अर्थ / वाणिज्य

काउली खेतीमा व्यस्त छन् बाढीपीडित

  • कृषकलाई मल र बीउकै समस्या
- जितेन्द्र साह, हरिनगरा (सुनसरी)

आश्विन २६, २०७४-दिउँसोको टन्टलापुर घाम छ । केही छाताका ओतमा र कोही छाताबिनै काउली खेतमा गोडमेल गरिरहेका छन् । हुन त यो उत्पादन टिपेर बजारसम्म पुरर्‍याउने बेला हो तर बाढीले सबै बीउ बगाएपछि किसान दोहोर्‍याएर यसकै खेतीमा जुट्नु परेको छ । 

काउलीको राजधानी भनेर चिनिने सुनसरीको हरिनगरा १, रामनगर भुटाहा बस्तीका किसानले बाढीको पीडालाई बिर्संदै गर्मीमा असिनपसिन हुँदै गोडमेल गरिरहेका छन् । २ महिनाअघि भारततिरका बाँधकै कारण आएको बाढीमा यो क्षेत्रका किसान प्रभावित भए । ‘यतिखेरसम्म काउली तयार भइसक्थ्यो,’ ३५ वर्षीया जानकीदेवी मण्डलले भनिन्, ‘बाढीले सबै बगाएपछि रोप्नै १ महिना ढिला भयो ।’ साउनमा रोपे असोजबाट फल्न सुरु हुन्छ, उत्पादनको क्रम मंसिरसम्म चल्छ ।

किसानसँगै मजदुरलाई पनि घाटा भएको छ । ‘दुई बाली लगाइ सक्नुपर्ने बेलामा एउटैमा सीमित हुँदा बेरोजगार भएर यो सिजनमा ३०/३५ हजार नोक्सानी भयो,’ कृषि मजदुरसमेत रहेकी उनले भनिन् । चियाखाजाबाहेक एक कृषि मजदुरले दैनिक ३ सय रुपैयाँ पाउँछन् । स्थानीय किसानले मंसिरसम्म काउली खेती गर्छन् । त्यसपछि करेला, काँक्रा, बोडी, अन्य तरकारी, गहुँ एवं मकै लगाउँछन् । काउलीपछि लगाइने बालीमा गहुँभन्दा अढाइ गुणा बढी मकै फल्ने हुनाले बढी किसान यतातिर आकर्षित छन् । बिहारको समस्तीपुरबाट १ बिघा खेतलाई पुग्ने गरी ल्याएको ७ हजार रुपैयाँको काउलीको बीउ बाढीमा बगेको ७० वर्षीय बच्चु मण्डलले बताए । अनुकूल परिस्थितिमा गत वर्ष उनले ६० क्विन्टल काउली उत्पादन गरे । 

दोस्रोपटक खेती गर्नुपर्दा उनले आधा खेतमा मात्र काउली लगाउन सके । पोहोर थोक बजारमा प्रतिकिलो बढीमा ३० र कम्तीमा १० रुपैयाँमा बिक्री गरे पनि यसपटक निश्चित नभएको उनले बताए । ‘परिणामको चिन्ता नगरी जोखिम मोलेर लगाएको हो,’ उनले भने । 

बाढीपीडित किसान र श्रमिकलाई तत्कालै सहयोग गर्नेतर्फ सरकारको ध्यान नगएकोमा मण्डलको असन्तुष्टि छ । ‘सरकारी टोलीहरूले क्षतिको विवरण लिन्छन्, तस्बिर खिचेर लान्छन् फर्केर आउँदैनन्,’ उनले भने, ‘बीउ र मलको रकम उपलब्ध गराएको भए ठूलो सहयोग हुन्थ्यो ।’ रोप्न तयार ५ हजार रुपैयाँबराबरको प्लास्टिकसहितको बीउ बगाएको ५५ वर्षीय किशोरी पौदारले बताए । उनी बर्सेनि १२ कठ्ठामा काउली लगाउँछन् । प्रतिकठ्ठा ५ क्विन्टलका दरले पुससम्मै काउली टिप्छन् । 

एउटा सिजनमा डेढ लाख रुपैयाँको काउली बेच्दा सबै खर्च काटेर ५०/६० हजार रुपैयाँसम्म बच्ने गरेको पौदारले सुनाए । यसपटक भदौमा रोपिएकाले मंसिर–पुससम्म मात्र फल्न थाल्छ । ‘उत्पादनमा त कमी आउँदैन तर बजारमा एकैपटक धेरै काउली पुग्दा मूल्यचाहिँ निकै तल झरेर नाफाको सम्भावना कम हुन्छ,’ उनले भने, ‘बेमौसममा किरा लागेर काउली बिग्रने हुनाले पनि लागतै उठाउन पनि धौंधौ पर्न सक्छ ।’ 

सात कठ्ठामा काउली लगाएका अर्का किसान ५५ वर्षीय बलराम पौदारले बाढीले बीउ बगाउँदा ऋण लिएर खेती गर्नु परेको सुनाए । दोहोरो खर्चसँगै समय पनि खेर गएको उनको भनाइ छ । उनले भने, ‘अहिले काउलीको सिजन छ, यतिखेर आफैंले बजारमा गएर बेचे प्रतिकिलो कम्तीमा ६० रुपैयाँ आउँथ्यो, मंसिर/पुसमा फल्दा स्वादिलो नहुने भएपछि प्रतिकेजी १०/१५ रुपैयाँ पाउन पनि कठिन हुन्छ ।’ एकातिर स्वदेशी बजारमा गुणस्तरीय मल र बीउ नपाउने, अर्कोतिर पारि (भारत) बाट ल्याउँदा नेपालतिरका प्रहरीले दु:ख दिएर कृषक दोहोरो मर्कामा परेको उनले बताए । ‘कि त सरकारले गुणस्तरीय मल र बीउ उपलब्ध गराउनुपर्‍यो, नभए भारतबाट ल्याउन दिनुपर्‍यो,’ पौदारले भने । सीमावर्ती क्षेत्रका किसान पारिकै मल र बीउको भरमा खेती गर्छन् । 

१ महिना लगाएर तयार पारेको काउलीको बीउ बाढीले बगाउँदा आर्थिक क्षति पनि उत्तिकै व्यवहोरेको ४४ वर्षीय किसान सहबुद अन्सारी बताउँछन् । १० कठ्ठामा उनले तरकारी खेती गर्दै आइरहेका छन् । मलखाद एवं अन्य खर्चबाहेक प्रतिकठ्ठामा बीउ र ज्यालासहित कम्तीमा १५ सय रुपैयाँ खर्च हुन्छ ।

‘भारतीय बाँधले बर्बाद भयौं,’ अन्सारीले भने । ४ कठ्ठामा काउली लगाइरहेका २० वर्षीय किसान कृष्ण पौदारले सरकारसँग थोरै भए पनि आर्थिक सहयोगको अपेक्षा गरेका छन् । ‘बीउ र मलको रकम मात्रै सरकारले उपलब्ध गराए ठूलो मद्दत हुन्थ्यो,’ उनले भने । 

सुनसरीको हरिनगरा गाउँपालिकाको रामनगर भुटाहा बस्तीमा ९५ प्रतिशत किसानले काउली खेती गर्छन् । झन्डै सय किसानले करिब ३० बिघामा काउली खेती गर्छन् । प्रतिबिघा सय क्विन्टल काउली उत्पादन हुन्छ । देशभरका बजारमा माग भएकाले भदौमा धान काटेपछि पनि धेरैले काउली नै लगाउँछन् ।

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार