विचार/विश्‍लेषण

विकासको मूल कडी : स्वच्छ प्रशासन

- रामचन्द्र पौडेल
म देख्दैछु, अख्तियार दलहरूसँग थरहरी । सर्वोच्च त्यस्तै र प्रहरी–प्रशासन पनि नेताकै अविवेकी दबाबमा । अनि यस्तो अवस्थामा निमुखाले न्याय कसरी पाउने ? विपन्नले आय कसरी पाउने ?

आश्विन २७, २०७४-सामन्ती व्यवस्था विरुद्धको लडाइँ लगभग ७ दशक अघिदेखिको हो । संविधानसभाबाट देशको मूल कानुन बनाउने संर्घषमा राष्ट्रले ठूलो मूल्य चुकाउनुपर्‍यो । सयांै नेपाली सहिद भए भने हजारौंले घरबारविहीन हुनुपर्‍यो । तर ती सहिद र योद्धाहरूको सपना अन्त्यमा साकार भयो । करिब २ सय वर्षअघि जनताको आकांक्षा अनुरुप देशले संविधानसभाबाट संविधान प्राप्त गरेको छ । तर व्यवस्था टुंगो लागी राजनीतिक स्थिरता कायम भई विकास गर्ने अवसर पाइन्छ कि भन्ने अवस्थामा अप्रत्यासित रूपले पुन: व्यवस्था सम्बन्धी किचलो उछाल्न खोजिएको छ । अब यसबखत म भन्छुु– राजनीतिक तर्कशास्त्र फुकाउन छोडौं, देशले जुन बाटो रोजिसकेको छ, त्यसैमाथि खुरुखुरु हिँडौं र अवसरको लाभ उठाएर समृद्धि हासिल गर्नतिर लागौं । गरिबी, बेरोजगारी विरुद्ध हथौडा चलाऔं । यदि ७ दशकपश्चात कोरिएको बाटोलाई प्रश्नचिन्ह लगाउन थाल्यौं भने देश पुन: अस्थिरताको ठूलो दलदलमा जाकिन्छ, जुन मुलुक र जनताप्रति राजनीतिक दलहरूको ठूलो बेइमानी ठहर्नेछ ।

प्रकृतिले हामीलाई जो वरदान दिएको छ, त्यसैले समृद्धि हासिल गर्न त्यति कठिन केही छैन । त्यसमाथि अहिले सिर्जित सकारात्मक क्षेत्रीय अवसररूपी पर्यावरणीय स्थितिको अवस्था । यसो भन्दा मैले हाम्रा छिमेकीहरूको आर्थिक समृद्धिको अवस्था र उनीहरूको नेपालप्रतिको सदाशयता र सहयोगको भावनाप्रति इंगित गर्न खोजेको हुँ । तर हामीले त्यसका लागि प्राथमिकता पहिचान र छनोट गर्नुका साथै प्रभावकारी कार्यसम्पादन संयन्त्रको निर्माण गर्ने इच्छाशक्ति पनि राख्न सक्नुपर्छ । 

नेपाललाई अहिले सन्तुलित विदेश नीतिको माध्यमबाट कम्तीमा ४ विभिन्न क्षेत्रमा सुरक्षा प्रत्याभूति प्रदान गर्नु अति आवश्यक रहेको छ । प्रथमत: बढ्दो जनसंख्याको चापलाई दृष्टिगत गरी दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजनाको माध्यमबाट कमसेकम ५० वर्षका लागि खाद्य सुरक्षा सुनिश्चित गर्न जरुरी देखिन्छ । किनकि जुन देशले चामल निर्यात गथ्र्यो, आज वर्षेनि लगभग २०० मिलियन अमेरिकी डलर मूल्यको चामल आयात गर्छ । समग्र खाद्य सामग्री आयातमा त झन् लगभग १.२९८ विलियन अमेरिकी डलरको आयात हुने गरेको छ । दोस्रो, मुलुकलाई शुद्ध पानी (फ्रेसवाटर) पिउन र सिंचाइ उद्देश्यका लागि पनि सुरक्षा प्रत्याभूतिको टड्कारो आवश्यकता देखिन्छ । स्वच्छ खानेपानीको अभावमा एकातिर सालाना ५ वर्ष मुनिका बालबालिकाको अत्यासलाग्दा दरमा मृत्यु हुने गरको छ भने अर्कोतर्फ आकाशको पानीमा आधारित कृषिक्षेत्र अत्यन्त पीडित रहेको छ । तेस्रोमा, यसैसित जोडिएको पर्यावरणीय सुरक्षा पनि त्यतिकै महत्त्वपूर्ण रहेको छ । जलवायु परिवर्तनको स्थिति, बढ्दो सहरीकरण, अत्यधिक फोहोर–मैलाको उत्पादन तथा औद्योगिक छिमेकी राष्ट्रहरूले अत्यधिक मात्रामा प्रयोगमा ल्याइराखेका कोइला–ऊर्जाको कारण नदेखिने गरिकन हाम्रा स्वास्थ्य तथा कृषि उत्पादन क्षमतामा नकारात्मक प्रभाव हुने गरेको चुनौती हामीसमक्ष रहेको छ । र चौथो, महत्त्वपूर्ण सुरक्षाको क्षेत्र भनेको कडाइसाथ कानुन र नियमको अक्षरश: पालना हो । यो खास गरिकन देशको सुशासनसित सम्बन्धित क्षेत्र हो । यसको अभावमा दिनदहाडै व्यस्त सहरमा मानिसहरूको हत्या हुने गरेको छ । उल्लेखित चुनौतीलाई सम्बोधन गर्न अब कति पनि ढिलाइ गर्नुहुन्न ।

नेपालको खाद्य, पर्यावरण, शुद्ध पानी इत्यादिको सुरक्षा प्रत्याभूतिको कुरा गर्दा कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास अनि यिनको मूल नियामक सुशासन अथवा स्वच्छ राजनीति/स्वच्छ प्रशासनको चर्चा गर्न अत्यावश्यक छ ।

कृषि क्रान्ति

यति राम्रो हावापानी, प्रकाश र माटो भएको मुलुकमा कृषि क्षेत्रको अपार सम्भावना छ । आज खाने मुख र पेट बढेको बढ्यै छन् भने कृषि क्षेत्रको महत्त्व पनि बढेको बढ्यै छ । अथवा ‘कृषि मूलच जीवनम्’ जीवन कृषिमै आधारित छ । तर परम्परागत कृषिले बढेको आवश्यकता पूरा पनि हुन्न र कृषि पेसा आकर्षक पनि छैन । त्यसैले कम मिहेनत र लगानीबाट बढी आम्दानी दिने पेसामा कृषिलाई कृषि उद्योगमा रूपान्तरित गर्न नयाँ प्रविधि प्रयोग गरी आधुनिकीकरण, यान्त्रीकरण, विधिकरण र व्यवसायीकरण गर्न जरुरी छ । यसबाट यो क्षेत्र र पेसा सहज र आकर्षक बनोस्, हाम्रा किसान सुखी र समुन्नत नागरिक बनुन् । ठूलो संख्यालाई आकर्षक रोजगारी कृषिबाटै उपलब्ध गराउन सक्नु नै कृषि क्रान्तिको उद्देश्य हो । १८ लाख हेक्टर खेतीयोग्य जमिनमा १२ महिना सिंचाइ पुर्‍याउने लक्ष्य कांग्रेसको सरकारले लिनेछ । 

पर्यटन विकास र विस्तार

यति विचित्र प्रकृति र संस्कृतिले छाएको हाम्रो देशको पर्यटन विकासका अनन्य सम्भावना छन् । तर पर्यटन प्रबद्र्धनका लागि यहाँ धेरै काम गर्नुछ । हालै मात्र ११ सय फिट उचाइमा ३८५८ फिट संसारकै लामो पुलको निर्माण र त्यसले पहाडका थुम्काहरू जोड्ने सुरुवाती खबर नेपालको लागि अत्यन्त सुखद हो । हामीले हाम्रा हजारौं साना र ठूला पहाडहरूलाई उल्लेखित प्रविधिको प्रयोग गरी जोड्न सक्यौं भने लाखौं विदेशी पर्यटकको गन्तव्य स्थलको नेपाल केन्द्र हुनेछ । त्यस्तै म अस्तिताक अमेरिकाको क्यालिफोर्नियाको ओल्यान्डो भन्ने ठाउँमा एउटा पार्क हेर्न पुगेँ– जहाँ कृत्रिम रूपले निर्माण गरिएका कालीगण्डकी र्‍याफ्टिङ र सगरमाथा क्लाइम्बिङ मैले हेरेंँ ।

अनि मलाई लाग्यो, हामीकहाँ त सजीव कालीगण्डकी र सगरमाथाहरू छन् । यिनका केही थोरैमात्र प्राविधिक सुविधा थपिदिने हो भने कस्तो होला ? बुद्ध, सीता र शिवको जन्म भएको हाम्रो भूमि यति हरिया र सिरसिर शीतल हावा बग्ने हाम्रा रमणीय पहाड र झुल्कने हिमाल, सहस्र उर्लिरहेको नदीनाला, खोँच, मैदानहरूमा सुगमता थपेर यहीं घुमेर बास बस्ने पथिकहरूलाई स्वच्छ, स्वस्थ र स्वादिला अर्गानिक उपज निर्मित खाना उपलब्ध गराउनसके नेपालीहरू रोजगारीको लागि विदेशिनु पर्दैन र यसले गरिबीको अन्त्यका साथै समृद्धिको थालनी हुन्छ । तर पर्यटनका विविध आयाममा ठोस पहल जरुरी छन् । चीन र भारतका दसौं करोड नवधनाढ्य एवं मध्यमवर्गीय उपभोक्ता नेपाल भित्र्याउन सकिन्छ । अहिले औसत पर्यटक १२–१४ दिन नेपाल बस्दा पनि एक लाख पनि खर्च गर्दैनन् । नेपालको पहिचान सस्तो गन्तव्यमा मात्र सीमित हुँदा हाम्रो अवमूल्यान भएको छ । पर्यटनलाई राष्ट्रिय उद्योगका रूपमा विस्तार गर्न नयाँ प्याकेज र गन्तव्यको खोजी आवश्यक छ । सहज अन्तर्राष्ट्रिय हवाई पहुँच जरुरी छ । 

ऊर्जा शक्तिको विकास 

८३ हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता भएका हाम्रा साना–ठूला नदीनाला हाम्रो समृद्धिको मुख्य आधार हुन् । तिनको उपयोग हुनसकेको छैन । संसारभर विद्युत उत्पादन अनेक तरहले भएका छन् । तर वातावरणीय दृष्टिले जलविद्युत सबैभन्दा स्वच्छ, दिगो र पर्यावरणमैत्री उत्पादन हो । यसको विकास हामी हाम्रै पुँजीले पनि प्रशस्त गर्नसक्ने स्थितिमा छौं । यहाँ सञ्चित रकम र रेमिटेन्सबाट वर्षेनि आउने रकमलाई सहकारीमा परिणत गरेर लगानी गर्न सक्छौं । वैदेशिक लगानी आकर्षित गर्न सक्छौं । जलविद्युत र सौर्य ऊर्जासमेत ठूलो सम्भावनालाई उपयोग गरी कृषि, उद्योग र पर्यटनमा हामी धेरै प्रगति गर्न सक्छौं । यही पृष्ठभूमिमा हामी औद्योगिक क्रान्ति पनि सफल पार्न सक्छौं । विदेशिएको जनशक्तिलाई नेपालमै फर्काएर काम दिन सक्छौं र यहीं बसौं–बसौं बनाउन सक्छौं । हामीलाई पुग्नेभन्दा बढी बिजुली भारत र बंगलादेश निर्यात गर्ने आधार पनि बन्दैछन् । 

सुरक्षित बस्ती विकास

जब हिमपात हुन्छ, जब वर्षा लाग्छ र जब प्रचण्ड गर्मी सुरु हुन्छ, हिमाल, पहाड, तराई–मधेस र सहर–बजारमा बस्ने विपन्न जनताको दुर्दशा सुरु हुन्छ । कोही कठ्याङग्रिएर, कोही पुरिएर, कोशी बगर कोही डुबानमा परेर, कोही शीतलहर र ‘लू’को सिकार बनेर हैजा महामारीको सिकार बनेर अकालमा मर्ने गर्छन् । असुरक्षित र अस्वस्थकर बस्तीका कारण आजको एक्काइसौं शताब्दीमा पनि हाम्रो जीवन असुरक्षित छ । धन–सम्पत्ति सबै असुरक्षित छ । त्यसै भएर यहाँ जाडो, गर्मी, पहिरो र बाढीले जीवन नै असुरक्षित रहन नदिन व्यवस्थित सुधारको राष्ट्रिय अभियान चलाउनुपर्छ । पक्की जमिनका सबै आधुनिक सुविधा सहितका घर–बस्तीहरू निर्माण गर्नुपर्छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोतसाधन प्रयोग गरेर सम्पूर्ण जनतालाई सुरक्षित, सुखी र गुणस्तरीय जीवन राज्यले दिनुपर्छ । यो गर्न सकिन्छ । भूकम्पीय जोखिममा रहेको नेपालभर अब बन्ने प्रत्येक घर भूकम्प प्रतिरोधी बनाउन नगद प्रोत्साहन अब हामी दिनेछौं । 

स्वच्छ शासन प्रत्याभूति

विकासका लागि अहिलेको प्रमुख तर आवश्यकता भनेको सुशासनको स्वच्छ प्रशासनको प्रत्याभूति हो । अहिलेसम्म हाम्रो विकास हुन नसक्नुमा राजनीतिक अस्थिरता र प्रशासनिक क्षेत्रको राजनीतीकरण नै प्रमुख कारण हो । नैतिक विचलन पनि हाम्रो अगतिको कारण बनेर रहेको छ । प्रशासनदेखि राजनीतिसम्म नै समस्या छ । राजनीतिमा अति महत्त्वाकांक्षाले पेसाको भरमा टिकट लिने र दिने चुनाव जित्ने, पार्टी कब्जा गर्ने र सत्ताकब्जा गर्ने प्रवृत्तिको माध्यमबाट आफ्ना वर्गीय हित सुरक्षित गर्ने जसले गर्दा नियामक संस्थाहरू कमजोर पारिएका छन् । 

अनुगमन फितलो मात्रै हैन, छँदै छैन भने हुन्छ । गुणस्तर नियन्त्रणको व्यवस्था नै छैन । घुसखोरी र कमिसनतन्त्रको जालोले विकास थला पर्नेमात्र हैन, लोकतन्त्र नै घायल हुने अवस्थामा पुग्दैछ । त्यतिमात्र हैन, राष्ट्रियता कमजोर पार्ने पनि भ्रष्ट प्रवृत्ति नै हो । भ्रष्टाचारीको देशभक्ति कमजोर हुन्छ । 

त्यसैले देशको विकास गरेर समृद्धि हासिल गर्न, लोकतन्त्र सबल तुल्याउन तथा राष्ट्रियता दरो बनाउन राजनीति र प्रशासन स्वच्छ रहनुपर्छ । मैले नेपाली कांग्रेसको सभापतिका हैसियतले तेह्रौं महाधिवेशनको उद्घाटन गर्दै भनेको थिएँ, ‘दु:खको कुरो छ, अहिले राजनीतिमा विकृति घुसेर राजनीतिप्रति नै मानिसहरूमा वितृष्णा पैदा भइरहेको छ । राजनीति गर्नेहरूप्रति नै सम्मान र विश्वास हराएको छ । यो लोकतन्त्र र मुलुककै लागि अनिष्टकर कुरा हो । त्यसैले आज आवश्यकता छ, राजनीतिलाई सम्मानित तुल्याउने अभियान ।’ अझै यसलाई सशक्त रूपमा अघि बढाउन कम्मर कस्नुपर्ने बेला आइरहेको छ । राम्रो काम गरेर, आफैमा सुधार, परिष्कार ल्याएर समाज बदल्न सकिन्छ । महात्मा गान्धीले यसै भन्नुहुन्थ्यो । 

राजनीतिलाई सम्मानित क्षेत्र तुल्याउने हो भने यहाँ एउटा आन्दोलन सञ्चार माध्यमबाट, सभा–सम्मेलनबाट, राजनीतिक मञ्चहरूबाट, युवा साहित्यकारहरूका लेखनीबाट र सडक प्रदर्शनबाट समेत थालनी गर्नुपर्छ । 

भ्रष्टाचार रोक्ने र देश विकासको लागि अवरुद्ध गतिलाई अघि बढाउने हो भने सुशासनको थालनी देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट सुरु हुनुपर्छ । प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूलाई भन्न सक्नुपर्छ– मलाई राष्ट्रले यत्रो जिम्मेवारी दिएको छ, अब मैले राष्ट्र र जनतालाई दिनुमात्र बाँकी छ, ममा कुनै लालच बाँकी छैन । तपाईहरू पनि यत्रो ठूलो जिम्मेवारीमा हुनुहुन्छ, यो जनताको नासो हो । यसको इमानदारीपूर्वक सदुपयोग गर्नुहोस् । यही कुरा मन्त्रीले सचिवलाई र सचिवले मातहतकालाई गर्दै तलसम्म पुर्‍याउनुपर्छ, अनि देशमा सुशासनको जग बस्दै जान्छ । जिम्मेवारी बोध हुँदै जान्छ । 

तर यहाँ माथिबाटै धेरै कुरा बिग्रेको उदाहरण प्रशस्त छ । मानिसहरूमा यसबारे बहस हुनथालेको छ । आज चर्चा चल्न थालेको छ कि शीर्षहरू पदको लडाइँमा तीन दलका नेता तीनतिर हुन्छन्, तर ठूलो लाभको कारोबारमा भने एकैठाउँमा हुन्छन् । त्यसबेला संसदीय समिति, अख्तियार, अदालत लगायतका निकायहरू निरीह बन्छन् । म देख्दैछु, अख्तियार दलहरूसँग थरहरी । सर्वोच्च त्यस्तै र प्रहरी–प्रशासन पनि नेताकै अविवेकी दबाबमा । अनि यस्तो अवस्थामा निमुखाले न्याय कसरी पाउने ? विपन्नले आय कसरी पाउने ? मुलुकले समग्र विकास कहिले पाउने ? आर्थिक रूपले क्षेत्रीय वा बाह्य वातावरण सकारात्मक हुनपुगेको अहिलेको अवस्था र प्रकृतिले प्रचुर मात्रामा दिएको प्राकृति स्रोतयुक्त सामाजिक क्रान्ति आजको आवश्यकता हो । मौलिक नेपाली पुनर्जागृति अब नेपाली कांग्रेसले अघि बढाउँछ । २० आंै शताब्दीको अधिनायकवादी कम्युनिस्ट ‘ह्याङओभर’बाट नेपाललाई मुक्त राख्दै नयाँ शताव्दीमा सभ्य विश्व समुदायको सम्मानित सदस्यको हैसियतमा नेपाललाई पुर्‍याउने ऐतिहासिक जिम्मा अब कांग्रेसले लिनेछ ।

पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता हुन् । 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार