ब्लग

जति विदेश बसेपनि एनआरएनएहरुको व्यवहार उस्तै

- आङछिरिङ शेर्पा, काठमाडौं

आश्विन २९, २०७४-काठमाडौंको हायत होटलमा यतिखेर गैर आवासीय नेपाली (एनआरएनएण को कुम्भमेला लागेको छ । शनिबारदेखि शुरु भएको यो मेलामा विगतमा भन्द धेरै प्रतिनिधिहरुको सहभागी छन् । एनआरएनएको ८ औ सम्मेलनको पहिलो दिन निकै भिडभाड थियो । हलभित्र शान्त  भिड भएपनि बाहिर प्रतिनिधिहरुले लामो लाइन लागेर पनि दर्ता गर्न नपाएकोले विवाद भइरहेको थियो । विदेशमै फाराम भरेर पठाएका प्रतिनिधिहरुलाई कार्यक्रमस्थलमा लामो लाइनमा बस्न लगाएर पासपोर्ट, ग्रिनकार्ड देखाएपछि मात्र औंठा छाप लगाउनु पर्ने कडाइ गरिरहेका थिए । सम्बन्धित मुलुकमा सबै जानकारी दिएर फाराम भरेर पठाइसकेपछि पनि नेपालमा त्यस्तो कडाई गर्नु जरुर थिएन । 

सम्मेलनको पहिलो दिन चर्को घाममा लामो लाइन बसेर पनि प्रतिनिधि पास नपाएर आपसमै झै–झगडा गरेको दृष्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ यसले एनआरएनलाई बेफाइदा पुर्याएको छ । यो घटनाले काठमाडौंमा लामो समयदेखि सम्मेलन गरिसकेका एनआरएनएको कमजोर ब्यवस्थापन र विदेशको सिष्टममा बसेर आएका नेपालीहरुको पुरानै नेपाली कार्यशैली र नियत प्रष्टिएको छ । एक खिल्ली चुरोट किन्दापनि लाइन बस्नु पर्ने सिष्टममा बसेकाहरुको होहल्ला उदेग लाग्दो थियो ।

धेरै मुलुकहरुबाट उत्साहजनक रुपमा काठमाडौंमा भेला भएका प्रतिनिधिहरुको सहाभागिताले एनआरएनएलाई मात्र होइन मुलुकलाई पनि केही फाइदा पुगेको छ । सम्मेलनमा आएका प्रतिनिधिहरुले परिवारसँग दशैं, तिहार मनाउन पाउनुको साथै विभिन्न क्षेत्रमा धेरथोर लगानीको अवसर पनि प्राप्त हुनु उपलब्धिको रुपमा मान्नुपर्छ । 

सम्मेलनमा भाग लिन आएका अधिंकाश प्रतिनिधिहरु विदेशमा आफ्नो नियमित काम छोडेर आएका छन् । उनीहरुले सम्मेलनमा प्रतिनिधि शुल्कको रुपमा २ सय ५० डलर अर्थात् नेपाली रुपियाँ २५ हजार तिरेका छन् । त्यहाँबाट काठमाडौसम्मको हवाइ टिकटलगायत अन्य खर्च जोड्दा ५ देखि ७ लाखसम्म खर्च गरेका छन् । यसरी खर्च गरेर आउनेहरुको संख्या यस पटक १८ सय नाघेको छ । उनीहरु कतिपयलाई उम्मेद्वारहरुले आर्थिक व्यवस्था गरेपनि धेरै जसो आफ्नै खर्चमा आएका छन् ।  

विभिन्न मुलुकको प्रतिनिधित्व रहेको एनआरएनले हरेक देशबाट प्रतिनिधि बोलाएपछि उनीहरुलाई निराशा बनाउनु हुदैन्थ्यो । तर पहिलो दिनमै दर्ता प्रक्रियामा भएको कमजोर व्यवस्थापनले अधिकांशलाई निराश बनायो । विहानदेखि लाइन लागेर पास नपाउनेहरु र कतिपय खाना सकिएर खाना नपाउनुको आक्रोश पनि स्वाभाविकै थियो । 

तर, पास समयमा पाएन र लाइनमा धेरै बस्नु पर्‍यो भन्दैमा विदेशको सिष्टममा बसेर आएका व्यक्तिहरु झै झगडा गरिहाल्ने प्रवृति गलत हो । सम्मेलनको पहिलो दिन प्रतिनिधिहरुबाट रकम असुलेर पनि व्यवस्था गर्नु नसक्ने एनआरएनएको कमजोर व्यवस्थापन हो । तर पास र खाना पाएन भनेर होहल्ला र झै–झगडा गरिहाल्ने व्यक्तिको कारण राम्रो सन्देश गएन । यही ढंगले एनआरएनए अघि बढेमा भविष्यमा यो भन्द धेरै घटनाहरु नहोलान् भन्न सकिन्न । 

एनआरएनएको ८ औं सम्मेलनको उद्घाटन कार्यक्रम सकिएलगतै आजदेखिन संस्थागत विकासमा छलफल हुनेछ । तर सम्मेलनको माहोल भने कुन पदमा कसलाई जिताउने भन्नेमा केन्द्रित भएको देख्दा आश्चार्य लागिरहेको छ । नेतृत्व चयनकै लागि यतिखेर भित्र भित्रै पार्टीगत अभ्यासहरु भइरहेको छ । विभिन्न मुलुक हुँदै केन्द्रसम्म भइरहेको पार्टी राजनीतिक अभ्यासले संस्थाको समग्र हित हुन सक्दैन ।  

सम्मेलनमा पैसा खर्चेर जित्नु मात्र सबै कुरा होइन । विश्वभरिको सबै नेपालीहरुको भावनालाई बुझेर संस्थाको हितमा लाग्न सक्नु महत्वपूर्ण हो । एनआरएनए गैरआवासीय नेपालीको साझा संस्था बनाउने हो भने कोठे गुटउपगुटको राजनीतिक मानसिकताबाट अलग हुनुपर्छ । व्यापारीहरुको संस्था एनआरएनए हो भन्ने सोचलाई परिवर्तन गर्न विभिन्न क्षेत्रका उपयुक्त जनशक्तिहरुलाई समेट्न सकेमा मात्र एनआरएनए सबैको साझा संस्था हुन सक्नेछ । अन्तमा अब आउने नेतृत्वले विदेशमा पैसाले किनेर बनाउँदै आएको सदस्यलाई हटाएर स्वत: स्फुर्त सदस्य बन्ने वातवारण बनाएर सबैले मेरो संस्था हो भन्ने महसुस गराउनु सक्नुपर्छ । 

प्रकाशित: आश्विन २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार