विचार/विश्‍लेषण

राजनीति : समाजसेवा कि पेसा ?

- मधु राई

आश्विन २६, २०७४-लामो समय रेडियो पत्रकारिता र केही वर्ष परोपकारी पत्रकारितामा आफ्नो उमेर र ऊर्जा खर्चेका बीबीसी नेपाली सेवाका पूर्वप्रमुख रविन्द्र मिश्रको पछिल्लो परिचय राजनीतिकर्मी बनेको छ । आफैले साझा पार्टी भन्ने नयाँ दल खोलेका मिश्र नेपाली राजनीतिक वृत्तमा नयाँ अनुहार हुन् । उनले हेल्प नेपाल परोपकारी संस्था स्थापना गरेर समाज सेवासमेत गरिरहेका छन् ।

विश्व राजनीति केलाउने हो भने मिश्र अलग क्षेत्रबाट राजनीतिमा छिर्ने एक्ला भने होइन । वकालतसँगै समुदाय परिचालकको भूमिका निर्वाह गरेका बाराक ओबामा दुई कार्यकाल अमेरिकाको राष्ट्रपति भए । भारतीय राजनीतिमा उदाएका अरविन्द केजरीवाल सिभिल इन्जिनियर थिए । जागिरकै दौरान उनले भारतीय जनतालाई सूचनाको हक दिलाउन अहोरात्र खटेर म्यागेसेसे पुरस्कार पाए । त्यसपछि समाजसेवी अन्ना हजारेको आन्दोलनमा खटेका केजरीवालले पछि ‘आम आदमी पार्टी’ खोले र दिल्लीको मुख्यमन्त्री बने ।

यसरी विश्व राजनीतिले पनि समाजसेवा र राजनीति एकअर्काका परिपूरक हुन् भन्ने कुरा प्रमाणित हुन्छ । यस्तै समाजसेवीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका बहुसंख्यक व्यक्ति सफल राजनेता भएको उदाहरण खोज्न टाढा जानु पर्दैन । राजनीतिमा प्रवेश गर्नुअघि समाजसेवीको पहिचान बनाएकाहरूले पक्कै पनि राजनीतिबाट देशको सेवा अझ राम्ररी गर्न सक्छु भन्ने बुझेको हुनुपर्छ । हामीकहाँ यो यो बुझाइ र काम गराइ अलि आलोकाँचो छ । 

विडम्बना भन्नुपर्छ, हामीकहाँ राजनीतिमा प्रवेश गर्नुअघि समाजसेवा गरेका वा समाजसेवी पृष्ठभूमि भएका राजनीतिकर्मी भेटिन प्राय: मुस्किल पर्छ । समाजको सेवा गरेर भन्दा पनि राजनीतिक घटनाक्रमले जन्माएका र अनेकन तिकडम गरी राजनीतिकर्मी बनेकाहरूले राजनीतिलाई समाजसेवा होइन, पेसाका रूपमा लिने प्रवृत्ति बढ्दैछ । त्यही कारण सांसदहरूले पद छाडे पनि आजीवन सेवासुविधा पाउनेगरी कानुन बनाउन खोजे, तर सर्वत्रबाट आलोचित भएपछि पछाडि हटे । सांसदहरूको यस्तो भूमिकाले राजनीति आलोचित बनेको छ । देश र जनताको सेवा गरेर भन्दा पनि अनेक तिकडमबाजी गरेर राजनीतिमा प्रवेश गरेका राजनीतिकर्मीहरूको पछिल्लो सुविधाभोगी प्रवृत्तिलाई निरुत्साहित गर्न सरकार र नागरिक समाज असफल हुने हो कि भन्ने चिन्ता आम नेपालीमा बढ्दै गएको छ ।

सरकारी ढुकुटीमा बक्र आँखा गाँड्ने प्रवृत्ति राजनीतिकर्मीमा मौलाएकोले व्यवसायी लगायत हुनेखानेहरू कोही आफै उम्मेदवार बन्ने कोही निर्वाचनताका राजनीतिमा प्रत्यक्ष वा परोक्ष रूपमा अर्थको लगानी रहेका छन् भने पछिल्लो समय जुनसुकै पृष्ठभूमि भएका यस्ता हुनेखानेले सहजै टिकट पाउने गरेको भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा देखियो । वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा प्राय: सबै दलले करोडपतिलाई टिकट दिएका थिए । जुनसुकै पृष्ठभूमि भएका करोडपतिलाई राजनीतिमा प्रवेश गराउने नेता–कार्यकर्ताले नेपाली राजनीतिलाई उद्योग, व्यवसाय सम्झेको देखिन्छ । नेपाली राजनीतिमा करोडपतिको हालिमुहाली बढ्दै जाने हो भने नेपाली राजनीतिले देशलाई अधोगतितिर धकेल्ने उद्योग व्यवसायीको जमात तयार गर्छ ।

नेपाली राजनीतिमा हुनेखानेहरूको हालिमुहाली बढिरहेकाले निर्वाचन महङ्गिदै गएको छ । अरू बेला समाजको हितबारे नसोच्ने तर निर्वाचनताका विकासको आश्वासन देखाएर जनताको अमूल्य मत हत्याउन अनेकन तिकडम गर्ने राजनीतिकर्मीबाट नेपाल र नेपाली पटक–पटक ठगिँंदै आएका छन् । त्यसो त राजनीतिलाई समाजसेवा हैन, पेसा सम्झनेहरूको मनोबल बढाउनमा पार्टीका अग्रज नेता र कार्यकर्ताको मुख्य भूमिका रहँदै आएको छ । फेरि यस्तो प्रवृत्ति विरुद्ध मतदाता पनि जागरुक हुनसकेका छैनन् ।

निर्वाचन सम्बन्धी आचारसंहिता बनाउने तर उल्लंघन गर्ने राजनीतिकर्मीलाई कारबाही नगर्ने निर्वाचन आयोगको पछिल्लो रमिते भूमिकाले पनि राजनीतिलाई पेसा सम्झनेहरूको मनोबल बढ्दै गएको देखिन्छ । अन्यत्र निर्वाचनमा कस्तो पृष्ठभूमि भएका उम्मेदवार उठ्दैछ भन्ने सामान्य तर महत्त्वपूर्ण कुरा मतदाताले थाहा पाउँछन् । विडम्बना भन्नुपर्छ, हामीकहाँ सातादिन अघि पनि कस्तो पृष्ठभूमि भएको व्यक्ति उठ्दैछ भन्ने कुरा मतदातालाई थाहा हुँदैन । 

कम्तीमा समाजको हितका लागि काम गर्ने व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीको गरिमामात्र बढ्दैन, राजनीतिलाई समाजसेवा सम्झनेहरूको मनोबल बढ्छ भन्ने आधारभूत कुरा पार्टीका नेता–कार्यकर्ताले बिर्संदै गएको देखिन्छ । यस्तै राजनीतिलाई पेसा हैन, समाजसेवा ठान्ने राजनीतिकर्मीहरूले समाज र देशलाई भ्रष्टाचारमुक्त बनाई समृद्धिको बाटोमा हिँडाउँछन् भन्ने कुरा अग्रज नेता–कार्यकर्ताले बुझ्न ढिला भइसकेको छ ।

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार