समाचार

ब्वाँसोले सखाप बनाउँदै हिमाली चौंरी

  • शेर्पाहरूको पुस्तैनी पेसा संकटमा
- कुम्भराज राई/आनन्द गौतम, ताप्लेजुङ

आश्विन २६, २०७४-फक्तालुङ गाउँपालिका–६ लेलेप घुन्साका छेतेन डन्डु शेर्पाले पुस्तौंदेखिको पेसा छाडेका छन् । चौंरी र याक पाल्दै आएका उनले गोठै रित्याएका छन् । छेतेन अहिले वैकल्पिक पेसाको खोजीमा छन् ।

फले घर भई खम्बाछेनमा बस्दै आएका च्युमे शेर्पाले पनि आफ्ना सबै चौंरी गोठ रित्याएका छन् । एक सय बढी चौंरी र याक बेचेर उनी फले झरेका हुन् । तिब्बतबाट नेपाल आएका उनले अब फलेको शरणार्थी शिविरमा बाँकी जीवन बिताउने निधो गरेका छन् । उनी तिब्बती शरणार्थी हुन् । छेतेन र च्युमे दुवैले जंगली जनावरको क्षति सहन नसकेर चौंरीपालन छाडेका हुन् । 

घुन्सादेखि कञ्चनजंघा आधार शिविरसम्म गोठ लिएर हिँड्ने उनीहरू चौंरी र याक ब्वाँसोले खाइदिएपछि आजित बनेको बताउँछन् । छेतेनको एक वर्षमा आठवटा चौंरी ब्वाँसोले मारिदियो । एउटा चौंरीलाई अहिले ८० हजारदेखि एक लाख रुपैयाँसम्म पर्छ । 

एकादुई चौंरी, याक प्रत्येक घरले पाल्ने हिमाली क्षेत्रमा घरमा समेत रित्याउन थालेका छन् । छेतेनका अनुसार वर्षमा एक पटक चराउन हिमालतिर लैजानुपर्छ । गोठमा लगेर छाडेका चौंरीलाई ब्वाँसोले कतिबेला मार्छ, पत्तै हुँदैन । बाँकी गोठ पनि धमाधम बिक्री भइरहेको घुन्साका हिमाली चुङदा बताउँछन् । 

कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत हेमराज आचार्यले गत वर्ष १५ दिन खम्बाछेन बस्दा चारवटा याक मारेर ब्वाँसोले खाएको आफैंले देखेको बताए । ४ हजार मिटरमाथिको क्षेत्रमा हिउँ चितुवाले पनि त्यत्तिकै दु:ख दिने गरेको छ । हिउँ चितुवाको क्षति कम गर्न विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा पशु बिमा कार्यक्रम लागू गरिएको छ । अहिले त्यही कोषबाट एउटा चौंरी मारे ८ हजार रुपैयाँ दिने गरिएको छ । तर त्यति राहतले केही नपुग्ने किसानको गुनासो छ । ‘एउटा चौंरी मर्दा हामीलाई एक लाखसम्म क्षति हुन्छ, पशु बिमा कार्यक्रमबाट ८ हजार पाइन्छ,’ कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका पूर्वअध्यक्षसमेत रहेका छेतेनले भने, ‘बिमा नाम मात्रैको छ ।’

सोलुखुम्बुमा पनि उस्तै 

खुम्बु–पासाङ ल्हामु गाउँपालिकाका दाछिरि शेर्पा र वोङछु शेर्पाका पाँच/पाँचवटा चौंरी गोठमै ब्वाँसोले मारिदियो । सोही वडाका पेम्बाछोती शेर्पाको पनि चारवटा चौंरी ब्वाँसोले मार्‍यो । यी तीन जना प्रतिनिधि किसान मात्र हुन् । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र मात्रै गत र चालु गरी दुई आर्थिक वर्षमा ५७ वटा चौंरी ब्वाँसोले खाएको निवेदन परेका छन् । 

स्थानीयकै गुनासोलाई आधार मान्ने हो भने गत वैशाखयता ब्वाँसो र चितुवाले सय हाराहारी चौंरी र याक मारे । निकुञ्जको तथ्यांकमा भने आव ०७३/७४ मा ३७ वटा र ०७४/७५ मा २० वटा चौंरी ब्वाँसोले मारेको उल्लेख छ । ‘ब्वाँसोले दुई वर्षअघिसम्म यसरी पशु मारेको थाहा थिएन,’ निकुञ्जका रेन्जर जयराम न्यौपानेले भने, ‘पछिल्लो पटक त थामिनसक्नु क्षति पुर्‍याएको छ ।’

ब्वाँसोले बच्चा जन्माएका बेला आहारा जोगाउन कुनै सिजनमा धेरै र कुनै सिजनमा कम चौंरी मार्ने गरेको निकुञ्जका सूचना अधिकारी मानबहादुर खडकाले बताए । उनका अनुसार निकुञ्जका कर्मचारी र सेनाको टोलीले स्थलगत अध्ययन गर्दा पनि त्यो प्रमाणित भयो । मलद्वारबाट हात हालेर मुटु–कलेजो झिकेर खाने गरेकाले ब्वाँसोले मारेको पहिचान गर्न सजिलो हुने उनले बताए ।

चौंरी र याक क्षति पुर्‍याएबापत निकुञ्जले ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९’ अनुसार राहत दिइरहेको उनको भनाइ छ । उक्त निर्देशिकाअनुसार उन्नत जातको वयस्क चौंरीगाई मारिए ३० हजारसम्म राहत पाइन्छ । अन्य पशुका लागि वस्तुको प्रकार हेरेर प्रेषित कागज र सिफारिसका आधारमा बढीमा १० हजारसम्म राहत क्षतिपूर्ति दिने गरिएको खडकाले जनाए ।

निकुञ्जले क्षति न्यूनीकरणका लागि विभिन्न प्रयाससमेत भइरहेको जनाएको छ । गोठमा राति बत्ती बालिराख्न, साइरन राख्न र बढी निगरानी गर्न उनीहरूले किसानलाई सुझाव दिएका छन् । तर चिसो ठाउँमा दिनरात निगरानी गर्न चुनौती छ । निकुञ्ज र मध्यवर्ती क्षेत्र कार्यक्रमअन्तर्गत ब्वाँसोबाट प्रभावित क्षेत्रमा विकास निर्माण, जीविकोपार्जनको कार्यक्रम लागू गरेको रेन्जर जयराम न्यौपानेले बताए । 

निकुञ्ज क्षेत्रमा हाल प्रत्यक्ष रूपमा ३ वटा ब्वाँसो देखिए पनि १० वटासम्म रहेको अनुमान गरिएको छ । क्षति बढदै गएमा विशेषज्ञहरूसँग परामर्श गरी अन्यत्र स्थानमा ब्वाँसो सार्ने प्रयाससमेत गरिने निकुञ्जले जनाएको छ । 

ब्वाँसो एक प्रकारको जंगली कुकुर हो । प्राय: ब्वाँसोको अनुहार र खुट्टामा रातो, पेट हल्का रङको हुने गर्छ । १८ देखि २० केजीसम्म तौल हुने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन, २०२९ द्वारा साइटिस अनुसूची १ मा राखिएको यो जनावरको संख्या र अवस्थाका विषयमा नेपालमा अध्ययन भएको छैन । 

एसिया, युरोप र अमेरिकामा पाइने यसको संसारभरको संख्या १ लाख रहेको अनुमान छ । ७ देखि ८ मिटर उचाइमा बस्ने यो जनावर बासस्थान विनाशजस्ता कारण संकटासन्न रहेको साइटिस सूचीमा उल्लेख छ । यसले घरपालुवा जनावरलाई पछाडिको भागबाट आक्रमण गर्ने र मारेर छाड्ने गर्छ ।

कञ्चनजंघा क्षेत्रमा लामो समय नदेखिएको यो जनावर हिउँ चितुवालाई स्याटेलाइट लगाउन पासो थाप्ने क्रममा चार वर्षअघि क्यामेरा ट्रयापको तस्बिरमा कैद भएको थियो । विश्व वन्यजन्तु कोष नेपालका तत्कालीन अनुसन्धान अधिकृत कमल थापाले हिउँ चितुवासमेत खान सक्ने र घरपालुवा जनावर सखाप पार्ने यो जन्तुबारे तत्काल अध्ययन गर्नुपर्ने औंल्याएका थिए ।

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार