समाचार

साँसद राजपाको उम्मेदवारीमा सिफारिस कांग्रेसबाट

- अमन कोइराला, सर्लाही

आश्विन २६, २०७४-नेतृत्वसंग असन्तुष्ट भई राष्ट्रिय जनता पार्टीको महासचिव पद त्यागेका सांसद जंगीलाल रायलाई सर्लाहीको क्षेत्र नं.  २ बाट नेपाली कांग्रेसले प्रतिनिधि सभामा उमेदवार सिफारिस गरेको छ ।

संविधान सभा चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट चुनाव जितेका राय स्थानीय चुनावमा राजपाको टिकट वितरणपछि असन्तुष्ट बनेका थिए । स्थानीय चुनावमा उनकै गाउँ भएको तहमा उनले भनेको ब्यक्तिलाई कांग्रेसले टिकट नदिएपछि उनी एमालेसंग नजिकिएका थिए ।

राजपाका पूर्व जिल्ला संयोजक विनयकुमार कर्ण रायको घर भएको कविलासी नगरालिकाबाट एमालेको उमेदवार बनेका थिए । रायले उनलाई सघाए पनि चुनाव जित्न नसकेपछि फेरी कांग्रेसको सम्पर्कमा पुगेका हुन् ।

२ नम्बरबाट रायको एकमात्र नाम सिफारिस भएपनि आधिकारीक रुपमा सार्वजनिक गरिएको छैन । उनी अझैपनि राजपाकै सांसद भएकाले सिफारिसलाई गोप्य राखिएको हो । कांग्रेसले प्रतिनिधि र प्रदेश सभाका कुनैपनि क्षेत्रबाट सिफारिस भएका उमेदवारको नाम सार्वजनिक गरेको छैन ।

 

त्यसैगरि माओवादी केन्द्रले क्षेत्र नं. ४ बाट पूर्व सांसद शिवपुजन रायलाई एकमात्र उमेदवार सिफारिस गरेको छ । उनी २०६४ सालको चुनावमा फोरमबाट संविधान सभामा निर्वाचित भएका थिए । स्थानीय चुनाव अघि उनी माओवादी प्रवेश गरेका हुन् । माओबादी केन्द्रबाट नेपाल लोकतान्त्रिक फोरमका बरिष्ठ उपाध्यक्ष रामेश्वर रायपनि क्षेत्र नं. ३ बाट सिफारिसमा परेका छन् । उनको क्षेत्रमा भने माओवादीको अर्का नेताको पनि बलियो दावी छ । 

एमाले र माओबादी केन्द्रले क्षेत्र नं. २ मा कुनै उमेदवार सिफारिस गरेको छैन् । स्थानीय चुनावमा दुबै दलको खासै मत नआएकाले राजपाका असन्तुष्ट नेतालाई उमेदवार बनाउन कसैलाई सिफारिस नगरिएको बताइएको छ । 

कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार रायले प्रतिनिधि र प्रदेश सभाका सबै स्थानमा उमेदवार सिफारिस गरिएपनि नाम गोप्य राखिएको बताए । ‘लोकतान्त्रिक गठबन्धनका कुरा समेत भइरहेकोले अहिले नै उमेदवार सिफारिस सार्वजनिक गरिएको छैन,’  उनले भने, ‘तर, सबै ठाउँमा हामीले सिफारिस गरेर केन्द्रमा पठाइसकेका छौं ।’

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार