देश

नाम टुंग्याउन साना दल अगाडि

- कान्तिपुर संवाददाता , महोत्तरी

आश्विन २६, २०७४-प्रतिनिधि र प्रदेश सभाका लागि अधिकांश दलले उम्मेदवार सिफारिस गरिसकेका छन् । तीन ठूला दललाई उछिन्दै राजपा, संघीय समाजवादी फोरमलगायतले सुरुमै नाम केन्द्रमा पठाएका थिए । 

कांग्रेसले मंगलबार राति मात्र नाम सिफारिस गर्न सक्यो । पार्टीले प्रतिनिधिसभाका लागि क्षेत्र १ बाट पूर्वसांसद वसन्त गुरुङ, केन्द्रीय सदस्य कल्याण गुरुङ, सांसद सीताराम भण्डारी, समाजसेवी चिरञ्जीवी हमाललाई सिफारिस गरेको छ । गुरुङद्वय बाबुछोरा हुन् । कांग्रेसले क्षेत्र २ बाट सांसद किरण यादवसमेत ३ जना, ३ बाट पनि तीनै जनाको नाम सिफारिस गरेको छ भने ४ बाट पार्टी जिल्ला सभापति महेन्द्रकुमार रायको नाममा सर्वसम्मति जुटाएको छ । 

एमाले जिल्ला सचिव भानुभक्त पोखरेलका अनुसार पार्टीले क्षेत्र १ बाट ३ जना, २ बाट एक जना, ३ बाट सांसद रामदयाल मण्डलसहित ३ जना र ४ बाट पनि अर्का सांसद रामदयाल मण्डलसहित २ जनाको नामा सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि एमालेले समानुपातिकतर्फ २३ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभाका लागि प्रत्यक्षतर्फ २३ र समानुपातितर्फ ४१ जनाको नाम पठाइएका पोखरेलले जानकारी दिए । 

माओवादीले भने अहिलेसम्म नाम टुंगो लगाइसकेको छैन । जिल्ला संयोजक राजु खड्काले नेकपा संयुक्तसँग एकता हुने भए पछि नाम पठाउन केही ढिलाइ हुने बताए । ‘एकतापछि नयाँ पार्टीका साथीको नामसमेत सिफारिस गर्नुपर्ने भएकाले निर्धारित समयमा टुंगो लगाउन नसकिएको हो,’ उनले भने, ‘बिहीबारसम्म सिफारिस टुंगो लगाउने प्रयासमा छौं ।’ 

राजपाले भने सबै क्षेत्रबाट नाम सिफारिस गरिएको जनाएको छ । केन्द्रीय सदस्य तथा जलेश्वर नपाका मेयर रामशंकर मिश्रले आफूहरू राजधानीमा रहेकाले कुन क्षेत्रबाट कति जना र को–को सिफारिस गरिए भन्ने तत्काल भन्न नसकिने बताए । संघीय समाजवादी फोरमले पनि उम्मेदवारको नाम केन्द्र पठाइसकेको जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी दिए । 

 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार