ब्लग

एनआरएनएमा उम्मेदवारी दिने जमुनाको घोषणा अस्ट्रेलियामा तरंग

- नारायण खड्का, अस्ट्रेलिया

आश्विन २८, २०७४-नयाँ नेतृत्व चयनका लागि गैरआवासीय नेपाली स‌ंघ (एनआरएनए) केन्द्रीय समितिको निर्वाचन प्रक्रिया शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । तर, सबै प्रवासीहरुको साझा संगठन भनिएको एनआरएनमा देखिएको पदप्रतिको मोह र संघर्ष भने उदेकलाग्दो देखिएको छ । 

चार वर्षसम्म नेतृत्वमा रहेका अस्ट्रेलियाका धनाढ्य शेष घलेको कार्यकाल सकिनैलाग्दा श्रीमती जमुना घले गुरुङले अध्यक्ष पदका लागि दाबी गरेपछि एनआरएनभित्र पदप्रतिको संघर्षले अझ चर्चा पाएको छ, विशेषगरी अस्ट्रेलियामा । श्रीमान्‌को कार्यकालमा मनोनित जमुना सदस्य भएर एनआरएनमा आएकी हुन् । उनको योगदान र एनआरएनप्रतिको लगाव शनिबारदेखि सुरु भएको निर्वाचन प्रक्रियाले केही दिनमा छिनोफानो गर्ला । तर पनि, अहिले नै एनआरएनको नेतृत्वका लागि संस्थागत रुपले उनको उम्मेदवारी उपयुक्त थियो वा थिएन भनेर चर्चा भने हुन थालेको छ ।

विश्वभरि ७५ बढी देशमा स्थापना भइसकेको एनआरएनको नेतृत्वमा यसवर्ष भवन भट्ट र टिबी कार्की पनि अघि सरेका छन् । उनीहरुले केही पहिलेदेखि नै यसका लागि पहल सुरु गरिसकेका थिए । अहिले काठमाडौंमा जम्मा भएका दर्जनौं देशका सयौं एनआरएनकर्मीहरुले केही दिनमै नेतृत्वको चयन त गर्लान् तर प्राय: प्रमुख पदहरुमा यसपटक पनि अस्ट्रेलियाकै उम्मेदवारी परेपछि अस्ट्रेलियाले विश्वका अन्य देशहरुलाई पनि नेतृत्वका लागि स्थान दिनुपर्ने आवाज पनि उठ्दै आएको छ । 

अहिले एनआरएनको निर्वाचनले बढी नै चर्चा पाएको घले पत्नी जमुनाको उम्मेदवारीले पनि हो । केही पक्षहरु उनी मनोनित भएर सदस्यका रुपमा आएको र एनआरएनमा खासै योगदान नभएको तर्क गरिरहेका छन् भने कोही आफ्ना पति घलेले सुरु गरेका कामहरुलाई सम्पन्न गर्न पनि उनको नेतृत्व महत्वपूर्ण भएको बताइरहेका छन् । हुन त, निर्वाचनमा उम्मेदवार हुन योग्य भएका जोसुकै जुनसुकै पदमा उठ्न सक्ने भएकाले उनको उम्मेदवारीलाई कसैले पनि गलत भन्न सक्दैनन् र उनका पति दुई कार्यकालका लागि अध्यक्ष बने भन्दैमा उनले उम्मेदवारी घोषणा गर्नै मिल्दैन भन्ने पनि छैन ।

यहाँ अस्ट्रेलियामा भने नेतृत्वमा जमुनाको उम्मेदवारीसँगै एनआरएनकर्मी दुई कित्तामा विभाजित छन् । कोही एउटै परिवारमा अन्तर्राष्ट्रिय साझा संस्था हस्तान्तरण हुन नहुने दाबी गरिरहेका छन् भने कोही पहिलोपटक कुनै महिलाले एनआरएनमा उम्मेदवारी दिएर नेतृत्व लिन चाहनु नै ठूलो परिवर्तन भएको बताइरहेका छन् ।

एनआरएन अस्ट्रेलियाका कार्यसमिति सदस्य सुरेश रेग्मी यसरी संस्थालाई एकै परिवारको हातमा दिनु सामाजिक न्यायविपरीत मात्र नभएर न्यायसंगत नभएको तर्क गर्छन् भने न्यु साउथ वेल्सकी महिला संयोजक सन्ध्या शाह एनसीसीमा कुनै महिला नेतृत्व नपाइरहेको सन्दर्भमा उनको उम्मेदवारीले परिवर्तन ल्याउने विश्वास गर्छिन् ।

अर्कोतिर एनआरएनलाई सुरुदेखि नै नियालिरहेका भरतराज पौडेल भने यो मुख्य रुपमा ‘पावर ग्ल्यामर’को खेल भएको सुनाउँछन् । नेतृत्वमा आएपछि सबै नेपालीहरुका लागि समाजसेवी समेत बनिने र उच्च पहुँच पनि स्थापना हुने भएकाले नेतृत्वमा होडबाजी चल्ने गरेको उनको बुझाई छ । निर्वाचनमा एनआरएन व्यवसायीहरुको मात्र नभई विवेक, सीप, ज्ञान भएकाहरुको पनि संस्था हो भनेर प्रमाणित गर्ने जिम्मेवारी भने मतदाताहरुमा निर्भर रहेको उनको भनाइ छ । 

 

सिड्नीकै युवा सञ्जीव पाण्डे पैसा र राजनीतिक पहुँच हाबी बन्दै गइरहेको एनआरएन नेतृत्वमा यी दुईबिना नेतृत्वमा आउन सहज नभएको तर्क गर्दै अहिले देखिएको नेतृत्व लडाइँलाई अन्यथा मान्दैनन् ।

अघिल्लो समयमा अध्यक्षको दौडबाट सहमतिमा बाहिरिएका भनिएका भट्ट यसपटक तुलनात्मक रुपले सहज नेतृत्व पाउने आशामा थिए । अझै पनि सहमतिमा नेतृत्व चुनिने सम्भावना नकार्न त सकिन्न तर अध्यक्षमा ३ जनाको उम्मेदवारी परेपछि सहमतिमा नेतृत्व चुनिने सम्भावना लगभग समाप्त भएको विश्लेषण गरिएको छ ।

प्रकाशित: आश्विन २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार