समाचार

राप्रापाले जनायो सरकारलाई समर्थन, माओवादी केन्द्रबिना सरकारको पक्षमा बहुमत

- कुलचन्द्र न्यौपाने, काठमाडौं

आश्विन २३, २०७४-प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबिनै सरकारको पक्षमा बहुमत सांसदको समर्थन जुटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत दिएका छन् । संसद्मा १९ सिट रहेको राप्रपाले सोमबार सरकारलाई समर्थन जनाएपछि सत्ता घटक माओवादी केन्द्रबिनै सरकारको पक्षमा बहुमत जुटेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला राप्रपाकी प्रमुख सचेतक कुन्ती शाहीको नेतृत्वमा नेताहरू दिलनाथ गिरी र मोहन श्रेष्ठले प्रधानमन्त्री देउवालाई सरकारलाई समर्थन रहेको पार्टीको पत्र बुझाएका थिए । उनीहरूले सोही व्यहोराको पत्र संसद् सचिवालयमा समेत दर्ता गरेका छन् । सरकारमा सहभागी हुने/नहुनेबारे भने राप्रपाले कुनै निर्णय गरेको छैन ।

‘नजिकिएको चुनाव सुुनिश्चित गर्न राप्रपाले सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागिताबारे निर्णय गरिसकेको छैन,’ शाहीले भनिन् । कांग्रेस–माओवादी गठबन्धन सरकारबाट केही समयअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । 

सरकारलाई राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको समर्थन कायमै छ । कांग्रेसको २०७, राजपाको २४, संघीय समाजवादी फोरमको १५, राप्रपाको १९, राप्रपा (प्रजातान्त्रिक) को १८, फोरम लोकतान्त्रिकको १७ गरी सरकारको पक्षमा अब ३ सय सांसद हुनेछन् । २ सय ९७ सांसदको समर्थन रहे सरकारको पक्षमा बहुमत पुग्छ । 

बहुमत पुगे पनि माओवादी केन्द्र सरकारबाट फिर्ता नभएकाले प्रधानमन्त्री देउवालाई तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न अप्ठ्यारो छ । संविधानअनुसार प्रधानमन्त्रीले सम्बन्धित दलको सुझाव वा सल्लाहमा मात्रै मन्त्रीहरू बर्खास्त गर्न सक्छन् । तैपनि उनले चुनावी सरकारमा संघीय समाजवादी फोरम र राजपालाई समेत ल्याउने प्रयत्न थालेका छन् । संविधानको धारा २९८ (९) अनुसार मन्त्री चार अवस्थामा पदमुक्त हुन्छन् । जसअनुसार लिखित राजीनामा दिएमा, प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भएमा, सम्बन्धित दलको सिफारिसमा वा सम्बन्धित दलसँगको सल्लाहमा प्रधानमन्त्रीले पदमुक्त गरेमा र मृत्यु भएमा भन्ने व्यवस्था छ । 

‘सकभर माओवादी केन्द्रले आफ्ना मन्त्रीहरू फिर्ता बोलाओस् भन्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘त्यसको संकेत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीले गरिसक्नु पनि भएको छ । तर, माओवादी भित्री रूपमा सरकार नछाड्ने पक्षमा छ ।’ कांग्रेस नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषय छलफलमा नआएको दाबी गरे । ‘माओवादी केन्द्रले सरकार छाडे पनि राप्रपाको समर्थनपछि सरकार बहुमतमा छ,’ कार्कीले भने, ‘तर मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषय अहिले छलफलमा आएको छैन ।’ 

कांग्रेस : २०७

राजपा : २४

संघीय समाजवादी फोरम : १५

राप्रपा : १९

राप्रपा (प्रजातान्त्रिक) : १८

फोरम लोकतान्त्रिक : १७ 

जम्मा : ३००  

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबारको बैठकमा केही नेताले माओवादी केन्द्रले नैतिकताका आधारमा सरकार छाड्नुपर्ने बताएका थिए । कतिपयले माओवादी केन्द्रलाई सरकारबाट हटाउँदा निर्वाचन प्रभावित हुने भन्दै त्यसो नगर्न प्रधानमन्त्रीलाई सुझाएका थिए । कांग्रेस नेता अर्जुननरसिंह केसीले सत्ता गठबन्धनमा रहेको माओवादीले प्रमुख प्रतिपक्षीसँग गठबन्धन जोडिसकेपछि सरकारमा बस्ने नैतिक आधार गुमाएको बताए । ‘प्रतिपक्षीसँग गठबन्धन गर्ने अनि सरकारमा पनि बस्ने काम नैतिक होइन,’ उनले भने, ‘प्रधानमन्त्रीले हटाउने भन्दा पनि माओवादीले बुझ्ने कुरा हो ।’ मन्त्रिपरिषद् पुनर्गठन र विस्तार गर्ने कार्यलाई भने निर्वाचन आयोगले आचारसंहिता विपरीतको काम हुने भन्दै सरकारलाई यसअघि नै सचेत गराइसकेको छ । भदौ २६ गते तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दा नै निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भएको भन्दै निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको थियो । 

‘राप्रपा, फोरम र राजपालाई समेत सरकारमा सामेल गराएर लोकतान्त्रिक गठबन्धन बलियो हुन्छ र यसले वामपन्थी गठबन्धनविरुद्ध चुनावमा प्रतिस्पर्धा गर्न सहज हुन्छ भन्ने बुझाइ प्रधानमन्त्रीको छ,’ प्रधानमन्त्री निकट एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले राप्रपा र मधेस केन्द्रित दललाई समेत सरकारमा सहभागी गराउने प्रयास भएको हो ।’ राजपा महासचिव मनीष सुमनले भने सरकारमा जाने राजपाको सोचाइ नभएको दाबी गरे । ‘लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने दिशामा हामी सकारात्मक छौं र सकारात्मक ढंगले नै अघि बढिरहेका छौं,’ उनले भने, ‘सरकारमा नगए पनि लोकतान्त्रिक गठबन्धन बनाएर समान राजनीतिक धारणाका साथ चुनावमा जान सकिन्छ ।’ 

कांग्रेस नेतृत्वको गठबन्धनमा राजपा, फोरम, फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा (प्रजातान्त्रिक) छन् । यीमध्ये राप्रपा (प्रजातान्त्रिक) र फोरम लोकतान्त्रिक सरकारमै छन् । राप्रपा अध्यक्ष थापालाई उपप्रधानसहित महत्त्वपूर्ण मन्त्रालय दिएर सरकारमा ल्याउन कांग्रेस तयार भएकै कारण उसले सरकारलाई समर्थन दिने निर्णय लिएको हो । राप्रपाका अध्यक्ष कमल थापाले यसबीचमा कांग्रेस नेताहरूसँग छलफल गरी प्रतिनिधिसभा र प्रदेशसभाका लागि तालमेल गरी जाने विषयमा सहमति जनाएका थिए । राप्रपाले वर्तमान सरकारप्रति समर्थन गर्दै आगामी मंसिरमा हुने चुनावमा समेत लोकतान्त्रिक गठबन्धनमा आबद्ध हुने औपचारिक निर्णयसमेत गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई समर्थन दिने र गठबन्धनमा सामेल हुने निर्णय लिएको हो । 

प्रकाशित: आश्विन २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार