विचार/विश्‍लेषण

एनआरएनएको साझा मुद्दा

- डा. केशव पौडेल
मातृभूमिको राजनीतिक, सामाजिक स्वरूप जस्तो छ अहिले, त्यस्तै छ गैरआवासीय नेपाली संसारको तस्बिर ।

आश्विन २६, २०७४-करिब डेढ दशकअघि स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अहिले आठौं विश्व सम्मेलनको पूर्वसन्ध्यामा छ । सयौं गैरआवासीय हामी नेपालीहरू अहिले काठमाडौंमा एकत्रित भएका छौं । गैरआवासीय नेपालीको हकमा अहिले हामी सबैको एउटै ध्याउन्न छ, कसरी यो संगठनलाई सबल, साझा एवं प्रभावकारी बनाउने भन्ने ।

प्राय:जसो एकथरी आलोचकको आरोप छ, ‘एनआरएनहरू चर्का कुरामात्र गर्छन्, काम शून्य बराबर छ ।’ यद्यपि यो आलोचना पूर्ण सत्य भने छैन । योजनाहरू ठूला बनेकै हुन्, खाकाहरू कोरिएकै छन् । यसबारे कसैको सायदै विमति नहोला । तर केही काम पनि भइरहेका छन् । अन्तर्राष्ट्रिय नेतृत्व लागिपरेकै छ । अमेरिकाको नेतृत्वको हैसियतले हामी पनि सक्रिय नै छौं । अन्य देशका साथीहरू पनि दत्तचित्त हुनुहन्छ । आम अपेक्षा अनुरुप काम नभएकाले यस्ता गुनासाहरू सुनिनु स्वाभाविक हो । तर अहिले मुख्य चुनौती हो, गैरआवासीयहरू बीचको एकता ।

स्थापना र विस्तारको हिसाबले मात्र संगठन विश्वव्यापी भयो भन्ने मान्यताभन्दा साझा संगठनको अवधारणामाथि केही सोच्नु र गर्नुपर्ने बेला भएको छ । संगठन कसरी प्रभावी बन्छ ? कसरी सबै अट्ने थलो हुनसक्छ, एनआरएनए ? यी प्रश्नका उत्तर खोज्ने बेला आएको छ । तल्लोसम्म नपुर्‍याएसम्म केही व्यक्ति विशेष वा नेतृत्वको अथक प्रयासले मात्र यो संस्था प्रभावकारी बन्न सक्दैन भन्ने पक्ष अब अकाट्य छ । बृहत सहभागिता कि सीमित वर्गको पहुँच ? रोज्नुपर्ने भएको छ । 

मूलत: साझा संगठनको सवाल, चरित्र एवं भूमिकाकै हकमा, एनआरएनए सबैभन्दा बढ्ता चुकेको छ । मातृभूमिको राजनीतिक, सामाजिक स्वरूप जस्तो छ अहिले, त्यस्तै छ गैरआवासीय नेपाली संसारको तस्बीर । बेलायतदेखि बेल्जियमसम्म, मेरिल्यान्डदेखि मेलबर्नसम्म वा दोहादेखि सिउलसम्म, गैरआवासीय नेपाली समाज एवं समुदाय, राजनीतिक, सामाजिक, क्षेत्रीय, जातीय एवं आर्थिक रूपमा विभाजित छन् । जुन एनआरएनए अभियानको सबैभन्दा घातक परिदृश्य हो । यो विषयलाई उचित सम्बोधन गर्ने बेला आएको छ । 

स्थापनाको डेढ दशक पुगिसकेको अवस्थामा यो ग्लोबल संगठनप्रतिको लगाव बढ्दो छ । यद्यपि यो लगाव एवं पहुँच, विदेशिएको संख्याको हिसाबमा ज्यादै न्यून छ । यो विचारणीय विषय हो । रोजगार, अध्ययन लगायत विभिन्न उद्देश्यका लागि लाखौं नेपाली विदेशिएको यो वर्तमान परिदृश्यमा एनआरएन सबैको साझा संस्था भइनसकेको स्थितिलाई हामीले बोध गर्नैपर्छ । जबसम्म सबै तहतप्काका नेपालीहरू, विभिन्न राजनीतिक, वैचारिक विविधतालाई यो संगठनमा गोलबद्व पार्न सकिँदैन, तबसम्म हामी हाम्रो अभियानमा अधुरो र अपुरो रहने निश्चित छ ।

मूलत: यो लेख, एनआरएनएलाई कसरी सबैको साझा प्लेटफर्म बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित छ । विगतदेखि नै एनआरएनएप्रति धेरैको जनगुनासो छ । यो धनीहरूको संस्था बन्यो । अहिले यो स्वर मत्थर हुनुको साटो अझै गुञ्जिरहेको मेरो अनुभव छ । यसले मूलत: संगठनमाथि दुई खाले नकारात्मक प्रभाव पार्ने जोखिम छ । पहिलो, यसले एनआरएनएप्रतिको आम नेपालीको भावनालाई खुम्च्याउने देखिन्छ । अर्काे पक्ष, संगठनमा बौद्विक वर्गको उपस्थिति पातलो हुन सक्नेछ । यी दुवै स्थितिको सुरुवाती लक्षण संगठनमा देखिएको सबैले अनुभूत गरेकै हुनुपर्छ । समयमै नसोचिए, सांगठनिक संरचनालाई क्षति पुर्‍याउनेछ । 

प्रश्न उठ्छ, कसरी गैरआवासीय संघलाई लाखौं नेपाली श्रमिकहरूको प्रतिनिधित्व गर्ने संस्थाको रूपमा रूपान्तरण गर्ने ? स्वदेशमा लगानी भित्र्याउने विषयलाई मुख्य एजेन्डा बनाएको एनआरएनएले अब गैरआवासीय नेपालीहरूलाई समेत लक्षित गरेर अगाडि बढ्नुपर्ने देखिन्छ । मातृभूमिमा लगानी भित्र्याउने, दैवी विपत्तिको समयमा सहयोग एवं साथका लागि तत्पर हुने त यो संगठनको प्राथमिक विषय नै भइहाल्यो ।

तर परिवर्तित समय अनुकूल आम गैरआवासीय नेपालीहरू पनि यो संगठनबाट लाभान्वित हुुनुपर्ने अवस्था सिर्जना गरिनुपर्छ । विविध खाले समस्याको भुमरीमा गैरआवासीय नेपालीहरू पर्दै आएको यथार्थ सबैमाझ छर्लंग छ । मध्यपूर्व लगायत विभिन्न देशमा रोजगारको सिलसिलामा गएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमाथि आइपर्ने आपत्–विपत्को समयमा सारथी बन्नसके यो संस्था सबैको साझा बन्नेछ । आपत्कालीन कोषको निर्माण, नयाँ नेपाली पुस्ताका लागि भाषा, संस्कृति संरक्षण लक्षित बृहत कार्यक्रम, आप्रवासी कानुन, स्वास्थ्यसेवा, अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीको हकहित सम्बन्धी कार्यक्रम, अहिलेको एनआरएनएका आवश्यकता हुन्, जुन एजेन्डा बन्नुपर्छ । यी महत्त्वाकांक्षी कार्यक्रमको कार्यान्वयन आफैमा चुनौतीपूर्ण छ । यद्यपि बृहत सहभागिताको सूत्रले यसलाई सम्भव पार्नेछ । सबै तहतप्काको प्रत्यक्ष, अप्रत्यक्ष सहभागिताले मात्र संगठनलाई चलायमान बनाउँछ भन्ने पक्ष स्मरणीय छ । 

एनआरएनएलाई साझा एवं सशक्त संगठन बनाउने अभियानमा धेरै हदसम्म प्रवासी समाजको अहम् भूमिका छ । तर विभाजित मानसिकता, व्यक्तिगत इगो, आर्थिक स्वतन्त्रताले निम्त्याएको व्यक्तिवादी सोचको प्रधानताले यो अभियानलाई असर गरिरहेको बुझ्नु जरुरी छ । साझा अवधारणा एवं कार्यक्रमले मात्र विविध आप्रवासी वर्गलाई एकबद्ध गर्नेछ । यो संगठनको गैरराजनीतिक चरित्रलाई आत्मसाथ गर्दै नेपालको राजनीतिक प्रणाली एवं दलहरूसँंगको उचित समन्वयले एनआरएनए सशक्त, साझा र प्रभावी संगठन बन्न सहयोग मिल्नेछ । 

पौडेल, गैरआवासीय नेपाली संघ, अमेरिकाका अध्यक्ष हुन् । 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार