समाचार

पेसा धान्न धौ–धौ

- कान्तिपुर संवाददाता , भक्तपुर

आश्विन २७, २०७४-भक्तपुर नगरपालिका–४ पोटरी स्क्वायर (तालाक्व) का बुद्धिराम प्रजापतिको कैयौं पुस्ता माटोमै हुर्किए । माटोको कलामा भिजे । परापूर्वकालदेखि माटोलाई मुख्य पेसा बनाउँदै आएका प्रजापति समुदायलाई पछिल्लो समय माटोको अभावले परम्परागत पेसा धान्न गाह्रो भएको छ । ‘केही वर्षअघिसम्म बस्ती पातलो थियो, अहिले जग्गाको भाउ आकासियो,’ बुद्धिरामले भने,‘माटो निकाल्ने ठाउँमा घर ठडिए ।’ ‘भक्तपुरमा भाँडा बनाउने माटो पाउनै छोड्यो, पेसा नै संकटमा पर्ने हो कि भन्ने भय छ,’ उनले भने । 

विगतका वर्षमा भक्तपुर जगाती नजिकैको खेतबाट माटो ल्याएर भाँडा बनाउने बोलाछें, तालाक्वका अधिकांश प्रजापति समुदायले करिब पाँच वर्षयता ललितपुरस्थित हरिसिद्धिबाट माटो ल्याउन थालेका छन् । माटोको भाँडा बनाउन विशेषगरी कालो नरम माटो आवश्यक पर्छ । कालो माटो मात्र नभई रंगाउन चाहिने रातो माटो, भाँडालाई पोल्न चाहिने छाली र काठको धूलोको समेत अभाव भएको व्यवसायीहरू बताउँछन् । छाली, काठको धूलोबाट भाँडा पोल्दै आएका प्रजापतिहरूले भूकम्पपछि भने आधुनिक प्रविधिअनुसार भट्टीमा पोल्ने गरेका छन् ।

तालाक्वका प्रजापति समुदायका व्यक्तिहरू विगतका वर्षमा यतिखेर आँगनभरि माटोका पाला सुकाउन व्यस्त हुन्थे । पर्याप्त व्यापार पनि हुन्थ्यो । तर, भूकम्पपछि पाला बनाउने पेसाप्रति त्यति चासो नभएको बुद्धिरामको भनाइ छ । ‘यस वर्षको तिहारका लागि पालाको अर्डर नै लिइनँ,’ उनले भने । तालाक्वमा करिब ५० घरपरिवारले परम्परागत पेसा धान्दै आएको उनी बताउँछन् । 

माटोको भाँडो बनाउने परम्परागत पेसा अँगाल्दै आएका तालाक्वका युवा दाजुभाइ साजन र श्रीजन प्रजापति भने पछिल्लो समय माटो अभावका कारण युवाहरूमा आफ्नो पेसाप्रति उत्साह कम हुँदै गएको बताउँछन् । ‘भूकम्पपछि जिल्लामा माटो पाउन छाड्यो, माटो निकाल्ने ठाउँहरूमा अस्थायी टहराहरू बने,’ श्रीजनले भने, ‘हरिसिद्धिमा समेत माटो पाउन मुस्किल छ ।’ बजार व्यवस्थापन विषय अध्ययनरत श्रीजन माटोबाट बनेका सामग्रीहरूको बिक्रीका लागि बजारको समेत अभाव रहेको बताउँछन् । गत वर्षको तिहारमा २० देखि २५ हजार पाला बिक्री गर्ने प्रजापतिहरूयो वर्ष पालाप्रति केन्द्रित छैनन् ।

धेरथोर व्यापार वर्षभरि नै भए पनि तिहारमा माटोका भाँडाको व्यापार बढ्ने गरेको छ । परम्परादेखि नै माटोको भाँडा बनाउने पेसा गर्दै आएका प्रजापतिहरू माटोको समस्याले पेसा नै बदल्नुपर्ने हो कि भन्ने चिन्तामा छन् । माटोको अभाव, प्लास्टिक तथा सिल्भरका भाँडाको बढदो प्रयोगको चपेटामा परेका प्रजापतिहरू माटोको अभावमा थप समस्या झेल्दै छन् । ‘भूकम्पअघि एक टिप माटोको ३५ सय थियो, भूकम्पपछि बढेर ६ हजार पुग्यो,’ साजन प्रजापतिले भने, ‘अहिले त्यो पनि पाउन छोड्यो, हाम्रो पेसा नै संकटमा पर्ने अवस्थामा पुगेको छ ।’ 

उनीहरूले पाला, घेरुवा, खुत्रुके, धुपौरो, सली, हालिचा, फूलदानी, गमला, सुरै, हाँडी, गाग्री, घ्याम्पो लगायतका माटाको भाँडा बनाएर आफ्नो पेसा धान्दै आएका छन् । मुलुकमा दिन प्रतिदिन प्लास्टिकको भाँडाको प्रयोग बढेसँगै व्यवसाय थप संकटमा पर्दै गएको समेत व्यवसायीहरू बताउँछन् । तर, माटोको प्रयोगले मानिसको स्वास्थ्य अवस्था राम्रो हुनेसमेत उनीहरू बताउँछन् ।

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार