अर्थ / वाणिज्य

पाइलटबिनै ‘हवाई ट्याक्सी’ उडाउने तयारी

- दिनेश यादव, काठमाडौं
उबरले पहिलो लटमा ५० वटा एयर ट्याक्सीको निर्माण गरिसक्ने

आश्विन २२, २०७४-सडकहरूमा बिना चालककै ट्याक्सी गुड्ने कुरा तपाईहरूले सुन्नुभएकै होला । ‘ड्राइभरलेस’ त्यस्ता कार/ट्याक्सीलाई मोडिफाइड गर्न विभिन्न कम्पनीहरू अहोरात्र खटिरहेका छन् । सडकमा उतार्न यसका लागि तँछाडमछाड भइरहेकै बेला हवाई ट्याक्सी (एयर ट्याक्सी) उडाउने तयारी सुरु गरिएको छ । सुन्दा अपत्यारिलो लागे पनि अबको तीन महिनाभित्रै दुबईमा हावामा उड्ने ट्याक्सीको व्यावसायिक परीक्षण हुँदै छ । हावामा बिना पाइटलको यात्रा ? यो कुरो सुनेर तपाईंमध्ये धेरैको जीउ सिरिङ्ग पक्कै भएको होला । डर लाग्नु स्वाभाविकै पनि हो । किनभने हाम्रा वरपर रहेका कम्तीमा एक जना, जो कहिले पनि हवाई यात्रा गरेका छैनन, एभियोफोबिया (विमानमा चढ्नबाट डराउने) रोगले ग्रसित हुन्छन् । त्यो पनि व्यापारिक विमानमा, जसमा लाइसेन्स लिएका पाइलट हुन्छन् । तर बिनापाइलट हवाई ट्याक्सीमा यात्रा ? ‘ओहो, त्यो त झनै डरलाग्दो’ भन्नेहरू धेरै निस्किन सक्छन् । ‘तर, डराउनु पर्दैन, सुरक्षित यात्रा गर्न सकिने हवाई ट्याक्सी बनाउँछौं,’ निर्माता कम्पनीहरूको दाबी पनि रहँदै आएको छ । 

पाइलटविहीन हवाई ट्याक्सी बनाउन जुटेका कम्पनीहरू विश्वमा चार जति छन् । तिनीहरूबीच ‘पहिलो को बन्ने ?’ भन्ने प्रतिस्पर्धा नै चलेको छ । दुबईले ती सबैलाई उछिन्ने देखिएको छ । उसले पाइलटविहीन स्काई ट्याक्सीको परीक्षण शीघ्र गर्ने घोषणा गर्दै यसको तयारी थालिसकेको छ । टेक कम्पनीले दैनिक यात्राका लागि ‘ड्रोन कम्पर’ बनाउन जुटेको हो । हावामा ड्रोन ट्याक्सी उडाउने दौडमा दुबईलाई कसैले उछिन्न नसकोस् भनेर यसमा लागेको बताइएको छ । यसका लागि अघिल्लो जुनमा दुबईको सडक तथा यातायात प्राधिकरण (आरटीए) ले जर्मन स्टार्ट–अप कम्पनी ‘भोलोकोपर’ सँग सम्झौतासमेत गरिसकेको छ । त्यसैले यसै वर्षको अन्त्यसम्ममा पाइलटविहीन ड्रोन एयर ट्याक्सीको निर्माण थाल्ने र त्यसलगत्तै परीक्षण गर्ने उसको उद्घोष आएको हुनुपर्छ । कम्पनीले लगानीकर्तासमेत खोजिसकेको छ । एउटा कम्पनीले उसलाई २ करोड ५० लाख युरो उपलब्ध गराउने भएको छ । जर्मन कार उत्पादक ‘डेम्लर’ ले उसलाई सघाउादै छ । ‘डेम्लर’ ले दुई जना यात्रुसहित उड्न सक्ने ‘१८–रोटर क्राप्ट’ निर्माण गरिदिने लक्ष्यका साथ अघि बढेको हो । कम्पनीको प्रोमोसनल भिडियोअनुसार ‘भोलोकोप्टर’ ले सय किमि प्रतिघण्टाको गतिमा आधा घण्टासम्म आकाशमा उड्ने ट्याक्सी बनाउनेछ । उक्त ट्याक्सीमा नौवटा जति स्वतन्त्र ब्याट्री प्रणाली जडान गरिनेछ । ती ब्याट्रीहरूले ३० मिनेटको यात्रालाई पावर संकटबाट मुक्त राख्ने दाबी कम्पनीको छ । यसैगरी, त्यो कोपरमा आपात्कालीन अवस्थाका लागि प्यारासुटसमेत राखिने पनि भनिएको छ । तथापि यात्रुलाई प्यारासुटको आवश्यकता नपर्ने गरी कोपरको विकास गरिँदै छ । दुबईको आरटीएले चीनको इहाङ्गसँग मिलेर यस्तै प्रकृतिको काम गरिसकेको छ । उसले ड्रोन निर्माताको एकल यात्रु बोक्ने ‘इहाङ १८४’ को हवाई बाहनको परीक्षण गरिसकेको हो । 

यसो त, संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो सहर दुबईले यसका लागि कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । किनभने पूरै विश्व एयर–क्याबका लागि जोडतोडका साथ लागिपरेको स्थिति छ । यसै वर्षको फेब्रुअरीमा सवारी–साझा गर्ने ठूलो कम्पनी ‘उबर’ ले नासाका प्रमुख प्राविधिक मार्क मुरेलाई हवाई–क्याब बनाउनका लागि दु:ख दिइसकेको छ । उनलाई कम्पनीले आफ्नो परियोजनाको विकासका लागि ‘अन–डिमान्ड सहरी हवाई परिवहन’ मा काम गर्न हालै नियुक्त गरेको हो । यसैगरी, एयरबस, फ्रान्सेली विमान निर्माताले पनि प्रोटोटाइप एयर ट्याक्सी ‘भ्याहाना’ को परीक्षण यसै वर्षको अन्त्यसम्ममा सुरु गर्ने जनाइसकेको छ । उसले सम्भवत: २०२० सम्ममा ‘भ्याहाना’ तयार गरिसक्ने दाबी गरेको छ । ‘स्काई–क्याब’ वा ‘स्काई–कोपर’ जे भने नि यसको निर्माण जासुसी गर्नका लागि उपयोगमा ल्याउने सकिने तत्काल भनिए पनि दैनिक यात्रामा समेत प्रयोग गर्न सकिने गरी कम्पनीहरूले काम गरिरहेका छन् । 

सहरी क्षेत्रमा दिनप्रति दिन बढदो ट्राफिक जामबाट उन्मुक्ति पाउन यस्तो हवाई–ट्याक्सी उपयोगी हुन सक्छ । बीबीसीका अनुसार ब्राजिलको साओ पाउलो सहर ट्राफिक जामका लागि एउटा उदाहरण हुन सक्छ । संसारकै सबैभन्दा धनी सहरमध्ये १० औं स्थानमा रहेको यो सिटीमा १८० किमिसम्मको लामो लाइन लाग्ने गर्छ । कहिलेकाहीं त २९५ किमिसम्मै यो फैलिएको हुन्छ । हामी भने केही समय मात्रै पनि ट्राफिक जाममा पर्‍यौं कि सरकारदेखि ट्राफिक प्रहरीलाई सराप्न थालिहाल्छौं । सडकमा सवारीको चाप बढदो छ, अझ सडकको अव्यवस्थित निर्माणले त जाम बढाएकै छ । सडक ढाक्ने/ओगट्ने अत्यधिक साधनहरूले हुने जामले धेरै पटक–पटक सर्वसाधारणले सास्ती खेपेकै छन् । त्यसैले ‘हवाई–ट्याक्सी’ व्यस्त सहरका सडकहरूमा दैनिक यात्रा गर्नेहरूका लागि एउटा वरदान हुन सक्छ । तर, त्यसका लागि केही वर्ष अझै पर्खिनुपर्ने हुन सक्छ । 

काठमाडौंको सर्वाधिक जाम हुने सडकमा केबलकार चलाउने, मेट्रो रेल गुडाउनेजस्ता भाषण नेपालीहरूले सुनेकै छन् । तर, यी भाषणको कार्यान्वयन हुनुभन्दा पहिले नेपालीले राजधानीको आकाशमा फुत्त–फुत्त ‘हवाई–ट्याक्सी’ उडिसक्नेछन् । कछुवाको गतिमा नेपालमा हुने विकास निर्माण र विश्वमा द्रुतगतिमा भइरहेको प्रगति तथा विकासले पनि यो सम्भाव्यतालाई पुष्टि गर्छ । 

अहिले एउटा शब्द ‘मेगालापोलिजस’ खुबै प्रयोग गर्न थालिएको छ । अत्यधिक जनघनत्व भएका सहरहरूको संख्या बढ्नु र त्यहाँ बन्ने गरेका ठूल्ठूला कम्प्लेक्सहरूको तीव्र गतिमा हुने विकासका लागि यो शब्दको प्रयोग गरिएको पाइन्छ । ‘मेगालापोलिजस’ का कारण एयर ट्याक्सीले मानिसहरूको कल्पनामाथि कब्जा गर्न सक्छ भन्ने कुरा ढुक्कका साथ भन्न सकिन्न । 

तर पनि प्राविधिक तथा कम्पनीहरू यो क्षेत्रको विकासमा जुटेकै छन् । परिणामस्वरूप इहाङ्गद्वारा एक यात्रु, भोकोप्टरमा दुई, सिटी एयरबसमा चारदेखि ६ जना यात्रु बोक्ने गरी एयर ट्याक्सीको निर्माण हुने निश्चित बनेको छ । यीमध्ये सबै कम्पनीले विद्युत् प्रबर्धन कसरी गर्ने भन्नेतिर बढी जोड दिइरहेका छन् । हरियाली र शान्त वातावरणमा ठीक समयमै यात्रु गन्तत्वमा पुगुन् भन्ने उद्देश्यसमेत यी कम्पनीहरूको छ । यसमा प्रयोग गरिएको हरिजन्टल (क्षितिजत्तर) रोटर प्रविधिले जनघनत्व बढी भएका सहरहरूमा भर्टिकल उडान भर्न र अवतरणमा सहयोग पुग्छ । त्यस्तै, यो बनाउन उपयोगमा ल्याएका कार्बन फाइबरजस्ता मिश्रित सामग्रीहरूले यसको तौल कम बनाउन सहयोग गर्नेछ । 

कम तौल भएको अवस्थामा ऊर्जाको समेत बचत हुने विज्ञहरू बताउाछन् । तर, यसलाई व्यवहारमा कसरी उपयोगमा ल्याउन सकिन्छ र यो कति सस्तो हुन्छ भन्ने कुराचाहिँ हेर्नुपर्ने हुन्छ । ‘उबर’ कम्पनीका मुरेका अनुसार हवाई–ट्याक्सीको मूल्य तीन वा चार यात्रु बोक्ने कार जति नै हुन आउँछ अर्थात् उबर एक्सको आजको मूल्यमै यो खरिद गर्न सकिनेछ । शक्ति र तौलको बीच सामन्जस्य कायम गरेर मात्रै व्यापारिक रूपमा यसको उत्पादन गरिनेबारे प्राविधिकहरू ढुक्क रहेका देखिन्छन् । त्यसैले त ब्याट्रीको सपोर्टमा यो कति समय हावामा टिक्न सक्छ भन्ने कुराको पनि लेखाजोखा गरिँदै छ । यसमा प्रयोग गरिने ब्याट्री कति टिकाउ हुन्छ भन्ने कुरोको परीक्षण गर्न भने बाँकी नै छ । 

मोबाइलमा जस्तै छिनछिनमा ब्याट्री जाने कुरो कसैलाई मन नपरेझैं यसमा पनि ब्याट्रीको अवस्था त्यस्तै रहने हो भने धेरैले त्यति नरुचाउन सक्छन् । खासगरी एयर ट्याक्सीमा यात्रा गरिरहेको अवस्थामा ब्याट्री डाउन हुने संकेतले मात्रै पनि यात्रुलाई झर्को लाग्न सक्ने सम्भावना रहन्छ । यसलाई उन्नत बनाउने सोचमा प्राविधिकहरू लागेका छन् । चीनको इहाङ ड्रोन हालसम्म २३ मिनेट हावामा उड्न सक्छ । अमेरिकी फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) नियमनले यस्तो अवस्थामा विमानलाई थप २० मिनेटको इन्धनको आवश्यकता पर्ने जनाएको छ । यसले ड्रोनको व्यापारिक सीमिततालाई प्रभावित पार्न सक्ने आकलनसमेत गरिएको छ । 

इजरायलको सहरी एरोनाटिक्सका उपाध्यक्ष जानिना फ्रान्केल योएलीले यसैलाई एउटा समस्याका रूपमा चित्रण गरेका छन् । तर मुरे भने ब्याट्रीमा सुधार गर्न सकिने भनाइ राखेका छन् । उनी भन्छन्, ‘ब्याट्रीमा सुधार भएको अवस्थामा सन् २०२३ सम्ममा आकाशमा हवाई ट्याक्सी उडेको हेर्न सकिनेछ । ’ उनका अनुसार यो अवधिमा उबरले पहिलो लटमा ५० वटा एयर ट्याक्सीको निर्माण गरिसक्नेछ । 

ब्याट्रीको रिचार्जिङ गति र क्षमतामा सुधार भएसँगै विश्वमा इलेक्ट्रिक कार निर्माणमा लगानी हात्तै बढ्नुलाई उनले एउटा उदाहरणका रूपमा लिादै उनी आशावादी छन् । फेरि स्काई ट्याक्सीलाई लामो समय आकाशमै राख्नुपर्छ भन्ने सोच कुनै पनि कम्पनीहरूले राखेको पाइएको छैन । मुरे थप्छन्, ‘लामो ट्रिपका लागि ६० माइलनै यसले पार गर्नुपर्छ भन्ने छैन । यहाँ त रेन्जभन्दा पनि रिचार्जिङ क्षमता नै महत्त्वपूर्ण कुरा हो ।’ रिचार्जिङमा सुधार गर्न सकिने थुप्रै सम्भावना रहेकाले सन् २०२३ सम्ममा थुप्रै स्वचालित हवाई ट्याक्सी विश्व बजारमा आइसक्ने मुरेको तर्क छ । तर त्यसअघि यसमा ५ देखि १० वर्षसम्म डेटा कलेक्सन गर्नुपर्ने र स्काई टयाक्सी आकाशमा सुरक्षित छ वा छैन भनेर मनिटलिङ पनि गर्नुपर्ने आवश्यकतामा उनको जोड छ । यसैबीच दुबईले यो क्षेत्रमा आफ्नो दौड लगाइसकेको छ । शेख मोहम्मद बिन रसिद अल माक्तुमले २०३० सम्ममा २५ प्रतिशत सहरको आम यातायात स्वचालित भइसक्ने बताएका छन् । तर दुबई विमान उडानका लागि त्यति राम्रो हावापानी भएको सहर नभएको दाबी गर्नेहरू पनि छन् । एजेन्सी

प्रकाशित: आश्विन २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार