ब्लग

अमेरिका र नेपाल बस्ने आफन्तबीचको सम्बन्ध

- नवीन रायमाझी, काठमाडौं

आश्विन २६, २०७४-अमेरिकामा बस्नेहरुको नेपालका साथी वा आफन्तहरुले विभिन्न किसिमका सहयोग मागेर हैरान गरे भन्ने र नेपालमा बस्नेहरुले अमेरिका गएपछि फलानो घमण्डी भयो वा हामीलाई बिर्सियो भन्ने आम गुनासो रहेको पाइन्छ । पंतिकार स्वभावले मिलनसार नभएको कारणले त्यसरी गुनासो गर्ने न त साथी छन् न त नातेदार नै । त्यसैकारण मलाई व्यक्तिगत रुपमा त्यस्तो स्नेह युक्त गुनासोको अनुभव छैन । तरपनि यताका परिचितहरुको अनुभव देखेर वा सुनेर एकले अर्कोलाई छल्न पर्ने अवस्था किन आउँछ भनेर जानकारी दिने प्रयास गरेको छु । दुवै पक्षले समझदारी अपनाए आपसी सम्बन्ध सुमधुर भइरहनेछन् । 

यता बस्ने धेरैको गुनासो नेपालबाट साथी वा आफन्तहरुले विभिन्न बहाना बनाएर पैसा मागेर हैरान गर्यो भन्ने छ । पंतिकारसँग कसैले त्यस्तो माग नगरेको कारणले अनुभव त छैन । तर यो कुरालाई विश्वास गर्ने हो भने अरुले हड्डी पेलेर अर्थात् बढो मेहनत गरेर कमाएको पैसा माग्नेहरु मुर्ख हुन् । यहाँ न्यूनतम् प्रति घण्टा पारिश्रमिकमा काम गर्नेको प्रति हप्ता पाँच सय डलर भन्दा बढि हुँदैन र हुन पनि सक्दैन । भलै उसले बढाई चढाई कुरा गर्दा मेरो यति र उति कमाई छ भनेर किन नभनोस् । उच्च शिक्षित र आफ्नै ब्यापार गर्नेको यो भन्दा बढि पनि आय होला । तर जति आम्दानी भएपनि बाँड्ने धन कसैसँग हुँदैन र हुन सक्दैन । यसैले यस्तो माग नगर्दा सम्बन्ध सुमधुर भइरहने र एक आपसमा गुनासो गर्न पनि नपर्ने हुन्छ ।

त्यस्तै नेपालबाट आइफ़ोन, आइप्याड जस्ता महँगा बिधुतीय सामग्रीहरु मागेर हैरान गर्यो भन्ने अर्को गुनासो छ । कम्तिमा पनि आठ सय डलर पर्ने यस्ता सामग्रीहरु किस्तामा खरिद गर्न पाइने सुबिधा नहुने हो भने यहाँ धेरैको यस्तो सामग्री एक मुष्ट पैसा तिरेर किन्ने हैसियत छैन । आजकल नेपालको बजार मै यहाँ कै मुल्यमा यस्ता सामग्रीहरु खरिद गर्ने सुबिधा छ, अब यदि कसैले एक बचन भनेर उपहार पाइएमा आफुले पैसा तिर्नु पर्दैन भन्ने विचार गरेको हो भने त्यो बेग्लै कुरा हो । यदी कसैले पुरा मुल्य नै चुक्ता गरेर यतैबाट किनेर ल्याउने कुरा राख्यो भने पनि किन्न जाने झन्झट र रङ्ग, आकार प्रकार माग गर्नेको र यता किनेर लग्नेको रोजाइ एउटै नहुन सक्छ र उसले त्यत्रो समय दिएर खरिद गरेको बस्तु त्यो लिने मान्छेको इच्छा अनुसार नहुन सक्छ, यसैले गरेको दुख खेर जाने हुनाले यो त्यति ब्यवहारिक हुँदैन भन्ने मेरो सोचाइ छ ।

नेपालमा धेरै जसोलाई ठुलो भ्रम यहाँको नागरिकता प्राप्त गरेको व्यक्तिले एउटा चिठ्ठी लेखिदियो भने अमेरिकी दुताबासले सजिलै भिसा दिन्छ भन्ने छ । प्राय नेपालबाट एउटा चिठ्ठी मात्र पठाई देउ म जसरी भएपनि भिसा लिन्छु भनेर हैरान गरेको मैले देखेको/सुनेको छु । यो "जसरी भएपनि" भनेको कसरी हो त्यो उसैलाई थाहा हुँदैन । यताबाट त्यस्ता कागजपत्र पठाउँदा अधिकारप्राप्त कानुन ब्यवसायीसँग नोटरी गरेर पठाउन पर्ने भएको कारणले समयको साथै केहि सय डलर खर्च पनि हुन्छ, त्यो सायदै नेपालमा बस्नेले हेक्का राखेको हुन्छ । अर्कोतर्फ त्यस्तो सहयोगको माग आफ्नो प्रयासबाट केहि गर्न नसक्ने र कतै यसरी भइ हाल्छ कि भनेर सोच्ने निम्छरो व्यक्तिले गर्ने हो । यसरी भिसा दिने कुनै सम्भावना नै छैन र यस्तो कार्यमा समय र धन खर्च गर्नु बुद्धिमानी होइन । यहाँ माता, पिता, श्रीमान्, श्रीमती र एक्काइस बर्ष नकटेका छोरा र छोरीलाई मात्र नजिकको नातेदार मान्ने चलन छ त्यो भन्दा अरु सबै सम्बन्धी मात्र हुन् नातेदार होइनन् । अब कसले कसलाई र कस्तो कागजपत्र पठाउँदा सहज रुपमा भिसा प्राप्त गर्न सकिन्छ त्यो सबै अमेरिकी सरकारको आधिकारिक वेब साइट युएससीआइएस डट जीओभी खोलेर हेर्दा जानकारी पाउन सकिन्छ, यदी तपाईंलाइ चाहिएको जानकारी त्यसमा छैन भने कुनै पनि समयमा त्यस साइटको कर्मचारीसँग लाइभ च्याट गर्न सक्नुहुन्छ ।

त्यस्तै कसै कसैले यताका चिनारुहरुलाई आफ्नो छोराछोरी वा आफैलाई पढ्नको लागि राम्रो कलेजको बारेमा बुझ्न अनुरोध गर्ने चलन छ । इन्टरनेटले यस्तो व्यापकता पाएको समय र कम्प्युटरमा एक क्लिक गर्दा सबै सूचना पाइने अबस्थामा अरुलाई नाना थरी कुरा गरेर हैरानी दिनु राम्रो कुरा हो जस्तो लाग्दैन । नेपालबाट यता आएर थप अध्यन गर्ने विभिन्न अवसर, चुनौती र समस्या छन्, जुन कुरा व्यक्ति पिच्छे फरक र कुनै कुनै कुरामा मिल्न जाने पनि हुन्छ । मेरो बिचारमा जो वास्तविक रुपमै यता पढ्न चाहन्छ र उसको योग्यता पनि पुग्छ त्यस्ता व्यक्तिले यस्तो अनुरोध गर्दैनन् । यस्तो अनुरोध भनेको पढ्ने बहानामा जस्तो सुकै प्रयास गरेर पनि यता आउने मात्र हो, जो लगभग असम्भव छ. अब बुझ्ने नै हो भने पनि त्यो बुझ्ने मान्छेको योग्यता कस्तो छ त्यो महत्वपूर्ण हुन्छ । नेपलमा धेरैजसोलाई अमेरिकामा बसेको मान्छे सबैकुरामा जानकार हुन्छ भन्ने झुठो विश्वास छ । अब पेट्रोल पम्पमा १८ घण्टा घोटिने र ट्याक्सी चलाएर गुजारा गर्नुपर्नेहरुले कुन कलेज राम्रो र कुन कलेज नराम्रो भन्ने औकात नै राख्दैनन् । भलै नेपालका इष्टमित्रहरुसँग कुरा गर्दा उनीहरुले आकाश पाताल जोडेको किन नहोस् ।

अमेरिका भित्रै एक देखि तीन घण्टासम्म समय फरक र नेपाल भन्दा १० देखि १२ घण्टा फरक समय भएको ठाउँमा विचारै नगरेर टेलिफोन गर्ने र त्यो टेलिफोन उठाउन नसकेको अबस्थामा पनि सम्बन्ध धमिलो हुन् जाने सम्भावना रहन्छ । समय नमिलेर र काम को समयमा टेलिफोन प्रयोग गर्न नपाउने बाध्यताको कारणले फोन उठेन भनेर कतिको सम्बन्ध चिसो भएको मैले सुनेको छु । केहि अपबादलाई छोडेर तारन्तार फोन गरिरहने यदि नेपालबाट हो भने त्यसले कुनै न कुनै किसिमको आशा गरेको हुन्छ र यताको हो भने फुर्सदको समयमा अरु कुनै क्रियाकलाप गर्ने आर्थिक हैसियत नभएकाहरुले गर्ने सस्तो मनोरन्जन हो । यसलाई नेपालतिर पनि फलानो ले त मलाई बेला बेलामा फोन गरिरहन्छ भनेर खुशीका साथ आत्मसात गर्ने गरिछ । यसको साथै जसले स्नेहका साथ फोन गर्छ उसले समयको विचार गरेमा दुवै पक्षलाई खुशी मिल्न जान्छ ।

यि माथि उल्लेखित सबै प्रसंगहरु मेरो व्यक्तिगत अनुभव हुन्, कसैसँग मिल्न गएमा राम्रै भयो र यदी नमिलेमा पनि आलोचना गर्न पर्दैन जस्तो लाग्छ ।

@twitter#naviinr

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार