देश

राजस्व संकलन प्रभावित

- कान्तिपुर संवाददाता , विराटनगर

आश्विन २६, २०७४-दुई महिनादेखि अवरुद्ध जोगवनी नाकाको आयात–निर्यात सहज हुन सकेको छैन । साउन अन्तिम साताको बाढीले जोगबनीदेखि पाँच किलोमिटर दक्षिण भारतको बथनाहा मिरगन्जस्थित प्रमाणा पुल क्षतिग्रस्त भएको थियो । 

पुल मर्मत भए पनि भारतीय पक्षले सञ्चालनमा नल्याउँदा आयात–निर्यात सहज बन्न नसकेको हो । जोगवनी नाकाबाट हुँदै आएको आयात–निर्यात करिब डेढ सय किलोमिटर टाढाको भन्टाबारी नाकाबाट अस्थायी रूपमा हुँदै आएको छ । यो नाकाबाट व्यवसायीले आयात–निर्यात गर्दा प्रतिट्रक र कन्टेनर ५० हजार रुपैयाँ अतिरिक्त ढुवानी भाडा व्यहोर्नुपर्छ । पुल मर्मत भए पनि मालवाहक ट्रक र कन्टेनर आउजाउ गर्न नदिँदा जोगवनी नाकाबाट आयात–निर्यात सुचारु हुन नसकेको विराटनगर भन्सारका अधिकृत शम्भु सापकोटाले बताए । 

महँगो ढुवानी भाडाका कारण व्यवसायीहरूले ट्रेड गुड्स आयात नगर्दा विराटनगर भन्सारको राजस्व असुली पनि प्रभावित भएको छ । कोसी ब्यारेज भन्टाबारी नाकाबाट अहिले औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको मात्र आयात नियमित छ । पुलमा क्षति पुग्नुअघि विराटनगर भन्सारले दैनिक सरदर ८ करोड राजस्व असुली गर्दै आएको थियो । अधिकृत सापकोटाले भने, ‘त्यसयता दैनिक सरदर ५ करोड मात्र असुली हँुदै आएको छ ।’ भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरका अनुसार क्षतिग्रस्त पुल मर्मत भइसकेपछि भारतीय पक्षले यताबाट गएका खाली ट्रकलाई मात्र पुल भएर गुड्न दिएको छ । 

 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार