फिचर

प्रवास : मलेसियामा दिल साट्नेहरू

  • मलेसियाको ग्यान्टिङमा थुप्रै नेपालीहरू छन्, जो दशकभन्दा लामो समयदेखि नेपाल नर्फकी बसेका छन् । तीमध्ये इन्डोनेसियन केटीसँग लिभिङ टुगेदरमा बस्नेहरूको संख्या पनि दर्जनभन्दा धेरै छ ।
- जनकराज सापकोटा
मन लागेका बेला घर फर्किन राजनसँग कुनै वैधानिक कागजपत्र छैन। आमाको यादले मात्रै उनलाई घरसम्म तान्न पनि सकेको छैन । डिन्डाको मायाले उनलाई यतै लपेटेको छ ।

आश्विन २८, २०७४-चमकधमकले भरिएको र सानसौकतले अग्लिएको मलेसियाको राजधानी क्वालालम्पुर । नियोन लाइटको प्रकाशमा लुटपुटिने सहरको रात र तीव्र आर्थिक वृद्धिदरमा हुइँकिरहेको सहरको जीवन । 

गुल्मीमा जन्मेका तर तन्नेरी जीवनको आधा समय मलेसियामा दु:खको अँध्यारो गर्तमा बिताएका गुल्मीका राजन थापा, ३७ लाई यस्ता कुराको ‘छु मतलब’ । क्वालालम्पुरबाट करिब ३० किलोमिटर परको ग्यान्टिङ हाइल्यान्डको सानो पहाडी थुम्कोमा करिब १५ वर्षयता पहाड खोस्रिरहेका उनलाई दायाँ–बायाँ सोच्ने त फुर्सदै छैन । उनी जहाँ बस्छन्, त्यहाँबाट आकाश खुला भएका बेला नियालेर हेर्‍यो भने क्वालालम्पुरको छेउछाउमा अग्लिरहेका अट्टालिकाहरू देख्न सकिन्छ । तर पहाडको उचाइमा बसेर हेर्दा ती सबै होचा र पुड्का लाग्छन् । आफ्नै दु:खको अग्लो पहाडमा उभिएपछि पराई देशको विकास र चमकधमकजस्तो लागे पनि के अर्थ ?

२१ वर्षे उमेरमा मलेसिया छिरेका राजनको जीवन ग्यान्टिङ हाइल्यान्डका पहाडी थुम्कोमा उक्लिएका बाटाहरूजस्तै घुम्तीहरूले भरिएको छ । अनि ती प्रत्येक घुम्तीमा ठगिएका, हेपिएको र आपत्मा परेको कथा मात्रै छ । सन् २००२ मा मलेसिया छिर्दा उनी २१ वर्षका मात्रै थिए । जुंगा भर्खरै बाक्लिन थालेको थियो । काम थालेको केही महिनामै उनले थाहा पाए, उनी मेडिकल फेल भएछन् । नेपालमा पास भएको मेडिकल जाँच मलेसियामा कसरी फेल भयो ? पास र फेलको घनचक्कर त उनले बुझ्न सकेनन् तर उनले यति कुरा भने थाहा पाए, मेडिकल फेल भएपछि घर फर्किनुको विकल्प छैन । 

एक रात राजन सटुक्क कम्पनी छाडेर भागे । यसरी भागेपछि सुरु भयो उनको अवैध अर्थात् कागजातविहीन कामदारको परिचय । किनकि कम्पनीले होल्ड गरेर राखेको पासपोर्ट उनीको हातमा हुने कुरै भएन । एकाध दिनको भागदौड र आलसतालसपछि उनले एउटा क्यासिनोमा गार्डको काम पाए । त्यहाँ पनि उनलाई सोचेजस्तो र भनेजस्तो भएन । कतिखेर प्रहरीले आएर पक्रेला र नेपाल फर्काइदेला भन्ने डरले उनलाई कोपररिह्यो । त्यसपछि उनी अनेकन नेपालीको सम्पर्क सूत्र पहिल्याएर आइपुगे, ग्यान्टिङ हाइल्यान्डको पहाडी थुम्कोमा । 

झन्डै १४ वर्षयता स्वेदश नर्फकी यहीको पहाडी थुम्कोको माटो खोस्रिरहेका उनी बासको टेकोमा फ्लेक्स प्रिन्टले बारेर सानो कटेरोजस्तो घर बनाएर बसेका छन् । त्यही नजिकै उनले एक जना चिनियाँका २ हेक्टर जमिन वार्षिक पाँच हजार रिंगिट अर्थात् करिब एक लाख २५ हजार नेपाली रुपैयाँ तिर्ने सर्तमा भाडामा लिएका छन् । जहाँ उनी मौसमअनुसार खुर्सानी र सिमी फलाउँछन् । मौसमको जस्तै खेतीको पनि केही भर हुन्न भन्ने कथ्य सुनाउँदै राजन केही बेर थकथकाए । कारण के परेछ भने, केही दिनअघि मात्रै परेको ठूलो झरीेपछि उनको सिमी बारीभरि कीराहरू सलबलाएछन् र सप्पै सिमीको बोट नासिएछन् । उनले सानो स्वरमा भने, ‘झन्डै दुई/तीन हजार रिंगिटको लगानी खेर गयो ।’ 

ग्यान्टिङ आएपछि राजनको जीवनमा पहिलेजस्तो भागदौड त छैन । तरकारी खेतीबाट हुने नाफा घाटाको हिसाबकिताबले पनि उनलाई त्यति धेरै पिरोल्दैन । तर उनको मनमा भने स–सानो आँधी तुफान हरदम मच्चिरहन्छ । उमेरको उपल्लो विन्दुमा पुगेकी बूढी आमाले जब घरबाट फोन गरेर ‘कहिले आउँछस् नेपाल ?’ भनेर सोध्छिन् तब उनलाई आपत् पर्छ । दिव्य १५ वर्षमा नेपाल कति बदलियो होला ? आफ्नो गाउँ कस्तो भयो होला ? आमाको गालामा कति चाउरी परे होलान् ? राजनलाई केही थाहा पत्तो छैन । उनीसँग केही अनुमान त छन् तर त्यसका केही आधारहरू छैनन् । आफू मलेसिया आएपछि गाउँमै बितेका बाको सम्झना त राजनको स्मृतिमा मधुरो हुन आँटिसक्यो । उता बा बिते, यता राजन गैरकानुनी हैसियतमा थिए । बाको किरियाकर्ममा पनि सामेल हुन नपाएको छटपटी पनि अब त वर्षौं पुरानो भइसक्यो । 

ग्यान्टिङ आएपछि राजनलाई केही सजिलो भएको छ । किनकि ग्यान्टिङको माटो खोस्रिँदाखोस्रिँदै राजनको दिल एक जना इन्डोनेसियन केटीसँग साटिएको पनि पाँच वर्ष बितिसक्यो । नसाटियोस् पनि किन, उमेरको रापतापमा पनि उनले भर्खर बिहे गरेर घरमै पत्नी छोडेर आएका थिए । त्यसो त खेतीको काममा बिहान घाम झुल्केदेखि साँझ घाम नडुबेसम्म उनी व्यस्त भइरहनुपथ्र्यो । काममा सहयोग गर्ने कोही भइदिए नि हुन्थ्यो भन्ने उनी सोचिरहेका थिए । त्यही बेला इन्डोनेसियन केटी डिन्डासँग सुटुक्टै मन साटिएको उनले पत्तै पाएनन् । 

वर्षौं घर नर्फकिने र कहिले घर फर्किने भन्ने टुंगो पनि नभएका श्रीमान् कुरेर उनकी पत्नी कतिन्जेल बस्ने ! पति इन्डोनेसियन केटीसँग बस्न थालेको दुई वर्षपछि पत्नी पनि आफ्नो बाटो लागिन् । त्यसपछि राजन यतै अड्किएको अड्कियै छन् । उनकी आमाले उनलाई, जुन देशकी केटी भएपछि ल्याए पनि लिएर आइज भनेकी छन् । तर, डिन्डाको नेपाल जान पटक्कै रुचि छैन ।

मन लागेका बेला घर फर्किन राजनसँग कुनै वैधानिक कागजपत्र छैन । आमाको यादले मात्रै उनलाई घरसम्म तान्न पनि सकेको छैन् । बढो अनौठो मजधारमा फसेको छन् उनी । डिन्डाको मायाले उनलाई यतै लपेटेको छ । मासिक २०/२५ हजार रुपैयाँ भए पनि आम्दनी भइरहेको छ । राजनले भने, ‘न भन्नेबित्तिकै नेपाल फर्किन सक्छु । फेरि उता गएर पनि के पो गर्ने ?’

ग्यान्टिङमा थुप्रै नेपालीहरू छन्, जो दशकभन्दा लामो समयदेखि नेपाल नर्फकी बसेका छन् । तीमध्ये इन्डोनेसियन केटीसँग लिभिङ टुगेदरमा बस्नेहरूको संख्या पनि दर्जनभन्दा धेरै छ । ग्यान्टिङमा ५० हेक्टरभन्दा धेरै जमिन भाडामा लिएर उन्नत तरिकाले तरकारी खेती गरिरहेका टीकाराम श्रिसका अनुसार यहाँका पहाडमा दर्जनौं यस्ता गैरकानुनी हैसियतका नेपाली छन्, जो इन्डोनेसियनसँग घरजम गरेर वर्षौंदेखि बसेका छन् । राजनले कुरामा सही थप्दै र मुसुक्क हाँस्दै भने, ‘यसरी बस्ने धेरैका नेपाली स्वास्नी आफ्नो बाटो लागिसक्या छन् ।’

वर्षौंसम्म इन्डोनेसियन केटीसँग घरजम गरेर बसे पनि नेपालीहरू हत्तपत्ती बच्चा भने जन्माइहाल्दैनन् । धेरैको बुझाइ के छ भने, बच्चा जन्मिएपछि तिनकै मायाले नेपाल फर्किन सकिँदैन । ग्यान्टिङका केही नेपालीका अनुसार बच्चा जन्मिएपछि पत्नीको पछि लागेर इन्डोनेसिया पसेर उतै हराउने नेपाली पनि छन् । राजनले डिन्डातिर देखाउँदै भने, ‘हामी त सँगै बस्ने मात्रै हो । बच्चा त नपाउनै है ।’

नुवाकोट किन्ताङका घले थरका एक तन्नेरी पनि राजनकै घर छेउमा भेटिए । सन् २००५ मा मलेसिया छिरेयता उनी घर फर्केका छैनन् । मलेसिया बसाइका एक दर्जन वर्षहरूमा पछिल्ला केही वर्षमा भने उनी पनि एउटी इन्डोनेसियन केटीसँग घरजम गरेर बसेका छन् । एक लाख बीस हजार रुपैयाँ दलालको हातमा सुम्पेर फर्निचर कम्पनीका काम गर्न भनेर मलेसिया छिरेका उनी भनेजस्तो काम र तलब नपाइने भएपछि कम्पनी छोडेर भागे । त्यसपछि गैरकानुनी कामदारको हैसियतका कहिले कहाँ त कहिले कहाँ लुक्दै भाग्दै उनी ग्यान्टिङ आइपुगेका हुन् । 

ग्यान्टिङ आएको एकाध वर्ष अरूकै तरकारी बारीमा काम गरेका घले अहिले आफैंले तीन हेक्टर जमिन भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । जिरे खुर्सानी र भेडे खुर्सानी फलाइरहेका उनले आफ्नो नाम छाप्न र फोटो खिच्न नहुने तर्क सुनाउँदै भने, ‘घरतिरकाले थाहा पाए आपत् पार्छन् ।’ त्यसो त घले इन्डोनेसियन केटीसँग बस्नुको आफ्नै बाध्यता सुनाउँछन् । उनले भने, ‘एक्लै बस्दा सबै काम नभ्याइने, चुलबुल मन सम्हाल्न गाह्रो हुने भएकाले मात्रै हो ।’ घले प्रत्येक महिनाजसो दुई छोरा हुर्काएर बसेकी पत्नीका लागि नेपालमा पैसा पनि पठाउँछन् । दिन बिराएर फोन पनि गर्छन् । अनि भन्छन्, ‘गाउँमा बसे यत्तिको कमाइ पनि कहाँ हुन्थ्यो ? यत्तिको कमाइ नभए छोराहरू कसरी पढ्थे ?’

ग्यान्टिङमा इन्डोनेसियन केटीसँग घरजम गरेर बस्ने धेरैजसो नेपालीहरूको अनौठो कथा व्यथा छ । त्यस्तो व्यथामा सबैभन्दा चर्को भइदिन्छ, शारीरिक सम्बन्धपछिको विकासक्रम । नाम उल्लेख नर्गने सर्तमा केही नेपालीले सुनाएका घटना अनौठा थिए । एक नेपालीका अनुसार इन्डोनेसियनसँग घरजम गरेर कृषि कर्म गर्ने धेरैजसो अवैध कामदारहरू परिवार नियोजनका अस्थायी र स्थायी कुनै पनि साधन प्रयोग गर्दैनन् । न त्यसबारे उनीहरू जानकार छन्, न सहर झरेर त्यस्ता साधन किन्न नै सक्छन् । गैरकानुनी हैसियत भएकै कारण अस्थायी साधन किन्न धेरैजसो नेपाली बजार झर्न डराउँछन् । 

घलेका अनुसार गर्भ रहेपछि विभिन्न एजेन्टमार्फत लुकीछिपी क्वालालम्पुरका क्लिनिकमा पुगेर गर्भपतन गर्दा चर्को मूल्य चुकाउनुपर्छ । प्रत्येकचोटि गर्भपतन गर्दा करिब ४ देखि पाँच सय रिंगिट खर्चिनुपर्छ । यसरी कमाएको रकमको ठूलो हिस्सा गर्भपतनमा खर्चिदा उनीहरू आर्थिक रूपमा त समस्या परेका छन् नै एजेन्टको भरमा गैरकानुनी काम गर्दा कानुनी झमेलामा पर्ने सम्भावना पनि उत्तिकै छ । एक नेपालीले आफूले घरजम गर्ने इन्डोनेसियन केटीको चारपटकसम्म गर्भपतन गरेको सुनाए । तिनले भने, ‘गर्भपतनपछि केटीहरूलाई स्याहार्दैमा केही दिन जान्छ । पैसा त नासिन्छ नै, काम गर्न पनि पाइँदैन ।’ 

दलालको पासोमा परेर, भनेजस्तो काम नपाएर र कम्पनी छोडेर गैरकानुनी कामदार भएका धेरैजसोको व्यथा राजन र घलेको जस्तै घनचक्करमा अल्झिएको छ । सात वर्षअघि धादिङका डिलकुमार तामाङ एक लाख ८० हजार रुपैयाँ दलाललाई बुझाएर मलेसिया आएका थिए, क्लिनिङ कम्पनीमा काम गर्ने भन्दै । ओभरटाइमबाहेक नौ सय रिंगिट तलब पाइने दलालको वाचा झूटो भएको थाहा पाएपछि उनी कम्पनी छाडेर अनेक ठाउँं भांैतारिंदै हिँडे । केही वर्ष भाग्दै र लुक्दै अनेक ठाउँमा काम गरेपछि उनी साढे दुई वर्षअघि ग्यान्टिङ आइपुगे । ४ हेक्टर जमिन भाडामा लिएर तरकारी खेती थालेका डिल्ली अहिले डेढ वर्ष जेठी इन्डोनेसियन केटी सुकीसँग घरजममा छन् । मासिक तीसदेखि ३५ हजार औसतमा कमाउने डिल्ली आफ्नो कमाइबाट सन्तुष्ट छन् । तर उनको पीरको पारो भने त्यतिबेला उक्लिन्छ, जतिबेला उनकी घरवाली सुकी इन्डोनेसिया नै जाम भनेर करकर गर्छे । 

धेरै नेपालीलाई इन्डोनेसियन केटीको पछि लागेर उता गइयो भनेर फर्केर आउन सकिँदैन भन्ने डर लाग्छ । डिल्लीले भने, ‘खोलापारि गइयो भने वारि आउन मुस्किल छ ।’ ग्यान्टिङका डिल्लीहरू इन्डोनेसियालाई खोलापारि भन्छन् । इलाम घर बताउने चोक्ता तामाङ पनि राजन र डिल्लीजस्तै झूटा वाचामा फसेर अवैध कामदार भएपछि ग्यान्टिङ आएका हुन् । उमेरले दुई वर्ष जेठी डिना नामकी इन्डोनेसियनसँग दुई वर्षयता घरजम गरेर बसेका चोक्तासँग आफ्नै हैरानीको कथा छ । तीन सन्तान हुर्काउनुको दु:खले उनी ग्यान्टिङको पहाड खोस्रिरहेका छन् । उनले भने, ‘नेपालमै भनेजस्तो भाको भए, यहाँ गैरकानुनी भएर कसले काम गथ्र्यो र ।’ 

एक जना चिनियाँको ३ हेक्टर जमिन वार्षिक १७ सय रिंगिट तिर्ने गरी भाडामा लिएका चोक्ता अहिले सिमी र खुर्सानी फलाइरहेका छन् । डिना र उनी सँगसँगै काम गर्छन्, सँगै आएर खाना पकाएर खान्छन् र आम्दानीको हिस्सा पनि आधा–आधा बाँडेर लिन्छन । यसरी उनी औसतमा मासिक तीसदेखि पैंतीस हजार कमाउँछन् । खाने, बस्ने र मोबाइल खर्च कटाएर हुने बचतको केही हिस्सा छोराछोरीको पढाइ खर्च भन्दै घर पठाउँछन् । 

इन्डोनेसियन केटीसँग बिहे गरेका धेरैजसो नेपालीको अनौठो जीवनशैली छ । एउटै पहाडी थुम्कोमा कैयौं ससाना टहरामा पुग्दा नेपालकै कुनै गाउँ पुगेजस्तो लाग्छ । धेरैजसो जनजाति मूलका नेपालीहरू एकआपसमा आफ्नो मातृभाषा र नेपाली भाषामा कुरा गर्छन् अनि घरवालीसँग भने मलायलम भाषामा कुरा गर्छन् । राजनकी घरवाली डिन्डा त धेरथोर नेपाली भाषा पनि बुझ्छिन् । उनले हाँस्दै सुनाए, ‘घरबाट आमाले फोन गर्दा डिन्डाले नमस्ते भन्न जानीसकेकी छन् ।’

मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियामा ४ लाख ८५ हजार नेपाली कामदारहरू रहेको सरकारी रेकर्डमा छ । तर दूतावासका अनुसार गैरकानुनी हैसियतका रहेका नेपालीहरू पनि जोडने भने भने यो संख्या करिब सात लाख पुग्छ । जसमा मलेसियाका विभिन्न पहाडी भूभागका पशुपालन र तरकारी खेती गरेर वर्षौदेखि लुकीछिपी काम गरिरहेका राजन, चोक्ता र घलेजस्ता कामदारहरू पर्छन् । नेपाली कामदारको सबैभन्दा ठूलो श्रम गन्तव्यको रूपमा रहेको मलेसियाको चमकधमकमा उनीहरूको कथा कतै हराइरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा मलेसियाबाट ६८ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्सका रूपमा नेपाल भित्रिएको छ । नेपाल भित्रिने यस्तो रकममा राजनजस्ता गैरकानुनी कामदारको दु:ख र हैरानीको कथा मिसिएको छ । 

एक दशकभन्दा लामो समयदेखि स्वदेश नै नफर्की उतै हराइरहेका नेपालीहरूलाई घर कहिले फर्किने त भन्ने प्रश्नमा एउटै जवाफ हुन्छ, ‘सोचेजस्तो भएपछि फर्किम्ला भनेको ।’ तर सोचेजस्तो कहिले हुने हो ? भनेजस्तो कहिले पुग्ने हो ? कसैलाई थाहा छैन । त्यसो त अवैधानिक हैसियतमा बसेका कामदारलाई स्वदेश फर्काउने भन्दै सरकारले ल्याउने बेलाबखत कार्यक्रमबारे पनि दुर्गम मानिने ठाउँमा रहेका नेपाली कामदारले थाहा पत्तो पाउँदैनन् । थाहा पाएकाले पनि आवश्यक कागजात जुटाउन सक्दैनन् । 

प्रकाशित: आश्विन २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार