कुराकानी

राणाकालमा 'मृत स्थिरता’ थियो : जगदीश शमशेर

- देवेन्द्र भट्टराई, काठमाडौं

आश्विन २४, २०७४-राणा शासकका खलक बबर शमशेरका नाती र मृगेन्द्र शमशेरका छोरो हुनाले जगदीश शमशेर राणालाई पनि धेरैले ‘राणाका बंशज’ का रुपमा चिन्छन् । तर जन्मजात राणा पद्धतीका बिरोधी जगदीशको युवाकालमा राजनीतिज्ञ वीपी कोइराला, कवि केदारमान व्यथितसहितको संगतले ‘बिद्रोह’मा तेल थप्ने काम गर्‍यो । २०१७ सालमा राजा महेन्द्रले चालेको पञ्चायती कदमको खुलेर बिरोध गर्ने हुँदा जगदीशले केही समय जेल मात्रै बसेनन्, सत्ताका नजरमा अ.त.(अराष्ट्रिय तत्व)को रुपमा परिचयसमेत बनाए । त्यसपछि जिउज्यानको सुरक्षा गर्न हिमान्चल प्रदेशको सिमलामा घरघडेरी किनेर बसोबास गर्न थालेका जगदीश सृजनशिलताका दृष्टिमा अब्बल छन् । ‘नरसिंह अवतार’ काव्यका लागि २०३७ सालमा मदन पुरस्कार पाएका जगदीशका ‘नाचगानको राजधानी भक्तपुर’, ‘सेतो ख्याक’, ‘उत्तरआधुनिकता र बाहुल्य विष्फोट’ लगायतका कृति प्रकाशित छन् । 

यी साहित्यसाधक जगदीश शमशेर राणाको ८८ बर्षको उमेरमा सोमबार भारतको चण्डीगढमा निधन भयो । राणासँग सिमलास्थित उनकै निवासमा कान्तिपुरका देवेन्द्र भट्टराईले २०७२ को दशैंमा अन्तरंग कुराकानी गरेका थिए ।  

 

तपाईले आफ्नो पछिल्लो कृति ‘उत्तरआधुनिकतावाद र बाहुल्य विस्फोट’को भूमिकामा लेख्नुभएको छ—‘हिमालमा बस्नेले नदेखेको हिमाल टाढाबाट हेर्नेले छर्लङ्गै देख्छ, झन छर्लङ्गै ।’ तपाईले यहाँ बसेर नेपाली समाजको बदलिंदो चित्रलाई कसरी देख्नुभएको छ ?

यो सत्य हो कि कुनै चिजको नजिकै रहेपछि त्यसका बारेमा धेरै ‘सव्जेक्टिभ’ होइन्छ, टाढा रहेमा ‘अव्जेक्टिभ’ । मैंले यहाँ बसेर नेपाल–नेपालीका जेजति बिषय पर्गेल्छु, शायद उतै बसेको भए सम्भव थिएन कि ? नेपालको अहिलेको समस्या भनेको नयाँ छिमलको बिचार र पद्धतीको थालनी हो । कोही भैंसी चरनबाट उठेर राष्ट्रपति भएका छन्, कोही दरवानी गर्नेका छोरा गृहमन्त्री बनेका छन् । प्रशासनिक संयन्त्र नभएको बेलामा यो पुस्ता आएको छ, यसकारण केही अलमल देखिएको हो । तर हामी अहिले आएर एउटा पद्धती र संयन्त्रयुक्त राष्ट्र बन्ने क्रममा छौं । अब कम्तिमा १० बर्ष यस्तै अन्यौलको स्थिती रहनेछ । अहिले हामी बाटो खोज्दैछौं, बाटो पहिल्याउन समय लाग्छ नै । एउटा खुशी र आशलाग्दो कुरा के हो भने नेपालमा एकजना पनि उग्रवादी छैन, असहिष्णु छैन । आपसको झगडा स्वभाविक हो, तर अतिवाद कतै छैन । भारतमा अंग्रेजकालिन पद्धती बसिसकेको थियो, संयन्त्र स्थापित थियो । यति हुँदा पनि यहाँ अन्योल र असमन्जस व्याप्त छ । हामीले किन निराश हुने ?

 

यसरी ठूलो अनुपातमा सकारात्मक बन्ने स्थिती छ र ? समाज र राजनीतिमा स्थिरता कहिले आउला भन्ने लाग्छ ?

यो एकदम अमुर्त र अयथार्थवादी दृष्टि हो, स्थिरता कहाँ थियो ? कहिले थियो ? कतिपयले राणाकालमा स्थिरता थियो भन्ने गरेका छन् । तर त्यो ‘मृत स्थिरता’ (मुर्दा शान्ती) थियो, पंचायतकालमा भित्रभित्रै हुने बिभत्स काण्ड र गोलमालबारे तपाईलाई पनि थाहा छँदैछ । आज पनि स्थिती स्थिर बनिसकेको छैन । समाजमा रहेका धेरै खालका ‘आइडोलोजी’ अहिले पग्लिएको अवस्था छ । राजनीति वा अन्यत्र पहिले रहेको गुटगत अस्तित्व अहिले त्यति दरिलो छैन, बहुनायकको स्थिती छ आज । समावेशी समाजको कुरा उठ्दैछ ।

 

सिमलामा बसेर अहिले अध्ययन–मनन के बिषयमा केन्द्रित गर्नुभएको छ ?

अहिले भने काठमाडौंमा स्वायत्त र सुविधासम्पन्न स्कुल अफ म्युजिक (संगीत महाबिद्यालय जस्तै) संचालन गर्ने अभियानमा केन्द्रित छु । कालान्तरमा यो अभियान संगीत विश्वबिद्यालयका रुपमा स्थापित हुन सक्छ । काठमाडौं युनिभर्सिटीबाट बिगत १८ बर्षयता संचालनमा रहेको ‘संगीत बिभाग’ लाई अझ संस्थागत गर्ने ध्याउन्नमा कार्ययोजना तय गर्ने, डोनर खोज्ने, बहस चलाउने काममा म व्यस्त छु । 

संगीत साधनाका परम्परामा पनि ‘भारतबर्ष’ भनेर नेपाली प्रयासहरुलाई ओझेल पारिने गरेको छ नि ?

केही शाश्त्रीय संगीत पद्धती र परम्परामा यसरी जोडेर भनिएको होला । तर हाम्रो ध्याउन्न भने ५ दर्जनभन्दा बढी जातजाति रहेको मुलुकका आ–आफ्नै जातीय चिनारी र संस्कारका चिनारीमा पनि आफ्नै संगीत जोडिएको छ । धिमे बाजा वा च्याब्रुङको विविधता हामीसँग मात्रै छ, बरु यसले सही चिनारी नपाएको यथार्थ पनि हामीसँगै छ । अर्कातिर, हामीले आफ्नो पहिचानलाई खोज्न नचाहेर वा नसकेर यस्तो स्थिती आएको हो । तपाईलाई भनौं—भारतको राष्ट्रिय धुन ‘जनगनमन’ र ‘वन्दे मातरम’मा ट्युन भर्ने नेपाली हुन्— क्याप्टेन राम सिंह । यो सोधखोजबारे पहिलोपटक एक भारतीय बिद्यार्थीले पीएचडी पेपर लेखेका छन् ।

आज यताको भनिने ‘गीत गोविन्द’ हरेक बसन्ती पंचमीका बेला नेपालका राष्ट्रपति–प्रधानमन्त्रीबाट ‘अफिसियल्ली’ श्रवण हुने गरेको छ । इतिहास हेर्ने हो भने सम्वत १९८० तिर अल इन्डिया म्युजिक कन्फरेन्स बीरगंजमा सम्पन्न भएको थियो । यसरी एकअर्काको ‘लिंक’ होला तर आफ्नोपना पहिल्याउन म्युजिक अफ स्कुल संचालन गर्न लागिएको हो ।

तपाई त नेपाल–भारत सम्बन्ध, आवागमन र तीतोमीठो सम्बन्धमा आधा शताव्दीदेखिका साक्षी समेत हुनुहुन्छ । नेपालीको संघर्षशील जीवन र यायावर शैलीका बारे के धारणा राख्नुहुन्छ ? 

हेर्नुस्—बेलायतका हकमा कुनैबेला भनिन्थ्यो, ब्रिटिश साम्राज्यमा कहिल्यै घाम अस्ताउदैन । तर म भने नेपालीका हकमा भन्छु—हाम्रो थाप्लाबाट घाम कहिल्यै ओझेल नपरोस् । हाम्रो मौलिक चिनारी र पृथक बिशेषताका आधारमा मैंले यो प्रतिकात्मक ‘घाम’ राजेको हुँ । आज नेपाली जे जहाँ पुगेको छ, सखरखण्ड (गुलियो आलु) को जरा फैलिएझैं बनेको छ । कसैको बाली नबिगारी, कतै बाँझो नपारी समुहमा जरा गाड्ने काम भैरहेको छ । मलाई नरहरी (आचार्य) र शारदा (शर्मा)ले पोहोरको भेटमा सुनाएका थिए—अष्ट्रेलिया जस्तो ठाउँमा पुगेर आफ्नै बलबुतामा नेपालीले नेपालीभाषी रेडियो, पत्रपत्रिका चलाएका रहेछन् । आज ताइवान र कुवेतबाट नेपालीभाषी पत्रिका निस्कन्छ अरे । जापानको क्योटोमा पाँच तारे होटलमा सेफ र कुक दुबै नेपाली रहेछन् । यसो भन्दैमा नेपालीले तत्कालै बाराक ओबामा बन्नुपर्छ भनेको होइन, तर बुझ्नु पर्‍यो कि ओबामा बन्न कतिवटा पुस्ता र चरणमा संघर्ष जारी रह्यो ? यो पनि बुझ्नु जरुरी छ ।

 

आज खाडी मुलुकदेखि अमेरिका, युरोपमा संघर्षका नाममा हैरानी बेहोर्ने नेपाली छन् । के यो बिस्तारलाई पनि सखरखण्ड झैं स्वादिलो फैलावट मान्ने ?

  

मैंले एउटा श्लोकमा समेटेको छु— ‘छौं आज हामी जोजो वरपर छरिंदा देशका दाजुभाइ, एकै कर्तव्य हाम्रो विपुल चहकिलो पार्नु नेपाललाई ।’ हो, नेपाली तरुन–तन्नेरी आज देशबाट बाहिर गैरहेकोमा चिन्ता गर्नेहरु धेरै छन् । तर म त भन्छु— जति सक्छौ बाहिर जाउ । यो संसार तिम्रो हो, विश्वमा जहाँ पुगेपनि तिमी नेपाली भएर पुग्नेछौं । समस्या के भने हामी पढेलेखेका र हामी मात्रै जानकार भन्ने ढिपीयुक्त बानीले नेपालीलाई पिरोलेको छ । विद्धता राख्नु र विद्धान हुनु दुइ फरक कुरा हो । कमन–सेन्स राख्ने र समयानुकुल दक्षता बढाउन सक्ने खुवी नेपालीमा छ, अरु वर्ग–समुदायभन्दा नेपाली यसकारण सबैतिर मिलीजुली बस्न सकेका हुन् । बुद्धि र बिद्याको ठेकेदार बन्नु हाम्रो सधैको कमजोरी हो । बाहिरी संसारमा पुगेर एउटा ढोके, चौकिदार, भान्से नेपालीले गरेको तरक्की देख्न र बुझ्न सकेका छैनौं ।  आज भारतले १ हजार बैज्ञानिक नासामा पठाएको छ, सिप/प्रविधि सिक्न अन्तरिक्ष ताकिरहेको छ । हामी भने बाहिर नजाउ, दुनिया नदेख भन्ने ? अर्कातिर, यहाँ (भारतमा) वावर्ची बनेर आएको पुस्ताका छोराछोरी कम्प्युटर इन्जिनियर बनेका छन्, यो बिपुल क्रान्ती नभए के हो ? 

आम नेपाली, सर्वसाधारणलाई भारतले गर्ने व्यवहार निको छैन भन्ने धेरै टिप्पणी आउने गरेको छ नि ?

एउटा तहमा यो कुरा सही हुन सक्छ । भारतबाट अंग्रेज शासन उठेर गएपछि पनि भारतको विदेश नीति उही छ, उही अंग्रेजकालिन जुत्तामा अहिले साउथ ब्लकका अधिकारीको खुट्टा अड्किएको छ । बिगतमा प्रधानमन्त्री आइके गुजरालले विदेश नीतिमा परिवर्तन ल्याउन खोजेका थिए, तर त्यो पनि सम्भव भएन । साउथ ब्लकको ‘लवी’ ले विदेश नीतिमा हेरफेर हुनै दिन्नन्, उपनिवेशवादी सोचाइ यथावत छँदैछ । 

भारतमा स्पष्टसँग तीन धार रहीआएका छन्— भारतीय जनता, राजनीतिक दल र विदेश मन्त्रालय (साउथ ब्लक) । आम भारतीय जनता पुरै नेपाल र नेपालीको हितका पक्षमा छन्, यहाँका राजनीतिक दल र नेताहरु समेत नेपाल पक्षधर छन् । तर साउथ ब्लकमा बस्नेहरु भने अंग्रेजी शासकको जुत्तामा आफ्नो खुट्टा हालेर बसेका छन् । उनीहरुको हेराइ र बुझाइ भने तपाईले भनेजस्तो नेपालीका लागि निको गर्ने खालको छैन । तर राजनीतिक दल र जनताको सह्दयी उदाहरण हाम्रा सामु छ । सन् १९८८ को ‘नेपाल–व्लकेड’ खुलाउनुपर्छ भनेर दवाव दिनेमा सबैभन्दा बढी भारतीय जनता र राजनीतिक नेता थिए । तर ‘साउथ–ब्लक’ भने त्यो बेला पनि बिमतीमा थियो । 

तर नेपालभित्र बस्नेहरु भने सधैंको संक्रमणकाल र अस्थिरताका कारण अनुपातमा बढी निराश छन् नि ?

 

हेर्नोस्— यस्तो संक्रमणकाल कहाँ थिएन र ? के भारत आज स्थिर र परिपाटीयुक्त बन्न सकेको छ ? पुर्वोत्तर भारतको समस्या, संघीयतामा देखिएको खलबल र राजनीतिक असन्तुलन के यहाँ छैन र ? गरिबी, निराशाले उब्जेको बिद्रोहका कारण भारतमा बर्षेनी १ लाख जति किसानले आत्महत्या गर्ने गरेको तथ्यांक अहिले पनि छ, हामीकहाँ यो स्थिती छैन ।  

हेर्नुस्—नेपालीमा जत्तिको चेतना र स्वविवेक, संघर्ष र विपुल आयाम अरु जातजातीमा दुनियाामा कतै देखिएको छैन । यो यथार्थ हो । विकास अनुपातका कुरा गर्ने हो भने भारतको ८ प्रतिशत विकास दर हुादा नेपालको ४ प्रतिशत मात्रै थियो । तर, यो अनुपातमा भारतको ११ प्रतिशत ‘क्लास ग्रोथ’ (बिशेष बर्गको समुन्नती) र ३ प्रतिशत मात्रै ‘मास’(आम सर्वसाधारण)को प्रगती भएको तथ्यांक छ । जब कि नेपालमा ४ प्रतिशतको बहुमत ‘मास–ग्रोथ’ छ, अब यो स्थितीलाई तपाई के भन्नुहुन्छ ? यसकारण निराशाको बिन्दूमा हामी छादै छैनौं ।   

अर्कातिर, नेपालीको राजनीतिक चेतना हेर्नुस्— नेपालमा त्यत्रो १९ दिनसम्म सडक आन्दोलन भयो । तर एउटा घरमा पनि आगो लागेन, एउटा असंयम देखिएन । त्यो हो नेपाल, त्यो हो नेपाली । जबकि कोलकातामा एउटा मात्रै दुर्घटना भयो भने आठ/नौवटा ट्राममा आगो लगाइदिन्छन् । हाम्रोमा दलगत मिलाप राम्रो छ । नेताहरु एकअर्कामा सहमती–संवाद गर्दै अघि बढेका छन् ।

 

यहीबेला चीन र भारतबीचमा नेपाल ‘गतिशिल पुल’ बन्न सक्ने धारणा पनि बहसमा आइरहेको छ, तपाई कत्तिको जानकार हुनुहुन्छ ?

हो, मैंले यसबारे सुनेको छु । तर यो मानसिक असन्तुलन हुँदा गरिने कुरा हो, मानसिक दिवालीयापन । हाम्रो एकातिर हात्ती छ, अर्कातिर ड्रागन । अनि हामी बीचमा ‘भाइब्रेन्ट ब्रिज’ ? बरु दुइतिर यस्ता बिशाल राष्ट्र छन् जसको सम्पन्नता र समृद्धिको ‘कप’ बिस्तारै भरिने क्रममा छ, अब यो छचल्किएर थोरबहुत हामीकहाँ पोखिए मात्रै पनि हामीलाई काफी हुन्छ । यो होडमा ‘ब्रिज’ बन्न खोज्नु भनेको पुल भासिने र भाँचिने अवस्था आउनु हो, यो ख्याल राख्नैपर्छ । यथार्थमा भन्ने हो भने हामीले हिमाल र पानी मात्रै बेच्न सक्यौं भने पुग्छ । यो बेच्नु भनेको राजनीतिक अर्थको ‘बन्द–ब्यापार’ होइन । कसैले (देशी–विदेशी व्यक्ति/कम्पनीले) एउटा हिमालको जिम्मेवारी लिन चाहेमा मात्रै पनि त्यसले आसपासको बाटो, यातायात, समृद्धि, रोजगारी वा पर्यटनका कुरा अघि बढ्न सक्छन् । त्यसमा विश्वमा चलेका आइस–स्केटिङ, आइस–रोपवे वा अरु पुर्वाधार थपिन सक्छन् । यो भनेको हाम्रो पुर्वाधार र हैसियतमा बृद्धि हुने कुरा हो । अब यतातिर सोच्नुपर्छ । भारत वा चीनलाई हेरेर लघुताभाष राख्ने भन्दा सुरुमा हामीले हामीलाई हेर्नुपर्यो । हामी धेरैजसो अरुलाई हेरेर बिग्रेका हौं, निराश बनेका हौं । बाहिर बोल्दा ‘वन भ्वाइस’ हुनुपर्छ, जस्तो भारत वा चीनको हुने गर्छ । तर हामी भने यो मामलामा अलिक छरपस्ट छौं । 

हिमाल र पानीको कुरा गर्दा ८० हजार मेगावाट बिजुली क्षमताको ‘कागजी कन्सेप्ट’ राखेर बसिरहने हो भने हामीलाई गति समाउन अब ८० बर्ष लाग्नेछ । सुरुमा ८० मेगावाटबाट काम किन नगर्ने ? अब गर्नुपर्यो । यसकारण हालै भारतसँग उर्जा व्यापारको सम्झौता (पीटीए) हुन सकेकोमा मलाई खुशी लागेको छ ।

नेपालले भारत र चीनसँग राखेको सम्बन्धका बारेमा तपाईको बुझाइ के छ ?

यसबारेमा म स्पष्ट पार्न चाहन्छु— नेपालको चीन र भारतसाग समदुरीको सम्बन्ध हुनै सक्दैन । कुटनीतिज्ञ यदुनाथ खनालले पनि यो समदुरीको सम्बन्धबारे पहिलोपटक सकारात्मक चर्चा उठाउनुभएको थियो । तर त्यो बुझाइ यो गलत थियो, समदुरी हुनै सक्दैन । भारतसँग भूगोल मात्रै होइन, सभ्यता–संस्कृति र संस्कारका कारण पनि नेपाल नजिक छ । भारत निकटस्थ छिमेकी हो, चीन छिमेकी मात्रै हो । चीन र भारतबीचको राम्रो/नराम्रो सम्बन्धमा हामी ‘मध्यस्थ’ बन्नै नसक्ने स्थिती छ, यो यथार्थ हो ।

नेपाल–भारत सम्बन्धको एउटा कडी झैं रहेको १९५० को सन्धीका बारेमा तपाईको बुझाइ के छ ?

मेरा बुझाइमा सन् १९५० को सन्धी जत्तिको ‘मास्टरपिस डिप्लोमेसी’ अरु कुनै छैन, केही छैन । राणाकालमा मोहन शमशेर भनेको सबैभन्दा अनुभवी प्रधानमन्त्री हो । उनले त्यो सन्धी भारतलाई रिझाउन गरेका हुन् । तर नेपालले लिन चाहने/सक्ने कुराहरु सन्धीको नियमावलीमा स्पष्ट उल्लेख छ । सन्धीमा भनिएको ‘भारतको हात माथि’ हुने शर्त बितेको ६५ बर्षमा एउटै बुँदामा पनि लागु भएको छैन तर, नेपालीले पाउने कुरा सबै लागु भएको छ । नेपाली नागरिकताका भरमा यहाँ जग्गा किनेर म बसेको छु, एउटा भारतीयले बबरमहलमा गएर जग्गा–घर खरिदेर बस्न सकेको छ र ? सिमाना मिचिएका अथवा दशगजाका कुरा स्थानीय तहको संवाद र सहमतीमा पार लाग्ने बिषय हो । तर अरु मामलामा भने हामी बढी ‘अर्घेलो’ खोज्छौं कि जस्तो मलाई लाग्छ । जोइपोइको खटपटमा पनि कतिपय मन नपर्दो कुरामा कुनै एउटाले आाखा चिम्लनुपर्ने अवस्था आउँछ । तर हामी भारतसँग त्यस्तो कुनै भयावह र असमान व्यवहारको स्थिती सामनामा छैनौं जस्तो मलाई लाग्छ । यसकारण १९५० को सन्धी पुनरावलोकन वा खारेजी गर्दा पनि बारम्बार सोच्नुपर्ने हुन्छ । यसले कठीनाइ ल्याउन सक्छ । 

प्रकाशित: आश्विन २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार