फिचर

जसले नेपालमा दृष्टि पाए...

- जितेन्द्र साह, विराटनगर

आश्विन २८, २०७४-सात वर्षअघि दृष्टिविहीन भएका लाओसका २९ वर्षीय किसान खामफेट लार्डोन थामाभोङले नेपालमा आएर आँखाको नानी (कोर्निया) प्रत्यारोपण गराएका छन् ।

विराटनगरको रानीस्थित विराटनगर आँखा अस्पतालमा संयोगवश विश्व दृष्टि दिवसमै बिहीबार सफलतापूर्वक उनको देब्रे आँखामा कोर्नियाको प्रत्यारोपण भयो । चिकित्सकले शुक्रबार बिहान आँखाको पट्टी खोल्नेबित्तिकै उनी हर्षविभोर भए ।

‘मैले देख्न थालें है,’ उनले वरिपरि हेर्दै भने । उनकी श्रीमती २८ वर्षीया बुनथोने, नजिकै उभिएकी सामाजिक कार्यकर्ता चानथाला र पारिवारिक चिकित्सक डा. मानिभोने टिकाओ पनि निकै खुसी थिए ।

‘उहाँको आँखाको ज्योति फर्केपछि महसुस गरेको आनन्दको बयान गर्नै सक्दिनँ,’ पत्नी बुनथोनेले भनिन् । खेतमा धान र तरकारी उब्जाएर परिवार धान्ने श्रीमान् नै अशक्त भएपछि उनले यो अवधिमा सम्पूर्ण जिम्मेबारी सम्हाल्नुपर्‍यो । दुई छोरीसहित नौ जनाको परिवारको खर्च टार्नलाई परम्परागत लुगा बुनेरसमेत बेचेको उनले बताइन् ।

मरणोपरान्त एक नेपालीले दान गरेको आँखाको नानीबाट उनले पुन: संसार देख्न पाएका हुन् । लाओसबाट उपचारका लागि नेपाल आइपुगेका उनी पहिलो बिरामी थिए ।

श्रीमती र दुई सहयोगीसँग किसान थामाभोङ १० अक्टोबरमा विराटनगर आएका हुन् । कोर्नियासहित सम्पूर्ण उपचार मात्र २ सय डलर अर्थात् २० हजार ९ सय ५० नेपाली रुपैयाँमा सम्पन्न भएकोमा डा. टिकाओले आश्चर्य प्रकट गरिन् । अमेरिकामा यही उपचारका लागि १५ हजार डलर (१५ लाख ७१ हजार २ सय ५० रुपैयाँ) र नेदरल्यान्ड्समा कोर्नियाका लागि मात्रै ४ हजार डलर (४ लाख १९ हजार रुपैयाँ) पर्छ ।

‘यति सस्तोमा उपचार पाउँदा एक चिकित्सकका रूपमा पनि विश्वास लागेन,’ उनले भनिन्, ‘यति थोरै खर्चमा कोर्निया प्रत्यारोपण भनेको लगभग नि:शुल्क जस्तै हो ।’ आँखाको ज्योति कमजोर भएका पति थानोङफोने चान्थारांग्सीलाई पनि उपचारका लागि यहीं लिएर आउने डा. टिकाओले बताइन् ।

लाओसको पेक जिल्लाको सियांगखोङ प्रान्तस्थित खेतमा काम गर्ने क्रममा निष्क्रिय नपारिएको बम विस्फोट हुँदा किसान थामाभोङको देब्रे आँखा पूर्णरूपले र दाहिने आँखाको ८० प्रतिशत भाग नष्ट भएको टिकाओले बताइन् । भियतनामविरुद्धको एक गोप्य युद्ध, सिक्रेट वारको क्रममा सन् १९६५ देखि १९७३ सम्म अमेरिकाले लाओसको दोस्रो ठूलो प्रान्त सियांगखोङमा पनि थुप्रै बम खसालेको थियो । त्यस्ता बम अझै निस्क्रिय परिएका छैनन् । 

सन् २०१० को ४ अक्टोबरमा खेतको घाँस र पराललाई थुपारेर आगो लगाउँदा यस्तै बम पडकेर थामाभोङ दृष्टिहीन हुन पुगेका थिए ।

‘लाओसमा आँखाको नानी दान नगरिने हुनाले प्रत्यारोपण हुन्न,’ डा. टिकाओले भनिन् । उपचारको खोजीको क्रममा यी पीडित परिवार र चिकित्सकले विश्व शिक्षा (वल्र्ड एड्युकेसन, डब्लुई) नामक संस्थाकी सामाजिक कार्यकर्ता लाओसकै ३२ वर्षीया चान्थालासँग सम्पर्क गरे ।

युद्धपीडितका लागि काम गरिरहेको संस्था ‘माइन एक्सन ग्रुप, एमएजीको समन्वयमा दाताबाट रकम संकलन गराएर आफू कार्यरत शैक्षिक संस्थामार्फत उनी सहयोगका लागि अघि बढिन् । उपचारका लागि चाहिने सबै सुविधा प्रदान गर्न एमएजीले डब्लूईलाई भन्यो । डब्लूईले थामाभोंगलाई उपचारका लागि थाइल्यान्ड लिएर गयो तर नानी (कोर्निया) उपलब्ध हुन नसकेर फिर्ता आउनुपर्‍यो । 

डा. टिकाओले त्यसपछि आफूले विश्वकै सबैभन्दा विपन्न मुलुकको अपांगको जीवनस्तर सुधार्ने अभियानमा लागेको संस्था सीबीएम इन्टरनेसनलसँग सहयोग मागेको बताइन् । यसै क्रममा भाग्यवश नेपालको कोर्निया विशेषज्ञ डा.सञ्जय सिंहसँग सम्पर्क भएको उनले बताइन् ।

सिंहको खोजीमा काठमाडौं हुँदै विराटनगरसम्म आइपुगेको टिकाओले बताइन् । ‘उपचारमा मात्र नभएर सिंहले यहाँसम्म आउनमा कठिनाइ हुन नदिनलाई हरेक खाले समन्वयकर्ता र सहजकर्ताको भूमिका निभाउनुभयो,’ उनले भनिन् ।

डा. सिंहले आधुनिक चिकित्सा प्रविधिअनुसार थामाभोङको बिग्रेको कोर्नियाको पत्र मात्र हटाएर अर्को पत्र हालिएको बताए ।

 

प्रकाशित: आश्विन २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार