फोटोफिचर

प्रकृति : चरा चर्चा [फोटोफिचर]

- हेमसागर बराल, काठमाडौं

आश्विन २८, २०७४-चराविद् हेमसागर बराल चरामा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । संरक्षण क्षेत्रमा ३ दशकदेखि क्रियाशील उनी चरा, वन्यजन्तु र जैविक विविधताका जानकार तथा विज्ञ मानिन्छन् । नेपालका चराहरू र नेपालका स्तनधारी वन्यजन्तुलगायतका विषयमा उनले दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल च्याप्टर प्रमुखका रूपमा कार्यरत उनका अनुसन्धान चाखलाग्दा पनि छन् । उनले देखेका चराका अनौठा आनीबानी :

बच्चा कोरल्न सल्लाह 

भ्याकुर र तोरीगाँडा प्रजातिका चरा सल्लाह गरेर बच्चा कोरल्छन् । बथानमा बस्ने यिनीहरू वयस्क भएपछि सल्लाहमा ओथारो बस्छन् । प्राय: वयस्कले आमा बाबु, काका काकीलाई बच्चा कोरल्न सहयोग गर्छन् । ४ जना पोथी तयार भएपछि ४ जना भाले पनि सम्भोग गर्न र बच्चा हुर्काउन तयार हुन्छन् । यिनीहरू १४ वटासम्मको बथानमा बस्छन् । करिब महिना दिन ओथारो बसेपछि बच्चा हुर्काउने यी चरा तराईदेखि हिमालसम्मै पाइन्छन् । दुवै प्रजातिका ७० बढी चरा यहाँ देखिन्छ । नेपालमा अहिलेसम्म पाइएका ८ सय ८६ प्रजातिमध्ये यी प्रजातिका चराको संख्या सबैभन्दा बढी छ । नेपालमा पाइने चरामा यिनीहरूको संख्या १० प्रतिशत छ । अरू चरामा बचेरा कोरल्दा यस्तो स्वभाव पाइँदैन । 

४ वर्षमा रंग फेर्नेे चरी

स्वर्ग चरी नामैले आकर्षक छ । हेर्दा सबैको मन प्रफुल्ल हुन्छ । यो चरीले २ पटक रंग फेर्छ । ४ वर्षभन्दा कम उमेरको भए टाउको कालो, ढाड, पँखेटा र पुच्छर रातो हुन्छ । घाँटी खरानी रंगको हुन्छ । ४ वर्ष बढी उमेरको भए टाउको कालो सेतो र घाँटीदेखि तल सेतो रंग हुन्छ । यो ग्रीष्म आगन्तुक चरा हो । 

फुल पार्ने पोथी, ओथारो बस्ने भाले 

सामान्यतया चराहरूमा पोथी ओथारो बस्छ । चल्ला कोरल्छ । भाले आहारका लागि बाहिर जान्छ । तर, जलअप्सरा चरामा पोथी होइन, भाले चल्ला कोरल्न गँुडमा ओथारो बस्छ । फुल पार्नासाथ पोथी निस्कन्छन् । भाले ओथारो बसेपछि पोथी अर्को भाले खोज्दै हिँड्छ । अर्को भालेसँग पनि संसर्गपछि फुल पारे पछि पोथीले फेरि गँुड छाड्छ । भालेलाई ओथारो बस्ने बनाउँछ । वर्षमा एउटा पोथीले ३ वटासम्म बच्चा कोरेल्न भाले फेर्दै हिँड्छ । 

नाँचेर पोथी आकर्षित गर्छन् डाँफे र मुनाल

विशेषगरी डाँफे र मुनालले नाचेर पोथी आकर्षित गर्छन् । त्यस्तै चिलिमे र कालिजले पनि नाचेरै पोथीको मन जित्छन् । यी चरा नाच्ने बेला पोथी लुकेर हेर्छन् । जुन भाले राम्रोसँग नाच्छन्, त्यसैलाई पोथीले मन पराउँछन् । त्यसपछि बच्चा कोरल्छन् । डाँफे, मुनाल र चिलिमे ग्रीष्ममा ३ हजारदेखि ४ हजार ५ सय मिटर उचाइमा पाइन्छन् । हिउँदमा थोरै तलसम्म झर्छन् । कालिज भने समुद्र सतहदेखि ३ सय मिटरदेखि ३ हजार मिटर उचाइसम्म पाइन्छ । 

काग र मान्छे देखेर सिनो पत्ता लगाउँछ गिद्ध

गिद्धले सुँघेर र गन्धले सिनो पत्ता लगाउँछ भन्ने सुनिन्छ तर त्यो गलत हो । उसको सुँघ्नेशक्ति नै हुँदैन । नेपालमा ९ प्रजातिका गिद्ध पाइन्छ । सबै गिद्धले आकाशमा उड्दा कागको भीडभाड र मान्छेको आवतजावत देखेर आहार सिनो पत्ता लगाउँछन् । एउटा दुइटा गिद्ध देखेपछि अरू गिद्ध पनि आहार भएको थाहा पाएर सिनो खान आउँछन् । गिद्धले जीवित जनावर खाँदैनन्, मरेको सिनो खान्छन् । दुर्गन्ध र विभिन्न रोगव्याधिको जोखिम हटाउन सहयोग गर्छ । वातावरण र खाद्यचक्र सन्तुलित गर्छ । धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । 

पत्थरमा फुटालेर आहार खान्छ हाडफोर गिद्ध

नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये हाडफोर एक हो । यो धेरैजसो हिमाली र पहाडी क्षेत्रमा पाइन्छ । अन्य गिद्धको टाउकोमा प्वाँख हँुदैन । तर, हाडफोरको टाउकोमा प्वाँख हुन्छ । यसले अरू गिद्धले खाइसकेको सिनोको हड्डीभित्रको मासी मात्र खान्छ । त्यसैले यसलाई हाडफोर गिद्ध भनिएको हो । यसले हड्डीभित्रको मासी अनौठो तरिकाले निकालेर खान्छ । स–साना हड्डी संकलन गर्छ । मुखले हड्डीभित्रको मासु खान नसकेपछि खुट्टाको नंग्राले च्यापेर आकाशमा उड्छ । सकभर रूखछेउ सिलौटोजस्तो ढुंगा खोज्छ । नभेटे पत्थर खोज्छ । रूखमाथि बसेर नंग्राले च्यापेको हड्डी पत्थरमा बजार्छ । हड्डी फुटेपछि भित्रको मासी खाएर बाँच्छ । यस्ले ८० प्रतिशत बढी यस्तै मासीलाई आहारा बनाउँछ । हाडफोर गिद्ध ढलपल गर्दै उड्छ । त्यसैले यसको उडाइ आकर्षक लाग्छ ।

मुसाको दिसा–पिसाबबाट आहार पत्ता लगाउने चरा

सिकारी चरा बौडाईले मुसालाई उसको दिसा र पिसाबबाटै पत्ता लगाउँछ । मुसाले दिसा–पिसाब गरेपछि एक प्रकारको रसायन छाड्छन् । त्यो आँखाले देख्न सक्ने क्षमता बौडाई चरामा हुन्छ । त्यही रसायनको फलो गर्दै बौडाई मुसालाई आफ्नो आहार बनाउँछन् । मुसाले दिसा–पिसाब गर्ने ठाउँ पत्ता लगाएसँगै चराले मुसा हिँड्ने बाटो पनि पत्ता लगाउँछ । 

भाले–पोथी थाहा नहुने चरा

डुबुल्की चरालाई आफू भाले–पोथी के हुँ भन्ने थाहा हँुदैन । भाले–भाले र पोथी–पोथीबीच बढी सम्भोग गरिरहेका हुन्छन् । उनीहरूबीच संयोगले भाले–पोथीबीच सम्भोग हुन्छ । त्यस्तो अवस्था जुर्‍यो भने मात्र बचेरा जन्मन्छ । हेर्दा र उड्दा पनि त्यत्ती राम्रो नदेखिने यो चरा रैथाने र हिउँदे आगन्तुक चरा हो । 

नाचेर र गीत गाएर आकर्षित गर्ने चरा

चरा दुई वर्गमा विभाजित छन् । विरुत र गितारु । विरुत वर्गमा पर्ने चराको बोली विकास हुँदैन । यिनीहरू नाचेरै भाले आकर्षित गर्छन् । रमाइलो गर्छन् । गितारु वर्गमा पर्ने चराको बोली विकसित हुन्छ । यिनीहरू गीत गाएर भाले आकर्षित गर्छन् । रमाइलो गरेर मनोरञ्जन प्रदान गर्छन् । दुवै वर्गमा पर्ने चराको आफ्नै विशेषता छ । चरा प्रेमीलाई दुवैले गीत गाएर र नाचेर आकर्षित गर्छन् । 

आकाशमै आहार खाने चरा

गौंथली प्रजातिको चराले आकाशमै आहार खान्छन् । आकाशमा उड्दै गरेको कीरा र फट्याङ्ग्रा सोझै मुखमा हाल्छन् । यही आहार खाएर उनीहरू बाँच्छन् । गौंथलीमा १० प्रजातिका विरुत र ११ प्रजातिका गितारु चरा छन् । 

९ हजार मिटरमाथि उड्ने खोया हाँस

यो विश्वकै एउटा यस्तो प्रजाति हो जुन बसाइ सराइको क्रममा नौ हजार मिटर हाराहारीमा उडान भरेर आवतजावत गर्छ । बढी उचाइमा उडान भर्न सक्ने चरामध्ये खोया हाँस एक हो । यो चरा चीन र रसियाका विभिन्न क्षेत्र पाइन्छ । त्यहाँबाट बसाइ सर्ने क्रममा यो चरा सगरमाथा आसपास हँुदै नेपाल आउँछ । त्यतातिर बढी जाडो हुँदा आहार–विहारको समस्याले नेपाल, भारत र भुटानतिर बसाइ सर्ने गर्छ । यो चरा गर्मी लाग्यो भने बच्चा कोरल्न हिमालपारि उत्तर जान्छ । जाडो लागेपछि आहार खोज्न दक्षिणतिर लाग्छ । यो चराले हरेक वर्ष बसाइसराइ गर्छ । यो चरा असोजदेखि फागुन–चैतसम्म आहारका लागि नेपाललगायतका दक्षिण क्षेत्रमा बस्छ । यो चरा पोखरा, तराईका सिमसार क्षेत्रमा रेकर्ड 

गरिएको छ । 

पोथी राम्रो, भाले फ्रुस्रो

अधिकांश चराका भाले राम्रो र आकर्षक देखिन्छ । भाले रंगीविरंगी र मनमोहक हुन्छ । पोथी फ्रुस्रो हुन्छ । आकर्षक लाग्दैन । तर चित्राङ्गद चराको विपरीत हुन्छ । चित्राङ्गदको पोथी राम्रो र रंगीन हुन्छ । चित्ताकर्षक देखिन्छ । पोथी मात्र राम्रो देखिने चित्राङ्गद चरा हो । भाले अपेक्षाकृत राम्रो हुँदैन । यो चराको पोथीले फुल पारेपछि भाले ओथारो बस्छ । 

अर्काको गुँडमा फुल पार्ने कोइली

नेपालमा १८ प्रजातिका कोइली पाइन्छ । १२ प्रजातिका कोइलीले अर्काको गुँडमा फुल पार्छन् । बच्चा हुर्काउँछन् । कुहु कोइलीले काग र काफल पाक्यो कोइलीले चिवेको गुँडमा अण्डा पार्छन् । बीउ कुहियोले बगाले भ्याकुर र कुक्कु कोइलीले जुरेली वा चुइयाको गुँडमा अण्डा पार्छन् । 

सामान्यतया अरू चराले आफ्नो गँुडनजिक अरूलाई जान दिँदैनन् । फुल पार्न पनि दिँदैनन् । तर कोइलीले बदमासी गर्छ । कोइलीका भाले–पोथी चराको गुँडनजिक जान्छन् । भाले कोइलीले ओथारो बसेको चरासँग निहुँ खोज्छ । झगडा गर्छ । त्यो बेला ओथारो बसेको चरा भाग्छ । त्यही मोका छोपेर अरू चराको गुडमा पोथी कोइली गएर फुल पार्छ । कतिपय अवस्थामा ओथारो बसेको चराले थाहा नपाउन् भनेर पहिले चराले पारेको फुल पनि कोइलीले खसालेर फुटाई दिने गर्छ । कोइली चरा असाध्यै बाठो हुन्छ । 

२/३ वर्षसम्म आकाशमा उडिरहने चरा 

आकाशमा निरन्तर दुई तीन वर्षसम्म उड्ने चरा हो फ्यालफ्याले । त्यस्तै विरुत वर्गमा पर्ने गौंथलीका केही प्रजाति पनि २/३ वर्षसम्म आकाशमा उड्न सक्ने चरामध्ये पर्छन् । नेपालमा थोरै पाइने फयालफयाले पानीमा आश्रित चरा हो । फयालफयाले रंग सेतो हुन्छ । टाउको हल्का चुच्चो परेको हुन्छ । यो चराले धेरैजसो माछा खान्छ । यो चरा आकाशमा उड्दै गरेका कीरा–फट्यांग्रा खाएर महिनौं आकाशमै बसिरहन्छ । गौंथलीका प्रजाति पनि कीरा–फट्यांग्रा खाएर महिनौं आकाशमै उड्दै बसिरहन्छ । यी चरा आकाशमै आराम गर्दै महिनौंसम्म उड्दै आफ्नो गन्तव्यमा पुग्छन् ।

झुक्याएर बाँच्ने चरा

भीमराज चिवे चराले सिकारीलाई झुक्याएर आफू जोगिन्छ । वनमा आश्रित यो चराले अन्य चराको आवाज सजिलै निकाल्छ । सिकारी आएको थाहा पाउना साथ फरक–फरक चराको आवाज निकालेर आफू जोगिन्छ । अरू चरालाई जिस्क्याउन पनि उसको आवाज नक्कल गरेर निकाल्छ । आफनो साथी आयो भनेर अरू चरा भिमराज चिवेनिर पुग्छन् । 

१४ वटासम्म फुल पार्ने चरा

नेपालमा पाइने चरा कपिन्जल तित्राले सबैभन्दा बढी १४ वटासम्म फुल पर्छ । बढी फुल पारे पनि ७/८ वटासम्म बचेरा हुर्काउने सक्छ । वयस्क गिद्धले एउटा फुल पार्छ । 

 

चरा सिकार गर्ने सुपर्ण महाचील

सुपर्ण महाचीलले सारस प्रजातिमा पर्ने कर्‍याङ–कुरुङको सिकार गर्छ । उच्च हिमशृंखला हुँदै बसाइसराइ गर्ने क्रममा उत्तरबाट आउने कर्‍याङ–कुरुङ ढुकेर बस्छ । समूहमा आउने कर्‍याङ–कुरुङलाई उड्दाउड्दै सुपर्ण महाचीलले घाइते बनाई ढाल्छ । भीर पहरामा खसे पनि खोज्दै पुग्छ । आहार बनाउँछ । जाडोका बेला कर्‍याङ–कुरुङ बसाइ सर्ने क्रममा चीन र रुसबाट नेपाल, भारततिर आउँछन् । कर्‍याङ–कुरुङ सारस प्रजातिमा पर्ने ठूलो चरा हो । 

प्रस्तुति : मनोज पौडेल

प्रकाशित: आश्विन २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार