १ लाखमा बिक्री भइरहेको छ । दक्षिण एसियामा नै नपाइने अल्पका जातको यो चौपाया थाहा नगरपालिका–१० स्थित बिसिङखेलको कुनामा पालिएको छ । 

ऊँटको जस्तो लामो घाँटी भएको यो चौपाया २० वर्षअघि पेरूबाट ल्याइएको हो । तत्कालीन हिमालय प्लान्टेसन्स प्रालिका हर्टमुट बाउडरले पेरूबाट २ वटा भाले र २ वटा पोथी ल्याएका थिए । सुरुमा दोलखाको जिरीमा पालिएको यो चौपाया स्थानान्तरण गरी ५ वर्षअघि ललितपुरको ठैबमा पालिएका थिए । संख्या बढेर २० वटासम्म भए पनि केही कालगतीले मरेपछि अहिले १४ मा सीमित छन् ।

माइनस १० डिग्री चिसोमा समेत यो जनावर बाँच्न सक्ने हिमालय प्लान्टेसन्स प्रालिका प्रबन्धक पदम खडकाले बताए । प्रालिले दुई दशकअघिदेखि गरेको व्यावसायिक जैतुन खेतीबाट बचेको करिब ८ रोपनी जमिनमा तारबार लगाएर अल्पका पालेको छ । बाउडरले प्रालिको सम्पूर्ण सम्पत्ति प्रभु बैंकका सञ्चालक देवीप्रकाश भट्टचनलाई २ वर्षअघि नै बिक्री गरिसकेका छन् ।

 

प्रकाशित: आश्विन ३१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार